नेपाली कांग्रेसको आगामी महाअधिवेशन सन्दर्भ

✍️ पुरुषोत्तम घिमिरे   POSTED ON : आश्विन १, २०७८ (८:१५ AM)

नेपाली कांग्रेसको आगामी महाअधिवेशन सन्दर्भ

राष्ट्र, राष्ट्रियता लोकतन्त्र भनौं या प्रजातन्त्र र समाजवादको मूल मन्त्रलाई आत्मसात गरेर हिँडेको कांग्रेसमा कतै विचलन आएको त होइन भन्ने कुरा हाल यत्रतत्र सुन्न पाइन्छ । प्रजातन्त्र प्राप्तिका लागि लामो संघर्ष गरेको कांग्रेस अहिले आएर आन्तरिक वादविवादमा फसेको छ । प्रजातन्त्रको मूल्य मान्यता, पार्टी सिद्धन्त, विधानभन्दा व्यक्तिगत लहडमा पार्टी चलेको छ भनिन्छ । पार्टीका लागि यो राम्रो होइन । यसबाट क्षणिक फाइदा होला तर यसले पार्टीमा दूरगामी असर पार्छ । प्रजातन्त्रमा विश्वास गर्नेहरूको दल नेपाली कांग्रेस किन यस्तो भयो भन्ने जनगुनासा छन् । 

एउटा जालोमा बेरिएर बसेको नेतृत्व उक्त जालोभन्दा बाहिर आउन सकेन भनेर राजनीतिक विश्लेषकहरू भनिरहेका छन् । नातावाद कृपावाद गुटबन्दीले कांग्रेस जकडिएको छ भन्ने भनाइ त्यत्तिकै सुन्न पाइन्छ । सही सल्लाह दिनेभन्दा उनीहरूका नजिकका मान्छेहरूलाई नेतृत्वले च्याप्ने गरेको छ ।

नेपाली कांग्रेसभित्र आदर्शवान नेताको खाँचो भएको हो कि भन्ने भान पर्न थालेको छ । कांग्रेसलाई समेटेर लानसक्ने नेतृत्वको खाँचो छ । वर्तमान अवस्थामा नेतृत्वको सोचको दयरा फराकिलो नहुँदा पार्टी अनिर्णयको बन्दी बनेको छ भन्दा फरक नपर्ला । सहमति सहकार्य के हो भन्ने नेतृत्वले बुझ्न सकेन । हरेक परिवर्तनलाइ आत्मसात गर्दैै आएको कांग्रेसले किन पदकै लागि मरिहत्ते गरेको छ ? शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति अब पार्टीमा अभिभावकको भूमिकामा बसे राम्रो सन्देश जान्छ । युवा पिँढीलाई आफ्नो अनुभव सुनाउँदै पार्टी अघि बढायो भने राम्रो होला । 

नेपाली जनताको न्यूनतम आवश्यकता भनेको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य हो । यसप्रति नेपाली कांग्रेसले किन ध्यान दिन सकने ? भन्ने चासो चौतर्फी छ । प्रधानमन्त्री खान्न भन्ने सर्वोच्च नेता गणेशमान सिंहको कद नेपाली जनताको नजरमा घटेन । 

नेपाली कांग्रेसको १४औं महाधिवेशन यही भदौ १८ गतेबाट सुरु भएको छ । एक वर्षअघि नै सम्पन्न गर्नुपर्ने अधिवेशन विभिन्न कारणले गर्दा एक वर्ष ढिला हुन गयो । प्रजातान्त्रिक दल नेपाली कांग्रेसले आगामी अधिवेशन निश्पक्ष, धाँदलीरहिद रूपमा सम्पन्न गर्नुपर्छ । भदौ १८ गतेदेखि सबै वडा एकाइको निर्वाचन हुँदै गएको छ । एउटै वडाबाट एकाइ सभापतिका लागि आठजनासम्मको नाउँ परेको छ । यसले धेरै गुटहरू जन्माउँछ । सर्वसम्मत गर्नुपर्छ भनेर नेतृत्वले आफ्नो भूमिका देखाउन सकेको भए सायद यो समस्या आउने थिएन होला । 

सबैलाई सभापति नै बन्नुपरेको छ । सभाति बन्न न्यूनतम मापदण्ड के हो भन्नेसम्म ख्याल राखेको पाइएन । पुरानाले नयाँलाई अवसर दिनुपर्छ भन्ने सोच पनि छैन । सधैं पद पावरमा मै बस्नुपर्छ भन्ने देखिएको छ । वडा-वडाले आआफ्नो गुटको भेला गर्न थालेका छन् । यसो गर्नु राम्रो होइन । सहमति गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो । पद भए ठीक होइन भने पार्टीकै विरोध गर्ने प्रवृद्धिका कारण अप्ठ्यारो परेको छ । यो अधिवेशनले आगामी निर्वाचनमा ठूलै भूमिका खेल्छ । 

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यकालको लागिमै सभापति बन्छु मलाई सहयोग गर्नुहोस् भनेर साथीहरूलाई भन्नुभएको छ । अघिल्लो अधिवेशनमा उहाँले म यही एक कार्यकाल पार्टी सभापति हुने हो मलाई सहयोग गर्नुहोस् अर्को पटक म तपाईहरूलाई सहयोग गर्छु भन्नुभएको थियो । तर, अहिले आफू सभापति बन्छु भनेर अघि बढ्नुभएको छ । 

नेपाली कांग्रेसले आफ्नो विधान नै संशोधन गरी कतिपय विवादित विषयको निर्णय गर्नुपर्ने आवश्यकता छ । विधानमै व्यवस्था गरिदिने हो भने व्यक्तिको प्रभुत्वप हावी हुन पाउँदैन । अमेरिकामा एउटा व्यक्ति दुई कार्यकालसम्म मात्र राष्ट्रपति बन्न पाउछ तर हाम्र्रोमा भने त्यस्तो व्यवस्था छैन । प्रजातन्त्र लोकतन्त्र गणतन्त्रको कुरा गरेरमात्र भएन । त्यसअनुसार आफू चल्न र पार्टीलाई चलाउन सक्नुपर्छ । यसका लागि पुस्तान्तरण हुनु आवश्यक छ । 

पार्टीलाई माथि पुर्‍याउन सबैको उत्तिकै हात छ । त्यसो भन्दैमा सबै जना पार्टी सभापति बन्ने कुरा आएन । सहमति गरेर पार्टी सभापति बने राम्रो होला । अहिले आएर दोस्रो पुस्ताका नेताहरूले पार्टी सभापतिका लागि आफ्नो इच्छा जाहेर गर्नुभएको छ । यो स्वाभाकि हो । सधैं एउटै व्यक्ति सधैं रहिरहनु उचित हुँदैन । आगामी अधिवेशनमा कांग्रेसले नया“ नेतृत्व छान्न सकोस् र सबैलाई मिलाएर पार्टीलाई एक ढिक्का बनाइयोस् र गुटउपगुटको अन्त्य होस् । 


Top