कुशी औँसीबारे संक्षिप्त चर्चा

✍️ तोयराज नेपाल   POSTED ON : भदौ २२, २०७८ (९:५१ AM)

कुशी औँसीबारे संक्षिप्त चर्चा

भाद्र कृष्ण अमावास्यालाई कुशी औँसी भनिन्छ । यस सम्बन्धमा धर्मसिन्धुमा यस्तो वचन उल्लेख छ-मासे नभस्यामावास्यां तस्यां दर्भाेच्चयो मतः । अयातयामास्ते दर्भाःसन्नियोज्याः पुनःपुनः ।। अर्थात् भाद्र मासका औँसीका दिन काटेको कुश एक वर्षसम्म बासी हुँदैन, बारम्बार प्रयोग गर्न सकिन्छ । कुश काट्ने मन्त्र यस प्रकार छ । विरञ्चिना सहोत्पन्नः परमेष्ठिनिसर्गजः । 

नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।। 

एवं मन्त्रं समुच्चार्य ततः पूर्वाेत्तरामुखः । 

हुंफट्कारेण मन्त्रेण सकृच्छित्त्वा समुद्धरेत् ।। कुश काट्ने अर्काे मन्त्र पनि छ । जो यस प्रकार छ । कुशाग्रे वसते रुद्रः कुशमध्ये च केशवः । कुशमूले वसेद् ब्रहृमा कुशान् मे देहि मेदिनि ।। 

यी मन्त्र पढेर पूर्वाेतर मुख भएर कुश काट्नुपर्दछ । स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि । करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। अर्थात् कुशमा ब्रहृमा, विष्णु र रुद्र तीनवटै देवता बसेका हुँदा स्नान, दान, जप, होम, स्वाध्याय, श्राद्ध र सन्ध्या तर्पण आदि गर्दा कुश हातमा लिएरमात्र गर्नुपर्दछ । जसले गर्दा कर्ममा पवित्रता हुन्छ । यथा वज्रं सुरेन्द्रस्य यथा चक्रं हरेस्तथा । त्रिशूलं च त्रिनेत्रस्य तथा विप्रपवित्रकम् ।।

 इन्द्रको वज्र, विष्णुको चक्र र शिवको त्रिशूल जस्तै विप्रको पवित्र (कुश) सुरक्षा गर्ने हतियार जस्तै हुन्छ जसले प्रयोग गर्नेलाई सुरक्षा दिन्छ । कुशको (दर्भको) वर्गीकरण यस प्रकार छ । कुशाः काशाः यवा दूर्वा उशीराश्च सकुन्दकाः । गोधूमा ब्रीहयो मुञ्जा दश दर्भाः सबल्लजाः ।। कुश, काँस, जौ, दुबो, उशीर, (खस) कन्दुक (एक किसिमको तृण विशेष) गहुँ, धान, मुज, बल्लज अर्थात् बाबियोसमेत गरी दश किसिमका दर्भजाति मानिएका छन् ।

कुशको उत्पत्तिका सम्बन्धमा उपर्युक्त–विरञ्चिना सहोत्पन्नः...यस श्लोकबाट ब्रहृमाजीका साथमा कुशको उत्पत्ति भएको हो भन्ने कुरा स्पष्ट हुन्छ । अर्काे कुरा स्वस्थानी कथाका आधारमा जब जालन्धर दैत्यले लोकमा उपद्रव, अत्याचार मच्चायो, त्यसो हुँदा त्यसलाई नमारी अत्याचार शान्त नहुने भयो । अनि भगवान् शंगरजी जालन्धरसँग युद्ध गर्न लाग्नुभयो तर उसकी पत्नी बृन्दा ज्यादै पतिव्रता भएकी हुँदा पतिव्रता धर्मका कारण उसलाई मार्न सक्नुभएन । अनि विष्णुले लोकको कल्याण गर्नका लागि जस्तो सुकै सजाय भोग्नुपरे पनि भोग्छु तर जालन्धरलाई नमारी भएन । 

त्यसकारण उसलाई मार्न छल गरी म बृन्दाको पतिव्रता धर्म नष्ट गराउँछु अनि तपाईंले जालन्धरलाई मार्न सक्नुुहुनेछ भनी भगवान् शंकरसँग सल्लाह गरी भगवान् विष्णुले जालन्धरको रूप धारणगरी बृन्दाको पतिव्रता धर्म नष्ट गरेपछि जालन्धरलाई शंगरले मार्नुभयो र लोकको कल्याण भयो । पछि विष्णुले छल गरी मेरो सतीत्व नष्ट गरेछन् भन्ने कुरा बृन्दाले थाहा पाएर ‘हे कपटी विष्णु तिमीले छल गरेर मेरो पतिव्रता धर्म नष्ट गरेछौ, त्यसकारण म पनि तिमीलाई श्राप दिन्छु सुन ––तिमीले ढुंगो, रूख, झार र घाँस भएर रहनुपरोस् भनेर श्राप दिइन् । 

पतिव्रताको श्राप भएको हुँदा विष्णुलाई श्राप लागेर ढुंगो हुनुपरोस् भनेकामा शालिग्राम, झार हुनुपरोस् भनेकामा तुलसी, रूख हुनुपरोस् भनेकामा पीपल र घाँस हुनुपरोस् भनेकोमा भगवान् विष्णु नै कुशका रूपमा उत्पत्ति भएर रहनुभएको हो भनिएको छ । त्यस कारण विष्णुको रूप भएको हुँदा कुश पवित्र मानिएको हो । अर्काे कुरा भगवानले हिरण्याक्ष दैत्यलाई मारेर पृथिवीलाई उद्धार गर्न बराह (बँदेल) को रूप लिई दैत्यलाई मारी पृथिवीको उद्धार गर्दा ठूलो परिश्रम परेको हुँदा थकाइ लागेर समुद्रका किनारमा बालुवामाथि विश्राम गर्न सुत्नुभएछ । 

बराह भगवान् सुत्नुहुँदा उहाँका केश झरेर त्यसबाट कुशको उत्पत्ति भएको हो भन्ने पनि पौराणिक उपाख्यानहरूमा पइन्छ । यस्ता धेरै कथानकहरूबाट ब्रहृमा, विष्णु र रुद्र तीन देवता कुशमा रहनुभएको कुरा सिद्ध भएको हुँदा कुश पवित्र मानिएको र देवकर्म तथा पितृकर्ममा पनि कुशको आश्यकता अपरिहार्य भएको कुरा शास्त्रमा वर्णित छ । 

यस दिन पितृहरूलाई तर्पण तथा पिण्डदान समेत गर्दा पितृहरूको मुक्ति हुने र छोरा नातिहरूलाई यस लोकमा सुख समृद्धि र परलोकमा समेत पुण्य प्राप्त हुने भएकोले बाबु हुनेले बाबुको मुख हेर्ने र बाबु नहुनेले तर्पण, पिण्डदान गर्ने शास्त्रानुकूल परम्परा पनि समाजमा चलिआएको छ । यसकारण आफ्नो सुरक्षा कवचका रूपका कुशको संरक्षण गरी यसदिन पूजा गरी काटेर राख्ता वर्षदिनसम्म बासी नहुने यस दिन कुश काट्ने गरिएको हुँदा यस दिनलाई कुशी औँसी भन्ने परम्परा चलेको हो । 

ॐ हरये नमः । 


Top