२१औं शताब्दीमा संस्कृत भाषाको सान्दर्भिकता

✍️ श्रीमन्नारायण   POSTED ON : भदौ २७, २०७८ (८:२२ AM)

२१औं शताब्दीमा संस्कृत भाषाको सान्दर्भिकता

नेपालका राजनीतिक दलहरू तथा विगत केही दशक यताका सरकारहरूले पनि संस्कृतलाई देववाणी तथा बाहुनहरू मात्रको भाषा ठानी अव्यावहारिक एवं अनुपयोगी घोषित गर्दै यसको प्रचारप्रसारमा ध्यान दिएन, जबकि एशिया, अमेरिका र युरोपका देशहरूमा संस्कृत भाषा अध्ययन गर्ने प्रचलन बढेको छ तथा उनीहरू संस्कृत भाषाको अध्ययन गरेर सनातन धर्मका वेद, पुराण, शास्त्र एवं कालजयी रचनाहरूबारे गहिरो अध्ययन गर्न थालेका छन् । राजनीतिक कारणले देशका ठूला दलहरू संस्कृत भाषाको संरक्षण एवं संवद्र्धनमा चासो देखाइरहेका छैनन् । 

फलस्वरूप संस्कृत भाषाको उपयोगमा व्यापक कमी आएको छ र यसको प्रभाव हाम्रो धर्म संस्कृतिमाथि पनि पर्दै गएको छ । जबकि संस्कृत भाषा विज्ञानसम्मत र नासाले उपयोग गर्दै आएको मात्रै होइन कि यो एक्काइसौं शताब्दीमा पनि सान्दर्भिक छ । यस वर्ष पनि श्रावणी पूर्णिमाका दिन नेपाल र भारतसहित विश्वका कतिपय देशमा अन्तर्राष्ट्रिय संस्कृत दिवस मनाइयो । राजधानी काठमाडौंमा ‘संस्कृत–पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एक अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरियो जसको उद्घाटन नेपालका लागि भारतीय राजदूतले गर्नुभयो । 

नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा एवं भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षको शुभकामना मन्तव्यबाट सुरु भएको सो सेमिनारमा नेपाल, भारत, इटिली, अमेरिका र बेलायतका संस्कृतका विद्वानहरूले विभिन्न विषयमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए । सेमिनारमा नेपालका शताब्दी पुरुष सत्यमोहन जोशी, प्रा. भीमप्रसाद खतिवडा र चमुकृष्ण शास्त्रीले ‘संस्कृत भारत-नेपालयो सम्पत्तिः-भाग २’ किताबको विमोचन गर्नुभयो । 

पा“च हजार वर्षभन्दा पनि पुरानो इतिहास रहेको संस्कृत भाषामा लाखौं पुस्तक लेखिएका छन् । संस्कृत भाषाको महत्वलाई जैन, बौद्ध आदि धार्मिक समुदायले आप्mनो मूलधारमा स्वीकार गरेका छन् । केही वर्षअघि राजधानी काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनका दौरान नेपाल, भारत, श्रीलंका र थाइल्याण्डका सरकार प्रमुखले आआफ्नो मातृभाषामा सम्बोधन गरेका थिए । यदि उपरोक्त नेताहरूको भाषणमा कुनै कुराको समानता देखिन्थ्यो भने त्यो थियो संस्कृतका शब्दहरू । 

बिमस्टेकका सदस्य राष्ट्रहरूमध्ये भारत र नेपाल हिन्दूबहुल राष्ट्र हुन् तर भगवान् बुद्धको जन्म, ज्ञान प्राप्ति तथा निर्वाण प्राप्तिसम्मका महत्वपूर्ण समय नेपाल र भारतमै व्यतीत भएका कारण यी दुर्ई देशलाई बुद्ध धर्मको देश पनि भन्न सकिन्छ । श्रीलंका, म्यान्मा, थाइल्याण्ड तथा भूटान त घोषित रूपमै बौद्ध धर्म मान्ने देशहरू हुन् । ‘धम्मम् शरणम् गच्छामि’, बुद्धम् शरणम् गच्छामि, सङघम् शरणम् गच्छामि’को पवित्र महावाणी गौतम बुद्धले दिएका हुन् जसको भाषा मूलतः संस्कृत नै हो । 

अर्काे शब्दमा भन्नुपर्दा हाम्रो देशमा संस्कृत भाषा एवं साहित्यको संरक्षण एवं संवद्र्धनमा राज्यले ध्यान केन्द्रित ग¥यो भने बिमस्टेकका सदस्य राष्ट्रहरूका साथै विश्वका अन्य देशहरूसित पनि नेपालको द्विपक्षीय सम्बन्ध विकसित गर्नमा ‘संस्कृत’ भाषाले सांस्कृतिक दूतको काम गर्न सक्दछ । संस्कृतका नेपाली जानकार एवं विद्वान्हरू अन्य देशमा गएर आफ्नो भूमिका राम्ररी निर्वाह गर्न सक्दछन् । श्रीलंकाका तत्कालीन राष्ट्रपति मैत्रीपाल सिरिसेनाले बिमस्टेक सम्मेलनको उदघाटनका अवसरमा आफ्नो मातृभाषा सिंहलीमा भाषण गरेका थिए । 

शुरुशुरुमा उनको भाषण बुझ्नमा केही अप्ठ्यारो महसूस भए पनि उनको सम्बोधनमा संस्कृतका शब्दहरूको अत्यधिक प्रयोग गरिएका कारण धेरै हदसम्म बुझ्न सकियो । संस्कृत भाषाप्रतिको पूर्वाग्रह त्याग्नुपर्दछ । यो कुनै एउटा धर्मको भाषा होइन, न कुनै एउटा जाति, न कुनै एउटा देशकै भाषा हो । संस्कृत भाषा हाम्रो निम्ति अमूल्य धरोहर हो र यसको संरक्षण हामीले गर्न सक्नुपर्दछ । दक्षिणी छिमेकी राष्ट्र भारत स्वतन्त्र भएपछि संविधान निर्माताहरू अन्योलमा थिए कि कुन भाषालाई देशको राष्ट्रभाषा बनाउने ? 

तर, संविधान निर्मातामध्येका प्रमुख डा.भीमराव अम्बेडकरले जो जातिले दलित र विदेशमा पश्चिमेली शिक्षा ग्रहण गरेका थिए, संस्कृत जस्तो महान् धरोहर भएको देशका जनताले राष्ट्रभाषाको खोजी गर्नु आश्चर्यको विषय भनेका थिए । डा. अम्बेडकरको विचारमा संस्कृत भाषालाई पूरै भारतको जनताले राम्ररी बुझेको थियो तर अन्य भाषालाई त्यति राम्ररी होइन । भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूजस्ता पश्चिमेली सभ्यता एवं संस्कृतिप्रेमीले पनि देशको सबैभन्दा गौरवशाली विरासत संस्कृत भाषा र त्यसमा उपलब्ध महान् साहित्यको सम्मान हुनुपर्ने भन्दै संस्कृतकै वकालत गरेका थिए तर भारतको संविधानसभामा एक मतको कमीले गर्दा संस्कृत भारतको राष्ट्रभाषा बन्न सकेन । 

त्यसको केही दिनपछि नै दक्षिण भारतसहित भारतका कतिपय ठाउँमा हिन्दीको विरोध हुन थालेपछि संस्कृतको महत्व बुझ्ने काम भएको थियो । सन् १९६९ मा भारतको शिक्षा मन्त्रालयले एउटा निर्देशन जारी गरी केन्द्रीय तथा प्रादेशिकस्तरमा संस्कृत दिवस मनाउन आदेश गरेको थियो । सन् २००१ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीको विशेष प्रयासमा त्यस वर्षलाई संस्कृत वर्षको रूपमा मनाइएको थियो । भारतको संविधानले पनि संस्कृत भाषालाई मान्यता दिएको छ तथा त्यहा“ संस्कृत भाषा, साहित्यको विकासमा राज्यस्तरबाट पनि धेरै काम भइरहेको छ ।

हाम्रो देशमा विसं २०३२ सालमा नयाँ शिक्षा योजना लागू नहुनजेल संस्कृत भाषालाई पठनपाठनको निम्ति अनिवार्य बनाइएको थियो तर नयाँ शिक्षा लागू भएपछि क्रमिकरूपमा संस्कृत भाषालाई तहसनहस पार्ने काम भइरहयो । विसं. २०४८ सालमा एकपटक फेरि पनि संस्कृत भाषालाई पठनपाठनको निम्ति अनिवार्य बनाउने प्रयास भएको थियो । प्रतिनिधिसभाका अधिकांश सदस्यहरूले यसमा सहमति पनि जनाइसकेका थिए । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी जो स्वयं पनि संस्कृत एवं नेपाली भाषा साहित्यका विद्वान थिए, सुरुमा त यस प्रस्तावको समर्थन गरेका थिए तर पछि एमाले पार्टीभित्र एवं बाहिरबाट समेत चर्काे विरोध हुन थालेपछि उनले आपूmलाई संस्कृतविरोधी कित्तामा उभ्याए ।

फलस्वरूप ३० वर्ष बितिसक्दा पनि संस्कृत भाषाको अवस्था नेपालमा दयनीय नै रहेको मान्नुपर्दछ । नेपालको संविधान २०७२ मा सनातन धर्म एवं संस्कृतिको रक्षा गर्ने कुरा गरिएको छ तर संस्कृत भाषा एवं साहित्यको संरक्षण एवं संवद्र्धनविना संस्कृत भाषा एवं साहित्यको उत्थान सम्भव छैन । देशभित्र रहेका संस्कृत माध्यमिक विद्यालय एवं क्याम्पसको अवस्था पनि खासै राम्रो छैन । संस्कृत विश्वविद्यालय अस्तित्वमा अवश्य छ तर यसले पनि राम्ररी आफ्नो भूमिका निर्वाह गर्न सकिरहेको छैन । जिल्लास्तरीय संस्कृत माविहरूमा कम्तीमा पनि १२ कक्षा (उपशास्त्री) सम्मको विभागको व्यवस्था गरिएमात्रै यसले आफ्नो सार्थकता साबित गर्न सक्नेछ । 

वर्तमान अवस्थामा संस्कृतको विकासमा राज्यस्तरबाट पनि अपेक्षित सहयोग प्राप्त हुन सकिरहेको छैन । संस्कृत भाषा हाम्रो निम्ति ज्ञानको महान भण्डार मात्रै होइन, अपितु यो अनेकौं महान् परम्पराहरूको संरक्षक पनि हो । जब पूरै विश्वका मानिस आफ्नो परम्पराको रक्षा गर्नमा आपूmलाई गौरवान्वित महसुस गरिरहेका छन् अनि हामीमा मात्रै हीनताबोध किन ? संस्कृत भाषा जान्ने व्यक्तिको निम्ति नेपाल र भारतको कुनै भाषा बुझ्न समस्या हुनेछैन । विगतका दिनमा भारतका मुसलमान कविहरू रहीम, कबीर, रसखान तथा जायसी पनि संस्कृतका राम्रा जानकार थिए । 

नेपालका पुराना कवि एवं साहित्यकारहरू सबै संस्कृतका जानकार थिए । संस्कृत भाषाका शब्दहरूलाई कमोबेसी विश्वका सबैजसो भाषामा पाउन सकिन्छ तर अन्य कुनै पनि विदेशी भाषाको शब्द संस्कृतमा रहेको पाइँदैन । संस्कृत भाषा न मृत भाषा हो न कुनै जाति विशेषको भाषा नै हो । यो त अध्ययन गर्न चाहनेहरूको भाषा हो, यसको अध्ययनपछि जागिरको सम्भावना पनि रहन्छ । जसरी ल्याटिन भाषा कसैको मातृभाषा होइन त्यसरी नै संस्कृत पनि कसैको मातृभाषा होइन तर पनि युरोपमा ल्याटिन भाषा पढ्नुलाई सम्मान एवं सुशिक्षित व्यक्तिको सूचक मानिन्छ । 

सामाजिक, सांस्कृतिक एवं चारित्रिक दृष्टिले परिपूर्ण व्यक्ति नै जीवनको प्रत्येक क्षेत्रमा सफलता हासिल गर्न सक्दछ । संस्कृत भाषाका साहित्य एवं रचनाहरूवारे पश्चिमेली जगत बडो गहिराइपूर्वक अध्ययन गरिरहेको छ । हामीभित्रमात्र हीनताबोध छ । रामायण, महाभारत, गीता, वेद, उपनिषद् तथा अन्य धर्मशास्त्रहरूको अध्ययन प्रत्येकले गर्नुपर्दछ । संस्कृत भाषाको उत्थानमा संघीय एवं प्रादेशिक सरकारले पनि ध्यान दिनुपर्दछ । संस्कृतको सफलता हामी सबैको सफलता हो । यो ज्ञान र विज्ञानको भण्डार हो । 


Top