मानव बेचविखन तथा ओसारपसार मानवजातिकै कलंक

✍️ गीता अधिकारी   POSTED ON : भदौ २०, २०७८ (८:३६ AM)

मानव बेचविखन तथा ओसारपसार मानवजातिकै कलंक

आज १५औं मानव बेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवस विविध कार्यक्रमबीच मनाइँदै छ । यस वर्ष ‘मानव बेचविखन मुक्त समाज, हाम्रो प्रतिबद्धताः सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौं शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचविखनविरुद्धको सार्क महासन्धि २००२’ लाई २०६३ भाद्र २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ सालदेखि हरके वर्ष भाद्र २० का दिन यो दिवश मनाइँदै आएको छ । 

यो दिवस अन्तर्राष्ट्रि रूपमा भने ३० जुलाईका दिन मनाइँदै आइएको छ । मावन बेचविखनविरुद्ध सचेतनालाई प्रचारप्रसार साथै पीडितहरूको सुरक्षाका लागि सन् २०१३ मा संयुक्त राष्ट्रअन्तर्गतका सदस्य राष्ट्रहरूले जुलाई ३० लाई अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवसको रूपमा मनाउने संकल्प अघिसारेका थिए । त्यसैअनुसरा अन्तर्राष्ट्रिय रूपमा ३० जुलाईमा यो दिवस मनाउने गरिन्छ । 

प्रत्येक वर्ष लाखांैको संख्यमा मावन बेचविखन हुने गरेको तथ्यांकहरू बताउँछन् । नेपालबाट वर्षेनी कति मानिस बेचविखनमा पर्छन् भन्ने यकिन तथ्यांक छैन । अन्तर्राष्ट्रिय श्रम संगठन २०१८ को तथ्यांकअनुसार विश्वमा ४० लाख मानिसहरू बेचविखनको शिकार बन्ने गरेका छन् । जसमा ८१ प्रतिशत बाध्यकारी श्रममा लगाउनेदेखि अन्य अनैतिक क्रियाकलापमा सामेल गराउने गरेको पाइएको छ । 

यसमध्ये २५ प्रतिशत बालबालिका र ७५ प्रतिशत महिला तथा युवती पर्ने गरेका छन् । यो तथ्यांक हरेक वर्ष बढ्दै गएको छ । हामी २१औं शताब्दी कुरा गरिरहँदा पनि मानव बेचविखन तथा ओसारपसार जस्तो कलंकलाई निर्मूल पार्न सकिएको छैन । २१औं शताब्दीको यस सभ्य भनिएको युगमा समेत यस्ता अपराध हुनु मानवजातिको लागि एक कलंक हो । 

नेपालबाट वर्षेनी हजारौं महिला एवं बालबालिकाहरू वैदेशिक रोजगारीको समेतको बाहनामा भारत तथा अन्य खाडी मुलुकहरूमा बेचविखन तथा ओसारपसार भइरहेका विभिन्न तथ्यांकले पुष्टि गर्दछ । नेपालमा रहेको बढ्दो गरिबी, जनचेतना तथा शिक्षामा कमी, लैगिंक भेदभाव, न्यून आर्थिक स्तर, भारतसँगको खुला सिमाना, महिलामाथि हुने विभिन्न हिंसा, बेरोजगारी जस्ता अवस्थामा गरिबी विवशताको फाइदा उठाई महिला र बालिकाको बेचविखन भएको पाइन्छ । 

यसको रोकथाम र नियन्त्रणका लागि भएका विभिन्न प्रयास पूर्णरूपमा सफल हुन सकेका छैनन् । पछिल्लो समयमा आएर महिला तथा बालबालिका बेचविखन नयाँ स्वरूपमा विकसित भइरहेको र न्यूनीकरणका लागि चुनौतीहरू थपिएको अधिकारीको भनाइ छ । यस्तो धन्दा गर्नेहरूले नयाँ–नयाँ तरिका अपनाई यो अमानवीय कार्य गर्दैआएका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचविखनमा पर्ने जोखिम बढेको बताइन्छ । केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचविखनका जोखिममा पर्ने गरेका भए पछिल्ला समय शहरकै शिक्षित महिला पनि बेचविखनको जोखिममा पर्न थालेका घटनाहरू सार्वजनिक हुन थालेका छन् । 

विगतदेखि नै मानव बेचविखनलाई यौन कार्यसँग जोडेर हेर्ने गरिन्थ्यो । यस्तो दृष्टिकोण अहिले पनि कायमै छ । सुरुमा नेपालबाट महिला तथा

बालिकाहरू भारतका ठूला शहरहरूमा व्यावसायिक यौन शोषणका लागि बेचविखन हुने गरेकोमा पछिल्लो समय यो समस्याको आयाममा परिवर्तन हँुदै विभिन्न स्वरूपमा देखा परेका छन् । अहिले नेपाली महिलाहरू खाडीका देश र विभिन्न अन्य तेस्रो मुलकमा वस्तु जस्तै किनबेच गर्ने गरेको तथ्यहरू सार्वजनिक हुने गरेका छन् । भारतको बाटोहुँदै विभिन्न मुलुकहरूमा अवैधरूपमा नेपाली महिला पुग्ने गरेका छन् ।

रोजगारीका लागि जान बन्द गरेको मुलुकबाट उद्धार गरिएका महिलाहरू र उनीहरूको अवस्थाले यस तथ्यलाई उजागर गर्दछ । गत वर्षमात्रै भारतको असाम हुँदै श्रीलंकाको बाटो भएर अन्य मुलुक जान लागेका महिलाको ठूलो समूहलाई उद्धार गरेको घटनाले यस्ता कार्य निरन्तर भइरहेको पुष्टि हुन्छ । यस्तो कार्यमा लाग्ने दलालहरूको उन्मुक्तिले पनि यस्ता घटना कम हुनुको साटो अझ बढदै गएका छन् । 

नेपालमा मानव बेचविखन तथा ओसारपसार हिंसाको एक प्रमुख स्वरूपको रूपमा छ । कानुनविदहरूका अनुसार यसलाई राज्यविरुद्धको अपराधको रूपमा लिइन्छ । ‘मानव बेचविखन तथा ओसारपसारविरुद्ध ऐन २०६४ को दफा ४ (१) ले मान्छेको किनबेचमात्रै होइन कुनै प्रकारको फाइदा लिई वा नलिई बेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अंग झिक्ने र बेश्यागमन गर्ने कार्य समेतलाई मानव बेचविखन भनेको छ ।’ कानुनविद् भन्छन् । उहाँहरूका अनुसार नेपालको संविधान २०७२ को धारा २९ मा रहेको शोषणविरुद्धको हकअन्तर्गत कसैलाई पनि बेचविखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भनी उल्लेख गरिएको छ ।

मानव बेचविखन न्यूनीकरणका लागि विभिन्न राष्ट्रिय कानुन तथा दस्तावेजहरू निर्माण भएका छन् । यसविरुद्ध जति कडा कानुन बनाए पनि नयाँनयाँ उपायहरू अवलम्बन गर्दै यस्ता कार्य झन्झन् मौलाउँदै आएका छन् । यो संगठित अपराधका रूपमा मौलाइरहेको छ । यसको रोकथामका लागि कडा कानुनमात्र नभएर सबैमा सचेतना जगाउनु आवश्यक छ । समाजका हरेक तह, तप्काका साथै सरकारी र गैरसरकारी सबैको साझा प्रयास जरुरी छ यसलाई रोक्नका लागि । विद्यालय शिक्षादेखि नै बेचविखनमा सचेतना ल्याउनु आवश्यक छ । 

आज १५औं मानव बेचविखन तथा ओसारपसार नियन्त्रण दिवस मनाइँरहदा यो अमानवीय र दण्डनीय अपराध रोक्न हामी सबैको थप सक्रियता र प्रतिबद्धता आवश्यक छ । मानव बेचविखनलाई कानुनले दण्डनीय अपराधको रूपमा व्याख्या गरेको छ । गरिबी, अशिक्षा र अज्ञानताको फाइदा उठाउँदै मानिसले मानिस बेच्नु वा अवैध कामका लागि ओसारपसार गर्नु नैतिक र मानवीय अपराध हो । आउनुहोस् यसका विरुद्ध हामी सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गरौं । हाम्रो गाउँ, ठाउँ, समाज र देशलाई मानव बेचविखन हुनबाट मुक्त राख्न प्रयास गरौं । 

हाम्रो समाजबाटै मानव बेचविखन जस्तो निकृष्ट कार्य हुनु हामी सबैका लागि लज्जाको विषय हो । अन्तरदेशीय बेचविखनमात्र होइन कतै तपाईं हाम्रो टोल समाजमा बन्धक बनाएर महिला र बालबालिकालाई निकृष्ट कार्य गर्न त लगाइएको छैन ? यस्तो पाइएमा पनि सरकारी नियकालाई खबर गर्नु तपाईं हाम्रो कर्तव्य हो । 

सरकारले मानव बेचविखनलगायत महिला र बालिकामाथि हुने हिंसाको निराकरणका लागि आवश्यक कानुनहरू निर्माण र समयानुकूल परिवर्तन गरे पनि तपाईं हामी नै सचेत नहुँदासम्म यो कुकृत्य रोकिन गाह्रो हुन्छ । यसबारे हरेक व्यक्ति सचेत हुनुपर्छ । यस्ता गतिविधि न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरू समेत निरन्तर सञ्चालन हुन जरुरी छ । मानव बेचविखन तथा ओसारपसार समाजभित्र हुने जघन्य अपराधहरू भित्र पर्ने भएकाले सबै सचेत हुन आवश्यक छ । समाजमा मानव ओसारपसारको भिन्नभिन्न रूप देखिन थालेकाले शिक्षित पढेलेखेका पनि यसको शिकार हुन थालेकाले यसविरुद्ध लड्न समाज नै जागरुक हुन जरुरी भएको छ । 


Top