विश्वघस्रपक्ष विचार

✍️ उ प्रा. नारायणप्रसाद निरौला   POSTED ON : आश्विन २, २०७८ (८:४४ AM)

विश्वघस्रपक्ष विचार

हाम्रो व्यवहारमा सौर र चान्द्र दुई महिनाविशेष प्रचलनमा छन् । सूर्यको चालका आधारमा सौरमहिनाको गणना हुन्छ । सूर्यले १ अंश पार गरेको समय एक सौरदिन हुन्छ । यसैगरी सूर्यले ३० अंश पार गरेको समय एक महिना हुन्छ । सूर्यको तुलनामा चन्द्रमाको गति अधिक रहन्छ । जब सूर्य र चन्द्रमा एउटै राशिमा रहन्छन् त्यो दिन औँसी हुन्छ । यसपछि सूर्य र चन्द्रमाको १२ अंशको अन्तर समयमा रहँदा प्रतिपदा तिथि हुन्छ । यसरी सूर्य र चन्द्रमाको १२ अंशको दूरी रहने समय एक चान्द्रदिनलाई तिथि भनिन्छ । एक चान्द्रमहिनामा दुई पक्ष पर्दछन् : शुक्ल र कृष्ण । सामान्यतः एक पक्षमा १५ तिथि हुन्छन् । सूर्योदयको समय छुने तिथि शुद्ध मानिन्छ । 

कुनै पनि सूर्योदयको समयलाई नछुने तिथि क्षय हुन्छ । क्षयतिथिलाई शुभकर्ममा त्याज्य मानिएको छ । पक्षमा एक तिथि घट्नु अथवा १४ तिथिको पक्ष हुनुलाई सामान्य मानिए पनि दुई तिथि घटेर १३ तिथिको पक्ष हुने समय (पक्ष)लाई असामान्य मानिन्छ र काम्यकर्मका (जुराएर गर्नुपर्ने धार्मिक कार्य) निम्ति वर्जित गरिएको छ । यही १३ दिनको पक्ष हुने अवस्थालाई विश्वघस्रपक्ष भनिन्छ । विश्व–१३, घस्र–दिन वा पक्ष । अर्थात् १३ चान्द्र दिन (तिथि) को पक्ष विश्वघस्र हो जुन हाल २०७८ सालमा विद्यमान छ । 

एक पक्षमा दुई तिथि क्षय हुँदा विश्व घस्रपक्ष पर्ने गर्दछ : ‘यदा च जायते पक्ष स्त्रयोदशदिनात्मकः ।। भवेल्लोकक्षयो घोरो मुण्डमाला युतामही ।।’ (मयूरचित्रकम्) अर्थात् जब १३ दिनको पक्ष हुन्छ उक्त समयमा पृथ्वीमाक्षय (हानी) हुन्छ । यसैगरी ज्योतिर्निबन्धकारले पनि सोही कुरा बताएका छन् : ‘पक्षस्यमध्ये द्वितिथीपतेतां तदाभवेद्रौरवकालयोगः । पक्षे विनष्टे सकलं विनष्टमित्याहुराचार्यवराः समस्ताः ।। (ज्योतिर्निबन्ध) अर्थात् कुनै एक पक्षमा दुईवटा तिथि क्षय भए भने रौरवकाल नामको अशुभ योग हुन्छ । 

यसैगरी यस्तो समयमा राज्यप्रमुखलाई हानि हुन्छ, पृथ्वीमा अशुभ संकेत देखिन्छन् भनी बृहद्दैवज्ञरञ्जनममा यसरी बताइएको छ : ‘पक्षस्यमध्ये द्वितिथी विनष्टे, महाहवौ रौरवविग्रहश्च । पक्षे विनष्टे नृपतिविृनष्टः, मासक्षयश्चेत्षयति वसुन्धरा ।।’ अर्थात् पक्ष क्षय हुने भएकाले पृथ्वीमा हानी पुग्नसक्छ भनिएको छ । 

यस्तो स्थिति बेला बेलामा पर्ने गर्दछ । विसं २०३३ श्रावण शुक्लपक्ष, २०३६ सालमा ज्येष्ठ कृष्णपक्ष, २०४७ सालमा आश्विन कृष्णपक्ष, २०५० सालमा आषाढ शुक्लपक्ष, २०६४ सालमा श्रावण कृष्णपक्ष, २०६७ सालमा ज्येष्ठ शुक्लपक्ष १३ तिथिका (विशवघस्रपक्ष) थिए । यसैगरी हाल विसं २०७८ सालमा १३ तिथिको भाद्र शुक्लपक्ष (विश्वघ्रपक्ष) परेको छ । महाभारतको युद्धपूर्व पनि विश्वघस्र परेको थियो । 

विश्व घस्रपक्ष हुनु अशुभकारक मानिएको छ । संकट यसले विश्वमा निम्त्याउन सक्छ भन्ने फलवर्णन ज्योतिर्निबन्धमा पाइन्छ : ‘त्रयोदशदिने पक्षे तदा संहरते जगत् ।’ (ज्योतिर्निबन्ध) सामान्यतः क्षय तिथिलाई अशुभ नै मानिन्छ । यसैगरी एकपक्षमा दुई तिथिको क्षय पनि अशुभकारक नै रहन्छ । यसैले यो समयमा काम्यविशेष कर्म नगर्नु भनी बताइएको हो । विश्वघस्र पक्षमा कस्ता कार्य वर्जित रहन्छन् ?

गुरु शुक्र अस्त जस्तै विश्वघस्रपक्षमा पनि काम्यकर्म वर्जित रहन्छन् । ‘अस्ते वज्र्यं सिंहनक्रस्थजीवे वज्र्य केचिद्वक्रगे चातिचारे । गुर्वादित्ये विश्वघस्रेद्रपिपक्षे प्रोचुस्तद्वद्दन्तरत्नादिभूषाम् ।।’ (मुहूत्र्तचिन्तामणिः, १।४८) गुरुशुक्र अस्तजस्तै विश्वघस्रपक्षमा जुराएर गर्नुपर्ने कार्य निषेध गरिएको छ । 

वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठेव्रताद्रद्ररम्भोत्सर्गबधूप्रवेशनमहादानानि सोमाष्टके । गोदानाग्रयण-प्रपा-प्रथमकोपाकर्म वेदव्रतम् । नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।। दीक्षा-मौञ्जि-विवाहमुण्डनमपूर्वं देवतीर्थेक्षणम् । सन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाद्रभिषेकौ गमम् । चातुर्मास्यसमावृतीश्रवणयोर्वेधं परीक्षां त्यजेद् । वृद्धत्वास्तशिशुत्व इजय-सितयोन्र्यूनाधिमासे तथा ।।’                            (मुहूत्र्तचिन्तामणि, १।४६।४७) अर्थात् कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, बधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तक कर्म), नवान्न भक्षण, प्रथम पटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका तर जुराएर गर्नुपर्ने कार्य, देवताको प्रतिष्ठा, दीक्षामन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कार्य गर्नुहुँदैन । किनकि यो समय विद्ध रहन्छ । गरिएका काम्यकर्मको पनि फल प्राप्त हुँदैन । अशुभ समय रहने भएकाले यस्तो शास्त्रीय निर्देश भएको हो । 

विश्वघस्र पक्षमा कस्ता गर्नु हुन्छ ?

यो कालचक्रको एक विशेष परिस्थिति हो । यस्तो बेला बेलामा भइरहन्छ । विश्वघस्रपक्ष भएका बेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । दैनिक रूपमा गरिँदै आएका पूजा पाठ यसका कारणले रोकिँदैनन् । यसैगरी नित्यकर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदै आएका व्रतउपासना पनि गर्नुपर्दछ । यसैगरी नैमित्तिक कर्मअन्तर्गत आइपर्ने नामकरण, दशदिनका औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्तिकर्मका निम्ति पनि छुट दिएको पाइन्छ :

‘शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा । गुरुभार्गवमौढ्येऽपि दोषस्तत्र न विद्यते ।।’ यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ । ‘मासप्रयुक्तकार्येषु मूढत्वं गुरुशुक्रयोः । नदोषकृन्मलो मासो गुर्वादित्यादिकं तथा ।।’ (बृहस्पति) यसैगरी सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन कार्य पनि गर्नु हुन्छ दोष लाग्दैन भनी बताइएको छ ः ‘सीमान्तजातकादीनिप्राशनान्तानियानि वै । न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।।’ (मुहूत्र्तचिन्तामणि पीयूषधाराटीका) गुरु शुक्रको अस्तमा वर्जित कार्य विश्वघस्रपक्षमा पनि त्याज्य रहन्छन् भनिएकाले माथि उल्लेखित श्लोकको अर्थ विश्वघस्रपक्षमा पनि घटित हुन्छन् । 

यसरी हेर्दा नित्यकर्म, ग्रहशान्ति, नैमित्तिक कर्म अन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्तिकर्म, गयाश्राद्धादि कार्य विश्वघस्रपक्षमा गर्दा कुनै दोष नलाग्ने कुरा शास्त्रले बताएका छन् । समय गतिशील छ । आकाशीय ग्रहपिण्ड पनि चलायमान छन् । यस्तै चन्द्रमाको विशेषचालले बेलाबेलामा तिथि क्षय भइरहन्छ । क्षय हुनु +सूर्योदयको समयलाई नछुनु हो । 

यस्तो क्षयतिथिलाई जुराएर गर्नुपर्ने कार्य (काम्यकर्म) मा वर्जित गरिएको छ । एक पक्षमा एक तिथि क्षय हुनु सामन्य रहन्छ । पक्षमा दुई तिथिको क्षय हुने समयलाई विद्ध मानिन्छ । यस्तै विद्ध रहने समय विश्वघस्रपक्षको हो । जुन समयमा जुराएर गर्नुपर्ने काम्यकर्म त्याज्य छन् भने नित्य र नैमित्तिक कार्य गर्न कुनै बाधा रहँदैन भन्ने शास्त्रवचन पाइन्छ । 


Top