मंगल ग्रह र एलन मस्कको अभियान

✍️ नारायणप्रसाद निरौला   POSTED ON : भदौ २५, २०७८ (८:४१ AM)

मंगल ग्रह र एलन मस्कको अभियान

वैदिक वाङ्मय विज्ञानको जननी हो । आज जति विज्ञानले आविष्कार गरेको छ सो कुराको सूक्ष्म ज्ञान वैदिक वाङमयमा विद्यमान पाइन्छ । चाहे यान्त्रिक चमत्कारका कुरा हुन् चाहे भौतिक एवं आध्यात्मिक ज्ञान । इतिहास, भूगोल खगोल, साहित्य, संस्कृति सम्भ्यता आदि हरेक विषयवस्तुको अध्ययन, अनुसन्धान र विश्लेषण वैदिक वाङमयभित्र अन्तर्निहित छ । सृष्टिदेखि लयसम्मको इतिवृत्तका साथै खगोलीय विषयवस्तुको पनि गहन चिन्तन यत्र तत्र पाउन सकिन्छ । प्रश्न उठ्नसक्छ यति समृद्ध विषयवस्तु भए पनि किन आज सम्पन्न बन्न नसकेको ? किन मंगलको यात्रामा यान पठाउन नसकेको ? अनि किन गरीवीको रेखामुनि नै खुम्चिनुपरेको ? आदि ।

विषवस्तु हुनु र प्रयोग गर्न नसक्नु फरक कुरा हुन् । भिल्लका देशमा मणिको मूल्य नभएजस्तै, कस्तुरीले आफ्नौ वास्ना थाह नपाएजस्तै बन्न पुगेका छौँ आज हामी । अर्काको अनुदानको आश गरेर मात्रै स्वकीय विकासले गति लिन नसकेको हो । समय सधैं एउटै रहँदैन । समयको प्रवाहसँगै कतिपय कुराहरूमा पनि वदलाब आउनसक्छ । समृद्ध नेपालको समय पनि कुनै कालखण्डमा रहेको कुरा इतिहासका पानामा सुरक्षित पाइन्छन् । मन्त्रद्रष्टा ऋषिले यही भूमिमा वैदिक ऋचाहरूको प्रयोग गरेका हुन् । 

गीताले कर्म गर्न सिकाएको छ । कर्मको वेदीमा होमिने हो भने जीवन सार्थक र सुन्दर बन्नसक्छ । हाम्रा ऋषिमहिर्षिले यही कुराको ज्ञान छोडेर गएका छन् । आज विश्वको ध्यान मंगल ग्रहमा तानिँदै गर्दा किन मंगललाई रोजिँदैछ भन्ने सन्दर्भ पनि जिज्ञासाको विषय भएको छ । किन अन्तरिक्षको विश्वअभियन्ता एलन मस्क आज मंगल ग्रहमा नै बस्ती बसाउने सपना लिएर हिँडेका छन् ? 

किन चन्द्रमाको अभियान मंगलतर्फ सरेको हो ? चन्द्रमाभन्दा किन मंगलग्रहलाई नै रोजियो । यसका साथै अन्यग्रहभन्दा मंगलमा खास विषय के छ र मानवको वस्ती सम्भावनाका अध्ययन भएका छन् ? यस विषयमा हाम्रा ऋषिमहिर्षले के भनेका छन् ? अर्थात् वैदिक वाङमयमा मंगल ग्रहलाई कुन रूपमा लिइएको छ ? किन सम्भव छ मंगलमा बस्ती बसाउने कुराको सन्दर्भ खोजीका विषय भएका छन् । 

वैदिक वाङ्मयअन्तर्गत खगोलको अध्ययन गर्ने शाखा ज्योतिष हो । खगोलीय चमत्कृतिका साथै भूगोलका विषयमा पनि विशद् विवेचना ज्योतिषका सिद्धान्त, संहिता र होराग्रन्थमा विद्यमान पाइन्छ । सोही कुराको कथात्मक व्याख्यान पुराणमा वर्णन गरिएको छ । जसले तत् ग्रह एवं क्षेत्रसँग सम्बन्धित ज्ञान गर्न सकिन्छ । मंगल पृथवीलाई केन्द्र मान्दा चन्द्र–बुध–शुक्र–सूर्यपछिको ग्रह हो । सूर्यलाई केन्द्रमा राखेर हेर्दा सौरमण्डलेको पृथ्वीपछिको चौथो स्थानमा मंगल विद्यमान छ । 

सूर्यबाट २२ करोड ४० लाख किमी दूरीमा अवस्थित मंगलको व्यास ६८६० किमी छ । मंगलले ६८९ दिनमा सूर्यलाई एक परिक्रमा गर्छ । ४५ दिनमा ३० अंश वा एक राशि पार गर्ने मंगलका दुई उपग्रह छन् । मंगल पृथ्वीसँग नजिक भएका बेला पृथ्वीसँगको दूरी ९.८ करोड किमी हुन्छ । यो बेला मंगल लालमणिजस्तै चम्किलो देखिन्छ । अस्त भएको १२० दिनपछि पुनः आकाशमा मंगल उदित देखिन्छ । यसैगरी उदय भएको ३ सय दिनपछि वक्री हुन्छ । वक्री भएको ६० दिनपछि मार्गी र मार्गी भएको ३ सय दिनपछि पुनः अस्त हुन्छ । 

यो चराचर जगतका प्रत्येक अणु परमाणुमा देवताको दृष्टि राख्नुपर्ने वैदिक मान्यता रहेको छ । वेदले मंगललाई अग्निका रूपमा प्रार्थना गरेको पाइन्छ । मंगललाई भूमिपुत्र, भौम, अंगारक आदि नामले सम्बोधन गरिन्छ । जसको अर्थ पृथीवको पुत्र भन्ने हुन्छ । मंगल ग्रहमा पृथ्वीका गुणधर्म विद्यमान रहको कुरा वैदिक वाङ्मय, पुराणका साथै ज्योतिषशास्त्रका प्रमाणले भन्न सकिन्छ । पृथ्वीले प्रार्थना गरेपछि वराह भगवान्ले वरदानस्वरूप रक्तवर्णको मंगल प्रदान गरको कथा ब्रहृमवैवर्तपुराणमा उल्लेख छ । मत्स्य पुराणअनुसार दक्षको विनाशका निम्ति महादेवको निधारबाट रातो रंगको पसिन पृथ्वीका खस्यो ।

पृथ्वीले उक्त तेजलाई सहन नसकेपछि सात लोक भेदन गरेर पातालमा वीरभद्रका उत्पन्न भएको र वीरभद्रले शिवजीको प्रार्थना गरेकाले ग्रहका रूपमा स्थापित भएको कथा मत्स्यपुराणको ६८औं अध्यायमा वर्णन छ । यसरी हेर्दा मंगल पृथ्वीकै अंशरूप रहेको पुष्टि हुन्छ । उक्त कुरालाई दर्शाउन कथाको माध्यम बनाइएको हो । मूलरूमा पृथ्वीबाट छुट्टिएर गएको मंगल ग्रह हो भन्ने कुरामा कुनै दुई मत पाइँदैन । यसैले नाम पनि भौम (भूमिबाट जन्मिएका) रहेको हो । 

मंगलको स्वरूप रातो रहेको कुरा हजारांै वर्ष पहिले बताइएको हो । आज मंगलको तस्विरमा पनि रक्तवर्ण नै विद्यमान छ । मंगल भूमिपुत्र हुन् । स्वभाव उग्र छ भनी यस बताइएको छ ः ‘हिंस्रो ह्रस्वस्तरुणः पिंगाक्षः पैत्तिको दुराधर्षः । चपलः सरक्तगौरो मज्जासारश्च माहेयः ।।’ (लघुजातकम्, ग्रहस्वरूपाध्यायः, श्लो.३) अर्थात् हिंस्रक प्रकृति भएको, छोटो शरीरवाला, युवाजस्तै देखिने, पहेला आँखा भएको, पित्तप्रकृतिको, दुराचार गर्न मनपराउने, चञ्चल स्वभाववाला रातो र गोरो वर्णको मज्जा (मासी) तत्तव अधिक भएको मंगलको स्वरूप छ ।

‘सत्वं कुजः,..रक्त भौमो भौमः, देवता षडाननः, भौमो नरः, भौमः अग्निः, कुजः क्षत्रियः, आरः तमः, भौमः मज्जा, भौमवारः....कुजः ग्रीष्मः ।’ -भनी पाराशर होराशास्त्रमा मंगलको स्वरूप उल्लेख गरिएको छ । यसैगरी ज्योतिषका सिद्धान्त, संहिता एवं होरा तीनै शाखाले मंगलको विशद् विवेचना गरेका छन् । यसरी हेर्दा मंगलमा पृथ्वीको भन्दा केही अधिक क्रूरवृत्ति रहनसक्ने देखिन्छ । तत् ग्रहको प्रकृतिले नै उक्त स्थानमा पनि प्रभाव पार्ने गर्दछ । 

पापग्रह भएकाले तत् स्थानमा पनि अमन चयन भने कम रहने शास्त्रीय फलादेशले बताएको पाइन्छ । पृथ्वी जस्तै वातावरण रहने भएकाले मानववस्ती हुनसक्ने कुरा उल्लेख पाइन्छ । पृथ्वीका पिता सूर्य र चन्द्रमा माता हुन् । मंगल पृथ्वीको पुत्र हो । सूर्यको तेज र चन्द्रमाको शीतलता दुवै गुण मंगलमा विद्यमान छ । 

आज किन चन्द्रमामा बस्ती बसाउने परिकल्पना निस्तेज भयो ? किनकि चन्द्रमा स्वयंमा अस्थिर ग्रह हो । यसको विलक्षण गति रहने भएकाले तत् स्थानमा मानव विकास दीर्घकालीन रहन सक्दैन । शीतकारक हुनुका साथै अधिक चपल रहने, तीव्र गतिको भएकाले चालमा परिवर्तन आइरहने भएकै कारण एलन मस्क आज मंगलको क्षेत्रमा बस्ती बसाउन उद्यत भएका हुन् । सूर्य तेजकारक ग्रह हो । त्यहाँ सम्भव छैन । 

बुध र शुक्रमा पनि सूर्यको अधिक प्रभाव रहन्छ बस्ती असम्भव छ । बृहस्पति र शनि दूरीका हिसाबले पनि निकै पर छन् । शनीमा वलयले असम्भव तुल्याउँछ । बृहस्पतिका पनि उपग्रह अधिक रहने र पृथ्वीबाट पुग्न पनि निकै समय लाग्ने भएकाले मंगल ग्रह रोजाइमा परेको हो । 

मंगलमा पृथ्वीजस्तै प्रकृति विद्यमान रहनसक्छ । मानवको उपस्थिति सम्भव छ भन्ने कुरा आजको विज्ञानले पनि निष्कर्ष निकालेको छ । आजको विज्ञानले भन्नुभन्दा पनि हजारौं वर्षपहिले उक्त कुराको उल्लेख पौरस्त्य वाङ्मयमा विद्यमान पाइन्छ । हाल विश्वका शक्तिसम्पन्न मुलुक उक्त यात्रामा निरन्तर लागिपरेका छन् । एलन मस्कले पनि त्यत्तिकै मंगल ग्रहमा वस्ती बनाउने योजना बनाएका होइनन् । उनले स्वयं अध्ययन गरेका छन् । खोजेका छन् अनुसन्धान गरेका छन् । जुन कुरा वैदिक वाङ्मयमा हजारौं वर्षपहिलेदेखि नै विद्यमान छ । जसको मूल ज्ञानबाट नै आजको विज्ञान अनुप्राणित भएको हो । 

वैदिक वाङ्मयको विशद् विवेचना अमेरिकलगायत उन्नत मुलुकमा भइरहेको छ । सोही वैदिक ज्ञान हामी सबैले जान्नुपर्दछ भन्दा संस्कृतलाई एक जातिविशेषको, वर्ग विशेषको भाषा संस्कृति एवं धर्म विशेषको बनाएर अवहेलना गरिएको छ । संस्कृतका कर्मकाण्ड र पुराणलाई मात्र बुझिएको छ । यसभित्रको ज्ञान र विज्ञानलाई स्वीकारेर तदनुरूप अध्ययन अनुसन्धानमा लागिएको छैन । यसैले आज हामी अरूले गरेको विकासका पछि लाग्न बाध्य छौं । 

ज्ञानको स्रोत उही हो । जसले अध्ययन, अनुसन्धन एवं प्रयोग गरे ती अघि बढे । जसले गरेनन् ती पछि परे । यही ज्ञान हामी डलरमा किन्न विवश छौं जुन हाम्रै निधि हुन् । हामी आफ्नो ज्ञानको परिस्कृत रूप किन्न विवश छौं किनकि हम्रो शिक्ष पद्धतिमा स्वकीय ज्ञानको विकास गर्ने कुनै मार्ग खोलिएनन् । अथाह ज्ञानको स्रोतलाई उपेक्षा गरियो । सोही खालको शिक्षा पद्धति लादेर पश्चमुखी बनाइयो । अनि कसरी सम्भव हुन्छ यान्त्रिक विकास ? यसैले सर्वप्रथम यस्ता ज्ञानविज्ञानका कुरा सर्वप्रथम खोजिनु जरुरी छ । 

यसपछि यो ज्ञानलाई विज्ञानको कसीमा ढालेर चमत्कारको मार्गमा अघि बढ्न सक्नुपर्दछ किनकि संस्कृत कुनै वर्ग विशेषको ज्ञान होइन । सार्वत्रिक ज्ञानको भण्डार हो । ज्ञान र विज्ञानको महासागर हो । यसैले यो ज्ञान र विज्ञानको खानीबाट रत्न निकाल्ने कार्यमा लाग्नसक्नुपर्दछ तबमात्र हाम्रो पनि स्वर्ण युग सम्भव छ । अन्यथा उही अनुदानको पैसाले पाश्चात्य विज्ञान किनेर गरिबीको रेखामुनि बस्नुको विकल्प छैन । 

Top