गण्डकी प्रदेशमा युवा स्वरोजगारका सम्भावना र चुनौती

✍️ गोविन्द मरासिनी   POSTED ON : भदौ २७, २०७८ (९:०७ AM)

गण्डकी प्रदेशमा युवा स्वरोजगारका सम्भावना र चुनौती

गण्डकी प्रदेश भन्ने बित्तिकै प्रायः हामी सबैको मानसपटलमा घुमफिरका लागि प्रसिद्व प्रदेश भनेर आउँछ । प्रदेशभित्रका पर्यटक लोभ्याउने गन्तव्यहरूले पर्यटकीय प्रदेश भनेरसमेत परिचित गराएको छ । शिक्षित वर्गहरूको प्रदेशका रूपमा समेत परिचित यस प्रदेशका धेरै युवापिँढीहरू सरकारी सेवामा आबद्व रहेका छन् । तर, बाध्यता भन्नुपर्छ यस प्रदेशका धेरै युवाहरू अहिले पनि रोजगारीको अभावमा विभिन्न मुलुकहरूमा रोजगारीकै लागि धाउनुपर्ने बाध्यता भने कायमै छ ।

उच्च शिक्षा प्राप्तिपछि पनि रोजगारको व्यवस्था नहुनु यदि भइहाले पढाइअनुसारको उचित रोजगारको व्यवस्था नभएपछि युवापुस्ता निरुत्साहित भएर रोजगार र पारिवारिक जिम्मेवारी बहन गर्नकै लागि विदेश लाग्नुपर्ने रहर होइन, बाध्यता बनेको छ । तर, हामीले आफ्नै प्रदेशभित्र रहेका विभिन्न स्रोत र साधनहरूको उचित प्रयोग गर्‍यौँ, सम्भावनाको खोजी ग¥यौं र आफ्नै प्रदेशमा मिहिनेत गर्‍यौं भने धेरै युवापिँढीलाई स्वरोजगार बनाउन सक्दछौं । 

पर्यटन र होम स्टे :

गण्डकी प्रदेशमा रहेका धेरै पर्यटनका सम्भावनाबाट स्वरोजगारसहित रोजगार सिर्जना गर्न सकिने पर्याप्त गन्तव्यहरू छन् तर कतिपय अहिले पनि ओझेलममा परेका छन् । गण्डकी प्रदेशमा रहेका ११ वटा जिल्लामा आआफ्नै पर्यटकीय र धार्मिक क्षेत्रका विशेषता छन् । गण्डकी प्रदेशको पर्यटकीय नगरी कास्की जिल्लामा फेवा ताल, रूपा ताल, बेगनास तालसहित विभिन्न शक्तिपीठसमेत छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनास्लु संरक्षण क्षेत्र, माछापुच्छ्रे, गोरखा दरबार, माथिल्लो मुस्ताङ, कागबेनी, लोमान्थाङ ऐतिहासिक दरबार, ढोरपाटन शिकार आरक्ष, सेतीवेणीको शालिकग्राम शिला, तनहुँको प्रमुख पर्यटकीय गन्तव्य ‘पहाडकी रानी’ नामले चिनिने बन्दीपुर, लमजुङको दूधपोखरी, बाह्रपोखरी, पर्यटकीय घलेगाउँ, तुर्लुङकोट, म्याम्दीको घोरेपानी, पुनहिल नवलपरासीको मौलाकालिका मन्दिर, सिजी शास्वतधाम, त्रिबेणीधाम सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल गण्डकी प्रदेशमै छन् । 

गण्डकी प्रदेशमै रहेका आस्थाका धरोहर मुक्तिनाथ मन्दिर, मनकामना मन्दिर, बाग्लुङ कालिका, आलमदेवी, पृथ्वीनारायण शाहको ऐतिहासिक गोरखा दरबार, देवघाट, दामोदरकुण्ड, सबैभन्दा गहिरो गल्छी कालीगण्डकी लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउँन सक्दा प्रदेशको रोजगारीको अवस्था मजबुत बन्नेमा दुई मत छैन । 

यतिका धेरै पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकका लागि ‘टुरिष्ट गाइड’को अनिवार्यमात्र गर्ने हो भने धेरै युवा स्थानीयस्तरमै स्वरोजगार बन्न सक्दछन् । केही पर्यटकीय स्थानमा यो प्रचलन रहेतापनि गण्डकी प्रदेशका धेरैजसो पर्यटकीय गन्तव्यमा यो प्रचलन छैन, जसका कारण पर्यटक घुम्न त घुम्छन् तर घुमेर पनि त्यस ठाउँको बारेमा जानकारीसमेत पाउँन सक्दैनन् । यसरी स्थानीयस्तरमै तालिम दिएर युवाहरूलाई ‘टुरिष्ट गाइड’मा परिचालन गर्दा ठूलो संख्यामा स्वरोजगार बन्नेछन् भने घुमफिरमा आउने पर्यटकले पनि गन्तव्यको बारेमा राम्रो ज्ञान पाउनेछन् । 

पर्यटकीय गन्तव्यहरूमा स्वदेशी वा विदेशी पर्यटक प्रवेश गर्दै गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यस स्थानको व्यापार, व्यवसायका रोजगारीको पनि सुनिश्चित हुनेगर्दछ । जसले गर्दा प्रदेश र जिल्लाभित्रका धेरै युवाहरूले रोजगारीको अवसर प्राप्त गर्नेछन् । यसमा लागि मुख्य त पर्यटकीय गन्तब्यको खोजी गर्ने, प्रचासप्रसार गर्ने कार्य प्रमुख मान्न सकिन्छ । 

यसका अलवा प्रदेशभित्र पर्यटकका लागि साहसिक खेलहरू (बन्जी, स्विङ, जीपलाइन, ¥यापटिङ, रक क्लाइम्बिङ, माउण्टेन बाइकिङ)लगायत साहसिक खेलहरूको विस्तार गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना हुनेगर्दछ । साहसिक खेल ‘प्याराग्लाइडिङ’ र ‘बोटिङ’का लागि समेत लोकप्रिय मानिने यस प्रदेशमा यसमा आबद्ध हुने र तालिम लिनेका लागि रोजगारको बलियो माध्यम भएको छ । 

पोखराका विभिन्न तालमा डुंगा चलाउने माझी र पोखराको सराङकोटसहित भर्खरै सुरु भएको तनहुँको बन्दिपुर, स्याङ्जाको स्वरेक मैदान र बाग्लुङको बलेवामा पनि ‘प्याराग्लाइडिङ’ सेवा विस्तार गरिएको छ । यी क्षेत्रहरूमा व्यावसायिक उडान गर्न सकेको खण्डमा र राम्रो तालिमको व्यवस्था गर्दा धेरै युवालाई रोजगार दिन सकिन्छ । 

होम स्टे गण्डकी प्रदेशका स्थानीय युवायुवतीको स्वरोजगारीको मुख्य स्रोत बन्दै गइरहेको छ । यस प्रदेशभित्र सयौंको संख्यामा रहेका होम स्टेबाट धेरै युवा स्वरोजगार बनिरहेको अवगत नै छ । अझ यसको दायरालाई बढाएर प्रदेश सरकार र स्थानीय तहबाट व्यवस्थित ढंगबाट युवालाई आकर्षित गर्न सके यसबाट धेरै युवाहरू लाभान्वित हुनेछन् । 

यस प्रदेशमा रहेका दरौं सिरुबारी होम स्टेलाई दक्षिण एसियाकै नमुना होम स्टे मानिन्छ । यसबाहेक घलेगाउँ, भुजुङ गाउँ, बन्दिपुर, घान्द्रुकलगायतका क्षेत्रमा रहेका होम स्टेसहित यस प्रदेशमा रहेका होम स्टे व्यापार र रोजगारका दृष्टिले महत्वपूर्ण मानिन्छ । आफ्नै घरमा थोरै लगानीमा होम स्टे सञ्चालन गर्ने र मनग्य आम्दानी पनि गर्नुका साथै अप्रत्यक्ष रूपमा रोजगारीको समेत व्यवस्था हुने हुँदा यसतर्फ सम्बन्धित पक्षको ध्यान पुग्नु जरुरी देखिन्छ । 

होम स्टेमा पुग्ने पर्यटकका लागि आफ्नै मिहिनेतले बनाएको ‘कटेज’मा पर्यकटलाई राखेर अर्गानिक खाने कुराको आनन्द दिदाँ पनि धेरै होमस्टे सञ्चालकहरूको घर खर्च चल्नुका साथै स्वरोजगार भएका छन् । यसका साथै होम स्टेमा आउने पर्यटकलाई आफ्नो गाउँ–ठाउँ झल्कने चिनो (आकर्षक रूमाल बनाउने, बास र काठका सामानहरू) बनाउने र त्यसलाई लागि बिक्रीवितरण गर्नु स्वरोजगारको अर्को पाटो बन्न सक्दछ । यसरी थोरै लगानी र आफ्नै स्थानीयस्तरमा उत्पादन भएका साम्रगीको सदुपयोग गर्दा युवाहरू स्वरोजगारमात्र होइन, आफ्नो स्थानीय तहको व्यापारमा वृद्वि हुनुका साथै युवाहरूमा उत्प्रेरणासमेत मिल्दछ । 

पर्यटन क्षेत्रको विकासबाट राष्ट्रिय आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रर्वद्धन गरी पर्यटक आगमनमा वृद्धि गर्ने कार्यको पनि थालनी गरिनुपर्छ । पर्यटकीय सेवा तथा सुविधाको विकास, विस्तार एवं विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन र पर्यटन विकास गर्न सबै क्षेत्रसँग सहकार्य गर्दै पर्या–पर्यटनमा जोड दिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलको एकीकृत र समन्वयात्मक रूपमा पूर्वाधारको विकास गरिनु आवश्यक छ । 

कृषि र पशुपालन :

कृषिबाट पनि थुप्रै स्वरोजगार बन्न सकिने माध्यम छन् । नेपालीहहरूको परम्परागत पेशा भनेको नै कृषि पेशा हो । युवाहरू आफ्नै देशमा कृषि गर्न नचाहने तर विदेशमा गएर कृषि पेशामा आबद्व हुँदा यो पेशामा लोप हुँदै गएको थियो तर अहिले आएर विदेशबाट फर्केर सीपको सदुपयोग गर्दै कृषि पेशा अँगाल्नेहरूको जमात ठूलो छ । कृषिमा थोरै लगानी गरेर पनि मनग्य आम्दानी कमाएका उदाहरण हाम्रा सामु नभएका होइनन् । 

यस प्रदेशलाई धान, कोदो, मकै, कफी, सुन्तला, अदुवा, मास, फापर, स्याउलगायत लागि प्रख्यात मानिन्छ । आफ्नै खेतमा उत्पादन धान, कोदो, मकैलगायतका अन्नबाट समेत आत्मनिर्भर बनिरहेका छन् भने व्यावसायिक रूपमै सुन्तला, कफी खेतीबाट स्वरोजगार बन्न पाउँदा कृषकहरू खुशी देखिन्छन् । मुस्ताङमा हुने फापर र स्याउँ खेतीलाई अझ प्रोत्साहन गर्दै खेतीका बारेमा आवश्यक तालिमहरू सञ्चालनका साथै बिरुवा वितरण गरेको खण्डमा त्यसमा समेत व्यापकता ल्याउन सकिनेछ । 

यसका लागि स्थानीय तह र प्रदेश सरकारबाट अनुगमनसहित समानुपातिक ढंगले अनुदान, सहुलियतमा ऋण दिने हो भने यसरी स्वरोजगार हुनेहरूको संख्यामा थप वृद्धि गर्न सकिन्छ । यस्तै, स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तु तथा फलफूललाई प्रविधिको उपयोग गर्दै कोल्ड स्टोरहरू निर्माणका लागि राज्यले अनुदान गर्नसक्यो भने अझ रोजगारको दायराले व्यापकता पाउँदछ । 

कृषिमा जस्तै यस प्रदेशमा पशुपालन अन्तर्गत बाख्रा, कुखुरा, बंगुर, गाई, भैंसी, कालिज, हाँस पालनलगायतबाट पनि स्वरोजगार बनाउन सकिन्छ । पछिल्लो समय युवाहरूको आकर्षण बनेको कालिज पालनलेसमेत यस प्रदेशमा व्यापकता पाउँदै गएको छ । यसका लागि स्थानीयस्तरले आवश्यक सहयोग गर्ने प्रोत्साहन गर्ने हो भने यसबाट पनि धेरै युवाहरूलाई स्वरोजगार बनाउन सकिन्छ । जसका लागि स्वयं युवापिँढी तदरूकता हुनुका साथै स्थानीय र प्रदेश सरकारको सहयोग भने जरुरी पर्दछ । 

प्रागारिक मल बनाउने कार्यबाट धेरैलाई स्वरोजगार बनाउन सकिन्छ । पशुपालनको गोबर र कृषीजन्य साम्रगीबाट उत्पादन हुने प्रांगारिक मल बन्ने गर्दछ । यसले व्यक्तिलाई स्वरोजगारका साथै रासायनिक मल नित्साहित गर्दछ, जसका कारण कृषि उब्जनी पनि राम्रो हुन्छ भने वातावरण पनि सफा र स्वच्छ हुने गर्दछ । त्यसैले ‘एक पालिका एक प्रागारिक मल उत्पादन कम्पनी’ निर्माण गर्नु जरुरी देखिन्छ । 

साना तथा घरेलु उद्योग :

स्थानीयस्तरमा उत्पादित साम्रगीहरूलाई व्यवस्थापन र बजारीकरण गर्न साना तथा घरेलु उद्योग खोल्नुपर्ने हुन्छ । यदि यसो हुन नसकेको खण्डमा स्थानीयहरूले उत्पादन गरेका साम्रगीहरू खेर जानुका साथै नैराश्यता निम्तिन सक्छ र बेरोजगारी झनै बढ्ने सम्भावना हुन्छ । घरेलु तथा साना उद्योगअन्तर्गत ऊनी तथा सुती कपडा, घरेलु कागज, घरेलु धातु, काष्ठ, बिँडी, माटो, दुग्ध पदार्थ, बाँस–बेतसम्बन्धी, धान कुट्ने, तेल र उखु पेल्ने उद्योगदेखि घरेलु छाला उद्योगसमेत पर्दछन् । 

हाते तानमा कपडा बुन्नु, राडी पाखी, कार्पेट, गलैंचा, सुकुल, चटाई टोकरी बुन्नु, तोरी पेल्नु, काठमा बुट्टा कोर्नु, धातुका भाँडाकुँडा बनाउनु, माटाका भाँडाहरू बनाउनु, गहनाहरू बनाउनु, क्युरियोका सामान बनाउनु इत्यादि घरेलु उद्योग हुन् । बाहृय आयातित सीप र कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा यी र यस्ता हाम्रा परम्परागत कला, संस्कृति र सीप अनुरूपका व्यवसायमा आय तथा रोजगारीको सम्भावना बढी हुने गर्दछ । 

यसै प्रदेशको बाग्लुङ जिल्लामा पाइने आकासबेली, चिराइतो, जटामसी, यार्चागुम्बा, तालिसपत्र, सतुवा, अमला, विषम, पदमचाल, चुल्ठे, गोकुलधुप, काकुली जरा, मजिठालगायत जडिबुटी पाइन्छन् । यसका साथै जडिबुटीजन्य उत्पादन, आयुर्वेदजन्य औषधिहरू, चिया बनाउने साना उद्योगहरू निर्माण गर्दा पनि स्वरोजगारको सम्भावना बढी हुन्छ । स्थानीयस्तरमै यस्ता उद्योग सञ्चालन हुँदा वनजंगलबाट स्थानीयले जडिबुटीजन्य साम्रगी खोजेर ल्याउँछन् जसबाट पाउने पैसाले उनीहरूको घर चलाउने स्रोत बन्ने गर्दछ । 

प्राकृतिक स्रोत, साधन :

गण्डकी प्रदेशका विभिन्न जिल्लामध्ये स्याङ्जा चुनढुंगाका लागि प्रख्यात मानिन्छ भने अन्य जिल्लामा विविध निर्माणजन्य साम्रगी (बालुवा, गिट्टी, ढुंगालगायत साम्रगी) र तामा, फलाम, सिसा, सुनका धातुहरूको खोजी तथा उत्खनन् गर्ने कार्यमा समेत स्वरोजगारी बनाउन सकिन्छ । आफ्नो स्थानीय स्तरमा जे प्राकृतिक स्रोत छ त्यसको सही तरिकाले उत्खनन् गर्दै स्थानीय सरकार तथा प्रदेश सरकारको दायराबाट आवश्यक अनुगमनसहित निर्यात गर्दा समग्र प्रदेशमा स्वरोजगार बढ्नुका साथै प्रदेशको आर्थिक समृद्धिसमेत हुने गर्दछ । 

यसबाहेक ठूला नदी र खोलाहरू भएको यस प्रदेशमा जलविद्युत्को सम्भावना पनि उत्तिकै छ । स्याङ्जाको मिर्मीमा रहेको कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो परियोजनामध्ये पर्दछ । यससहित तनहुँ हाइड्रो, मादी जलविद्युत् आयोजना, बुढीगण्डकी जलविद्युत् आयोजना र उपल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनालगायत् आयोजनामा धेरै युवाले रोजगारी प्राप्त गरेका छन् । यस्तै अन्य आयोजनाको खोजी गरी निर्माण गर्ने सकेमा अन्य युवालाई रोजगारीको सुनिश्चित गर्न सकिन्छ । 

चुनौती :

यसरी युवाहरूलाई स्थानीयस्तरमै स्वरोजगार र रोजगार उन्मुख भए तापनि यसलाई लागू गर्न थुप्रै चुनौती छन् । हाम्रोजस्तो अस्थीर राजनीति भएको मुलुकमा राजनीति नै मुख्य चुनौती भएर उभिएको पाइन्छ । नेपालका हरेक क्षेत्रमा राजनीतिले असर गरेजस्तै स्थानीय तहमा स्वरोजगारमुखी बनाउन पनि राजनीतिले असर गर्ने प्रष्ट देखिन्छ । हुन त गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०८९को वार्षिक विकास कार्यक्रममा बेरोजगारलाई रोजगार दिलाउन साना तथा मझौला उद्योग सञ्चालन गर्न प्राथमिकता दिने, स्थानीयस्तरबाट उत्पादन हुने कच्चा पदार्थ र उत्पादनलाई प्रोसाहन गर्ने, उद्योग खोल्न सहजीकारण गर्ने, स्वरोजगारका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था, औषधीजन्य जडिबुटी प्रशोधन केन्द्रको स्थापना, साहसिक पर्यटन सेवा विस्तारलगायत कुराहरू उल्लेख गरिएको छ । 

तर ती बुँदाहरू पालना हुनेमा भने शंका उत्पन्न हुनेगरेको छ । यसरी शंका उत्पन्न हुने प्रमुख कारण भनेकै विगतमा यसरी घोषणा भएका योजनाहरू पूरा नहुनु हो । पर्यटकीय गन्तव्यको खोजी गरिँदा सबै निकायसँग पर्याप्त छलफल नगरी पर्यटकीय क्षेत्रहरू विस्तार गर्ने जसका कारण पर्यटनका लागि भनेर विभिन्न संरचना त बनाउने तर त्यतिकै खेर जानेलगायत समस्या उत्पन्न हुने गरेका छन् । 

प्रदेश सरकार होस् वा स्थानीय तहबाट बाँडिने कृषि तथा पर्यटनमा वितरण गरिने अनुदान प्रभावकारी नहुनु, अनुदानमा नातेदार र कुन राजनीतिक दलको कार्यकर्ता हो भनेरमात्र अनुदान बाँडिनु, अनुदान दिएपश्चात अनुगमन नहुनु, राज्यका निकायहरूबीच नै समन्वय नहुनु, उत्पादनमैत्री नीति नहुनु, उद्यमी बनाउने परिपाटीको विकास नहुनुलगायतका चुनौती देखिन्छन् । मूलतः यसरी स्वरोजगार बनाउने कार्यमा जुट्दै गर्दा स्थानीय युवापिँढीमा काम गर्ने प्रवृत्तिको विकास नहुनु मुख्य चुनौती मान्न सकिन्छ । विदेश गएर मनग्य आम्दानी गर्ने सोच राखेर त्यसतर्फ आकर्षित हुने युवाहरूलाई देशमै के के गर्न सकिन्छ भन्नेमा आकर्षित गर्नु नै चुनौतीपूर्ण छ । 

तसर्थः युवाहरूलाई उत्प्रेरणा दिने किसिमका कार्यक्रमहरू ल्याउने, गाउँ तथा टोल र स्थानीयलाई स्वरोजगारमुखी अनुदान वितरण गर्नका लागि प्रक्रिया पु¥याउनुका साथै अनुगमन गरेर बाँड्ने, अनुदान वा ऋण दिएपछि पनि के कसरी खर्च भएको छ भनेर हेर्ने, एकै व्यक्तिले राज्यका धेरै ठाउँबाट अनुदान लिएर दुरुपयोग गरेको छ वा छैन त्यसको मूल्यांकन गर्नेलगायतमा ध्यान दिनुपर्ने देखिन्छ ।

 (लेखक पत्रकार हुनुहुन्छ ।) 


Top