नेपाली कांग्रेसको महाधिवेशन र आगामी नेतृत्व

प्रा. पुरुषोत्तम दाहाल   POSTED ON : भदौ २०, २०७८ (१२:१७ AM)

नेपाली कांग्रेसको महाधिवेशन र आगामी नेतृत्व

नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । सम्पन्न हुने समय अलि पर नै छ । कुनै पनि राजनीतिक दलका लागि आदर्श र सिद्धान्तमात्रै भएर पुग्दैन, कार्यक्रम, कार्ययोजना, कार्यनीति तथा क्षमतावान् र चलायमान नेतृत्वसमेत आवश्यक पर्दछ । नेपाली कांग्रेसको आदर्श र सिद्धान्त स्पष्ट छ राष्ट्रियता र लोकतन्त्र । यिनमा नवीन धार र तत्वहरूसहित परिभाषा थपिँदै गएको छ । समाजवाद कार्यक्रम हो र कार्ययोजनाका लागि नीति जरुरी हुन्छ तर यतिखेर नेपाली कांग्रेसमा दुई खाले बहस उठिरहेको अवस्था छ ।

(१) नेता केन्द्रित पहिलो बहस 

कांग्रेसमा यतिखेर आसन्न महाधिवेशनबाट आगामी नेतृत्व केन्द्रित बहस आरम्भ भएको छ । वर्तमान सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य त्रय सुजाता कोइराला, डा.शेखर कोइराला र कल्याण गुरुङको दाबी सभापति पदमा देखिएको छ । पूर्वउपसभापति गोपालमान श्रेष्ठको दाबी सुनिँदै छ भने केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र डा. रामशरण महतको इच्छा पनि सभापतिमै देखिन्छ । सार्वजनिक रूपमा आएका यी घोषित नामहरू हुन् । विमलेन्द्र निधिले त बानेश्वरमा सदस्य र समर्थकहरूको अत्यन्त उत्साहजनक उपस्थितिमा आफ्नो सम्पर्क कार्यालयसमेत खोलिसकेको अवस्था छ । 

(२) दलीय पद्धतिमा नीति र नेतृत्व 

जसको नीति त्यसैको नेतृत्व हुने प्रचलन छ । विगतमा बीपी कोइरालाको नेतृत्व, विचार र नीतिकै आधारमा नेपाली कांग्रेस स्थापित र सञ्चालित भएको हो । यसैकारण नेपाली कांग्रेसको ७५ वर्षको जीवनमा करिब ५१ वर्ष कोइराला परिवारको नेतृत्व रहृयो । कोइरालाकै बलियो समर्थन र बलियो प्रभावमा केही वर्ष नेतृत्व पाउनु भएका सुवर्ण शमशेर र २०३४ पछि कार्यबाहक सम्हाल्नु भएका कृष्णप्रसाद भट्टराईको समय (२०४८ फागुनसम्म) जोड्दा त करिब ६४ वर्ष कोइराला परिवार (मातृकाप्रसाद, बीपी, गिरिजाप्रसाद र सुशील कोइराला) कै नेतृत्व र वर्चश्वमा रहृयो नेपाली कांग्रेस । 

यसो हुनुमा बीपी कोइरालाको विचार र नीति नै मूलआधार हो । तर, २०४८ को महाधिवेशनमा निर्वाचित भएपछि कोइराला परिवारको विरासतमुक्त हुन खोजे पनि कृष्णप्रसाद भट्टराई र २०७२ पछि निर्वाचित वर्तमान सभापति शेरबहादुर देउवाले कुनै नयाँ विचार, कार्यनीति वा कार्ययोजना ल्याउन र परिभाषित गर्न सक्नु भएन । यसैकारण अहिले पनि कार्यनीति र कार्ययोजनामा भन्दा बढी नेतृत्व केन्द्रित बहस चलिरहेको छ कांग्रेसमा । लिगेसी खोज्दै अनुहार हेरेर, लगाव हेरेर, लाभहानी हेरेर नेताको नाममा बहस चलिरहेको छ । नेपाली कांग्रेसको वर्तमानको यो दुःखद् पक्ष हो । 

विवेक, तर्क, न्यायसंगत हिसाबले र कार्यनीति र योजना प्रधान भएर कुनै बहस भएको छैन । वर्तमान समयको पदध्वनि सिर्जित आवश्यकता र नेतृत्व दाबी गर्नेहरूको औचित्य, आवश्यकता, क्षमता, सार्वजनिक छवि, अनुभव र योग्यताको मूल्यांकन गर्नुभन्दा शक्तिको दुरुपयोग गरिरहेकाहरू, शक्तिलाई निरर्थक बनाइरहेकाहरू, कुण्ठा, आक्रोश र महत्वाकांक्षाको शिखरमा पुगेका भित्रको मनोविज्ञानले नेतृत्व बहस प्रभावित भइरहेको छ । 

यस्ता बहसमा लोकतान्त्रिक परिवर्तनलाई सबल गराउने, यसको मूल संयन्त्र नेपाली कांग्रेसको संस्थागत विकास गर्ने, नेपाली धरातलको समाजवादको भाष्य अब कस्तो हुनुपर्ने हो, सदस्य साथीहरूलाई सैद्धान्तिक रूपमा दीक्षित र प्रतिबद्ध गराउँदै आचरण र व्यवहार राजनीतिक संस्कृतियुक्त बनाउने, युवापंक्तिलाई पार्टीमा कसरी भर्ती गर्ने र उनीहरूको विश्वास कसरी जित्ने, रोजगारीका अवसरको सिर्जना र तिनको स्थायित्वका लागि के गर्ने, शहीद र बलिदानी परिवारबारे कुन नीति हुने, मानवअधिकारको रक्षा, न्याय नपाएका पीडितका लागि कस्तो न्याय दिने, असक्त, अपांगता भएका, विपन्न र सीमान्तीकृतको समग्र उत्थानका लागि के गर्ने, स्वास्थ्य, शिक्षा, व्यापार व्यवसायलाई कुन मोडलमा अघि बढाउने, महिला, दलित, आदिवासी, जनजाति, तराई मधेसी, मुस्लिम, थारू र अरू वर्गका विपन्न र अशिक्षितका लागि के गर्नुपर्ने ? 

राष्ट्रियतालाई सबल गराउन देशको नीति र रणनीति कुन रूपमा कसरी प्रयोग गर्ने, आन्तरिक सुरक्षा नीति कस्तो हुनेजस्ता विषय गौण हुँदैछन् । पार्टीकै नेतृत्वमा जारी वर्तमान संविधानले तय गरेका मान्यताहरूका आधारमा पार्टीको नेतृत्वलाई स्थापित गर्नुको सट्टा अमूक व्यक्ति आवश्यक कि अनावश्यक भन्नेमा सम्पूर्ण नेपाली कांग्रेसको ऊर्जा क्षय भइरहेको छ । संविधान निर्माण र जारी गरेकोमा गर्व गर्नेले संविधानप्रति गौरव गरेको अनुभव हुँदैन । 

नेतृत्वको बहस चलाउँदा कांग्रेसको जीवनमा वर्तमानको आवश्यकता के हो ? हिजोका प्रयोगहरू कति र कुन रूपमा सफल भए ? नेपाली कांग्रेसको इतिहासको मूल्यांकन कसरी हुनुपर्ने हो ? कहाँनेर चुक्ता अनेक नेपालीहरूको अनाहक जीवनको अन्त्य र परिवारले क्षति भोग्नु प-यो ? प्राप्त अवसरलाई हिजोका दिनमा कसले कुन रूपमा उपयोग ग¥यो ? विधान र पद्धतिगत हिसाबले पार्टीलाई संस्थागत गर्ने प्रयास भयो कि भएन ? पार्टीका आन्तरिक संरचनाहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरू सुदृढ गराउने वैधानिक प्रयास र प्रयोग भए कि भएनन् ? 

सदा भागबण्डा र अंशबण्डाको फण्डामा नेतृत्वको समय, पार्टीको अवस्था र सदस्यहरूको क्षमताको क्षयीकरण हुनुको मूल कारण के हो ? संवैधानिक उपलब्धिहरूलाई विश्वासका साथ अगाडि बढाउने र परिवर्तनमाथि आफ्नो पूर्णस्वामित्व रहेको पुष्टि गर्ने कि धरमर गर्दै माछो देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हातको दोधारे नीति किन पल्लवित हुँदै गएको छ ? यी प्रश्नहरू नीति र नेतृत्वका सन्दर्भमा विमर्शयोग्य रहेका छन् ।

(३) पुस्तान्तरणको खोजी :

नेपाली कांग्रेसमा यतिखेर नयाँ पुस्ता, युवा पुस्ता, पुस्ताहस्तान्तरण, पुस्तान्तरण आदि शब्दहरूको व्यापक प्रयोग हुनेगरेको छ । युवा उमेर हो कि विचार र क्रियाशीलता हो ? नेतृत्व कुशलता हो वा अनुभव हो ? पर्याप्त बहस हुनसक्छ । नयाँ पुस्ता वा पुस्ता हस्तान्तरण बहस गर्नेहरू नै पुरानोमात्रै होइन अति पुरानोहरूलाई खुशी पार्न र उनीहरूबाट क्षति हुन्छ कि भन्ने भयग्रस्त मानसिकतामा देखिन्छन् । आत्मकेन्द्रित चिन्तनका कारण राजनीतिक दलको भविष्य समाप्त प्रायः हुन्छ भन्ने उनीहरूमा चेत छैन र भए पनि आफ्नो स्थान सुरक्षित गर्ने महत्वाकांक्षाको सिकार उनीहरू भइरहेका छन् ।

अरू सबैलाई हरप्रयास गरी पाखा लगाएर उछिन्ने र सतहमा हिरोइजमको खेलमैदान बनिरहेको छ कांग्रेस । यतिखेर कांग्रेसमा आत्मकेन्द्रित चिन्तन, व्यक्तिवादी चरित्र अनि आर्यघाटसम्म पुग्दा पनि आफ्नो पार्थिव शरीरमा सकेसम्म आफैंले पार्टीको झण्डा ओडाउने अवसर पाउनुपर्छ भन्ने अतिवादी लोभ देखिन्छ । यसका कारण संगठनको सिँढी पूर्णअवरुद्ध भएको छ र एकै ठाउँमा कोचमकोच भएर सिँढी चढ्न नपाउनेहरूबीचमै अपवित्र प्रतिस्पद्र्धा हुनेगरेको छ र एकले अर्कोलाई तल झारेर माथिल्लो खुड्किलोमा पुग्ने कसरत गरिरहेको अवस्था छ । 

अगाडि निकास नहुँदाको यो स्वाभाविक परिणाम हो । सिद्धान्तमा समावेशीता, समुदायका बीचको सद्भाव, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका मौलिक पक्ष र सामाजिक न्याय जोडिएको भनिए पनि नेपाली कांग्रेसमा आबद्ध अधिकांश नेताहरू र सदस्यहरूमा पर्याप्त द्विविधा छ । 

(४) चारकोणमा विभाजित विचार 

नेपालको संविधानमा राजतन्त्रको अवशान गरी गणतन्त्र, एकात्मक राज्य संयन्त्रका स्थानमा तीन तहको संघीय संरचना र हिन्दू राष्ट्रको त्रिपन्न वर्षको प्रयोग (विसं २०१९ सालमा राजा महेन्द्रले जारी गरेको संविधानमा पहिलो पटक नेपाली हिन्दू अधिराज्य घोषित भएको हो)लाई हटाएर धर्मनिरपेक्षता लिपिबद्ध भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसका सबै संविधानसभा सदस्यहरूले हस्ताक्षर गरी जारी संविधानमाथि हस्ताक्षरकर्ता नै विवाद गरिरहेका छन् । संविधानलाई लिएर कांग्रेसमा यस अर्थमा चार धार स्पष्ट छ । 

पहिलो धार : संविधान निर्माण गरी जारी गर्ने नेतृत्व लिएकोमा गौरव गर्दै यसको स्वामित्व लिनुपर्छ भन्ने । दोस्रो धार हो : नेपालका लागि उपयुक्त नभएको हुनाले यी तीनवटा नै खारेज हुनुपर्छ । तेस्रो हो संघीयतालाई नेपालले थेग्न सक्दैन यो हटाउनु आवश्यक छ र चौथो हो धर्मनिरपेक्षतामात्र हटाएर धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र बनाउनुपर्दछ । किनकि संसारमा इसाई, इस्लामिक, बुद्धिष्ट र जुजहरूको पहिचानसहितका राष्ट्र छन् र केही इस्लामिक राष्ट्रहरू छाडेर ती सबै लोकतान्त्रिक देशहरू हुन् । सनातन वैदिक हिन्दू पहिचान हुनुपर्छ । यी भनाइहरू कुन सही हुन्, कुन गलत विवेकसम्मत छुट्याउनु जरुरी छ ।

तर, नेपाली कांग्रेसमा संविधानका मौलिक तत्व स्वीकार गर्नेहरूसमेतले हिन्दू राष्ट्र पक्षको नेतृत्वको पक्षमा, संघीयताविरोधी धारमा र गणतन्त्रका विपक्षको नेताहरूका पक्षमा बहस गरिरहेको सुनिन्छ । समावेसी चरित्रमाथि त सोच्नै फुर्सद छैन । अनि यस्तै बहस उल्टो विचार लिने नेताहरूसँग जोडिएर हुने गरेको छ । यहीँनेर प्रश्न उठ्छ : यतिखेर नेपाली कांग्रेसमा कस्तो नेता र नेतृत्व हुनुपर्छ । आफूलाई सभापतिको दावेदारी प्रस्तुत गर्दा र कुनै एक दावेदारको पक्षमा बहस गर्दा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीतासहितको संविधानका पक्षमा रहेको नेतृत्व वा यसविरुद्ध जनमत सिर्जना गर्न नेतृत्व चयन गर्ने ? 

नेपाली कांग्रेसका केन्द्रीय तहदेखि नौ लाख क्रियाशील सदस्यहरू र महाधिवेशन, महासमिति सदस्यहरूले यसको उत्तर खोजेरमात्रै बहस गर्ने र नेतृत्वका पक्षमा उभिने क्षमता राख्नुपर्छ । संविधान नै नमान्ने नेतृत्वले त्यही संविधानले प्रदान गरेको हकको उचित रक्षा र विकास कसरी गर्नसक्छ ? संगठनलाई चुस्त, सामयिक, स्वाभिमानी, अनुशासित कसरी बनाउन सक्छ ? पार्टीको विधि र विधानलाई कसरी कार्यान्वयन गर्नसक्छ ? अनि समावेशी, सद्भावपूर्ण, न्याय र समन्वय गर्ने सामथ्र्य कसरी हुनसक्छ ? 

कम्तीमा अठार वर्ष पुगेको नागरिकलाई कसरी आकर्षित गर्नसक्छ र आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउँनसक्छ ? विजयी गराएर नेतृत्व लिनसकेमा मात्रै, शान्ति, स्थिरता, समृद्धि हासिल गरी देशको रक्षा हुनसक्छ । नागरिक जति समृद्ध हुन्छन् त्यति नै देश शक्ति सम्पन्न हुँदै जान्छ । आजका दिनमा नेपाल हेपिनुमा सदा विदेशीका घरमा आफ्नो श्रम बेच्दै जीविका गर्ने नागरिकहरूको दयनीय अवस्था नै हो । जीविका मात्रै होइन समृद्धि आवश्यक छ । 

समृद्धिमात्रै होइन शक्ति आवश्यक छ । यदि नेपाली कांग्रेसले स्वस्थ, सक्रिय, दूरदर्शी र सक्षम नेतृत्व चयन गर्नसकेमा यो सम्भावना जहिले पनि रहन्छ । अन्यथा गुटउपगुट, आत्मकेन्द्रित महत्वाकांक्षा, कुण्ठा, अहंकारको दलदलमा कांग्रेस, वर्तमान परिवर्तन र देशको भविष्यसमेत स्खलित भएर जाने निश्चित छ, यो कुनै भविष्यवाणी नभएर यथार्थ हो । 

(५) बहसमा आएका प्रमुख दावेदारहरू 

(क) वर्तमान सभापति शेरबहादुर देउवाको करिब बाउन्न वर्षको संघर्षशील समयमध्ये उहाँले २०४८ देखि यो तीस वर्षमा गृहमन्त्री, पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापतिको जिम्मेदारी लिइसक्नु भएको छ । उहाँको कामको समीक्षा अब हुनु जरुरी छ । स्मरणीय छ उहाँ २०४६ को जनआन्दोलन हुनु केही वर्ष पहिलेदेखि नै नेपालमा हुनुहुन्थेन । जनआन्दोलन सफल भएपछि नेपाल फर्किनु भएको हो । तर, २०२८ सालमा नेपाल विद्यार्थी संघको दोस्रो सभापतिका रूपमा देउवाले पर्याप्त यातना सहनु भएको थियो ।

(ख) अर्का दावेदार वरिष्ठ नेता रामचन्द्र पौडेलको करिब साठी वर्षको संघर्षको इतिहास छ र २०४८ यता मन्त्री, सभामुख, कांग्रेसको उपसभापति, कार्यबाहक सभापति हुनुभयो भने उहाँ प्रतिनिधिसभामा सत्र पल्टसम्म प्रधानमन्त्रीको उम्मेदवारीमा असफल रहनुभयो । उहाँको राजनीतिमा २०२० सालबाट सक्रिय हुनुभएको हो र अहिलेसम्म उहाँको सक्रियता निरन्तर छ ।

(ग) विमलेन्द्र निधि १४ वर्षको उमेरमै जेल पुगेर विसं २०२६ देखि निरन्तर आजसम्म पार्टीमा सक्रिय हुनुहुन्छ । २०३६ सालमा जननायक बीपी कोइरालाको प्रस्तावबाट नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बन्नुभएका निधिले २०५१ यता मन्त्री, उपप्रधानमन्त्री, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिको जिम्मेदारी बहन गर्नुभएको छ ।

(घ) प्रकाशमान सिंहको क्रियाशील यात्रा २०३८ तिरबाट आरम्भ भयो र विगत ३८ वर्षदेखि अविचल छ । उहाँले २०५१ पछि मन्त्री, उपप्रधानमन्त्री, पार्टीको महामन्त्री र उपसभापति हुँदै संसदीयदलको उपनेतासमेत भएर अनुभव हासिल गर्नुभएको छ ।

(ङ) डा.शेखर कोइराला : २०६१ बाट सक्रिय राजनीतिमा लाग्नु भएका कोइरालाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार, उपकुुुलपति हुँदै संविधानसभा सदस्य र केन्द्रीय सदस्य भएर योगदान गर्नुभएको छ ।

(च) डा.शशांक कोइराला : २०६४ पछि प्रत्यक्ष राजनीतिमा आउनु भएपछि उहाँ संविधानसभा सदस्य हुँदै अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ र तेह्रौं महाधिवेशनबाट उहाँ महामन्त्रीमा निर्वाचित हुनुहुन्छ ।

(छ) यस अतिरिक्त पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा.रामशरण महत र सुजाता कोइराला पनि मन्त्री, केन्द्रीय सदस्य वा पदाधिकारीको अनुभवी हुनुहुन्छ । सबैभन्दा कान्छा दावेदार हुनुहुन्छ कल्याण गुरुङ । उहाँ नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै अहिले पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

(६) विवेक सम्मत निर्णयका लागि तर्कसंगत प्रश्न 

माथिको विवरणको आधारमा हेर्दा देउवा र पौडेलले पार्टीलाई एकताको सूत्रमा पुनः प्रतिबद्ध गराउने जिम्मा लिएर अभिभावक हुनुपर्ने स्पष्ट छ । उमेर र अनुभव दुवैको उपयोग अब कांग्रेसमा कुनै गुट निर्माण गर्ने र गुटको नेतृत्व लिनुभन्दा पनि सम्पूर्ण कांग्रेसजनको अभिभावक हुने समय दुवैको आएको छ । उहाँहरू पछि चर्चामा रहनु भएका डा.शेखर कोइराला र डा.शशांक कोइरालाको अनुभव पर्याप्त छैन । कृष्णप्रसाद कोइरालाका नाति, बीपीका पुत्र शशांक र केशव नोनाका पुत्र डा.शेखर हजुरबा र पितामाताको योगदानकै कारण छोटो राजनीतिक जीवनमै कांग्रेस माझ नेतृत्वमा पुग्नु भएको हो । 

खासगरी कांग्रेसजनहरूले गरेको बीपी कोइरालाको स्मरण र सम्मान हो उहाँहरूको उत्थान । गोपालमान, अर्जुननरसिंह, डा.रामशरण वा सुजाताहरू योग्य भए पनि सम्भावना कम छ भन्ने उहाँहरूलाई राम्ररी थाहा छ । कल्याण गुरुङले नयाँ पुस्ताको परीक्षण गर्ने तयारी गरिरहनु भएको हुनसक्छ ।

यसरी हेर्दा आजको पुस्ताले विमलेन्द्र निधि र प्रकाशमान सिंहमा कांग्रेसको सम्भावना खोज्नुपर्ने हुन्छ । दुवै योग्य हुनुहुन्छ र दुवैको पारिवारिक लिगेसीमात्र होइन उहाँहरू आफ्नै संघर्षको इतिहास छ । प्रकाशमान सिंह गणेशमान सिंहको छोरा र निधि अहिंसा, सामाजिक न्याय र समुदायका बीचको सद्भाव सेतु महेन्द्रनारायण निधिका छोरा हुनुहुन्छ । दुवैका पिताजीहरूको गर्व गर्नलायक र स्मरणीय योगदान अरू कुनै शीर्ष नेताहरूभन्दा कम छैन । सिंहको परिवार र निधिको परिवारका बीच फाटो ल्याउने षड्यन्त्र थियो १२औं महाधिवेशनमा दुवैलाई फरक गुटबाट महामन्त्रीमा प्रतिस्पद्र्धा गराउने खेल । 

यो खेलको परिणाम नेपाली कांग्रेसमा पुर्न कठिन खाल्डो निर्माण हुँदै गएको छ । यो खाल्डोलाई मेट्न दुवैजना तयार हुनुपर्दछ । निधिले केही पहिलेदेखि सिंह र शशांकसँग निकै पटक टी मिटिङ वा लन्च मिटिङसमेतको पहल गर्नुभएको थियो । उहाँले राजधानीबाट टावर गणेशमान सिंहको परिवार, तराईमधेसबाट टावर महेन्द्रनारायण निधिको परिवार र कोइराला परिवारको पहाडीमूलबाट टावर बीपी कोइरालाको परिवारका बीच एकता, सहकार्य र सहमति हुनसके नेपाली कांग्रेसभित्र पलाएका स्वार्थगत गुट, उपगुटहरूको अन्त्य गरी वा सन्तुलनमा राखी पार्टीलाई पुनर्जीवन दिन सकिन्छ कि भन्ने सोच राख्नुभएको देखिन्छ । कतिले त तीन राजकुमार भनेरसमेत खिल्ली उडाएको नसुनिएको होइन ।

तर, कांग्रेसभित्र निरन्तर चिरा पार्दै आफ्नो दुनो सोझ्याउन खोज्नेहरूले भाँजो हालिरहेको देखिन्छ । सायद यही भाँजोको परिणाम हो केही दिन पहिलेमात्रै रामचन्द्र पौडेलसहित सिंह र कोइराला त्रयले उहाँहरूबीच नै एकता भएर सभापति पदमा एकजनाले प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ । यो घोषणा गुटको अन्त्य वा कांग्रेसलाई एकताबद्ध गराउन नभएर खास गुटको संस्थागत निरन्तरता हो र भविष्यमासमेत यो महारोग अझ विस्तारित हुने सन्देश पनि हो ।

यदि एकजनामा अरूले सर्वसम्मत समर्थन गरेको अवस्थामा आफूले पनि समर्थन गर्ने जानकारी पटकपटक निधिले दिनुभएको थियो तर अहिले चारजनाको गुट बनाएर वरिष्ठ नेता पौडेलहरूको जानकारी सार्वजनिक भएको छ । पार्टीप्रति त्यति चिन्तित हुनुहुन्छ र गुटको मोह छैन भने सबैलाई एक ठाउँमा समेटेर सर्वसम्मत चयन गर्ने प्रयास हो भनेर उहाँहरूबाट किन सार्वजनिक जानकारी भएन ? यसको उत्तर कांग्रेसका छोटेबडे, पुराना नयाँ सबै पुस्ताले दिनै पर्ने हुन्छ ।

(७) निधिको उम्मेदवारीमाथि तर्क र विवेक 

माथिको विश्लेषणबाट के स्पष्ट हुन्छ भने सभापतिको दाबी गर्ने विमलेन्द्र निधिको निर्णयलाई तर्क र विवेकको कसीमा हेर्नु जरुरी छ । समकालीन दावेदारहरूमध्ये उमेरको ज्येष्ठताका आधारमा डा.शेखर, प्रकाशमान सिंह र निधि, अन्त्यमा डा.शशांक हुनुहुन्छ । योगदानका हिसाबले पहिले निधि जसको बाउन्न वर्षभन्दा बढीको योगदान छ, त्यसपछि प्रकाशमान सिंह जो ३८ वर्षदेखि निरन्तर हुनुहुन्छ । यसपछि क्रमशः डा.शेखर करिब सत्र वर्षदेखि र डा.शशांक करिब तेह्र वर्षदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ ।

नेपाली कांग्रेसको आयु ७५ वर्षमा नेपाली कांग्रेसको भोट बैंक र लोकतान्त्रिक आन्दोलनभूमिका रूपमा परिचित तराई मधेसबाट पहिलो पटक सभापतिको दावेदारी सबल रूपमा प्रस्तुत भएको छ । मानौं नेपाली कांग्रेसमा संलग्न अहिले ५० वर्ष उमेर समूहको कुनै पनि तराई मधेसीलाई हेर्ने हो भने अर्को पच्चीस वर्षसम्म पनि नेपाली कांग्रेसमा सभापतिको प्रबल दावेदार हुने सम्भावना देखिँदैन । अर्थात् नेपाली कांग्रेसको एक सय वर्षको जीवनमा तराईमधेसी मूलको व्यक्तिले सभापतिमा दाबी गरेको र योग्य, समर्थ र संघर्षशील इतिहास भएको व्यक्तिका रूपमा विमलेन्द्र निधि देखा पर्नुभएको छ । उहाँ पिताजी महेन्द्रनारायण निधिको योगदानको लिगेसीले मात्रै स्थापित होइन । पार्टीमा आफ्नै योगदानले निर्मित हो भन्ने यथार्थ हो ।

शेरबहादुर देउवासँगको सम्बन्धको चर्चा हुनेगरेको छ । देउवा पहिलो चरणमा गिरिजाप्रसादको र दोस्रो चरणमा गणेशमान र कसिुनजीको लिगेसीमा शक्तिमा पुग्नुभएको हो २०४८ पछि । नेपाल विद्यार्थी संघको सभापतिमा निधि, देउवालगत्तै निर्वाचित हुनुभएको हो र उहाँले निष्ठा र इमानदारीपूर्वक २०५१ सालयता देउवालाई सहयोग गरिरहनुभयो । यद्यपि कतिपय राजनीतिक र प्रशासनिक प्रश्नमा निधिका आफ्नै अडान हुनेगरेको सबैलाई थाहा छ । 

२०५९ सालमा नेपाली कांग्रेसको विभाजनका समय देउवाका बलिया समर्थकहरू खुमबहादुर खड्का, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, डा.नारायण खड्का, दीपकुमार उपाध्याय, बलबहादुर केसी, जयप्रकाश आनन्दहरूले देउवालाई परित्याग गरी कोइरालाहरूका पक्षमा सक्रिय हुँदासमेत निधि चट्टानजस्तो भएर देउवाको साथमा देखिनु भएको थियो । त्यसभन्दा पनि तेह्रौंं महाधिवेशनमा आफूलाई सहयोग माग्दै देउवाले भन्नुभएको : चौधौं महाधिवेशनमा म निधिलाई सभापतिमा समर्थन गर्नेछु भन्ने कुरा बारम्बार आइरहेको छ र स्वयं देउवाले पनि अस्वीकार गर्नुभएको छैन । 

तर, वातावरण पुनः आफू उठ्नुपर्ने देखियो भन्दै अहिले उम्मेदवारीमा तयारी गरिरहनु भएको छ । पाँच पटक प्रधानमन्त्री, दुई पटक सभापति हुनुभएका देउवाले अब के नयाँ काम गर्न सक्नुहुन्छ र त्यस्तो अनिवार्य वातावरण के र किन प-यो खुलाउनु भएको छैन । यसलाई के भन्ने ? राजनीतिमा जे पनि हुन्छ भन्ने ? कांग्रेसजनले नै विचार गर्नुपर्ने विषय हो ।

अन्त्यमा : हिमाल, पहाड, तराई मधेस सबैको देश सबैको कांग्रेस भन्ने आदर्श वाक्य र जनतासँग कांग्रेस कांग्रेससँग जनता जोड्ने विश्वाससहित आगामी निर्वाचनमा रूख चिहृनमा बहुमत ल्याउने लक्ष्यका साथ सभापति पदमा निधिको दाबी उद्घोषित भएको छ । निधिको यो उद्घोष कति सफल हुने हो भन्न सकिँदैन । किनकि नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनपर्छ भनेर बहस गर्नेहरू पुरानै नेताहरूको फेर समातेर आफ्नो भविष्यको खोजी गरिरहेको देखिन्छ कांग्रेसमा । यो अग्रगति हो कि पश्चगति हो कांग्रेसजनले आफैं छुट्याउन सकेमा कांग्रेस महाधिवेशनको अर्थवत्ता हुनेछ ।


Top