दूर्वाष्टमी र अदुःख नवमीको चर्चा

✍️ प्रा. तोयराज नेपाल   POSTED ON : भदौ २९, २०७८ (८:१० AM)

दूर्वाष्टमी र अदुःख नवमीको चर्चा

भाद्रशुक्ल अष्टमीलाई दूर्वाष्टमी व्रत भनिएको छ । यसबारे पुराण समुच्चयको वचन छ- 

शुक्लाष्टमी तिथिर्या तु मासि भाद्रपदे भवेत् । 

दूर्वाष्टमी तु सा ज्ञेया नोत्तरा सा विधीयते ।। 

अर्थात् यो अष्टमीको व्रत पूर्वविद्धा गर्नुपर्दछ, अर्थात् सप्तमीले युक्त अष्टमीका दिन गर्नुपर्दछ । उत्तरविद्धा तु न अर्थात् नवमी युक्त अष्टमीमा गर्नु हुँदैन । पाएसम्म यो व्रत ज्येष्ठा नक्षत्र र मूल नक्षत्र परेका दिनलाई छाडेर गर्नु उत्तम हुन्छ, नपाएमा त्यसमा पनि गर्नुपर्दछ । यो व्रत कन्याराशिमा सूर्य गएका बेलामा र अगस्त्य उदाइसकेपछि भने नगर्नू । यदि त्यस्तो पर्ने स्थिति भयो भने अगाडि नै अर्थात् भाद्र कृष्णाष्टमीमा नै गर्नू । यो व्रत स्त्री र पुरुष दुवैले गर्नुहुन्छ, तर नारीहरूको भने नित्य व्रत मानिएको छ । यसबारे भविष्य पुराणको वचन छ– 

ब्रहृमन् भाद्रपदे मासि शुक्लाष्टम्यामुपोषितः । पूजयेच्छंकरं भक्त्या यो नरः श्रद्धयान्वितः । स याति परमं स्थानं यत्र देवस्त्रिलोचनः ।। गणेशं पूजयेद्यस्तु दूर्वया सहितं मुनेद्रफलानां सकलैर्दिव्यै– र्गन्धपुष्पैर्विलेपनैः। दूर्वां पूज्य तथेशानं मुच्यते सर्वपातकैः ।। (याहाँ गणेश भनेर शिवजीलाई लिइएको छ ।) भविष्य पुराणअनुसार यसबारे यस्तो उपाख्यान छ । समुद्र मन्थन गर्ने क्रममा मन्दराचल पर्वत डुब्न लाग्दा भगवान्ले कूर्मावतार लिएर समुद्रमा डुबेको पर्वताई आफ्ना पिठिउँमा थामेर रगड्दा पनि मन्दराचल डुब्ने जस्तो भएकेले फेरि भगवान्ले अर्काे विराट् रूप लिएर पर्वतलाई च्याप्प समाउनुभयो । त्यसबेला भगवान्का रौँ झरेर समुद्रका किनारमा तैरिए । पछि अमृत निस्कियो र त्यो अमृत तिनै रौँ माथि राखियो । अमृतको संसर्गले तिनै रौँ भूमिमा उम्रिएर फैलिए । त्यो दिन भाद्र शुक्ल अष्टमीको दिन थियो । त्यसैले दूवाको उत्पत्ति भएको दिन भएको हुँदा त्यस दिनलाई दूर्वाष्टमी भनिएको हो । त्यसदिन उपवास बसेर राम्ररी दूवो उम्रिएका ठाउँमा गएर शिवलिंग स्थपना गरी पहिले दियो, कलश र गणेशको पूजा गरी पाद्यादि सबै उपचारले दूवाको पूजा गर्नू । अनि पाद्यादि सबै उपचारका साथमा सेतो दूवो, हरियो दूवो र शमीले समेत शिवजीको पनि पूजा गर्नू । शिवजीको पूजा गर्ने मन्त्र नमस्ते रुद्र मन्यव...आदि प्रसिद्धै छन् । दूवाको पूजा गर्ने मन्त्र भविष्यपुराणमा यस प्रकार छ-

त्वं दूर्वे क्मृतजन्मासि वन्दितासि सुरैरपि । सौभाग्यं सन्ततिं देहि सर्वकार्यकरी भव ।। यथा शाखा प्रशाखाभि-र्विस्तृतासि महीतले । तथा विस्तृतसन्तानं देहि त्वमजरामरे ।। यस मन्त्रले दूवाको पूजा गर्ने। अनि विशेष छोगडा, नरिवल, बिमिरो, दही अक्षता आदि द्वारा शिवजीलाई अघ्र्य दिनुपर्दछ । यसरी पूजा गरेर ब्राहृमणहरूको पनि विभिन्न फलफूलद्वारा पूजा गर्नुपर्दछ । त्यसपछि दूवालाई र शिवजीलाई पनि प्रणाम गरेर त्यस दिन आगामा नपकाएको र नुन आदि नभएको हविष्य, फलफूलहरूको र दहीसमेत नैवेद्य अर्पण गर्नुपर्दछ र ब्रहृमणहरूलाई पनि त्यस्तै भोजन गराउनुपर्दछ । आफूले पनि त्यस्तै हविष्य भोजन गर्नुपर्दछ । घरमा नै दूवो ल्याएर पूजा गर्नू भन्ने पनि यौटा मत छ । जसरी भए पनि त्यस दिन दूवाको र शिवजीको पूजा गर्दा सम्पूर्ण पाप नाश भई यस लोकामा सुख, समृद्धि , असल सन्तति र अटल सौभाग्य प्राप्त गरी परलोकमा शिवसायुज्यसमेत प्रप्त हुन्छ । 

....

अदुःख नवम

भाद्र शुक्ल नवमीलाई अदुःख नवमी व्रत भनिन्छ । अदुःख नवमीको व्रत उदयव्यापी तिथिमा गर्नुपर्दछ। यस विषयमा स्कन्द पुराणको वचन छ- नभस्ये शुक्लनवमी या वा पूर्णा तिर्भवेत् । अस्तदोषादिरहिता सर्वदुःख हरा परा ।। यसमा समस्त दुःखहारिणी भगवती गौरी माताको पूजा आरधना गर्नुपर्दछ। सम्पूर्ण दुः ख कष्टबाट मुक्त भई अनन्त सुख समृद्धि प्राप्त हुन्छ । अरू पूजामा जस्तै दियो कलश गणेशको पूजा गरी एउटा छुट्टै कलशमा प्रतिमामा गौरीको पूजा गर्नुपर्दछ । पूजा गरी नौ किसिमका पक्वान्न तथा फलफूलहरू नैवेद्य चढाउनुपर्दछ । अरू पूजामा जस्तै गरेर अन्त्यमा विशेष पाँचदाना नरिवल र नौ प्रकारका पक्वान्नसमेतको वायन (भेटी) दान गर्नुपर्दछ । सकेसम्म उपवास बस्नुपर्दछ, नसके पानीमात्र खाएर व्रत गर्दा हुन्छ । त्यो पनि नसके फलफूलहरु खाई व्रत गर्न सकिन्छ । रात्रिमा जाग्राम गरेर नाच गान गरी भगवतीको आराधना गरेर बिहान भएपछि उत्तरांग पूजा गरी विसर्जन गरेर शक्तिअनुसार सपत्नीक ब्राहृमणहरूलाई वस्त्र अलंकार समेतले पूजा गरी भोजन गराएर बन्धुवर्गसमेत आफूले पनि प्रसाद ग्रहण गर्दा समस्त दुःख हटेर जान्छन् । यसरी नौ वर्षसम्म व्रत गरी अन्त्यमा उद्यापन गर्दा सम्पूर्ण दुःख नष्ट भएर जान्छन् र सुख समृद्धि प्राप्त भई अन्त्यमा कल्याणमय मोक्ष पद समेत प्राप्त हुन्छ । यस विषयमा एउटा उपाख्यान यस प्रकार छ- अघि कुनै समयमा एउटी अप्सरा श्रापका कारण पशु योनिमा जन्म लिन पुगी । जसको नाम कुक्कुटी थियो । पूर्वजन्मका कुनै पुण्यका प्रभावले त्यसलई पूर्वजन्मको स्मरण भने हुन्थ्यो । त्यसकी मर्कटीनामकी यौटी साथी थिई । ती दुईटी जंगलमा दुःख पूर्ण जीवन यापन गर्दै बसेका थिए । दैववश भाद्र शुक्ल नवमीका दिन कुक्कुटीले मर्कटीलाई भनी–हे सखी आज अदुःख नवमीको दिन हो । त्यस कारण आज केही नखाएर व्रत बसौं , हाम्रा दुःख नाश हुन्छन् । अनि मर्कटीले पनि हुन्छ भनेर दुबै जना व्रत बसे । दिन समाप्त भएपछि मर्कटीलाई भोकले ज्यादै सताएर व्रतको कुरा बिर्सिएर यताउती हेर्दा मुजुरका अण्डा भेटेर खाई । अनि मुख पखालेर उज्यालो मुख गर्दै कुक्कुटीका छेउमा आएर भोक लागेजस्तो गरी स्वाङ् पारेर बसी । मर्कटीले भनी–एसाथी तैँले केही खाएजस्तो छ नि ∕ हेर तेरो व्रत भ्रष्ट भयो । मैले भनेको मानिनस्, बरु मर्नुनि ! भनेर गाली गरी । कुक्कुटीले फेरि भनी अब हामी दुवै केदारनाथ भगवान्का शरणमा गएर प्राण त्याग गरौँभन्दा मर्कटीले पनि मानी । अनि कुक्कुटीले असल ब्राहृमका कुलमा जन्मन पाऊँ, भनेर र मर्कटीले रानी हुन पाऊँ भनी प्राण त्याग गरे । नभन्दै ब्राहृमणी र राजपत्नी भएर जन्मिए । कुक्कुटी ब्राहृमणीका पाँच भाइ छोरा भए भने मर्कटी रानीका छोरा भएनन् र बडो दुः ख भयो । तर दुवैलाई पूर्वजन्मको स्मरण हुन्थ्यो । मर्कटीले कुक्कुटीका छोराहरू मार्न लगाएर तिनका टाउका वायन (भेटी)का रूपमा कुक्कुटीलाई दिई । यता कुक्कुटीले अदुःख नवमीमा भवगवतीको व्रत गरी । वायनका रूपमा साथीले दिएका आफ्ना छोराका टाउका अर्पण गरी । व्रतका प्रभावले भगवतीले ती काटिएका शिरबाट छोराहरू बचाइदिनुभयो र वायनका स्थानमा सुनका टाउका बनाइदिनुभयो । अनि ती कुक्कुटी ब्राहृमणीले आफ्ना पतिलाई दिएर आनन्द पूर्वक रहन थालिन् । उता मर्कटी रानीलाई आफूले मराएका कुक्कुटीका छोरा बाँचेको देखेर 

डाह र दुःख भयो । ऊ रुन लागी । पछि उसलाई पश्चात्ताप भयो र कुक्कुटी सँग गएर सबैकुरा भनी । कुक्कुटीले पनि उसप्रति वैरभाव नलिइकन तिनै छोराहरूद्वारा प्रायश्चित्त गर्न लगाई । मर्कटीले पनि प्रायश्चित्त गरेर अदुःख नवमीका दिन भगवती गौरीको आाधना गरी । अनि भगवती प्रसन्न भएर मर्कटी रानीलाई पनि छोरा दिुनुभयो । अनि अदुःख नवमीका व्रतका प्रभावले दुवैको दुःख दूर भई कुक्कुटी एवं मर्कटी दुवै आनन्द पूर्वक रहन थाले । त्यस कारण अदुःखनवमीका दिन श्रद्धा एवं भक्तिपूर्वक भगवती गौरीको आराधना गर्दा पशु योनिमा प्राप्त भएका कुक्कुटी र मर्कटी हरूको दुःख हट्यो । अनि बाल हत्या एवं ब्रहृमहत्या गर्ने मर्कटी जस्ता पापिनीलाई पनि भगवती माताले अनुकम्पा गरेर सम्पूर्ण दुःख हटाएर सुख सम्पन्न गराउनु भएको हुँदा हामीले पनि यो अदुःख नवमीको व्रत गरौँ । भगवती गौरी माताले सम्पूर्ण दुःख हटाएर यस लोकमा सुख समृद्धि प्रदान गरी परलोकमा कल्याणमय मोक्ष पदसमेत प्रदान गर्नुहुनेछ । 

ॐ हरये नमः । 

Top