सपनाको देशमा-४

✍️ डा. नारायण चालिसे   POSTED ON : आश्विन २, २०७८ (९:२० AM)

सपनाको देशमा-४

सीमाले भोलिपल्ट फेरि सागरको चिठी खोली र बाँकी चिठी पढ्न थाली । जहाजमै परिचय मेटाएर ओर्लिएको मसँग मेरो परिचयको केही पनि प्रमाण थिएन । त्यसैले उनीहरूले कति नै गर्दा पनि मेरो परिचय पाउन सकेनन् । म बोलेको भए सायद केही परिचय खुल्न सक्थ्यो, त्यसैले दलालले नबोल्नु भनेको रहेछ । मलाई पटकपटक खोइ कता कता लगियो । विभिन्न मानिसका अगाडि उभ्याइयो । उनीहरूले बोलेको केही बुझ्थेँ । उनीहरूले भन्थे हेर्दा र यसको मेडिकल चेक गर्दासमेत यो त्यस्तो नबोल्ने, स्वास्थ्यस्थिति वा मनस्थिति बिग्रिएको जस्तो लाग्दैन ।

अनि यो रिफ्युजी नै हो भन्ने पनि विश्वास गर्न गाह्रो छ तर आश्चर्य यस्तो ढुङ्गाजस्तो स्वभावको मानिस भेटेका थिएनौँ । यसलाई अनुमानको भरमा हामीले कुनै कारबाही अगाडि बढाउन मिल्दैन तर हामीलाई जहाँसम्म लाग्छ यो नेपाली नै हो । हाम्रो काुननले परिचय नखुलेको मानिसलाई यही देशको हो भनेर पठाउन पनि दिँदैन र छोडिदिन पनि मिल्दैन । यस्तै आशयका कुराहरू गर्थे तिनीहरू । 

तर, मलाई त्यस्तो कुनै दुव्र्यवहार गरिएन । खान र बस्न दिइयो । यसरी त्यहाँ म कति समय बसेँ मलाई ठ्याक्क थाहा भएन किनकि मसँग तिथि मिति खुट्याउने कुनै वस्तु नै थिएनन् । तर, मेरो अनुमान मैले दिनरातको संख्या मोटामोटी गन्दै जान्थेँ सायद उन्नाइस दिनको दिन दुईजना मानिस आए । त्यहाँ के के भने, त्यो सबै थाहा भएन मलाई त्यहाँबाट छोडियो । उनीहरूले लिएर गए र एउटा बसमा राखेर चार–पाँच घण्टा बाहिरको एउटा गाउँमा लगेर त्यस्तै टहरा जस्तो घरभित्र छिराए । 

त्यहाँ अनेक रङ्ग र प्रकारका अनौठो रूप र वर्णका तीस चालीस जना जति लोग्ने मानिसहरू थिए । बीचमा एउटा फलामे जाली थियो । त्यसको उतापट्टि त्यस्तै तीस चालीस जना जति महिलाहरू पनि त्यस्तै टहरोमा देखिन्थे । सायद यो कुनै बन्दीगृह थियो जहाँ मजस्तै अनियमित यात्रा गर्नेहरूलाई राखिएको थियो । त्यहाँका केही सुरक्षाकर्मी जस्ता मानिसलाई मलाई जिम्मा लगाएर उनीहरू फर्किए । त्यहाँ पुगेपछि थाहा लाग्यो, एयरपोर्टमा मभन्दा पहिले भित्र राखेका दुईजना केटाहरू पनि त्यहीँ थिए ।

त्यो रात यसै बित्यो, भोलिपल्ट त्यहाँका सुरक्षाकर्मीहरूको आँखा छलेर मैले ती केटाहरूको नजिकै गएर सोधेँ ‘भाइहरू नेपालको हो ! मलाई अस्ति नै उहीँ एयरपोर्टमा देख्दा नै त्यस्तो लागेको थियो । के गर्ने त्यहाँ बोल्न मिलेन सोधिन’ भनेँ तर ती भाइहरू अझै डराएझैँ गरे र मुखामुख गरे । सायद तिनीहरूलाई मसँग बोले पनि असजिलोमा परिन्छ कि भन्ने लागेर होला । मैले नै उनीहरूको असजिलोलाई मेटाइदिँदै भनेँ ‘डराउनु पर्दैन भाइहरू, सायद तपाईंहरू र म एउटै मिसनमा छौँ । एउटै मानिसले हामीहरूलाई पठाएको हुनुपर्छ । उसले अरू दुईजना पनि तिमीसँग जाँदैछन् भन्थ्यो । सायद तपाईंहरू नै हो’ भनेपछि उनीहरू पनि विश्वस्त भएछन् । 

यताउता हेर्दै एकजना भाइले भने ‘ए तपाईं पो हुनु हुँदोरहेछ, हामीले पनि तपाईंलाई चिन्न खोज्दै थियौँ । हो दाइ, हामी पनि अमेरिका छिर्न भनेर हिँडेका हौँ । खोइ के हो के हो ? यतै जीवन जाला जस्तो छ । मरिने हो कि बाँचिने हो ? अनि यहाँबाट कसरी हो बाहिर जाने ? तर दाइ, यहाँ बोल्नु हाम्रो निम्ति धेरै खतरा हुनसक्छ, नबोलौँ । यहाँ यस्तै मौका छोपेर कुराकानी गरौँला । अहिले छुट्टिऊँ आआफ्नो बाटो लागौँ’ भन्दै उनीहरू त्यतै कतै लागे, म पनि केही ढुक्क भएर आफ्नो टहरातिर लागेँ ।

त्यहाँ हामीलाई बिहानै केही खानेकुरा दिन्थ्यो, त्यसपछि हातमा छडी लिएका केही मानिस हाम्रा कोठाकोठामा आएर हामीलाई बाहिर निस्कन भन्थे । सबै मानिसलाई एउटा ट्रक जस्तोमा हालिन्थ्यो । अघिपछि पुलिसका गाडीको बीचमा हाम्रो ट्रकलाई भित्रभित्रै नदी र पहाडको किनारमा लगेर सबैलाई झार्थे । त्यहाँ माटो, ढुङ्गा, काठका पहाडै जस्ता थिए । तिनी ढुङ्गा, माटो, काठहरू लिन गाडीका लाइन हुन्थे । हामीलाई तिनी लोड गर्न लगाउने, ढुङ्गा फोर्न, माटो खन्न र काठ काट्न लगाइन्थ्यो । दिउँसो केही खानेकुरा हात हातमा बाँडिन्थ्यो र बेलुका अबेरसम्म त्यहाँ काम गराएर त्यहीँ टहरामा ल्याइन्थ्यो । 

यसरी महिना दिन जति त्यहाँ काम गरेपछि एकदिन एउटा त्यहीँको सिपाही जस्तोले मेरो हातमा एउटा सानो कागजको टुक्रा ल्याएर सुटुक्क दियो र यो कुरा गोप्य राख्न सङ्केत ग¥यो । म त्यो टुक्रा पाएर भित्रभित्रै खुशी भएँ । अँध्यारोमा जुनकिरीको उज्यालोको प्रकाश पनि चम्किलो भएजस्तै मलाई त्यो टुक्रा मेरो भाग्यको निर्धारक हो भन्ने लाग्यो । कागजको टुक्रा गोजीमा राखेँ तर गोप्य किसिमले हेर्ने मौका पाइन । मलाई छटपटी भयो, राति सबै सुतिसकेपछि ट्वाइलेटमा गएर टुक्रो झिकेर हेरेँ । 

त्यहाँ लेखिएको थियो आजको तीन दिनपछि तिमीले काम गर्न जाने पहाडको खोचमा ढुङ्गा झिक्ने खानीको तलबाट घुमेर अलि पर गएपछि नदीको बेग पैmलिएर फराकिलो बनेको छ । तिमी त्यहाँ ट्वाइलेट गर्ने बहानामा खानीको तल जानु र आँखा छलेर त्यही नदीमा पसेर बग्दै बग्दै पारि तर्नु त्यहाँ पारि किनारको जङ्गलमा तिमीलाई लिन मानिस बसिरहेको हुनेछ । त्यसले जे भन्छ त्यही गर्नु भनेर लेखिएको रहेछ । त्यो टुक्रा पढेर मुखमा राखेर चबाएँ अनि नबुझिने पारेर ट्वाइलेटमा फालेँ र गएर सुत्ने कोसिस गरेँ तर पटक्कै निद्रा लागेन । के के कुरा मनमा खेलिरहे, डर, त्रास र अनिद्रामा सग्लै रात बित्यो ।

भोलिपल्ट काममा जाँदा कागजको टुक्रामा भनिएको ठाउँ हेर्न गएँ । नदी नागबेली परेर एउटा पहाडको थुम्कोलाई फनक्क घुमेर बगेको, ढुङ्गे खानीभन्दा माथि र पछाडिको पाखा भिरालो तलदेखि पारी नदी भएकाले त्यहाँ हामी जस्ता कामदारलाई काममा लगाएर केहीलाई त्यही छाडेर धेरै पुलिसहरू फर्किदा रहेछन् अनि बेलुका लिन जाँदा रहेछन् । मैले ठाउँ हेरेँ, नदी डरलाग्दो नै थियो । पारि नदीको किनारमा जङ्गल रहेछ । मैले एउटा युद्ध जित्ने ठाउँको त्यो विशाल नदी राम्रो त थियो तर मलाई एउटा भयानक मृत्युको त्रास दिन पर्याप्त थियो । 

अनि मलाई राम्ररी पौडिन पनि आउँदैन, जति नै फैलिए पनि नदी नदी नै हो । यी सबैलाई छलेर भाग्नु छ, त्यत्रो नदी पौडेर तर्नु छ त्यसपछि के हुने हो भन्न सकिन्न । मनमा तनाव भइरहृयो, काममा जाँगर लाग्ने कुरै भएन । भाग्दा पक्डियो भने जीवन रहँदैन अनि नदीले नै निल्यो भने पनि इहलीला समाप्त । त्यसपछिको बाटो पनि अन्धकारमय छ । 

साँच्ची सीमा कति पटक मर्नु जीवनमा, मृत्युको त्राससँग खेलेर हिँडिरहेको थिएँ म । त्यो दिन आयो, सधैँझैँ हामीलाई ट्रकमा कोचियो । उहाँ पुगेर झरेँ, मनमा त्यही कुरामात्र नाचिरहेको छ । यसै उसै गरेर दिन ओरालो लाग्ने बेलासम्म काम गरेजस्तो गरेँ र म दिसापिसाब गर्ने बहानामा नदीको गहिरोतर्फ झरेँ । ढुङ्गाले घेरो लिँदै पहाडको फन्को मारेँ । यताबाट नदेखिने भएपछि एकपटक सबै आफन्तलाई सम्झेँ । मनमा कतै भगवान्को पनि नाम आयो । के के सोचेँ मसँग अर्को विकल्प छँदै थिएन । झ्वाम्म नदीमा हाम फालेँ, कतिखेर बगेँ, कतिखेर पौडेजस्तो गरेँ, मुखबाट पानी घुट्काएँ, मनमनै छट्पटाएँ । 

कसैगरी मलाई पारिको जङ्गलभित्र छिर्नु थियो । हे ईश्वर ! हात गले, खुट्टा गले, मुटु फुट्ला जस्तो गरी दुख्यो, सास फेर्न गाह्रो भयो, ठानेँ अब म सक्किएँ ! खोई के गरेँ, कसो भयो ? धेरै तल नदीको किनारमा उछिट्टिन पुगेँ । उठेर जङ्गलभित्र छिर्न सक्ने बल मसँग थिएन । त्यसै घिसारिएर पारिबाट देख्न नसक्ने गरी छेलिएँ । धेरैबेर त्यही झाडीमा छट्पटाइ रहेँ, बल्लबल्ल उठेँ ।

चिसा कपडा बालुवा र माटोले हिलाम्य थिए, खुट्टामा जुत्ता थिएनन् । खाली खुट्टा लर्खराउँदै जङ्गलभित्र झाडी पन्छाउँदै डोरेठो खोज्न थालेँ । कागजमा भने जस्तो अझैसम्म कोही मानिस भेटिएको थिएन । यताउता झाडी पन्छाउँदै मान्छे खोज्दै गरेँ । अलिबेर हिँडेपछि दुईजना मानिस देखेँ । म खुशीले हाँसे, बाँचे भन्ने भयो, आँखाबाट आँसु झरे ।

तिनीहरूले मलाई आपूmहरूको पछि आउन भने । अँध्यारो हुन लागिसकेका थियो । तीमध्येको एउटाले आफ्नो ज्याकेटभित्र कम्मरमा बाँधेर ल्याएको टर्च झिक्यो र बाल्यो । त्यही बत्तीलाई पछ्याउँदै, खाली खुट्टा, लुगलुग काम्दै पछिपछि हिँडिरहेँ । धेरैबेर हिँडेपछि एउटा थोत्रोथोत्रो मोटर पार्क गरेको ठाउँमा पुगेर एउटाले त्यो मोटर चलायो । म पछाडिको सिटमा बसेँ । उनीहरू के के बोल्थे, म बुझ्दिनथेँ, यस्तै चार पाँच घण्टा हिँडेपछि उनीहरूले एउटा छाप्रो जस्तोमा मलाई पुर्‍याएर त्यहीँ बस्न भने । भित्र गएपछि देखेँ, त्यहाँ अरू चार–पाँचजना केटाहरू थिए तर सबै भिन्नभिन्न मुलुकका जस्ता देखिन्थे । 

त्यस्तैमा एकजनाले झोलाबाट एक एकवटा प्लाष्टिकका जस्ता पोका बाँड्यो । मलाई पनि दियो, पोको खोलेँ, ठुस्स गन्ध आउने खोइ के हो खानेकुरा थियो । सायद त्यो मासुबाट बनेको वस्तु थियो । सबैले जसरी खाए त्यसरी नै खान थालेँ । त्यो गन्ध मलाई मन परिरहेको थिएन, झट्ट सम्झेँ गाई, गोरु वा अरू यस्तै जनावरको जस्तो मासु । दिगमिग मान्दै खाएँ, नखाएर के गर्नु भोकले मेरो बाटो थिएन । अनि सबैजना त्यतै वरपर घत्र्याकघुत्रुक पल्टिए । म पनि पल्टिएँ, उठ्दा घाममाथि आइसकेको थियो । कसैले कसैलाई चिने जस्तो लाग्दैनथ्यो । कोही हामीलाई केही भन्न पनि आएको थिएन । 

यस्तै छट्पटिएर बसिरहृयौँ । दिउँसोतिर हिजोजस्तै खानेकुरा लिएर एकजना मानिस आयो र सबैलाई एक एकवटा प्याकेट र बोतलमा पानी दियो । सबैले कप्ल्याककुप्लुक खाए । त्यहाँबाट उठ्ने बेलामा त्यो मानिसले हामी रात परेपछि हिँड्छौँ अहिले आराम गर भन्यो । हामी खाएर सुत्यौँ, उठ्दा अँध्यारो अँध्यारो भइसकेको थियो । उठेर यसो छाप्राबाहिर निस्केर यताउता गर्दै थिएँ ।

एउटा ट्रकजस्तो गाडी आएर उभियो । त्यसबाट दुईजना मानिस झरे र हामीलाई चढ्न भने । हामी चढ्यौँ, भित्र बिछ्याउने टाटजस्तो थियो, त्यहीँ बस्यौँ, उसले ढोका लगायो । ससाना झ्यालजस्ता प्वालबाट मात्र हावाभित्र छिथ्र्यो । त्यसपछि हामी हिँड्यौँ तर कता हो कता अँध्यारोमा जङ्गलको बाटो, केही अत्तोपत्तो भएन ।

क्रमशः

Top