कोभिड-१९ को सन्त्रास र राज्यको दायित्व

✍️ गणेश सुवेदी   POSTED ON : भदौ २४, २०७८ (८:५४ AM)

कोभिड-१९ को सन्त्रास र राज्यको दायित्व

चीनको बुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) विश्वकै लागि अहिले पहिलो चुनौती बनेको छ । कोभिड-१९ले असर नपुर्‍याएको कुनै देश छैन । विश्वलाई नै आतंकित बनाउँने यो भाइरस यसरी फैलिएर दुनियाँलाई नै कालको मुखमा लैजाला भन्ने कसैले पनि सोचेको थिएन । पहिलो चरणको संक्रमण मत्थर नहुँदै विश्वव्यापी रूपमा दोस्रो भेरिएन्ट हुँदै तेस्रो भेरियन्टसमेत फैलिइसकेको छ । 

पहिलो भेरिएन्टभन्दा दोस्रो कडा र त्यसभन्दा अझ बढी तेस्रो भेरिएन्ट खतरनाक रहेको आशंका गरिएको छ । किनकि दोस्रो भेरिएन्टले नेपालमा पनि धेरैको ज्यान लिइसकेको छ । यसको स्वभाव र असर बारे विश्वका अनुसन्धानकर्ताहरू अझै यकिन हुन सकेका छैनन् भने यसको निराकरण त परको कुरा हो । तर, पछिल्लो पटक धेरै मुलुकहरूमा खोप बनाउन र खोप लगाउन थालिएको अवस्थाले संक्रमण न्यूनीकरणतर्फ उन्मुख भएको देखिन्छ । तर पनि मानव जीवनलाई यस बारेमा विश्वस्त तुल्याउन भने सकिरहेको अवस्था छैन । 

नेपाल जस्तो प्रविधिमा प्रगति गर्न नसक्ने देशहरू विश्वका शक्तिशाली मुलुकले कोभिड-१९ माथि गरेको अनुसन्धान र प्रगति पर्खँदै बसेका छन् । कोभिड-१९ को अनेक भेरिएन्ट थपिँदै जाने अवस्थाबाट यसको समूल नष्ट कहिले हुन्छ भन्ने बारेमा विज्ञहरू चिन्तित छन् । नेपाल सरकारले आफ्ना नागरिकहरूलाई सुरक्षित राख्न विश्वका विभिन्न खोप उत्पादक कम्पनी तथा मुलुकसँग खरिद तथा अनुदानमार्फत खोप उपलब्ध गराउँदै आएको छ । 

यसबाट सरकार नागरिकको स्वास्थ्यप्रति अति नै संवेदनशील छ भन्ने देखिन्छ तर संवेदनाभन्दा पनि द्रुत गतिमा सेवा प्रवाह गरी नागरिकलाई सरकार अभिभावकीय भूमिकामा कटिबद्ध छ भन्ने आभास गराउन जरुरी छ । त्यसैले अघिल्लो सरकारजस्तै बोलेरमात्र नभई काम नै गरेर देखाउनुपर्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ । 

सार्स कोभिडअन्तरगत म्युटेड भएर कति किसिमकका भेरियन्ट देखिए भन्ने तथ्यांक हालसम्म भेटिएको छैन । प्रत्येक लहरमा घातकभन्दा झन् घातक बन्दैआएका यस्ता भेरियन्टहरूमाथि अनुसन्धान भइरहेको छ । विज्ञहरूका अनुसार अहिले नेपालमा देखिएको कोभिड-१९को भेरियन्टको बि-१.६१७.२ हो । जिनको परीक्षण गर्दा यो भाइरस निकै संक्रामक रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरिएन्ट अफकन्र्सन’ अर्थात् घातक भाइरसको सूचीमा राखेको छ । भारतमा महामारीको रूप लिइरहेको दोस्रो भेरिएन्टले नेपालमा पनि सन्त्रासको वातावरण बनाएको छ । 

सरकारले पहिलो भेरिएन्टको समयमा पटकपटक र दोस्रो भेरिएन्टको समयमा २०७८ वैशाख १६ देखि करिब दुई महिनाको अवधिमा लकडाउन गरी संक्रमणलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । यसले जनजीवनलाई प्रत्यक्ष असर पारेको हुँदा स्मार्ट लकडाउनको अवधारणा अनुरूप हाल नियन्त्रण र खोप वितरण गर्दै आइरहेको छ । 

पछिल्लो समयमा सामाजिक सञ्जालमा आफना आफन्तको निधन, अस्पताल भर्ना र शीघ्र स्वास्थ्यलाभको कामनाका लागि गरिएका पोष्टहरूले नागरिकहरूमा आतंक फैलिएको थियो । हाल सबैको विरोध र यसले पार्ने गलत असरबारे बुझी धेरै मानिसहरू यस्ता खालका पोस्टहरू राख्न कम गर्न थालेका छन् । हुन पनि हो, रोगसँग लड्ने हो तर्सिने होइन किनकि डरले मानिसलाई कमजोर बनाउँछ तर उत्साहले आत्माविश्वास बढाउँछ । सकारात्मकता नै सबैभन्दा ठूलो औषधि हो । आत्माबल नै कोभिड-१९ लाई परास्त गर्ने पहिलो हतियार हो । 

संक्रमण फैलिएका अन्य मुलुकमा सरकार रणनीतिक रूपले कसरी अघि बढ्यो र जनतालाई आश्वास्त पार्न सक्यो त्यो उनीहरूको कुरा हो । पहिलो चरणको संक्रमणबाट नागरिकलाई जोगाउन तीनै तहका सरकारले अस्पताल निर्माण, आइसोलेसन सेन्टर निर्माण तथा कन्ट्रयाक ट्रेसिंगमार्फत संक्रमितको पहिचान र नियन्त्रणमा सजग रहेको देखिएको थियो तर दोस्रो भेरियन्टको समयमा ती सबै प्रक्रियाहरू पूर्णतया बन्द भए । 

जसले गर्दा संक्रमण बढ्न गई धेरै जनाले ज्यान गुमाउनु पर्‍यो । यो दुःखद् कुरा हो । यसपछि आउने तेस्रो भेरियन्ट अझ बढी खतरनाक हुनेछ भन्ने सबैले अड्कल काटिरहेको अहिलेको अवस्थामा हामी सबैका लागि यो समय अझ चुनौतीपूर्ण छ । पछिल्लो राजनीतिक परिवर्तनपछि सत्तारोहण गरेको देउवा सरकारले यो कुरालाई गम्भिर रूपमा लिएको प्रष्ट देखिन्छ । हाल दिनहुँजसो हुने खोप आयात र वितरणले यसलाई पुष्टि गरेको छ । 

एक समय यस्तो थियो कि संक्रमणले भयावह रूप लिइसकेको थियो । जसले गर्दा अक्सिजन सिलिन्डरको अभाव, आइसीयुको अपर्याप्तता, भेन्टिलेटरको माग हृवात्तै बढ्यो । जसको अनुपलब्धताका कारण धेरैले अकालमै ज्यान गुमाउनु प¥यो । सरकारले झण्डै स्वास्थ्य संकटकाल नै लगाउन ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ समेत जारी ग¥यो । अध्यादेश कार्यान्वयन गर्ने निष्कर्षसहित स्वास्थ्य मन्त्रालयले आपत्कालसम्बन्धी मापदण्डको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो ।

संयोगवश त्यसबेला कोभिड–१९ को संक्रमणदर घट्दै आयो । हाल यसको आवश्यकता र अपरिहार्यता कति छ त्यो सरकारलाई नै थाहा होला । तर, एकाएक हाहाकार र कोलाहल मच्चिएको सो अवस्थाबाट अहिले हामी संक्रमण दरमा ओरालो झरेका छौँ तर पनि हामी अझै सचेत हुनुपर्ने अवस्था भने रही नै रहेको छ । आशा गरौँ, तेस्रो भेरियन्टको प्रभावबाट हामीले त्यस्तो क्षति व्यहोर्नु नपरोस् ।

कोभिड-१९ नेपालीहरूका लागि अभिशाप नै बन्न पुगेको छ । विश्वका शक्तिशाली मुलुकहरू यस समयमा आफ्ना नागरिकलाई घरमै सुरक्षित रहन आग्रहसहित प्रत्येक व्यक्तिका लागि राहतको व्यवस्थापन हालसम्म पनि गर्दै आएको छ । त्यसैगरी कोभिडका कारण रोजगारी गुमाएका आफ्ना जनताको जीवनका लागि पनि सचेत छ । तर, हाम्रोजस्तो गरिब मुलुकमा जनता घरभित्र थुनिन बाध्य छन् र उनीहरूको लागि सरकारले न त राहत प्याकेजको घोषणा गर्न सक्यो न जीवन रक्षाका लागि आश्वस्त नै पार्न सक्यो । यसकारण हाम्रा देशका लाखौं नागरिकले रोजगारी गुमाउनु परेको छ । आजको यो असरले जनताको जीवन र राज्य संयन्त्रमा कस्तो प्रभाव पार्ला ? त्यो भविष्यले निर्धारण गर्नेछ । 

त्यसैले सरकारले यसतर्फ गम्भीर भएर कार्यक्रम अघि बढाउनुपर्ने देखिन्छ । खोपको सुलभ वितरण र सबैभन्दा बढी मर्कामा परेको वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने, निजी कम्पनीमा काम गर्ने मजदुर तथा श्रमिकवर्ग र तीनको परिवारको सुरक्षाको तत्काल ग्यारेन्टी गर्नुपर्नेछ । रोजगारीको ग्यारेन्टी गर्नुपर्नेछ र बन्द भएका साना व्यवसाय तथा उद्योग धन्दा सुचारु गर्नतर्फ ध्यान एकत्रित गर्नुपर्नेछ । नत्र राज्यप्रति जनतामा वितृष्णा फैलने, विश्वास घट्ने र नेतृत्वप्रति घृणा गर्नुपर्ने अवस्था आउनसक्छ । यस्तो अवस्था आउन नदिन राज्यले तत्कालै चाल्नुपर्ने कदमहरू ः

१) सरकारले सबैभन्दा बढी प्रभावमा परेका श्रमिक तथा मजदुर वर्गहरूको संरक्षणका लागि गाँस, सुलभ रूपमा भ्याक्सिन र रोजगारीको सुनिश्चितता गर्नुपर्नेछ ।

२) ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू तथा अति विपन्न परिवारको पहिचान गरी केही समयसम्मका लागि जीवन सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्दछ ।

३) साना तथा नाङ्लो व्यावसायीहरूको संरक्षण एवं उत्साह बढाउन व्यावसायको स्तर हेरी अनुदान वा न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा कागजी रूपमा भन्दा पनि मानवीय रूपमा गर्नुपर्ने देखिन्छ ।

४) राज्यको अर्थतन्त्रमा योगदान गर्ने उद्योग, कलकार खानाहरूको निर्वाध सञ्चालनका लागि उद्योगी, व्यावसायीहरूसँग समन्वय गरी नयाँ अवधारणा र नीति निर्धारण गरी सोहीअनुसार अघि बढ्नुपर्छ तर राज्यलाई वर्षौंदेखि तिर्न बाँकी रहेको अर्बाैंको कर यस्तो अवस्थामा पनि नतिर्ने कम्पनी तथा उद्योगहरूलाई सबै प्रकारको सुविधाबाट वञ्चित गर्नुपर्छ । किनकि यस्तो अवसरमा दिइने लाभ लिन उनीहरू नै सफल हुने हुँदा त्यस्ता कुत्सित मनस्थिति भएका उद्योगी व्यावसायीलाई भने प्रोत्साहनको साटो दुरुत्साहन गर्नुपर्दछ । उनीहरूले श्रमिक, मजदुरदेखि लिएर स्वयं राज्यलाई नै ठगिरहेका हुन्छन् ।

५) अहिलेको अवस्थामा जनताको पहिलो आवश्यकता भनेको खोप नै हो । यसतर्फ वर्तमान सरकार प्रतिबद्ध देखिएको भए तापनि खोपको सुलभ व्यवस्थाप नगरी नागरिकलाई विश्वस्त राख्न सरकारका सबै संयन्त्रहरू चाँडोभन्दा चाँडो परिचाल नगर्नुपर्ने देखिन्छ । यीबाहेकका कदम चाहे लकडाउन होस् या स्वास्थ्य संकटकाल अथवा अन्य कुनै उपायबाट संक्रमण नियन्त्रण हुने देखिँदैन । तसर्थ सरकारले यसतर्फ बेलैमा ध्यान दिनु अत्यन्तै जरुरी छ । 

जनता संक्रमणप्रति संवेदनशील छैनन् भन्ने गुनासो सुन्दै आएको यस अवस्थामा उनीहरू रोगसँग भन्दा भोकसँग बढी चिन्तित छन् । कामको खोजीमा ननिस्किए उनीहरूका घरमा चुलो बल्दैन । त्यसैले राज्यले जनतालाई उनीहरू संक्रमणप्रति असंवेदनशील छन् भनिरहँदा राज्य चाहिँ यसप्रति कत्तिको संवेदनशील छ ? भन्ने प्रश्न पनि साथैमा उब्जिन्छ । 

यसै शिलशिलामा अहिलेको यस्तो संवेदनशील परिस्थितिमा पनि समाजमा एकाध व्यक्तिहरू भने यो कोभिड केही होइन भन्ने जस्ता नकारात्मक कुराहरू फैलाउन उद्धत देखिन्छन । तर, हामीले बुझ्नुपर्ने कुरा भनेको के हो भने संक्रमण भनेको संक्रमण नै हो । कोभिडको संक्रमणका कारण दिनदिनै मानिसहरूले ज्यानगुमाइरहेको वास्तविकतालाई हलुका लिनु मूर्खता नै हो । यसतर्फ सरकार र नागरिक सबैले अत्यन्तै संवेदनशील हुन जरुरी छ । बाँचे संसार देखिन्छ त्यसैले यस बारेमा सचेत भइव्यवहार गर्नु हामी सम्पूर्ण नागरिकको कर्तव्य तथा जिम्मेवारी हो ।


Top