दिदी-बहिनीको मिलन र गीतसंगीतको पर्व तीज

✍️ गीता अधिकारी   POSTED ON : भदौ २६, २०७८ (८:०३ AM)

दिदी-बहिनीको मिलन र गीतसंगीतको पर्व तीज

हरेक वर्षजस्तै यसवर्ष पनि नेपालीहरू दिदीबहिनीको पर्व हरितालिका तीज मनाइरहेका छौं । दिदीबहिनी जम्मा हुने, मीठो खाने, राम्रो लाउने र गीतसंगीतमा रम्ने यो चाडको विशेषता हो भने धार्मिक महŒव पनि त्यतिकै छ । तीज खासगरी दिदीबहिनीहरूको मिलनको पर्व हो । यो पर्वमा सांस्कृतिक, पौराणिक, सामाजिकलगायत धेरै पक्ष जोडिएका छन् तर गतवर्ष र यसवर्ष विश्वव्यापी फैलिएको कोरोना संक्रमणले हामीले खुलेर नाउन पाएनौं भने तीजका अवसरमा निस्कने तीज गीतमा केही कमी आएको छ । 

 प्रतिपदाबाट पञ्चमीसम्मका पाँचवटै दिनलाई समन्वित रूपमा तीज भने पनि खास तीज चाहिँ यसै दिनलाई मानिन्छ । यस दिन महिलाहरू निराहर व्रत बस्छन् तर पछिल्ला दिनहरूमा यो चाड हाम्रा अन्य चाडभन्दा लामो हुँदै गएको हो कि भन्ने भान हुन थालेको देखिए पनि विगत दुई वर्षदेखि यस्तो देखिएको छैन । नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको छ तीज । बहुसांस्कृतिक पर्वका रूपमा विकसित भइरहेको तीज अब नेपाली हिन्दू महिलाहरूमा मात्र सीमित नरही सबै धर्म-जातिका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकसित भइरहेको छ । नेपालीहरूका ठूला चाड दशैँ र तिहारपछिको तेस्रो ठूलो चाडका रूपमा स्थापित हुँदै गएको छ तीज । यो चाड मुख्यरूपले नेपालभर मनाइन्छ भने नेपाली जातिको बसोबास भएका सबै ठाउँमा मनाइन्छ । 

तीजका गीतहरू धेरै बजारमा आउनु राम्रो हो । यसको भावना र मर्मलाई बुझेरमात्र गीत लेखन कार्य होस् । तीजका गीतलाई रत्यौली नबनाइयोस् । गाईजात्रे गीत नबनाइयोस् । ‘आफ्नो मौलिकपन कायम राख्न सकेनौं भने हाम्रो आफ्नो पहिचान नै खतरामा पर्न जान्छ’ भन्नेजस्ता आवाज हरेक वर्षजस्तै यसवर्ष पनि सुनिए । 

तीज नेपाली महिलाहरूको आफ्ना भावना पोख्ने पर्वको रूपमा परिचित थियो र छ तर पछिल्लो समयमा आएर महिलाहरूको भावना पोख्नेभन्दा पनि यो व्यावसायिक हुँदै गएको छ । परिवर्तन हुनु नराम्रो कुरो त होइन तर यसको भावनालाई आत्मसाथ गर्न सक्नुपर्छ । बजारमा तीजगीतको मूल मर्मबाट बाहिरिएर तयार पारिएका कतिपय गीतले तीजको मौसमी बजार पाए पनि यस्ता गीत मौसमी मात्र हुन् । परम्परागत सौन्दर्य गुमाएर ‘झुम्रे’ जस्तै भए कतिपय गीत भन्ने यसैसँग सम्बिन्धितहरूको गुनासो रहिआएको छ ।

तीज गीत घटनाप्रद हुने हुँदा यस गीतले घटना खोज्नेभन्दा पनि क्षणिक र सस्तो रमाइला विषयवस्तु हाबी भइरहेको कतिपय पुराना सर्जकहरू गुनासो गर्नुहुन्छ । उहाँहरूका अनुसार, आजभोलिका तीज गीतको पौराणिक मान्यता, घटना, विषयवस्तुसँग जोडिएको र युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तुहरू तीज गीतमा उठान भएको पाइँदैन । त्यस्तै, वर्षभरिका दुःख, पीर, वेदना र चोटहरू सार्वजनिक गर्ने माध्यम बन्थ्यो तीज, महिलाका कुण्ठित सिर्जनाहरू बाहिर आउँथे, समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तिजका गीतहरूले तर अहिले त्यस्तो छैन । अहिले सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ तीजगीतमा ।

हाम्रो संस्कृति र परम्परा पृथक छ । यसको जगेर्नामा हामी सबै लाग्नुपर्छ । महिलाहरूले आफूले भोगेका सामाजिक बन्धन, पारिवारिक हिंसा र अत्याचारप्रति कटुव्यंग्य तथा विद्रोहका स्वरहरू तीजका गीतमा सुनिने भए पनि विगत केही वर्षदेखि त्यस्ता गीतहरूभन्दा छणिक रमाइला गीतहरूले बजार पाएका छन् । पछिल्लो समयमा तीज गीतको मौलिक र शास्त्रीय परम्परामा ह्रास आएको छ । तीज नारीहरूको पर्व हो, गीत पनि त्यस्तै झल्किने खालको हुनुपथ्र्यो । तीजका गीत अन्धविश्वास, हिंसा र विसंगतिपूर्ण व्यवहारका विरुद्ध र समानतामूलक समाज निर्माणका लागि हुनुपर्छ ।

तीज गीत र दोहोरी गीतमा फरक छुट्याउन गाह्रो भएको छ । गीत गाउने र चर्चा बटुल्ने नाममा अभद्र, अमर्यादित र छाडा गीतसंगीतले प्रश्रय पाउनु हुँदैन । तीजका गीतमा खासगरी माइतीघर र घरको बिम्ब पाइने गरे पनि अहिले भने युवायुवतीको प्रेमका गीतहरू बढी पाइन्छ । यो समयको माग हुनसक्छ । सधैं एकनासको त हुँदैन नि ।

समयको मागअनुसार गीतसंगीतको बजारमा परिवर्तन आएको केही सर्जजकहरू दाबी गर्नुहुन्छ । उहाँहरू भन्नुहुन्छ, ‘दर्शक-श्रोताले मनपराए भने भल्गर र अश्लील भए पनि केही फरक पर्दैन । फेरि हाम्रो गीतसंगीतको कुनै नियम, सीमा र परिधि त हुँदैन ।’ उत्तेजक गीत र भिडियोतर्फ आकर्षण बढ्नु समयको माग हो कि विकृति ? तीजमा सन्देशमूलक गीतहरू नआएका भने होइनन् तर चर्चा भने उट्पट्याङ गीतहरू नै बढी भएको पाइन्छ ।

आधुनिकताको नाममा आफ्नो रीतिरिवाज, धर्मकर्म अनि अनुशासित परम्परालाई कुल्चँदै गए नेपाली र नेपालको अस्तित्व कता जाला ? तीज मनाइरहँदा सर्जकहरूले यसतर्फ सोच्न जरी छ । सुन्दै उकुस–मुकुस हुने, नारीको मर्यादामाथि प्रहार गर्ने र विकृति भित्र्याउने गीतलाई प्रश्रय दिइरहृयौँ भने हाम्रो समाज अनि हाम्रो मर्यादा, संस्कार कता जाला सम्बन्धित निकायले यसतर्फ सोच्न जरुरी छ तीज पर्व उल्लासमय रूपमा मनाइँरहदा ।

सांस्कृतिक, पौराणिक, सामाजिक र गीतसंगीतको पर्व तीजमा भित्रिएका विकृतिलाई नित्साहित गर्न समाजका सचेत नागरिकहरूले पहल गर्नुपर्छ अन्यथा हाम्रा चाडवाडहरू भड्किला र विकृतितर्फ उन्मुख हुनेछन् । महिलाहरूले मीठोमसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो तीज । तीज गीतको मौलिक भाका र मर्म छ । यसमाथि प्रहार नगरौं, यसको मौलिकता बचाइराख्नु तपाईं हामी सबैको कर्तव्य हो । 

हाम्रा सांस्कृतिक धरोहरहरूलाई जोगाइराख्न के युवा, के युवती वा ज्येष्ठ नागरिक नै किन नहुन्, सबै लागिपरे हाम्रो देश सधैंभरि सांस्कृतिक र धार्मिक सम्पदामा धनी भइरहनेछ । यस्ता संस्कार र संस्कृतिले हामीलाई जोड्दै एक अर्कामा सद्भावको विकास गर्दछन् । आरोग्य र दीर्घायुसँग जोडिएका पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक तथ्यहरू छन् । चाडपर्वको मौलिकताभन्दा विकृतिले प्रश्रय पाउँदै गएमा भोलिको पुस्ताले हामीबाट के सिक्ने सबैले यसबारेमा सोच्ने हो कि ? 


Top