प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाका केही महत्वपूर्ण पक्ष

✍️ लोकनारायण सुवेदी   POSTED ON : भदौ २५, २०७८ (८:४८ AM)

प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाका केही महत्वपूर्ण पक्ष

‘ठूलो मान्छे होइन, असल मान्छे होऊ’ भन्ने बीपीको मान्यता अत्यन्तै मननीय छ । देशमा राजनीतिक परिवर्तनपछि जसरी बीपीले पार्टी र सत्तालाई सुकिलामुकिला औसरवादीहरूले कब्जा गर्ने र इमानदारहरू पाखा पर्ने खतरा रहन्छ भन्ने औल्याएका थिए त्यो तीतो सत्यको अनुभव आज तीव्ररूपमा भइरहेको छ । नेपालको पहिलो जननिर्वाचित राजनेता बीपीको जन्मेको पनि १०७ वर्ष बितिसकेको छ । उहाँको प्रजातन्त्रप्रतिको अखण्ड निष्ठा र शतत संघर्षको संकुचित र गलत अर्थ लगाएर फाइदा उठाउन खोज्नेहरू धेरै छन् । 

प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा अटुट विश्वास राख्ने बीपी कोइरालाले नेपाली जनताको दीनहीन अवस्थामा परिवर्तन ल्याउन जस्तो किसिमको आर्थिक व्यवस्थाको परिकल्पना गरेका थिए त्यसको आज कतै अत्तोपत्तो छैन । अनि आफ्नो जीवनका पछिल्ला पाका अनुभवका आधारमा रचित ‘जेल जर्नल’ र ‘आत्म बृत्तान्त’ को सारतत्वलाई राम्ररी पक्रने र बुझ्ने हो भने बीपी कोइरालाले सामन्तवादबाट देशले मुक्ति पाउन नसकेका तथा सेनाको लोकतान्त्रीकरण र भूमिसुधार सही किसिमले हुन नसकेको हुँदा नै राजनीतिक प्रतिगमन हुने गरेको र देशको आर्थिक उन्नति पनि पछाडि परेकँे यथार्थ प्रष्टसँग औल्याएका छन् । तर नेपाली कांग्रेसको नेतृत्वभित्रै राजतन्त्रलाई परित्याग गरेको हुँदा कांग्रेस गलत बाटोमा गएको भन्ने रुढ मान्यताले अझै घर गर्न छाडेको छैन ।

बीपीको जन्म पनि १९१४ अर्थात् पहिलो विश्वयुद्धको आरम्भका दिनमा भएको थियो । उनी दूरगामी सोच भएका एक राजनेता मात्र थिएनन् एक मूर्धन्य साहित्यिक स्रटा थिए । उनको राजनीतिक यात्राको अधिकांश समय एउटा अथक संघर्षमय यात्रीको रूपमा बित्यो । त्यसले नेपाली जन आन्दोलनमा ऊर्जा र उत्साह प्रदान ग¥यो । बीपीलाई भारतको स्वतन्त्रताको संग्रामको छाप परेको थियो र उनको राजनीतिक यात्राको आरम्भ त्यसै आन्दोलनबाट भयो । त्यसक्रममा भारतमा उनलाई बृटिश सरकारले तीन महिना काराबासको सजाय दियो । 

त्यसबाट अझ जागरुक बनेका बीपीले नेपाली राष्ट्रिय कांग्रेसको गठन गरेर जहानियाँ राणा शासनललाई ललकार्दै आन्दोलनलाई अघि बढाए । १९४७ सालमा विराटनगरमा मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोग लगाएर उनलाई राणा सरकारले एक वर्ष कैदको सजाय दियो । राणाशासनको अन्त्यका लागि सुरु भएको आन्दोलन २००७ सालमा दिल्ली सम्झौतापछि रोकियो । राणाशासनको अन्त्य भएपछिको पहिलो प्रधानमन्त्री अन्तिम राणाप्रधानमन्त्री मोहन शमशेर भए भने त्यस सरकारको गृहमन्त्री बीपी कोइराला थिए तर त्यस्तो सरकारमा बीपीको विचारको कदर हुने कुरै थिएन ।

त्यहीँबाट एकातिर कांग्रेसमा फूटको बीजारोपण भयो भने दरबारिया षड्यन्त्र पनि सुरु भयो । यद्यपि राणा शासनविरुद्धको सशस्त्र संघर्षमा नेतृत्व प्रदान गरेको पार्टी भएको नाताले दरबारले जतिसुकै षड्यन्त्र गरे पनि २०१५ सालको संसदीय निर्वाचनमा बीपी नेतृत्वको नेपाली कांग्रेसले दुई तिहाइ मतले विजय हासिल गर्‍यो । त्यो कुरा राजा महेन्द्र जस्ता दूरदर्शी र चलाख राजालाई एकदमै पचिरहेको थिएन । उनी जननिर्वाचित सरकारलाई के कसरी बर्खास्त गर्न सकिन्छ भन्ने दाउमा थिए नै । 

उनैले दिएको संविधानमा जुन धारा ५५ राखिएको थियो त्यसैको आड लिएर विभिन्न आरोप लगाउँदै जननिर्वाचित सरकारलाई मात्र विघटन गरिएन सम्पूर्ण राजनीतिक दलहरू र तिनका जनवर्गीय संगठनहरूमाथि प्रतिबन्ध लगाइयो । अनि २००७ सालका उपलब्धिलाई समाप्त पार्दै पञ्चायती प्रजातन्त्रको नाममा राजाको एकछत्र सामन्ती अधिनायकवादले झण्डै तीन दशकसम्म नेपालमा हालिमुहाली चलाइयो ।

बीपी, गाणेमानलगायत कांग्रेस र कम्युनिष्ट पार्टीका सयौं नेता र हजारौं कार्याकर्ताले जेलनेल भोगे प्रवासिन या भूमिगत अवस्थमा जान बाध्य भए । यसै क्रममा आठ वर्षको कारवासपछि बीपी जेल मुक्त भए तर उनमा प्रजातन्त्रप्रतिको निष्ठा र हुट्हुटीमा कुनै कमी थिएन । पुनः भारतमा निर्वासित भएर पञ्चायती व्यवस्थाविरुद्धको संघर्षलाई सक्रिय नेतृत्व दिन थाले । आठ वर्ष निर्वासित बसेका बीपी कोइरालामाथि आठ–आठवटा फाँसीका मुद्दाहरू थिए तर उनीमाथि अन्तर्राष्ट्रिय कारणले भारतको दबाब बढ्दै गएपछि राष्ट्रियता खतरामा परेको औल्याउँदै र राजासँग राष्ट्रिय मेलमिलापको नाराअघि सार्दै निर्वासन त्यागेर २०३३ साल पौष १६ गते स्वदेश फर्किए । 

उनलाई पुनः पक्राउ गरियो र थुनामा राखियो । तथापि उनले राजा र प्रजाबीचको पर्खाल भत्काएर जानुपर्ने कुरामा आजीवन सघर्ष गरे तर राजतन्त्रले बीपीको कुरालाई पटक्कै सुन्न चाहेन । अन्ततः राजाको पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा जुन संयुक्त विद्यार्थी आन्दोलन छेडियो त्यसलाई व्यापक जनताको समर्थन हुन थालेपछि निर्विकल्प भनिएको पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा उभियो । अस्वस्थ र असक्त हुँदाहँुदै बीपी संवैधानिक राजतन्त्रको आफ्नो सैद्धान्तिक परिधिभित्र रहेर जनमत संग्रहमा बहुदलको पक्षमा नेतृत्व दिँदै राष्ट्रिय राजनीतिको परिचालन गर्न जोडतोडले लागे । 

त्यसबेला उनले पञ्चायती वयवस्थालाई समाप्त पार्न बामलोकताान्त्रिक सहकार्यलाई आवश्यक ठानेनन् । जुन कुरा नेपालका सर्वोच्च कम्युनिष्ट क्रान्तिकारी नेता क. पुष्पलालले अघि सरेका थिए । त्यस्तो अवस्थामा पनि जनमत संग्रहमा बहुदलको पक्षमा जुन ४४ लाखभन्दा बढी मत आयो त्यो प्रजातन्त्रपक्षधहरूको मनोबल बढाउने ठूलो ऊर्जा बन्यो र त्यो आगामी आन्दोलनको पूर्वाधार तयार गर्न र संयुक्त आन्दोलन चलाउने बातावरण बनाउन मद्धतगार पनि बन्यो ।

आज नेपाली कांग्रेसभित्र बीपीले जीवनभरी गरेको अथक संघर्ष र त्यसको सारलाई गलत अर्थ लगाएर बीपीको संवैधानिक राजतन्त्रको नीति छोडी बामशक्तिसँग सहकार्य गर्दा नै आफ्नो स्थिति खस्किँदै गएको गलत निष्कर्षसमेत निकाल्ने गरिँदैछ । वास्तवमा बीपीको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन अवस्थामा राजा मेलमिलाप चाहँदैनन् भन्ने कुरा दर्शाउनलाई अघि सारिएको थियो र त्यो प्रमाणित पनि भयो । त्यसैले बीपी जीवित छँदा नै २०३६ सालाको ऐतिहासिक संयुक्त विद्यार्थी आन्दोलन भएको र त्यसलाई नेपाली किसानहरूको आन्दोलनले समर्थन जनाउन र अझ अगाडि बढाउन थालेपछि जनमत संग्रहको घोषणा भएर आन्दोलन एक चरण अझ अगाडि बढेको कुरामाथि नै पनि औंल्याइसकिएको छ । 

त्यसैले राजासँग निरपेक्ष मेलिमिलापको नीति बीपीको थिएन । उनले इरानका राजा रेजा पहलवीको पत्तन हुँदा दिएको प्रतिक्रिया पढे पनि बीपीको राजतन्त्रप्रतिको धारणा बुझ्न मद्धत पुग्छ र थप प्रष्ट पनि हुन्छ । राजासँगको निरपेक्ष मेलमिलापको प्रवृत्तिले बीपीको वास्तविक मान्यतालाई अंगीकार र आत्मसात गर्नेभन्दा पनि तत्कालीन अवस्थामा के गर्दा फाइदा हुन्छ भन्ने उपभोक्तावादी र उपयोगितावादी बाटो अख्तियार गर्दछ । विश्वव्यापी प्रजातान्त्रिक मूल्य, मान्यताको कुरा गर्न नथाक्ने नेपाली कांग्रेसले सामन्ती राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक संरचनलाई एक वा अर्कोरूपमा यथास्थितिमा कायम राखेर लोकतन्त्र कदापि फस्टाउँदैन भन्ने कुरा अहिलेको नेपाली कांग्रेसले कहिलेसम्ममा बुझ्ने हो अझै यकिन छैन । 

नेपाली जनताको व्यापक ऐतिहासिक संंयुक्त जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भइसकेपछि कमल थापा प्रवृत्तिको नीतिलाई सही ठहराउन कांग्रेसीहरूको एउटा जमात प्रत्यक्ष परोक्ष रूपमा लाग्नु र वर्तमान वस्तुगत अवस्थाबाट पछि फर्कने प्रतिगामी सोचले काम गर्न अग्रसर हुनुलेसमेत बीपी चिन्तन र दूरगामी उद्देश्यको पटक्कै प्रतिनिधित्व गर्दैन । 

बीपीको सोच गतिशील र समयानुकूल किसिमको थियो र उनको कार्यनीति लचिलो प्रकारको थियो भन्न बुझन जरुरी छ बाहृय हस्तक्षेप जसरी अहिले बढिरहेको छ बीपीको समग्र राजनीतिक जीवन केलाउँदा उहाँ कति खरो किसिमले त्यसका विरुद्ध खडा हुनुहुन्थ्यो भनेर बुझ्न सकिन्छ । बीपीको जन्म दिवसको सन्दर्भमा कम्तीमा पनि संघीय गणतन्त्रात्मक लोकतन्त्रप्रेमी कांग्रेसीहरूको घैँटोमा घाम लागोस् र बाहृय हस्तक्षेपविरुद्ध स्वाधीनता, समुन्नति र शान्तिका निम्ति बीपीले खेलेको सकारात्मक राजनीतिक भूमिका मनन गरियोस् ।


Top