साहेब ध्यानमा होइसिन्छ !

✍️ लेखनाथ पोखरेल   POSTED ON : भदौ २८, २०७८ (८:३२ AM)

साहेब ध्यानमा होइसिन्छ !

दुई वर्षदेखि काठमाडौं पुग्ने अवसर पाएको थिइन । एक दिन एउटा साथीले फोनमा भन्यो ‘तिमीलाई थाहा छ काठमाडौं कति प्रदूषित भइसक्यो ?’ मैले भने, कुन नौलो कुरा हो र त्यो ? संसारकै प्रदूषितमध्येको अग्रपंक्तिमा रहेको शहरको नाम काठमाडौं हो भन्ने कुरा सबैलाई थाहा छ । 

उसले भन्यो, कुरै नबुझी प्वाक्क नबोल न ! सुन, प्रदूषणको कारण सितांग हुँदै गएको काठमाडौंमा अलिअलि बाँकिरहेको अक्सिजन पनि रामदेवका चेलाचपेटाले तानेर सक्न लागिसके । मर्निङ वाकमा निस्किने उनीहरूले कहीँ खाली ठाउँ देख्नु हुँदैन । काँधमा झुण्ड्याएको गम्छालाई आसनी बनाएर थचक्क त्यहीँ बस्छन् र भुँडी हल्लाउँदै स्वाइँ... स्वाइँ... अक्सिजन तान्न सुरु गर्छन् ।’ फोन गर्ने साथी भरपर्दो भए पनि उसको कुरा पत्याउन नसकेको मैले अर्को साथीलाई फोन घुमाउँदै ‘बिहान के गर्छस् हौं !’ भनेर सोधेको थिएँ । 

‘आजकल त चकाचक छ बुझिस् ! बिहान त बोल्नेसम्म पनि फुर्सद हुँदैन । तेरो फोन भएरमात्र उठाएको हो, अरूको भए उठाइने पनि थिइएन होला’ भन्दै फुइँ लगायो । आठ नबजेसम्म ओच्छ्यानबाट नउठ्ने उसको त्यो फूर्तिलो जबाफले म सन्तुष्ट हुन सकिनँ । दोहोर्‍याएर सोधें ‘भन् न त के गर्छस् ?’ उसले झन् गज्जबको जबाफ दियो ‘अरू के गर्ने र ! रामदेव गर्छु नि ।’ ‘रामदेव गर्ने’ भनेको के हो बुझ्न नसकेको म त्यत्तिकै ट्वाँ परेँ । काठमाडौंका बासिन्दाले योगासनलाई ‘रामदेव गर्ने’ भन्दारहेछन् भन्ने कुराको जानकारी उहीँ पुगेपछिमात्र थाहा भएको हो ।

अरूले रामदेव गरेको देख्दा रहर लागेर मैले पनि सुरु गरेँ त्यो धन्दा । आफ्नो इच्छानुसारको काम गर्दा कस्तो मज्जा आउँछ, कुरा गरी साध्य छैन । तात्तातो राबडी खाएजस्तो । कुनबेला उज्यालो होला र चौरमा पुगेर रामदेव सुरु गरौं लाग्न थाल्यो । कामीको आरनको खलाँती चलेझैँ मस्त भएर स्वाइँ ..स्वाइँ.. सास तान्ने र फुस फुस..छोड्ने काम तदारुकताका साथ अगाडि बढ्दै गयो । खाली पेटमा घण्टौंसम्मको आसन प्राणायामले लोथ भएको ज्यानले ‘हांग्राले पांग्रा निलेझैँ’ जे भेट्यो त्यही निलौँ जस्तो गर्न थाल्यो । मध्यारातमा मात्र निदाउँने मलाई संसाँझै निद्रा पर्न थाल्यो । यस्तो गज्जबको कुरा बेलैमा किन सुरु गरिनछु भन्ने कुराले भित्रभित्रै बिस्मात लाग्यो । 

साकाहारी खानाखान सुरु गरेको छ महिना पनि नबित्दै दाँत चिलाउँन थालेसँगै घाँटी पनि सकसकाउँन थाल्यो । मनले उक्सायो, ‘रामदेव गर्न सुरु गरेकै छस् के को पिरोलो ! साँझमा दुई चार पेग लगाउँदा केही फरक पर्दैन । पेग तान्दा अलिअलि खेर जाने शक्तिको भर्पाई अर्को दिन बिहानको रामदेव क्रियाले ठाउँको ठाउँमा ल्याएर पुर्ताल गरिदिन्छ ।’ 

मनले देखाएको बाटोलाई ठीक नठान्ने कुरै भएन । अर्को दिन घाम अस्ताउन पनि नपाउँदै मेरा खुट्टा भट्टीतिर तेर्सिंदै गए । उखरमाउलो गर्मीले रन्थनिएको बेला भेटेको सित्तल झरनासरह बन्यो मेरो लागि ज्ञानी मैयाको भट्टी त्यो दिन । छ महिनाको कोटा एकैचोटि पु¥याउँलाझैँ गरी बेस्सरी ठर्रा धोकेर हल्लिँदै मध्यरातमा घर पुगेँ । अर्को दिन बिहान, राति अघाउँजी धोकेको रक्सीको धङधगेले टाउको दुखेर उठ्न दिइराखेकेको थिएन । 

तैपनि, शुभकाम छोड्नु हुँदैन भन्ने लागेको म लाम्टा सुन्निने गरी भुँडी हल्लाउँदै प्राणायाम गर्नमा तल्लिन भएँ । सन्की चढेको मानिसलाई समय बितेको पनि थाहा हुँदैन । जबरजस्ती नै भए पनि यो क्रमले अर्को छ महिना निरन्तरता पायो । अहंकारमा बढोत्तरी हुँदै गयो, म आफूलाई योगासनको गुरु ठान्न थालेँ । रामदेव गर्ने व्यक्ति हुँ भन्ने जानकारी स्वतस्फूर्तरूपमा सबैलाई होस् भन्ने उद्देश्यले पछिल्लो तीन महिनादेखि दारीजुँघा पनि खौरेको थिइनँ ।

बुढीमाउले, दारी पनि नकाटी के बसेको होला ! भन्दै ख्याउँ..ख्याउँ..गर्न थालेपछि, मरोस् त है फाल्दिनु पर्‍यो भन्ने लागेर एक दिन ऐनाअगाडि उभिएर दारी काट्दै थिएँ । माथिबाट दारी खौरिन सुरु गरेर जति तल झर्दै गएँ त्यत्ति नै मेरा नौनारी गल्दैगए । दारी खौरी सकेर ऐनामा हेर्दा केही महिनाअगाडिका आफ्ना पोटिला रातापिरा गाला त पाकेका केराजस्ता पँहेलो पो देखेँ । मेरो सात्तोपुत्लो उड्यो । 

बिहानभरिको आसन प्राणायाम, घाम अस्ताउन पनि नपाउँदैदेखि खोलिने रक्सीका बोतल । आफूतिर तान्ने स्वभाव भएको योग र ध्यान, बाहिरतिर घचेट्ने स्वभाव भएको रक्सी । मेरो शरीरलाई खेलकुदको मैदान ठानेका, पृथ्वीका दुईविपरीत ध्रुवझैँ उभिएका ध्यान र रक्सी दुवैले आआफ्ना करामत देखाइसकेको कुराको मैले पत्तै पाइन । कुन कारणले मेरो हालत यस्तो भयो भन्ने कुरा बुझ्न जरुरी नठानेको मेरो मनले पतनको सहज बाटो अवलम्बन गर्‍यो । ऊ एक पटक फेरि मोजमस्तीतिर नै उन्मुख भयो । 

रामदेव गर्न छोडेको दिनदेखि हाईसन्चो होला भन्ने लागेको थियो मलाई तर समय कसरी बिताउने होला भन्ने कुराले झन भाउन्न पो हुनथाल्यो । आफू चैनसँग बस्न नसक्ने मानिसले टोल छिमेक र आफ्ना आफन्तलाई पिरोल्नबाहेक के नै गर्छ र ! जोगीको कुकुरजस्तो लखरलखर गर्दै कहिले वल्लो घरमा पुगेको हुन्छ त कहिले पल्लोघरमा । आफ्नो मनभित्र उरुङ लागेर बसेका कुराहरू अरूसँग उकेल्न नपाएसम्म उलितुली मेटिँदैन । त्यस्तै हालतमा पुगेको थिएँ म । 

एक बिहानी गफ चुट्ने सोच बनाएर एउटा साथीको घरमा पुगेको बेला, सासु बुहारीबीचको डाडुपुन्युको झटारो हानाहानमा परिसकेको हुँदा, अर्को ट्वाँके मित्रको घरमा जाँदा भने मैले सायंकाललाई रोजेको थिएँ । रामदेव छोडेर म फेरि बेवारिसे बनेको जानकारी भने उसलाई थिएन । 

घरमा ऊ एक्लो थियो । उसको घरमा म्यानपावरबाट १० घण्टे जागिर खान आएकी एउटी क्याटवाक टाइप चनमते तरुनी थिई । खोइ साहेब ! भनेर सोद्धा ‘साहेब त ध्यानमा होइसिन्छ बिहान आइस्योस् न’ भनी । उमेरले हल्ली काटिसकेको अम्मलीले जाँड छोडेर ध्यान सुरु गरेको कुरा सितिमिती पत्याउने खालको त थिएन तर भन्नेले हो नै भनेपछि पत्याउनै पर्‍यो क्यारे ! मैले पनि पत्याएँ ।

हिजोका दिनमा जे जस्तो भए पनि आज ऊ सप्रिएर ध्यान सुरु गरेको कुरा सुन्दा खुशी हुनु स्वाभाविक थियो । त्यसबीचमा, आफू रामदेवबाट उम्किएर ‘पुनर्मुसिको भव’को स्थितिमा पुगेको कुरा सम्झिन पुगेँ । उसको गती मती मेरोजस्तो नहोस् भन्ने मनमनमा शुभकामना दिएँ । उसलाई बाधा पुर्‍याउनु उचित नहुने ठानेको हुँदा त्यस दिन त्यत्तिकै लुखुर लुखुर घर फर्किएँ ।

ब्रहृममुहुर्तमा उठ्ने बानी परिसकेको म रामदेवबाट उन्मुक्ति पाएको दिनदेखि बिहानको आठ बजेसम्म नै ओच्छ्यानमै लम्पसार पर्न थालेको थिएँ । ‘अल्छीले जति जैसीले जान्दैन’ भन्ने उखान आफैंमा लागू हुनपुग्यो, बिहान कसैलाई भेट्न जाने अनुकूलता नै जुर्दैनथ्यो । 

त्यसपछिका दिनमा पनि म सायंकालमै २/४ पटक उसको घर पुगेँ । क्याटवाकले दिने गरेको प्रत्येक पटकको एकैखाले जबाफबाट दुई चार दिनपछि म सशंकित हुन थालेँ । सोचेँ क्याटवाकले पक्का पनि उसको हाकिमलाई म उसकोमा पुगेको कुरा सुनाएको हुनुपर्छ तर साथीले फोनसम्म गरेन किन ? मलाई केही गडबड छ भन्ने शंका लाग्न थालेसँगै त्यस कुराको समाधानको मार्गतिर अग्रसर भएँ । 

शंका भन्ने वस्तु पनि अनौठो हुन्छ । यसको चपेटामा परेको मानिस, धोबी धुलाइको हालतमा नपुगेसम्म चेत खाँदैन । चेत पाएर पनि बानी छुट्ने भए पो ! पाइलैपिच्छे यसले लखेटिराखेकै हुन्छ । शंका निवारणको लागि, एक दिन सायंकालमा भान्सातिर छिरेकी क्याटवाकलार्ई सोद्धै नसोधी साथीको घरको माथिल्लो तलामा उक्लिएँ । तलामा उक्लेर, के गर्दै रै’छ भनेर ढोकाबाट चिहाउँदा त, टेबलमा राखेको खसीको पक्कु र दारु दनादन दिइराखेको । 

अरूलाई ख्वाउनु पर्ला भन्ने पिरोलोले ध्यानको निउँ पारेको हो कि ? रामदेवबाट हारथोक भएर मेरै बाटो लागेको हो ? यकिन गर्न सकिनँ । भित्र नपसी बिरालोको चालमा बिस्तारै तलतिर ओर्लिएँ । म ओर्लिंदै गर्दा, भ¥याङ चढ्दैगरेकी क्याटवाकले मलाई देखेपछि खितिती गरेर हाँस्दै, बुट्टे सलले आफ्ना चरीचुच्चे ओठ बन्द गर्दै तलामाथि चढी । उसले साथीको कोठामा पसेरभित्रबाट चुकुल लगाई । म भुइँतलाको चुकुल लगाइसकेको ढोका खोलेर हतार हतार बाहिर निस्किएँ । 

सायंकाल पनि अफापसिद्ध भएको त्यस दिनदेखि अरूहरूको घरमा जान दुरीदुहाई भएँ । समस्या सानै भए पनि, अरूको घरमा जाने उचित समय कुन होला ? भन्ने कुराले मलाई निक्कै चिन्तित बनाउन थालेको छ आजकल । 

Top