हाम्रो स्वर्णिम इतिहास र वर्तमान शासक वर्ग

✍️ मणि शर्मा   POSTED ON : भदौ २८, २०७८ (८:४६ AM)

हाम्रो स्वर्णिम इतिहास र वर्तमान शासक वर्ग

द्वीपानाञ्चैव सप्तानांं जम्बूद्वीपो महत्तमः । तस्मिंश्चैव गरिष्ठञ्च वाराणसीस्थलं महत् 

तस्माच्चतुर्गुणंं ज्ञेयं श्रेष्ठक्षेत्रञ्च कामदम् । भुक्तिमुक्तिप्रदंं साक्षात्पशुपतिस्थलं महत् ।।

(स्कन्दपुराण, हिमवत्खण्ड) अर्थात्, सात द्वीपहरूमध्ये जम्बूद्वीप उत्तम मानिन्छ, त्यसमा पनि वाराणसी अति उत्तम छ । त्यसभन्दा पनि चार गुणा श्रेष्ठ नेपाल क्षेत्र छ, साक्षात पशुपतिस्थल भएको र सबै कामना पूर्ण गर्ने यस क्षेत्रले मानिसहरूलाई इच्छाअनुसारको भुक्ति र मुक्ति दिन्छ । 

तर, माओवादी हिंसात्मक आक्रमणबाट सुरु भई १२ बुँदेमा झरेपछि यो पवित्रस्थल नेपाल ख्रिष्टानीकरणको पीडाले जर्जरित छ । यसमाथि पशुपति विकास कोषको अध्यक्षमा एकजना ख्रिष्टान धर्मावलम्बीलाई अध्यक्ष बनाएर पशुपतिनाथमाथि अर्को आक्रमण सुरु गरेको छ यो सरकारले । 

अहिले प्रायः सबै राजनीतिक दलहरू एमसिसी पारित गर्ने योजनामा छन् । अमेरिकी सरकारले यसलाई इण्डोप्यासिफिक रणनीतिको अंग हो भनी सकेको छ । फातिमा सुमारले नेताहरूको दैलौ दैलो चहार्दै एमसिसी पारित गर्न दबाब दिनुले पनि यो नेपालको हितविपरीत भएको पुष्टि हुन्छ र यो अमेरिकी स्वार्थमा छ भन्ने स्पष्ट हुन्छ । एमसिसीविरोधी अधिक संख्यक नेपाली जनताको  भावनाको कदर गर्दै सरकार र अन्य राजनीतिक दलहरूले यसलाई खारेज गरेर जनभावनाको सम्मान गर्नु उचित हो ।

नेपालका शासकवर्गलाई नेपालको गौरवपूर्ण इतिहास थाहा नभएर हो वा बुझपचाएर हो वा मुद्रालोभमा फसेर राष्ट्रघात गर्दै नेपालको गौरवपूर्ण इतिहासलाई कायम राख्दै यसलाई अझै उचाइमा पु¥याउनुको सट्टा विदेशीको दासता स्वीकार्न आफ्नो र आफ्नो परिवारको भलो सम्झिन्छन् । तुइन घटना होस् वा भारतीय सेनाको विमान नेपाली भूभागमा उड्दा होस् भारतीय पक्षसँग जवाफ माग्ने तरिका आम जनताले हास्यास्पद मानेका छन् । भारतको व्यवहारविरुद्ध समेत बोल्न सरकार डराएको छ । हाम्रा नेताहरू किन यति कमजोर भए ? 

राष्ट्रियताको सम्बन्धमा हाम्रा नेताहरू साह्रै नै कमजोर भएकाले आज आमनेपाली जनताले राजतन्त्रको प्रत्यागमन होस् भनेर चाहिरहेका छन् । राजा र राष्ट्रियता एक अर्कासँग जोडिएको छ, यो कुरा बीपी कोइरालाले नै बुझेका थिए । आज बीपीको नाम भजाएर उनले रोपेको वृक्षको फल खाइरहेकाहरूले बीपीको आदर्श र सिद्धान्तलाई बागमतीमा तिलाञ्जलि दिइसकेका छन्, तैपनि बीपीको नाम भजाएर खान छाडेका छैनन् । 

वर्तमान कांग्रेस हेर्दा कुनै बेला यो बीपी, किसुनजी, गणेशमान र महेन्द्रनारायण निधीको कांग्रेस थियो भनेर भन्न पनि लाज लाग्छ । हुन त अहिले पनि उच्च नेतृत्वमा किसुनजीबाहेक यी तीनैजना महापुरुषका छोराहरू विराजमान छन् तर उनीहरू आफैंले आफ्नो पिताश्रीले अवलम्बन गरेको आदर्श र सिद्धान्तलाई त्यागिसकेका छन् । के तिनीहरूका पितृले आफ्ना सन्तानको यस्तो व्यवहार देखेर उनीहरूलाई आशिर्वाद देलान् ?

आफ्नो इतिहासलाई बिर्सनु हुँदैन, आफ्ना समस्त पितृलाई बिर्सन हुँदैन । हामी नेपालीहरूको एउटा परम्परा छ, हामी श्राद्धमा हाम्रा मृत राजालाई पनि तर्पण दिन्छौं । हामीले हाम्रा जन्मदाता र वंशज पितृलाई मात्र सम्झिदैनौं, बरु हाम्रा इतिहासलाई पनि उत्तिकै श्रद्धा गर्छौं, यो नेपाली परम्परा हो र यो हामी नेपालीको मौलिकता पनि हो । आज हाम्रा नेताहरूले विदेशी शक्तिलाई, बरु तिमीहरूले हाम्रो टाउको काट तर हामीलाई यो भूमिमा तिमीहरूले लडेको युद्ध आनन्दसँग हेर्न देओ भनिरहेका छन् ।

१८औं शताब्दीमा नेपाल आउने अंग्रेज कर्णेल कर्कप्याट्रिकले भनेका थिए, ‘यहाँ जति घरहरू छन् त्यति धेरै मठ मूर्तिहरू छन् । कुनै धारा, नदी वा पहाड छैन जुन एक वा अन्य देवताहरूप्रति समर्पित छैन ।’ हाम्रो पुराण र इतिहासहरूमा धेरै देउता छन् जो यहाँ आएका थिए र यस्ता मान्छेहरू पनि छन् जो देउता बनेका छन् । यस्तै एक नाम हो पहिलो किराती राजा यलम्बर । किंवदन्तिअनुसार उनलाई शिवको रूप मानिन्छ । महाभारतको युद्ध सुरु हुनुभन्दा अगाडि उनी कुरुक्षेत्रतिर युद्ध हेर्ने मनसायले हिँडेछन् । जाँदाजाँदै पथमा उनले ब्राहृमणरूपी भगवान् श्रीकृष्ण भेटेछन् । 

उनले कृष्णलाई महाभारतको युद्ध किन सुरु नभएको भनेर सोधेछन् । उनलाई मात्र थाहा भएको यो युद्ध यिनलाई कसरी थाहा भयो भनेर श्रीकृष्ण आश्चर्यमा पर्छन् । उनले ध्यान गर्दा यलम्बरमा शिवको रूप देख्छन् । उनी सोध्छन्, तपाई यहाँ किन आउनुभएको ? यलम्बरले आफू कुरुक्षेत्रको युद्ध हेर्न आएको र जो कमजोर पक्ष छ उसलाई साथ दिन आएको भने । उनले भने, मेरी आमा सधंै भन्नुहुन्थ्यो, जहिले पनि कमजोरलाई साथ दिनू ।

यलम्बर पाण्डुपुत्र भीमका पुत्र घटोत्कच तथा बुहारी मौर्वीका छोरा हुन् । उनको शासनकालमा नेपालको सीमा त्रिशूलीदेखि पूर्व टिष्टासम्म थियो र राजधानी थानकोट थियो । उनले भगवान् शिवको कठोर तपस्या गरेर वरदान पाएका थिए, उनमा शिवको अंश थियो । उनले शिवबाट तीन बाँण प्राप्त गरेका थिए र तीन बाँणधारीको नामले प्रसिद्ध भएका थिए । अग्निदेवले तीनै लोकमा विजय प्राप्त गर्नसक्ने धनुष प्रदान गरेका थिए ।

श्रीकृष्णले उनको शक्ति परीक्षा लिन उनलाई नजिकैको पीपलको रूखको सबै पातहरूमा छिद्र पार्न भन्नुभयो तर एउटा पात लुकाएर टिपेर आफ्नो पैतला मुनि राख्नुभयो । पीपलका सबै पातमा प्वाल पारेपछि यलम्बरको तीर कृष्णको पैतलानिर आउँछ, अनि उनी श्रीकृष्णलाई उनको पाउमुनि एउटा पात भएकाले पाउ उठाउन भन्छन् ।

उनको शक्ति थाहा पाएपछि श्रीकृष्ण सोच्छन्, महाभारतको युद्धमा कौरव पक्षसँग अत्याधिक सेना भए तापनि ऊ कमजोर छ र उसको हार अनिवार्य छ । यदि यो मानिस कौरवको पक्षमा लागे पाण्डवहरूको हार हुन्छ । यो सोचेर श्रीकृष्णले उनीसँग दक्षिणा मागे र यलम्बरले जे माग्छौ मेरो बलबुतामा भएको सबै दिन्छु भनेपछि श्रीकृष्णले उनको शिर मागे । यलम्बर दक्षिणा दिन तयार भए तर एउटा शर्त राखे कि उनले महाभारतको युद्ध हेर्न पाउनुपर्छ । श्रीकृष्णले उनको शर्त मानेर उनको शिर काटी आकाशमा झुण्ड्याइदिए । 

महाभारतको युद्ध समाप्त भएपछि पाण्डवहरू भाइभाइमा कसले गर्दा युद्ध जितेको भनी हानथाप हुँदा श्रीकृष्णले उनीहरूलाई लिएर यलम्बरको शिर झुण्डिएको ठाउँमा ल्याएर यलम्बरलाई नै सोध्नु भने । यलम्बरले भने, जताततै श्रीकृष्णकै सुदर्शन चक्र मात्र युद्धरत थियो र श्रीकृष्णको आग्रहमा महाकाली र दुर्गाले भाँडामा रगत थाप्दै खाँदै गरेको मात्र देखेँ । भगवान् श्रीकृष्णले यलम्बरलाई कुरुक्षेत्रको युद्धको सबैभन्दा वीर योद्धा उपाधि दिँदै संसारले उनको पूजा गर्ने वरदान दिए ।

यलम्बरले आफूले युद्ध गर्न नपाएकोमा दिक्क मान्दै हिमालयतिर प्रस्थान गर्छन् र काठमाडौंको हाल इन्द्रचोकमा पुगेर त्यहीँ बस्छन् । यसै कथाअनुसार इन्द्रचोकस्थित आकाश भैरवरूपी यलम्बरको शिरभागमात्र रहेको मूर्ति छ । भारतमा पनि ठीक यस्तै कथा छ । तर त्यहाँ यलम्बरलाई बर्र्बरिक भनिन्छ र भारतीयहरूले यलम्बरलाई खाटुश्याम बाबा भनेर पूजा गर्ने गर्छन् । बर्बरिक, खाटु श्यामबाबा र यलम्बर एउटै हुन् । नेवार भाषामा आकाश भैरवलाई आजु द्यः अर्थात् पितृरूपको देउता भनिन्छ ।   

हामीले हाम्रा पिता पुर्खालाई मात्र पितृ मान्दैनौं, अपितु नेपाल राष्ट्रलाई एकीकरण गर्ने, यसको स्वतन्त्रता तथा सार्वभौमसत्तामा आँच आउन नदिने, यसको रक्षा गर्ने हाम्रा पुर्खालाई पनि पितृरूपमा पूजा गर्ने नेपालीहरूको मौलिक परम्परा हो । के बीपी, गणेशमान, किसुनजी र महेन्द्रनारायण निधिको जन्मजयन्ती वा मृत्यु दिवसमा उहाँहरूको तस्वीरमा माल्यापर्ण गर्दै उहाँहरूको महिमा गायन गर्नु पितृहरूप्रति सम्मान तथा श्रद्धा व्यक्त गरेको हुन्छ कि उहाँहरूको सिद्धान्त, आदर्श र नीतिको पालन गर्नु उहाँहरूप्रति सच्चा श्रद्धा व्यक्त गरेको हुन्छ ? 

यी महापुरुषका पुत्रहरू जो नेतृत्वमा छन् र सम्पूर्ण कांग्रेसजनले एकपटक सोच्ने हो कि उनीहरू र उनीहरूको नेतृत्व कुन बाटोमा गइरहेको छ । आज नेताहरूले विदेशीका अगाडि शिर झुकाउनुपर्ने  अवस्था किन र कसरी आयो सोच्ने हो कि ? नेपालको स्वतन्त्र राजनीतिक अस्तित्वको उषाकालदेखि रहेको इतिहास छ । आज त्यो गौरवगाथा कहाँ गयो ? स्कन्दपुराणमा नेपाल एक लाख गाउँ भएको राज्य हो भनेर यसको विशालताको वर्णन गरिएको छ । किरात शासनकालपछि सोमवंशीय शासनकालका राजा भाष्कर बर्माले भारतवर्षको चारै कुना विजय गरी नेपालको सीमा समुद्रसम्म फैलाएको हाम्रो गौरवपूण इतिहास छ । 

उनले विजय अभियानमा प्राप्त गरेको स्वर्णराशि पशुपतिनाथको मन्दिरलाई कलात्मकरूपमा निर्माण गर्न र देवपाटनलाई स्वर्णपुरी बनाउन खर्च गरेका थिए । सन १८११ मा प्रकाशित अंग्रेजी विश्वकोषमा छापिएको मानचित्रमा सुखिम (सिक्किम), कुमाउ, गढवाल र सिमला नेपाल अधिराज्यअन्तर्गत देखाइएकोमा सुगौली सन्धिपछि यो सीमा खुम्चिएर कालीदेखि मेचीसम्म सीमित हुन पुगेको  छ । आज हाम्रो यो सानो भूभागलाई पनि हाम्रा शासकवर्ग रक्षा गर्न असक्षम छन् । हाम्रा शासकवर्र्गमा चन्द्रशेखर र गजराज प्रवृत्ति विद्यमान भएकाले हामी स्वतन्त्र तथा सार्वभौम मुलुक संविधानमा भए तापनि व्यवहारमा पराधीन नै छौं । 


Top