शहरको बास, गाउँको आश : पार्टीमा सधैं विकृतिको त्रास

✍️ प्रा. देवीभक्त ढकाल   POSTED ON : भदौ २९, २०७८ (८:२० AM)

शहरको बास, गाउँको आश : पार्टीमा सधैं विकृतिको त्रास

नेपालजस्तो गाउँ नै गाउँ भएको देशमा शहरबासीहरू गाउँका जनताको पार्टी प्रतिनिधि ? यो विकृतिको प्रारम्भिक बिन्दु जसले गाउँका समस्या बिर्सेको छ, उसले गाउँका समस्याहरूको प्रतिनिधित्व गर्ने ? जो गाउँमै बस्दैन उसले गाउँको प्रतिनिधित्व कसरी गर्ने ? गाउँका समस्या कसरी बुझ्छ ? समस्या सम्बोधन गर्ने योजना कसरी बनाउन सक्छ ? पार्टी व्यवस्थाको प्रारम्भिक चरणमै पार्टीको मनसाय र सिद्धान्तविपरीतको प्रतिनिधित्व कुनै पार्टीको प्रतिनिधित्व गर्ने व्यक्तिले सिद्धान्ततः जनताका यावत् दुःखसुखमा सशक्त प्रतिनिधित्व गर्नुपर्छ ।

के शहरमा बस्नेहरूबाट गाउँको प्रतिनिधित्व सम्भव छ ? विकास निर्माणका विषयमा चिन्तन गर्नुपर्छ । गाउँको विकासको चिन्तन र चिन्ता शहरमा बस्नेले गर्ने कस्तो हास्यास्पद स्थिति ? ऊ आफू बस्नु नै नभएपछि गाउँको दुःखले उसलाई हर्दम बिझाउँदैन र सुखले आनन्द दिन्न भने ऊ गाउँको विकासमा अन्तर आत्माबाट किन क्रियाशील हुन्छ ?

निर्वाचनको बेला इमानदार हुन्छु भन्ने प्रतिज्ञा गर्ने निर्वाचनपछि आफ्नो व्यक्तिगत लाभमा हिँड्ने चरित्रले प्रायः कार्यकर्ताप्रति सबैको विश्वास गुमेको अवस्था छ । यो दलीय व्यवस्थाको दुर्भाग्य हो । गाउँसँगको सम्बन्ध खालि पार्टीको प्रतिनिधि बनेर पार्टीको हुँ भन्ने नाममा शहरमा बसेर ठेक्का पट्टा, व्यापार, उद्योग, जागिर, नियुक्ति वा पार्टीका पदहरूमा मनोनयन हुने आकांक्षा हुनेले गाउँको प्रतिनिधित्व गर्ने परिपाटी गाउँका जनता र गाउँको विकासमा कसरी सहयोगी हुन्छ ? स्वार्थ प्रेरित नेतृत्वलाई समयमै पुनर्विचार नगरे यसको दुष्प्रभावबाट हामी चिरकालसम्म प्रताडित हुन्छौं ।

जसलाई जुन ठाउँमा बस्नु नै छैन त्यस ठाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोको विकासमा किन चिन्ता गर्छ ? यदि चिन्ता नै ग¥यो भने त्यो नक्कली चिन्ता हो । गाउँबाट बन्ने प्रतिनिधि शहरिया हुँदा गाउँलेले वास्तविक प्रतिनिधि नै पाउँदैनन् । प्रतिनिधित्वको हिसाबले गाउँ असहाय हुन्छ । अस्थायी रूपमा गाउँमा बस्ने व्यक्तिबाट पार्टी संगठन कसरी मजबुत हुन्छ ? गाउँमा बस्नेहरूको मन कसरी जित्छ ? हुनत यो रोग कांग्रेसमा मात्रै होइन सबै पार्टीहरूमा छ तर अन्य पार्टीको तुलनामा कांग्रेस पार्टीमा धेरै भएकाले गाउँमा कांग्रेसको संगठन कमजोर छ । 

यस रोगको उपचार समयमै कांग्रेसले खोज्न सकेन भने कांग्रेस गाउँगाउँमा कमजोर हुँदा अन्य प्रतिद्वन्द्वी पार्टीहरू मजबुत हुने अवस्थाले भोलिका दिनमा कांग्रेसको र प्रजातन्त्रको अवस्था थप कमजोर हुन्छ । यसबारे कांग्रेस नेतृत्वले समयमै सोच्नुपर्छ । गाउँबाट टाढिएको कांग्रेसको नेतृत्वले गाउँका समस्या सबै बिर्सेकाले विकासमा जटिलता सिर्जना भएको छ । किन टाढियो कांग्रेसको गाउँसँगको सम्बन्ध ? शहरमा घर बनाउने र शहरमा बस्ने रहर सत्तामा हुने सबै कांग्रेसको प्रबल भएकाले कांग्रेसका क्रियाशील कार्यकर्ता खोज्न काठमाडौं शहरमा या जिल्ला सदरमुकाममा जानुपर्छ । 

यस रोगले कांग्रेसको गाउँको संगठन कमजोर बन्यो । कांग्रेसको गाउँको संगठनलाई कमजोर बनाउन द्वन्द्वकालमा माओवादीको ज्यादती, आतंक, हत्या हिंसा र अमानवीय क्रियाकलाप विशेष जिम्मेवार छन् । माओवादी द्वन्द्वको उद्देश्य नै गाउँमा कांग्रेसलाई कमजोर बनाएर जनता तर्साउनु थियोे । माओवादीले उग्रताको लाभ लिँदा गाउँमा अन्य पार्टी कमजोर भए । द्वन्द्वकालमा आफ्नो र परिवारको रक्षा गर्न शहरमा बसेका शहरमै बस्न अभ्यस्त भए । 

तिनै परिवारका मुख्य मानिसहरूले नै गाउँमा कांग्रेसको नेतृत्व गर्दथे । माओवादीका कारण विस्थापित ती गाउँका नेताहरू द्वन्द्व समाप्त भएपछि पनि त्रासले गाउँ फर्कन सकेनन् । कतिका छोराछोरी शहरी जीवनमा अभ्यस्त हुँदा पारिवारिक कारणले गाउँमा फिर्ता हुन सकेनन् । यसरी शहरमा बसेर गाउँको प्रतिनिधित्व गर्ने रोग सुरुवात भयो । त्यसैको रूप र प्रभाव हो अहिले अधिवेशनको पूर्वसन्ध्यामा गाउँमा नेतृत्व गर्ने प्रायः धेरै टुरिष्ट कांग्रेसहरू देखिएका छन् ।

नेता सबै शहरमा बस्ने हुँदा गाउँमा बसेर शहरका नेता भेट्न र चाकरी गर्न सम्भव नहुँदा कतिपय मानिसहरू शहरमै बस्न थाले । शहरीया अवसरहरूले गर्दा मानिस द्वन्द्व समाप्त भएपछि पनि गाउँ फर्केनन् । द्वन्द्वकालमा शहरमा बस्दा छोराछोरीहरूको वैवाहिक सम्बन्ध पनि शहरमै भयो । त्यो परिस्थिति पनि गाउँमा फर्कन बाधक बन्यो । अहिले के फेसन बनेको छ भने शहरमा बस्ने कांग्रेसका कार्यकर्ता कुनै नेताको गुटको सदस्य बन्ने र त्यो नेताले सरकारको जिम्मेवारी पाउने बित्तिकै त्यसबाट जायज, नाजायज फाइदालाई एकलौटी गर्ने सोच र चिन्तनबाट शहरमा बस्ने कांग्रेसले गाउँको प्रतिनिधित्व गर्छ । गाउँका दुईचार टाठाबाठाहरूलाई हात लिन्छ । 

गाउँको पार्टी अधिवेशनको बेला गाउँमा हैकम भएका युवाहरूलाई धनको बलमा र विविध सम्भव असम्भव आश्वासनको भरमा उसले गाउँबाट प्रतिनिधित्व गर्ने लाइसेन्स लिन्छ । त्यसपछि पार्टीका माथिल्लो पदसम्म जाने योजना बुन्छ । ऊसँग केन्द्रीय नेताहरूको पहुँच र उसको पार्टीभित्रका गुण्डा, जाली फटाहा प्रयोग गर्ने आर्थिक क्षमता कति छ ? त्यसअनुसार पार्टीको उच्च तहसम्म ऊ पुग्छ ।

यस परिपाटीले पार्टीको निर्वाचनको शुद्धतालाई तल्लो तहबाटै कुल्चिएको छ । यसले बहुदलीय शासन पद्धतिको मूल्य, मान्यतालाई जगमा नै भत्काउने काम गरेको छ । गाउँको दुर्भाग्य के छ भने गाउँको पार्टीको प्रतिनिधि गाउँमा नै नबस्ने व्यक्ति बन्छ । यसको अर्थ हो गाउँका जनताको प्रतिनिधि नै नक्कली हुने अवस्थाको बीजारोपण । बहुदलीय व्यवस्थाको धर्म र मर्मविपरीतको प्रतिनिधित्व गाउँबाटै सुरुवात हुँदा पार्टीहरूमा प्रतिनिधित्वको विकृतिको बीजारोपण हुन्छ । पार्टीकै प्रतिनिधिले सरकार चलाउँछ । 

अब सरकारमा गाउँको प्रतिनिधित्व गर्ने तर शहरको जीवनमा नै भविष्य देख्ने पार्टी नेतृत्व र सरकारको नेतृत्वबाट कसरी गाउँको विकास हुन्छ ? गाउँ नबने कसरी बन्छ देश ? गाउँमा नबस्ने मान्छेले गाउँको दुःखसुख कसरी बुझ्छ ? सीमित व्यक्तिको व्यक्तिगत सहयोगी भएको भरमा ऊ सधैं गाउँमा पार्टीको निर्वाचनको बेलामा पर्यटक भएर पुग्छ । पर्यटकको भूमिकामा पार्टीको नेतृत्व हत्याउँछ । गाउँलेले वास्तविक प्रतिनिधि छनौट नै गर्न पाउँदैनन् । अहिले कांग्रेसको महाधिवेशनको तयारीका लागि निर्वाचनको सुरुवात भएकाले शहरमा बस्ने कांग्रेस गाउँको प्रतिनिधि बन्न अहिले गाउँमा राजनीतिको भविष्य निर्माण गर्दै गाउँको भविष्य अन्धकार पार्ने योजनामा तल्लीन छन् । 

पार्टीको प्रारम्भिक तहबाटै घोटाला । गाउँको प्रतिनिधित्व शहर बासीलाई के यो जनता र देशको हितमा छ ? शहरमा बस्नेहरूले गाउँको प्रतिनिधित्व गर्ने रोग एउटा पार्टीमा होइन सबै पार्टीमा छ । यो प्रजातान्त्रिक शासन पद्धतिको विकृति हो । बसोबास नै नगर्नेले कसरी त्यो ठाउँको प्रतिनिधित्व गर्छ ? गाउँसँग बसोबासका दृष्टिकोणले सम्बन्ध टुटेकाहरू पार्टीको अधिवेशनको पूर्वसन्ध्यामा गाउँबाट पार्टी नेतृत्व हत्याउँछन् । पार्टीको तल्लो तहको निर्वाचनको माध्यमले अवैध आम्दानीको जोहो गर्न बाटो खुल्छ । 

जब-जब अवैध आम्दानीको बाटो फराकिलो हुन्छ त्यसकै अनुपातमा गाउँलाई बिर्सन्छन् । अपवादबाहेक पार्टीको कुन नेता गाउँमा बस्छ ? कुनै पनि पार्टीमा गाउँको स्थायी रस्ती बस्ती हुने नेता अहिले पाइँदैन । तसर्थ विकासको प्राथमिकतामा गाउँ पर्दैन । काठमाडौं उपत्यका पर्छ । विकासको केन्द्रबिन्दु किन काठमाडौं हुन्छ ? त्यसको मुख्य कारण हो सबै पार्टीका जिम्मेवारहरूको घरबास अहिले काठमाडौंमा छ ।

माओवादीले द्वन्द्वकालमा धेरैलाई गाउँबाट विस्थापित गर्‍यो । विस्थापितहरू मध्ये केही काठमाडौंमा बस्न थाले भने केही सुरक्षाका कारण सदरमुकामका शहरमा बस्न थाले । गाउँबाट कांग्रेस कार्यकर्ताहरूलाई विस्थापित गरेर माओवादीले एकछत्र आतंक मच्चाएका कारणले संविधानसभाको पहिले निर्वाचनमा माओवादी जस्तो हत्या हिंसामा, आतंकका भरमा संगठित पार्टीलाई पनि मतदान गर्न जनता बाध्य भए । यो निर्वाचनले जंगली माओवादीलाई एकाएक शहरिया धनाढ्य बनायो ।

कांग्रेसको विस्थापित परिवार राजनीतिबाट अलग हुनै सक्दैन त्यसैले तीमध्येका धेरै कांग्रेस पछि सत्ता र शक्तिको आडमा धनार्जन गर्नेहरू पनि शहरिया जीवनमा आकर्षित भएकाले गाउँको नेतृत्व शहरमा बस्ने कांग्रेसले गरेका छन् । निर्वाचनको समयमा मात्र गाउँ जाने कांग्रेसहरूलाई स्थानीय कांग्रेसले टुरिष्ट कांग्रेसको संज्ञा दिएका छन् । आफू बलियो हुने कांग्रेसको संगठनलाई कमजोर बनाउने समस्याको समाधानको योजना वर्तमान नेतृत्वसँग के छ ? देशमा कांग्रेस कमजोर भयो भने थप अराजकता र विधिविहीनताको अवस्था सिर्जना हुन्छ ।

विकासलाई गति दिनभन्दा विकृतिलाई बढ्न नदिनसमेत कांग्रेसको संगठन गाउँगाउँमा सुदृढ हुनु जरुरी छ । यसलाई कांग्रेस नेतृत्वले भाषणमा होइन काम र व्यवहारबाट आत्मसात गर्नुपर्छ । अब गाउँमा बसोबास गर्ने कांग्रेसमात्र गाउँको प्रतिनिधि बन्ने योजनाको निर्मम कार्यान्वयन विना गाउँ बन्दैन । सबै पार्टीका प्रतिनिधिको बसोबास गाउँमै हुनपर्ने बाध्यात्मक अवस्था सिर्जना नगरी पार्टीको विकृति र गाउँको विकास सम्भव छैन । 

शहरिया जीवनप्रतिको आकर्षण पनि भ्रष्टाचारको प्रमुख कारण हो । जुन अनुपातमा शहरमा जनसंख्या र घर बढेका छन् त्यही अनुपातमा देशमा भ्रष्टाचार वृद्धि भएको छ । पार्टीहरूले टुरिष्ट नेतृत्वलाई बहिष्कार नगर्दासम्म न त भ्रष्टाचार नियन्त्रण हुन्छ न त गाउँको विकास । गाउँको विकास नहुँदासम्म देशको विकास सम्भव छैन । सरकार र पार्टीको शहरी नेतृत्व गाउँको विकासका लागि सधैं बाधक बन्छ । यस विकृतिको समुचित व्यवस्थापन विना पार्टीको विकृति हट्दैन र देशको विकास पनि सम्भव छैन ।

नेपालको भूगोल र पर्यावरणको बनौटलेमात्र नभएर विश्व मानचित्रमा नेपालको भौगोलिक अवस्थितिको कारण पनि अब हामीले वातावरणसँग मिलेरमात्र विकास निर्माणको काम गर्नुको विकल्प नरहेको संकेत स्पष्ट हुन थालेको छ ।


Top