स्वर्गवासी किसुनजीलाई मत्र्यवासी कुलप्रसादको पत्र

✍️ प्रा.डा.कुलप्रसाद कोइराला   POSTED ON : भदौ ३०, २०७८ (८:१० AM)

स्वर्गवासी किसुनजीलाई मत्र्यवासी कुलप्रसादको पत्र

आदरणीय किसुनजी,

जय नेपाल ।

त्यस बेला तपाईं खुमल्टारमा रहेको सीताराम प्रसाईंका घरमा बस्नुभएको थियो । अनिता कपालीजी पनि थिइन् । सानो एउटा राम्रो केटो पनि तपाईंसँग थियो जसलाई तपाईं सद्दाम भनेर बोलाउनुहुन्थ्यो र सद्दाम विनम्र स्वरमा हजुर भन्थ्यो । हामी (म र वसन्तकाजी बुढाथोकी) तपाईका निवासमा गएका थियौं । त्यस दिनको कुरै कुरामा तपाईंले एउटा सानो काम लाउनुभयो । काम सकेपछि प्रोफेसर साहेबहरू पनि भान्सा यतै गर्नुहुन्छ रे भन भनेर सद्दामलाई अराउनु भएथ्यो । स्वर्गतिरको बसाइँ सराइमा बुढो मान्छे बिर्सनु पनि भयो होला तपाईंले । मेरा निमित्त भने त्यो जन्मजन्मान्तर तपस्या गरेर ब्रहृम साक्षात्कार भएको दिन थियो । 

तपाईंका नजिकमा बसेर तपाईंले बनाएर दिएको पान पनि खान पाएको त्यो क्षण किसुनजी मेरा लागि सात जन्म बिर्सनु सम्भव छैन । तपाईंले श्रीमद्भागवत्का सम्बन्धमा उठाएका प्रश्नमा मेरो व्याख्या पनि तपाईंजस्ता दिग्गज साधकले मन पराइदिएर मेरो मान बढाइदिनु भएको थियो । तपाईंको सादाजीवन उच्च विचारले म मानसिक रूपमा गंगा स्नानको आनन्द लिइरहेको थिएँ । 

कुराका प्रसंगमा वसन्तले किसुनजी रक्सी खान सांसद बन्छुभन्दा अलि गलत मेसेज समाजमा गयो कि ? ‘म सांसद हुन किन चाहन्छु भने सजिलो गरी रक्सी खान पाइन्छ भनेर । सांसदको भत्ताले मलाई रक्सी खान पुग्छ’ भनेर कुनै अन्तर्वातामा तपाईंले भनेको कुरो निक्लेपछि हाँसेर हामीलाई भन्नुभएको थियो, संसदका गतिविधि देख्नुभएन ? जाँडले मातेका मान्छेले बर्बराएभन्दा कम हाम्रा सांसदहरूको बोली व्यवहार छ र ? संसद भनेको देशको बौद्धिकता, संस्कार नियम कानुन निर्माण गरेर सारा जनतालाई जीवनमार्ग प्रदर्शन गर्ने स्थल हो । 

हाम्रा दुवै सदन अहिलेका गतिविधिले कहिले त्यो आदर्शमा उक्लेलान् भन्ने मलाई बडो चिन्ता भयो । नियम कानुन बनाउने ठाउँमा जनताका प्रतिनिधि हुन्छन् । ती सबै पढालेखा नहुन पनि सक्छन् । हलोकोदालो, घाँसदाउरा गर्दाका अनुभव पनि त्यहाँ आउनुपर्छ तर कार्यान्वयन गर्दा विज्ञ (मेरिटोक्र्याट) को आवश्यक्ता पर्दछ । पढालेखा मान्छेलेमात्रै देशका लागि के आवश्यक छ र कति वर्षमा जनताको जीवनस्तर उठाउन सकिन्छ भनेर अध्ययन गर्छन्/गराउनुपर्छ । त्यो रिपोटलाई बडो इमानदरीसाथ कार्यन्वयन गर्नुपर्छ ।

बीपीले यसो भएकाले नै म पन्ध्र वर्षमा सबै नेपालीलाई म समान् मध्यम वित्तीय तहमा पु¥याउन सक्छु भन्नुभएको थियो । यहाँ त बाह्रै महिना गाईजात्रा भएको छ । देश र जनताका बारेमा त कसैलाई चिन्ता नै छैन । यसलाई हामीले सुधार्न सकेनौं भने अझै यो स्तर खस्कँदै तल जाने सम्भावना मैले देखेको छु । सर्वनासे समुत्पन्ने अर्धं त्यजन्ति पण्डिताः ।

विश्व विद्यालय पनि त त्यस्तै भएको छ नि किसुनजी । त्यहाँ अनुसन्धान हुँदैन, स्थायी भएपछि कम पढाउने र प्राध्यापक भएपछि ब्रहृमभूयता नै भइगयो जस्तो ठान्न थाल्यौं हामी । ज्ञानले होइन ग्याङले गाइड गर्न थाले हाम्रा जीवनचरित्रलाई । भनेर भनेपछि तपाईंले अ..त्यो ब्रहृमभूयता के हो ? भनेर मतिर हेर्नुभयो । तन्मयता, ब्रहृममयता हो किसुनजी त्यो भनेको भनेपछि बडो राम्रो शब्द प्रयोग गर्नुभयो भन्दै गीताको ‘यद्यदाचरति श्रेष्ठतद्तदेवेतरोद्रजन’ भन्ने श्लोक उच्चारण गरेर भन्नुभएको थियो । 

विश्वविद्यालयका गतिविधिले देशको बाहृयान्तरिक अवस्था र मानसिक स्तरको प्रत्यंकन गर्दछ भन्छन् पश्चिमाहरू । हाम्रो पूर्वमा पनि त थियो नि गुरु सान्दी पनिको गुरुकुल, ब्रहृमर्षि वशिष्ठको गुरुकुलबाट कृष्ण बलराम र रामलक्ष्मणजस्ता विद्यार्थी उत्पादन भएका थिए । घरमा बसेर पढाउने द्रोणले पनि अर्जुन, अश्वत्थामा र दुर्योधन, भीम जस्ता विद्यार्थी उत्पादन गरेको थियो । तक्षशिला विश्वविद्यालयबाट चन्द्रगुप्त मौर्यजस्ता कुशल शासक उत्पादन भएका थिए । चाणक्य जस्ता गुरु थिए । 

आजभन्दा करिब २००० जति वर्ष पहिलेको कुरो त हो । अनि किसुनजी तपाईंले नख्खुजेलमा बस्दा धेरै बन्दीलाई राजनीतिशास्त्र, समाजशास्त्र र अंग्रेजी पढाउनुभएको रहेछ । त्यस बेला तपाईंले पढाएका मान्छेमध्ये त कतिपय अहिले क्याम्पसमा पढाउँदै पनि छन् भनेर मैले सम्झाउँदा ए त्यो रामजीवन सिंह ? भनेर मलाई सोध्नुभएको थियो सम्झनुभयो ?

किसुनजी अब तपाईंले मलाई पनि चिन्नुभयो होला र हाम्राबीचमा भएका कुराका प्रसंगले अरू पनि धेरै कुरो सम्झनुभयो होला । अब म तपाईं बैकुण्ठतिर लागेपछि नेपालमा विकसित भएका विधिव्यवहार अनि चरित्रका सम्बन्धमा लेख्छु है त । तपाईंको अनुहार देखाएर पार्टीले बहुमत पाए पनि तपाईंहरूकै बीचका अहमन्यभावका कारणले तपाईंले दशँै महिनामा सत्ता परित्याग गर्नुपरेको थियो । अस्पतालको ओच्छ्यानबाट तपाईंले गरेको अभिभाषण आज पनि सुन्छु म । देशका मूल्यमान्यताको अनि राजनीतिक बेइमान चरित्रको जुन बीभत्स चित्रण तपाईंले त्यसमा गर्नुभएको छ त्यो आज अक्षरशः सत्य साबित भएको छ । 

हँसिया हथौडामा भोट नदिए कारबाही हुन्छ भनेर नेपाली कांग्रेसका सभापतिले नै निर्देशन जारी गरे । अनेकौं बहानाबाजी गरेर पनि पार्टीमा मूल्यमान्यता सिध्याएर पार्टी कब्जा गर्ने खेलमा लागेका छन् । तपाईंले पनि यस्तै प्रकारको खेलको पेलानमा पर्दा पनि संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्रलाई आमरण आफ्नो जीवनचरित्र र राजनीतिक संस्कार अनि देशविकासको प्रमुख पद्धतिका रूपमा अवलम्बन गर्नुभयो । राजा हाम्रो बाध्यता हुन् । रोजाइ या आराध्य होइनन् पनि भन्नुहुन्थ्यो । तपाईंका अनुयायी र तपाईंलाई आदर्श गुरु मान्ने पनि आज छलछाम, धोकाधडी र जालफरेबका भरमा पदमा पुग्न लालायित छन् । 

सत्ता र शक्तिबेगरको जीवन कुनै जीवन हो भन्ने ओशो चिन्तनबाट आजका नेपाली निर्दिष्ट छन् । गरिबलाई कीरा मकौडा र सहसम्भोगको चेतनाका माध्यमले ईश्वर साक्षात्कार हुन्छ भन्ने ओशोको लकेट लाएझैँ राजनीतिले तीन या चारतारे होटलमा यौवन बेचेर जीविका चलाउनेको जस्तो बाहिर आकर्षक स्वरूप, भित्र चाहिँ संस्कार संस्कृतिविनाको उपभोक्तावादी चरित्रको लकेट लाएका छन् । चितामा सुतेपछि पनि सत्ता र शक्तिको अवसर आए उठौंलाझैँ गर्ने नेतृत्वका कारणले समाज सद्यमी बन्न लागेको देखिन्छ । ओली र प्रचण्ड हुन् या देउवा र नेपाल हुन् सबै सत्ता र शक्तिका माखा बनेका देखिन्छन् । 

राजनीति देश र जनतालाई होइन आर्थिक अपचलन गर्ने अवसरका लागि एउटा उत्सव भएर आएको छ र परिपालन पनि त्यसै अर्थमा गरिएको छ । शुकरात, प्लेटो, अरस्तुमात्र होइन, हब्स, लक, रुसो र ब्रहृमा, शुक्र, बृहस्पति, कणिक, व्यास, धौम्य र विदुर असफल भएका छन् । चाणक्य थोत्रिएका छन् । पाण्डवलाई लाक्षागृहमा पठाउँदाको दुर्योधनका चरित्रले नेपाल भरिएको छ ।

किसुनजी, नेपालको वर्तमान राजनीतिक व्यवस्था नारी न पुरुषका मान्छेलाई पुरुष आवश्यक परेका बेला पुरुषका रूपमा र नारी चाहिएका बेला नारीका रूपमा प्रस्तुत गर्न सकिए पनि त्यसले नारीपुरुषले गर्ने काम चाहिँ गर्न नसके जस्तै भएको छ । कांग्रेसको नालायक चिन्तनमा कम्युनिष्टको जालझेल र फरेब थपेपछि जे हुने हो त्यही व्यवस्था चलेको छ । यो व्यवस्थामा तपाईंले पञ्चायतमा प्रवेश गर्न ठिक्क परेका बेला हतार गरेर बेलायततिर पढ्न पठाएर चरित्र जोगाएका मान्छे सत्ताशयरमा मस्त छन् वाम वैशाखी टेकेर । 

एउटै काम एउटाले गर्दा अवैध र अर्काले गर्दा वैध र प्रजातन्त्र तथा संविधान जोगाउन आवश्यक वैध कदम भन्न पनि थालिएको छ । ‘मदन भण्डारीको हत्यारा गिरिजा नै हो’ भन्ने केपी ओली त श्रीमद्भागवतको राजा वेन र धन्नुकारीको चरित्रमा विकसित भए । १५ वर्ष जुन पार्टीको हर्ताकर्ता महासचिव बनेका माधव नेपालजीले अर्कै पार्टी खोलेर बाक्लो दाल खाएका खाएकै छन् । गणेशमानजीको चट्टानी अडान र तपाईंको सहनशीलता, प्रहसनप्रियता, सादा जीवन र कार्यतत्परतायुक्त स्वभाव दन्त्य कथा बनेका छन् । तपाईंहरूका पालामा बीपी जस्तो, गणेशमान जस्तो र कृष्णप्रसाद भट्टराई जस्तो चरित्र मर्यादा र महिमा भएको भलो मान्छे बन्नु भनेर दिने आशीर्वाद बदलिएको छ ।

ओलीका उखानटुक्का र तल्लो तहका शब्दावली अनि प्रचण्डका शकुनी प्रवृत्तिका खेल तथा शेरबहादुर देउवाजस्तो धनको धन्दा र सत्ताप्रिय भएस्÷बनेस् भनेर पिताले पुत्रलाई दशैँमा आशीर्वाद दिन लागेका छन् । राजनीतिमा लागेका आआफ्ना जत्था र जमातभन्दा बाहिरकाले सबै नेता हिँडेको बाटो लोहोटाएरमात्रै पाइला टेक्नुपर्ने हो कि जस्तो भइसकेको छ । सबैभन्दा गएगुज्रेको चरित्र खोज्नु परे राजनीतिमा लागेर ठूला ठाउँमा पुगेका या जागिर खाएर देशको निर्णायक तहमा पुगेका व्यक्ति हेर्नुपर्ने भएको छ । १६÷१७ वटा श्रव्यदृश्यात्मक विद्युतीय सञ्चार संयन्त्रबाट २४ घण्टा सत्तोसराप गरे पनि अहिलेका नेता सुन्दैनन्/सुध्रँदैनन् । 

आफ्नो पद प्राप्ति र धनदोहनका धन्दामा एकलव्य भावले अथवा अर्जुनको तारो हान्ने कौशलका साथ प्रकट हुने गरेका छन् । अहिले चुनाव हार्ने मान्छे तीन न तेह्रका हुन्छन् । तपाईंजस्तो जति पटक चुनाव हारे पनि मान्छेको आदर्शस्तम्भ भएर रहनसक्ने त मान्छे होइन, कि जड कि ईश्वरैमात्र होला कि जस्तो भएर समाज औसत मानवीय चरित्रका तहबाट निकै तल ओर्लिसकेको छ किसुनजी अहिलेका नेपालमा । समाज ओरालो लागेको मृगका अवस्थामा पुगेको छ । विज्ञेषु किमधिकम् ।

उही कान्तिपुर निवासी तपाईंको चौआने कार्यकर्ता 

प्रा.डा. कुलप्रसाद कोइराला ।


Top