नेपाली राजनीतिका अनेक रूप

✍️ प्रा. डा. कुलप्रसाद कोइराला   POSTED ON : भदौ १६, २०७८ (८:५० AM)

नेपाली राजनीतिका अनेक रूप

मैले ईशापूर्व पाँचौं शताब्दीतिरका ठूला वैयाकरण भर्तृहरिको ‘नीतिशतक’ मा राजनीतिका सम्बन्धमा एउटी रूपाजीवाका दिनचर्या र राजनीतिको दिनचर्यालाई समानान्तर रूपमा चित्रण गरेको एउटा श्लोक पढेको थिएँ । आजको नेपाली राजनीतिका पात्र तिनका आचरण, चिन्तन र दिनचर्यासमेतको हुबहु मिलनघुलन भएको देखिन्छ । रूपजीवाले ग्राहकको इच्छामा आफू प्रस्तुत नभए उसको व्यवसाय डुब्छ । उसका मुखमा माड लाग्दैन । यदि बालबच्चा पनि छन् भने तिनको पनि बिल्लिबाठ हुन्छ । 

यो अवस्थामा पुगेकी एउटी नारीका प्रति संवेदनशील भएर सोच्नुपर्ने राज्यले र त्यसको सञ्चालकले होइन र ? यदि हो भने वादीको अवस्था हाम्राअगाडि आएझैँ तिनको यौवन रसमा डुबुल्की मार्ने समाजका कथित व्यवस्थापक र ठूलाबडाका आचरणले नै तिनको जीवन डुबाएको होइन र ? आजको नेपाली राजनीतिक पद्धति परिचालनको शैली र नेताहरूका क्रियाकलापमा देखिने विसंतिलाई नांगा बदिनीको सडक प्रदर्शनले स्पष्ट पारेको छैन र ? आजका तालिवान र हाम्रा चटकीका बीचमा के अन्तर देखियो र ? 

हामीले कहिल्यै पनि हाम्रा योजनामा कार्यक्रममा के कमी भयो प्राथमिकता केलाई दिने ? भनेर कहिल्यै सोचेनौं । सोच्ने फुर्सद नै हामीलाई भएन । नगरी नहुने संरक्षण गर्नैपर्नेलाई प्राथमिकतामा निर्धारण गरिएको देखिँदैन । जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो छ । प्रचण्ड, अचण्ड, बाचण्ड, ओचण्ड र शेचण्ड साराको अनुहार देखियो । तिनका करनी भोगियो । तिनका कथनी र थुकका डोरी बटाई पनि देखियो । सुनिँदै पनि छ । आस गर्ने ठाउँ कतै छैन ।

बोल्नेको पीठो बिक्छ नबोल्नेको चामलै खेर जान्छ भने झैँ ठूलाबडा, बाहुबली, धनबली र रङफेरुवाको राज्यमा चल्ती छ । जतिबेला जेगर्दा फाइदा हुन्छ त्यो गर्नु राजनीति भएको छ । जहाँ कुनै मर्यादा छैन, जसलाई कुनै कानुनले छुँदैन, जसको डरले सामान्य मान्छे बोलबोल मछली मुखभरि पानी बन्छ त्यो सरकार हो भने उसैका सन्डमुसन्ड अंगउपांग बनेका छन् । तलदेखि माथिसम्म यस्तै बेथितिको चक्र नै राज्यव्यवस्था बनेको छ । 

यसरी हेर्दा आजको नेपाल र आजकै अफगानिस्थानमा फरक के छ त ? त्यहाँ एक प्रकारको राजनीतिक अस्थिरता र भयत्रास व्याप्त छ भने यहाँ अर्को प्रकारको अव्यवस्था, भताभुंगे पारा र सन्त्रास व्याप्त छ । जनताका प्रतिनिधि हौं भन्नेले बनाएका नीति नियम तिनैका नाइकेले उल्लंघन गर्छन् । कानुन पालन गराउने संयन्त्र मुखमा पानी हालेर हातगोडा बाँधेर बसेका हुन्छन् । संविधान र कानुनमा भएको व्यवस्थाका अक्षर आफैं बोल्दैनन् । तिनलाई बोलाउने चेतना र नैतिकताका जरामा डढेलो लागेको छ । राजनीति गर्छाैं भन्नेहरू खोकी लाग्दा पनि अदालतका शरणमा पुग्छन् के गरौं भनेर । 

उच्च नैतिकताका धरातलमा बसेर गरेका कामलाई बारम्बार अदालतमा पु¥याउनु पर्दैन भन्ने कुरो लाटालाई पनि थाह हुनुपर्ने हो तर यहाँका सर्वोच्च शासकलाई पनि यो ज्ञान हुन छाडेका धेरै अभिलक्षण देखिन्छन् । जाडो भयो भनेर अर्काको या आफ्नै घर सल्काएर आङ तताउनु कुन मर्यादा हो । एउटाले हिजो घर सल्काउने प्रयत्न गर्दा प्रतिगमन मानियो भने आज त्यही नियतले त्यही काम गर्दा अग्रगमन र नैतिक काम ठान्नु ठीक हुनसक्छ ? दिवास्वप्न बाँडनु, दिनदहाडै हुँदा नहुँदा कुरा बतुराउनु ठीक थिएन भने मौन व्रत लिएर गरेका तिनै काम आज ठीक नमानिनुपर्ने होइन र ? जो अगुवा उहीबाट यसो हुनुपर्ने हो र ?

राम्राको सुरुवात कतै छैन । देशका विश्वविद्यालयका उपकुलपतिलाई उच्चासनमा बसेका शासकका सनकमा विनाकारण हटाउने गरी ऐन संशोधन गरिएको छ । विश्वविद्यालयलाई राजनीतिका या शासकका ताबेदारीबाट चलाउन खोजिएको स्पष्टै देखिन्छ । राजनीतिक जोडघटाउ र ताबेदारीबाट नियुक्ति र निष्कासन गर्नेगरी व्यवस्था गरिएको प्रदेशप्रमुखका पदलाई प्रधानमन्त्रीको लात्तेभकुण्डो बनाउन सुरु गरेथे ओलीले आजका प्रमले त्यसैलाई दोहो¥याए । देशको कानुन र राजनीतिक व्यवस्थाका उच्च निर्देशनअनुसार मर्यादामा राखेर चलाउने प्रथाको सुरुवात कसले कहिले गर्ने साइत जुराउनुपर्ने कुरो यो हो र ?

थैली लिएर बनाइएका मन्त्रीबाट जनताले के आस गर्ने ? नेताले क्याबिनेट मन्त्री र राज्यमन्त्रीको छुट्टाछुट्टै दरभाउ तोकेका खबर बाहिरिएका छन् । नेतालाई दिएर मन्त्री बन्नका निमित्त कतिपयले पितापुर्खाले आर्जेको जमिन नै बेचेका काने सल्लाहका हल्ला एक कान दुई कान मैदान हुँदै नेपालभरि छरिएका छन् । भागबण्डालाई यिनले दलीय गठबन्धनका नाउँमा संस्कारै बनाइसकेका छन् । पालेदेखि मन्त्रीसम्म भागलाइएका मान्छेले भाग उठाउने कि जनता र देशको काम गर्ने ? के संस्कार बसाउँदै छौं हामी ? 

दैनिकजसो सभामुखलाई आफ्ना काम गराउन दबाब दिनु, अपशब्द बोलेर गाली गर्नु, गर्न लाउनु जस्ता क्रियाकलाप पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सामान्य संस्कार नै भएको देखिन्छ । भएका नभएका कुरा गरेर युवक भाँड्नु, पार्टीका र आफ्ना झुट्टा फुटानीमा रमाउनु उहाँको स्वभाव बनेको देखिन्छ । यसै प्रकारका अनेकौं आत्मकेन्द्री स्वभावले देशकै संस्कार धेरैले बिगारिसकेका छन् । संविधान सभाको अध्यक्ष, सभामुख जस्तो गरिमामय पदमा बसिसकेका व्यक्ति पदमा हुँदा एउटा कुरो पदबाहिर बस्दा अर्कै कुरो गरेर संविधान र पद्धतिकै धज्जी उडाउँछन् । अलिकति पनि जिम्मेवारी बोध छैन । 

उपभोक्तावादी संस्कारले सबै ग्रस्त छन् । उपयोग गर मिल्काउ काम छउञ्जेल भाँडो आफल तेरो ठाँडो राष्ट्रिय संस्कार संस्कृतिका रूपमा विकसित भएको छ । १३औं महाधिवेशनमा तेस्रो गुट बनाएका व्यक्तिको भाग र हैसियत बढेको देखेपछि अहिले नेपाली कांग्रेसमा तेस्रो गुट निर्माणका धम्की आउन थालेको सुनिन्छ । प्रजातन्त्रलाई गुटउपगुट जालझेल र भागबण्डाले थंथिलो पार्दा पनि त्यस्तै संस्कार बसाउने नेताको दौराको फेर समातेर वैतरणी पार गर्ने ध्याउन्नमा चिल्ला अनुहारका बिरुवा लागेको देख्दा मन रुन्छ, आत्तिन्छ तर उपाय खै ‘यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम् ।’

एमालेका चिल्लो अनुहार भएका युवक धोकेबाज, पदलोलुप र हिम्मतहारा देखिए भने नेपाली कांग्रेसका युवकमा पनि गवारा लागेको देख्न सकिन्छ । विश्वप्रकाश शर्मा एउटा चम्किलो भविष्य भएका युवक थिए तर कृष्णप्रसाद सिटौलाका तप्क्यानमा परेर टाक्सिन विवश छन् । बाहिर असाध्य बिक्री हुने युवक हुन् गगन थापा तर उनले पनि संगठन बनाउन र बौद्धिक परामर्श गर्नेभन्दा आकर्षक भाषणवाजमा आफ्नो नाम दर्दै लगेको देखिन्छ । बद्री पाण्डे, गोविन्द भट्टराई, प्रदीप पौडेल, धनराज गुरुङ, कल्याण गुरुङ, गुरुप्रसाद घिमिरे, श्याम घिमिरे, केशव सिंह, शोभाकर पराजुली, जीवन परियार, मीन विश्वकर्मा, अमृत अर्याल आदि जस्ता सुपठित युवकले कसैको छहारी खोज्नुभन्दा मूल्ययुक्त राजनीतिमा ध्यान दिएर नेतृत्वमा स्थापित हुने प्रयत्न गर्नुपर्छ । 

डा.चन्द्रमोहन यादव, महेन्द्र यादव, रामकृष्ण यादव, रामसरोज यादव आदि पनि लामो संघर्षका मैदानमा तपेर आएका छन् । यिनले पनि आफूलाई गुटउपगुटमा सामेल गर्नभन्दा स्वतन्त्र किसिमले कांग्रेसमा थिति बसाउन, सत्य कुरो राम्ररी बोल्न र संगठन तथा बौद्धिक बहसमा लागेर आफ्नो सुरक्षा गर्नु पर्ने देखिन्छ तर यतातिर यिनको ध्यान गएको छैन । अहिले कांग्रेसलाई मूल्यहीनता, विधान उल्लंघन, देशकै संविधान मिच्ने प्रवृत्तिले गाँजेको छ । विधान उल्लंघन जसले गरे पनि क्षम्य हुँदैन भनेर कोही बोल्न सकेको देखिएन । युवापुस्ता छ भनेर कसरी भन्ने खै त्यो तत्परता कुशाग्रमतिको प्रदर्शन र निडरताको अभिव्यक्ति र आचरण ? 

के नेपलको माटो वीर्यविहीन टट्टु (अर्काका कुरा बोक्ने) झट्टु (सानो झड्का लाग्दा तहस्नहस् हुने) र भट्टु (भाँडभैलो मच्चाएर पनि द्रव्य कमाउने र भट्टीमा जम्ने) ले भरिइसक्यो त ? कल्याण गुरुङले एउटा राम्रो सुरुवात गरेका छन् टिके, आत्म समर्पण गरेनन् र बौद्धिक किसिमले आफ्ना दृष्टिलाई संगठनमा लगेर बहसको विषय बनाए भने उनलाई हामी सबैले बधाई दिनैपर्छ । दौराको फेर समातेर आशीर्वाद मागेर या पुर्खौली बिर्ता कमाएर नेताका तहमा पुगेकाले नदिए पनि ।

परिवारवादको विरोध र भागबण्डाको अस्त्र लिएर सभापति बनेका वर्तमान सभापतिले परिवारवाद, गुटवाद, बृफकेसवाद, नसनातावाद, समयबिताएर प्रदर्शन गर्ने क्रियावाद जस्ता वादको सिर्जना गरेर आफ्नो परिचय समाजमा बनाइसकेका छन् । अतः चौधौं अधिवेशनले उपर्युक्त प्रकारका सबै गन्दगीलाई फोहोरदानीमा लगेर विसर्जन गरी, कहिले सत्य बोल्ने, कहिले असत्य बोल्ने, कहिले मीठो बोल्ने त कहिले अति टर्रो बोल्ने, कहिले उल्कासँग कमाउने त कहिले उल्कासित खर्च गर्ने वारांगनाको जस्तो चरित्र भएको राजनीतिलाई रामराज्यका नीतिमा र राजा जनकका वैदर्भिक नीतिमा स्थापित गर्ने आसलाग्दो नेता नआए नेपाली राजनीति रूपाजीवाका चरित्रबाट माथि उठ्न लामो समय लाग्न सक्छ । 


Top