‘सत्ता’ कोरा तलबभत्तामात्र नभई सत्ताकै स्वाद दिन सकोस्, जय सत्ता !

✍️ बद्रीप्रसाद दाहाल   POSTED ON : श्रावण २२, २०७८ (६:४० AM)

‘सत्ता’ कोरा तलबभत्तामात्र नभई सत्ताकै स्वाद दिन सकोस्, जय सत्ता !

संसारमा सत्ताको जयगान वा यशोगान नगर्ने थोरैमात्र पात्र हुन्छन् । विषयवासनामा लिप्त अधिकांश मनुवा सत्तारूपी उर्वशीसित टाँसिनै पुरुषार्थ र आनन्द मान्दछन् । शब्दकोशीय आँखामा ‘सत्ता’ (सत्+तल्+आ) को अर्थ हो अस्तित्व, शक्ति, सामथ्र्य, जसको उपभोग गर्दा सबै काम बन्न जान्छ । नाम वर्गको स्त्रीलिंगी शब्द हो ‘सत्ता’ । महाकाली, महालक्ष्मी र महासरस्वतीकै तागत लिएर उभिएको सत्ताले तलबितल परेमा धेरै थोक बिपत्ता, खोज वा उत्थान र नाश पनि पार्न सक्छ । यतिखेर तीसको दशकको हाम्रो सत्ताले कति मूल्यवान् पुरातत्व युरोप अमेरिका पठाएको रहेछ बल्ल ती ऐतिहासिक गरिमाका धरोहरहरू केहीमात्रामा भने पनि धमाधम देश फर्किने धुनमा छन् । 

त्यसैले त यसका पारखीहरू सत्ता रूपसीको  प्राप्तिमा महासंग्राम गर्न परे नि कार्यकर्ता र जनतालाई बलिको बोको बनाएर आफ्नो भोको धोकोकोे पोको सत्तासीन हुनेबित्तिकै पूरा गर्न तयार हुन्छन् । यही कारणले होला अंग्रेज गोरामोराहरूले ‘अथोरेटी’ नाम किटेर शक्ति, अधिकार र प्रमाणको माध्यमबाट श्री ३ बन्न सकिने संकेत शब्दमार्फत् दिएका रहेछन् क्या र ! ‘सत्ता’ र शक्ति भन्नाले राज्यमा रहने प्रमुख तŒव+अधिकार अर्थात् अख्तियार र कब्जा+प्रमाण भन्नाले कुनै विषय वा कुरालाई सिद्ध र साबित गर्नका निम्ति प्रस्तुत गरिने वस्तु वा कथनहरूको त्रिभुज पो रहेछ त सत्ता !

मध्यकालीन युरोपका प्रसिद्ध राजनीतिक चिन्तक रुसोले स्पष्टसित भनेका छन्-‘जतिसुकै शक्तिशाली पनि बललाई अधिकारमा र आज्ञा पालनलाई कर्तव्यमा नबदली सधैं मालिक भइरहन सक्दैन’ । ‘सामाजिक संविधा’ सिद्धान्तका प्रणेता रुसोको यो सटिक भनाइभित्र सत्तासन्दर्भ कति घोचिलो, ओजिलो र तथ्य टिप्पणी भएर उभिएको छ । त्यसैले त आधुनिक राजनीति चिन्तक रवर्ट डाहलले बोले, ‘वैधानिक शक्ति वा प्रभाव नै सत्ता हो ।’  यही भएकैले हरेक क्षेत्रका राजनीतिक अभिकर्ताहरू आपूm वैधानिक शक्ति प्राप्त गर्न कर्मकाण्ड र प्राविधिक हथकण्डा अपनाउन पछि पर्दैनन् । 

जर्मनका समाजशास्त्री म्याक्स बेबरले विश्वको समाजको अध्ययन गम्भीररूपमा गरेर भने, ‘राजनीतिक सत्ताका तीनवटा स्रोत छन्- क. वंशानुगत सत्ता (ठालुका सन्तान ठालु हुन्, राजाका छोरा राजै बन्ने) ख. चामत्कारिक सत्ता जोसित रिजनसहितको भिजन हुन्छ (करिष्माकारी नेता लिंकन, नेहरू, माओ, केनेडी, लि क्वाङ यु, प्रभृति) ग. वैधानिक वा कानुनी सत्ता (संविधानअनुसार सिर्जित हुने सत्ता) । यही सन्दर्भमा राजनीतिक सत्ता भनेको ‘शासकसित रहेको अनुशक्तिबाट शासन गर्ने अधिकारको मान्यता’ भनी अर्का राजनीतिशास्त्रका पण्डित एलेन बलले ठोकुवा गरिदिएका छन् । 

विकेन्द्रीकरणको अन्तर आशय पूरा गर्ने संघीय सरकारको सत्ता माथिदेखि तलसम्म फिँजिएको हुन्छ । त्यसै भएर त यहाँका गणतान्त्रिक सरकारहरू कार्यरूपमा रूपान्तर हुन नसके पनि ‘अब घर–घरमा सिंहदरबार’ भनेर शासनमा जनताको रखबार हुने कुरालाई नारा बनाउन पुगे । बिडम्वना ! एकात्मक संकीर्ण राजनीतिक संस्कृतिको सोच दिलदिमागमा कोचाकोच भएकाले समय–समयमा राज्यसत्ता आफ्नो स्वार्थपूर्ण हैकम स्थापनामा तल्लीन भए । तिनीहरूको क्षुद्र मनसाय पूर्ण गर्न अप्ठेरो महसुस हुँदा प्रदेश सरकार एवं स्थानीय सरकारको अधिकारलाई संकुचनमा डल्ल्याए । राजनीतिक सत्ता शक्तिको धुरी हो, जसको वरिपरि तमाम राजनीतिक क्रियाकलाप घुमिरहेका हुन्छन् । 

यही परिवेशलाई स्वार्थन्ध भएर राजनीतिक अभिकर्ता जो राज्यसत्ताको केन्द्रबिन्दुमा छ उसले गलत काम गरिदिन्छ । जो हामीले पटक-पटक र निवर्तमान ओली सत्ताबाट त चरम दुरूपयोग भएको अनुभव ग¥यौं । प्रायः राज्यसत्ताको हर्ताकर्ता नै पार्टीसत्ता हँकुवा हुँदा ढँटुवा बनेर दलभित्र आफ्नो शक्तिअभ्यास बढाउन गुटउपगुट सिर्जना गर्न अभ्यस्त भएको अमिलो भोग्दै पनि आयौं । ओली प्रवृत्तिले त दुवै किसिमको सत्तालाई (पार्टी सत्ता+राज्य सत्ता) पराकाष्ठामा नै पुर्‍याएर दुरूपयोग गरेको पिरो स्वाद चाखिसक्यौं । अब नयाँ पूर्ण गठन हुन लागेको देउवा सरकारको गठबन्धित राज्यसत्ता र पार्टीसत्ताले यही गम्भीर भुलको पदचापकै अनुशरण गरेका खण्डमा संघीय गणतन्त्रको सत्ता धराशयी हुन्छ, यो निर्विवाद छ ।

हामीकहाँ सत्ता पाउनु भनेको सत्ताधारीनिकटका नातागोता, बिचौलिया, घरानियाँ व्यापारी, ठेकेदार र डन अपराधीको हाँकोडाँकोमा बहार आउनु हो भन्ने टाक्सिएको कुसंस्कृति फालाफाल छ । सत्ताको विशेषता र कार्य के कस्तो हो ? भन्ने कुरा भुसुक्कै बिर्सिएर हिजोकै ओलीकुपन्थको पुनरावृत्ति भएमा जनता क्षमा दिने पक्षमा छैनन् । यतिखेरको पञ्चपार्टीको होली अलायन्स (नेपाली कांग्रे्रेस, नेकपा माओवादी, जसपा, नेकपा एमाले नेपाल खनाल समूह र संयुक्त जनमोर्चा) नमुना र आदर्श बन्दै संविधान कार्यान्वयनमा जोड दिन निष्काम कर्मवादबाट व्यावहारिकरूपमा दिलैदेखि नलागेमा अब नेपालमा दलतन्त्र जनविश्वासबाट चिप्लने पक्का छ । 

तीन दशकको दलीय गलत राजनीतिक अभ्यासले यसै त अत्यधिक जनमत दिक्क र निराश छन् । त्यसैले सत्ताधारी दलहरूका शीर्ष भनिएका यजमानहरूले कर्म पुगेको गतिलै राजसूय यज्ञ हाँक्न सक्नुपर्छ । तुच्छ बण्डावादमा राम्रालाई अर्धचन्द्राकार दिएर चाम्रा भए पनि हाम्रा मान्छेलाई राज्यसत्ताका अवयवहरूमा ठालु बनाउनुपर्छ भन्ने भालु चिन्तनले अब काम गर्नेवाला छैन । फेरि पनि गल्ती दोहोर्‍याउने र काममा ढिलाइ गर्ने छुट पूर्णता पाउँदैको यो सरकारलाई रत्ति पनि छैन । विगतकै तालमा काइते पाराले आइते बनेर डुक्रन थाले नेपालमा दलप्रणाली इतिहासको आख्यान हुन्छ हुन्छ र देश असफल राज्यमा दरिने दुर्दशा पनि आउने सम्भावना देखिन्छ । 

सत्ताका केही सीमाहरू हुन्छन् । यतिखेर त सबै तप्काका जनमत गौर गरेर नियालिरहेका छन् । यसैले सत्ताधारीहरूले लक्ष्य गोल गर्न कटिबद्ध हुने, नागरिकका अधिकार नछिन्ने, अन्तर्राष्ट्रिय सन्धि, नियम र संगठनको याद गरी राष्ट्रिय हितलाई सर्वोपरि राख्ने, राज्यसत्ताले कुनै कुराको निर्णय लिने बेलामा आफ्नो परम्परा, लोकाचार, सांस्कृतिक मूल्यमान्यता, जनताको अभिनव नादलाई नाथ बनाउनैपर्छ । विगतका सबै सरकारलाई माथ गर्ने कार्यक्रममा काम, क्रोध, लोभ, मोह, मात्सर्य जितेर पूर्ण वैरागी बनी समदृष्टि दिन सक्नु अपरिहार्य छ । विगतमा घटेका अनगिन्ती पर्वहरूको शुद्धीकरण गर्न कानुनी डण्डा विवेकपूर्ण ढंगमा चलाउन सत्ता पछि पर्नुहुँदैन । 

अब सत्ता बेपर्वाह भत्ता पड्काउने र आफ्ना हन्तकाली जत्था पालेर देशको ढुकुटी चड्काउने रामरौस होइन भन्ने बोध गठबन्धित दलका नाइकेमा आउनैपर्छ । सानो रोगको उपचार गर्न अनावश्यक प्रचार गरी विदेशका महँगा अस्पताल धाएर देशको ढुकुटी सुकुटी बनाउने सत्ताचालक हाकाहाकी अब नालायक हो भन्ने चेतनाको भोल्टेजले उचाइ पाएको अवस्था छ । आफैं भान्छे, आफैं खान्छे गर्ने भँडुवाहरू विगतमा जतिसुकै वर्ष जेल र भूमिगत बसेको भए पनि नेपाली जनता स्वस्ति गर्ने र माफ दिने पक्षमा छैनन् । अबको राज्यसत्ताका सञ्चालकका मन्त्रणाकार जनता नै हुन् । लोकतान्त्रिक राज्यसत्ताको मान्यताले बोल्छ, शक्ति प्रयोग गर्ने भनेकै निर्णय निर्माण हो । 

पाश्चात्य राजनीतिशास्त्री अब्राहम कप्लानले यसैलाई जोड दिँदै बोले, शक्ति भनेको निर्णय निर्माणमा सहभागी हुनु हो । संसारमा राजनीतिक दलको उत्पत्ति त्यसबेला हुन्छ जब राजनीतिक प्रणालीको गतिविधि जटिलताको एउटा स्तरसम्म पुग्छ । हो यतिखेर पूर्वराज्यसत्ता चालकले त्यही मोडमा देशलाई पुर्‍याएका छन् । त्यसैले राजनीतिक दल ‘लाइफ-लाइन’ अर्थात् जीवनरेखा बन्न सक्नुपर्छ । 

आजको नेपालको बेथितिमा यहाँका गठबन्धित पञ्चदलले सरकारको स्थापना गर्दै अव्यवस्था, भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो कर्तव्य हो । बिग्रिएको राजनीतिक प्रक्रियालाई जोड्नु, स्थिर र सरल बनाउनु अर्को महŒवपूर्ण अभियान हो । त्यसैगरी राज्यसत्ताका अंगउपांगहरूमा स्वच्छ छवि भएका, सक्षम, योग्य, परोपकारी, त्यागी र निष्ठावान्हरूलाई उत्तरदायित्व थमाउनु अर्को गुरुत्तम भार हो । दलहरू जनताका समस्या र मागका भारवाहक बनेर राज्यसत्तामा बिसाउने र सरकारका नीति निर्णयहरू जनतासमक्ष पुर्‍याउने गतिलो पुल हुन सक्नुपर्छ । देशको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको जगेर्ना गर्दै सरकारलाई रचनात्मक फिडब्याक दिने शौर्यता पनि दलसित हुनैपर्छ । 

बाढीपहिरो, कोरोना कहर, डुबान, लैंगिक हिंसा, सामाजिक भ्रष्टीकरण, आर्थिक अस्तव्यस्ततामा राजनीतिक दलहरू दिलैदेखि व्यवहारवादी भएर वर्तमान सरकारसित हातेमालो गर्नु आजको तितो यथार्थ हो । अब सत्ता आमोदी बंगला, वातानुकूलित वाहन, करोडको गलैंचा, लाखौंको पलङ र अरबको हेलिकप्टरको ऐस होइन । न त प्राकृतिक स्रोतसाधनको व्यापार, राष्ट्रिय गौरवका आयोजनाहरूको अलपत्रता र माफियाहरूको बिगबिगी, हेरेर बस्ने बिचौलियाको जमात ! पञ्चदलका नायकहरू, विगतका कमजोरी र गल्तीलाई प्रायश्चित्त गर्ने सुअवसर र नयाँ लोकतान्त्रिक पर्यावरण धुलाइको यो मौका भावी समयको सुमधुर गन्तव्य हो । 

त्यसैले नेपाली जनता भनिरहेछ, ‘सत्ता’ वैधअवैध तलबभत्ता, बक्सिस, सलामी आफू र आफ्ना जत्थामा पार्ने खेल होइन, सधैं सत्ताको स्तवन, यशोगान गाउने भाटगण होइन यहाँका नागरिक । त्यसैले जयसत्ता त्यो बेला भनिन्छ जब जनतासित राज्यसत्ताधारी भय मानेर जनतालाई केन्द्रबिन्दुमा राख्छन् । 

 समाप्तम् । 


Top