अनन्त चतुर्दशीको महिमा

✍️ अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : आश्विन ४, २०७८ (७:५० AM)

अनन्त चतुर्दशीको महिमा

अनन्तश्री विभूषित पिता हुन् परमेश्वर । नित्य हाम्रो अनुष्ठानमा दर्शन देऊ परात्पर ।।

परात्पर, अखिलेश्वर, अनन्त ब्रहृमाण्डका नायक, सर्वेश्वर, सर्व अन्तर्यामी, अकारण करुणा, वरुणालय, भक्तवान्छाकल्पतरू, पिताम्बर धारी, सच्चिदानन्द, परब्रहृम परमात्माप्रति मन अर्पण गर्दै आमपाठक सामु सबैको अन्तर हिर्दय निबासी परमात्माप्रतिको स्नेह रहोस् भन्ने मनशायले परमेश्वर अनन्तको चर्चा गर्ने प्रयास गरेको छु ।

हामी जीव संसारका यात्री हौं, हाम्रो आवागमन भइरहन्छ, हाम्रो आदि छ अन्त्य पनि । जसको अन्त्य छैन उसको नाम अनन्त हो, यस अर्थमा अनन्त भन्नाले सम्पूर्ण यो संसार जसको अधिनमा छ, त्यो सर्वेश्वरको नाम भन्ने स्पष्ट हुन्छ । भाद्र शुक्लचतुर्दशीलाई हामी अनन्त चतुर्दशीका रूपमा मान्छौं । यसपालि यो पर्व असौज ३ गते परेको छ । श्रावण शुक्लमा ऋषितर्पणी, जनै, रक्षा धागो बाँध्न नसक्नेले यसै दिन त्यो परम्परालाई धान्ने गर्छन् भने यसै दिन अनन्तको दीक्षा लिएर वेदाध्यायी हुने पनि हुने गरिन्छ । 

काठमाडौं हनुमाढोकामा अनन्त श्रवण, कुमारी जात्रा, दहचोकमा इन्द्रजात्रा पर्व त छँदैछ । यस दिन १४ गाँठोसहितको अनन्तको डोरा बाँध्ने, अनन्तको व्रत गर्ने, कथा श्रवण गर्ने हाम्रो चलन छ । आयु, आरोग्य, ऐश्वर्य, मनमा शान्ति प्राप्तिका लागि र दुःख एवं कष्ट निवारणका लागि भाद्र शुक्ल चतुर्दशीमा भगवान् अनन्तको विशेष पूजा गरिन्छ । सर्व प्रथम सरस्वतीको आवाहन गरी प्रार्थना गरिन्छ । हे देवी, हे यमुने व्रत पूर्तिका लागि मेरा अगाडि आऊ भनी आवाहन गरिन्छ । शिवका पाउमा रहने, सबै लोकको हित गर्ने, पाप र कष्ट हटाउने हे देवी तिमीलाई नमस्कार भनिन्छ ।  

आवाहन पछि अंग पूजा गरिन्छ । मूर्तिलाई प्राण प्रतिष्ठा गरी पाउमा चंचला, घुँडामा चपला, कम्मरमा बत्सला, नाभिमा हरा, गुहृयमा मन्मथवासिनी, हृदयमा भद्रा, हातमा अभहन्त्री, घाँटीमा रक्तकण्ठा, मुखमा भवहंगी, आँखामा गौरी, ललाटमा भागीरथी, शिरमा यमुना, सम्पूर्ण अंगमा सरस्वती देवीको पूजा गरिन्छ । 

त्यस्तै नाम पूजामा यमुना, सीता, कमला, उत्पला, अभिष्टप्रदा, धामी, हरि वररूपिणी, गंगा, नर्मदा, गौरी, भागीरथी, तुंगा, भद्रा, कृष्णावेणी, सरस्वती, कावेरी, सिंधु, गौतमी, गोमती, गायत्री, गरूडा, गिरिजा, चन्द्रचूडा, सर्वेश्वरी, महालक्ष्मीलाई स्मरण गरिन्छ । सर्वपाप हटाइदेउ, सबै उपद्रवहरू नास गर, हे यमुने  संगति देऊ भनिन्छ । 

त्यसपछि भगवान् अनन्त कोटी ब्रहृमाण्ड नायक, विश्वरूपको चिन्तन गरिन्छ-अनन्त भगवानको विशेष पूजा पछि अनन्त ग्रंथीको पूजा हुन्छ-ग्रंन्थीमा मोहिनी, पद्मिनी, महावला, अजा, मंगला, वरदा, शुभा, जया, विजया, जयन्ती, पापनाशिनी, विश्वरूपा, सर्वमंगला, १४ देवीहरूको विशेष स्मरण गरिन्छ । अंग पूजामा मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, राम, परशुराम, कृष्ण र सम्पूर्णमा अनन्तको पूजा गरिन्छ । 

त्यस्तै वृद्ध, उल्का, महाउल्का, शत उल्का, सहश्र उल्का, दया, वासुदेव, संकर्षण, प्रद्युम्न, नारायण, माधव, गोविन्द, मधुसूदन, त्रिविक्रम, वामन, श्रीधर, ऋषिकेश, पद्मनाभ, दामोदर, आदि नामहरूबाट पूजा गरिन्छ । दिशा पूजा गर्ने क्रममा सबै दिशामा अनन्त भगवानका अंग अंग नामले विशेष पूजा गरिन्छ । फेरि  प्रार्थना गर्दै । नमस्ते देव देवेश, नमस्ते गरूडध्वज ः । नमस्ते कमलाकान्त अनन्ताय नमो नमः ।। अनन्त संसार महा समुद्रमग्नं समभ्युदर वासुदेव । अनन्नतरूपे विनियोजयस्व हृयनन्तसुत्राय नमो नमस्ते ।।

अनन्त व्रत कथा यस्तो छ । सुतजीले शौनकलाई र व्यासजीले सूतजीलाई अनि कृष्णले युधिष्ठरलाई बताउनु भएको हो । जरासन्धको अत्याचारबाट दिक्क भएका पाण्डवहरू युधिष्ठिरको नेतृत्वमा राजसूय यज्ञ गर्दै थिए । भव्य यज्ञशाला तयार थियो । धेरै राजा महाराजाहरू आउने क्रममा दूर्योधन पनि त्यहीँ आउँदा भ्रमले जलमा स्थल र स्थलमा जल देखेछ । पानी नभएका ठाउँमा कपडा सारेर हिडेको देख्दा द्रौपदीले भनिछन्- अन्धाको छोरो हो अन्धै छ । बस् क्रोधी दुर्योधनलाई यतिले काम पुगिहाल्यो । दुर्योधनको छल जुवाको प्रपञ्चबाट सारा वैभव गुमाउन पुगेका पाण्डवहरू वनतिर लागेछन् । त्यसैबेला कृष्णसाथ पाएका युधिष्ठिरले सोधेछन् ।

हे कृष्ण दुःख पो पाइयो, श्रीकृष्णले भन्नु भएछ-अनन्तको व्रत गर सबै ठीक हुन्छ । स्त्री, पुरुष सबैको इच्छा पूरा गर्ने, पाप हर्ने, कल्याण गर्ने अनन्तको व्रत गर । अनन्तलाई  देवताका आत्मा भनिन्छ, जसलाई समय/काल पनि भनिन्छ । 

कथाको क्रममा पहिले मत्र्यमण्डलमा वशिष्ठ गोत्रका सुमन्तु ब्राहृमण थिए । भुगु पुत्री दीक्षासँग उनको बिहे भयो, दम्पतीबाट पुत्री रत्न जन्मिइन् ‘शीला’ उनको नाम थियो । दीक्षा बिरामी परिन् ज्वरोले सतायो र मुत्यु भइहाल्यो ! अर्की पत्नी ‘कर्कशा’ सँग बिहे गरे सुमन्तुले । कर्कशा नाम,  काम पनि कर्कश नै थियो ! ‘शीला’ छोरी भने घरदैलो गर्दा पनि रंगीन चित्र बनाई स्वस्तिक चिहृन बनाउने त्यसैमा खेल्ने, रमाउने, खाली भित्ताहरूमा पनि शंख, चक्र, पद्यको चित्र कोर्थिन् । पूजा गर्थिन् नित्य । 

मंगल चिहृन सधैँ बाबुका घर वरिपरि देखिन्थ्यो । शीलाको बिहे भयो ‘कौडिण्य’ नामका ऋषिसँग । ज्वाइँलाई उपहार तयार गर भनी सुमन्तुले कर्कशालाई भनेछन् । कर्कशाले भए भरको सम्पत्ति आफूले लिएर ढुँगाको भारी पठाइदिइछन्, बिरक्तिएर सुमन्तुले घर छोडेर बाहिर यमुना नदीका तिरमा स्त्रीहरूले पूजा गर्दै रहेको स्थानमा पुगेछन् । छोरी शीला पनि यमुनाका तिरमा पुगेकी रहिछन्, धनी बन्ने इच्छाले त्यहाँ अनन्तको डोरो हातको दायाँ भागमा बाँधिछन् । खुशी मनले पतिका घरमा बसेकी शीलाले पटक पटक भाद्रमा अनन्तको विशेष आरधाना गरिछन् । बिस्तारै घरमा धन सम्पत्ति, चौपाया, अतिथि, सौभाग्य बढ्दै गएछ उनको । 

सावित्रीझै पतिव्रता थिइन् उनी । दुई दम्पतीको प्रेमालाप बडो राम्रो रहेछ । एक दिन  पाखुरामा डोरो देखेर पतिले सोधेछन्, यो के हो ? उनले अनन्तको डोरो हो । यसले हाम्रो स्वास्थ्यको रक्षा गर्छ, धन वृद्धि गर्छ भनिछन् । पतिदेवलाई झोक चलेछ र धागो चुँडालेर फाल्न लगाएछन् । उनले दूधमा डोरो फालिछन्  । नराम्रो कर्म फलले गर्दा सम्पत्ति चोरी भएछ, वस्तुभाउ बिरामी परेछन् । बन्धुबान्धवको विछोड भएछ, दरिद्रता बढेछ । दुःख निकै पाएपछि पत्नीलाई सोधेछन् कोडिन्यले अब के गर्ने ? तिमी जान्दछ्यौ कि धनी हुने उपाय ? पत्नीले भनिछन् अनन्तको व्रत गर्दा राम्रो हुन्छ कि ? पति कौडिन्य दुःखले भौतारिँदै चार दिशा हिँड्न थालेछन् ।

बाटामा उनले फलफूलको लटरम्म रूख देखेछन् तर पन्क्षी भने शून्य । केही पर ठूलो आँपको रूख देखेछन्, अनि अलि पर बाच्छोसहितको गाई देखेछन् । अलि पर पुग्दा ठूलो साँढे, अनि २ पोखरी पनि देखेछन्, अलि पर गएपछि एक गधा र हात्तीलाई देखेछन् । ती देखे जति सबलाई उनले सोधेछन् । भगवान् अनन्तलाई तिमीहरूले देखेका छौ भनेर ? तर सबैले भनेछन् अहँ देखेनौँ हामीले त । 

यसरी तड्पिएपछि, भौंतारिएपछि, भगवान् अनन्तले दर्शन दिनुभएछ । ऐश्वर्यका मदले बुद्धि ढालिएका कौडिन्यले अनन्त भगवानको दर्शन पाएर खुसी भएछन्, घर फर्क भन्नु भएछ भगवानले, १४ वर्षसम्म अनन्तको पूजा गर भन्नुुभएछ । 

अनन्त भगवानसँग कौडिन्यले यसरी प्रश्न गर्दा भगवानले एक एक तिनका प्रत्यक्ष रूप बताइदिनु भएछ । तिमीले आँपको रूख जे देख्यौ, उहीले तिनी वेद विद्या जान्ने दक्ष र निपुण ब्राहृमण थिए, तर तिनले वेद विद्या अरूलाई दिएनन्, पछि ती रूख भएर जन्मिए, तिनै हुन् आँपको रूख । अनि तिमीले बाछोसहित जुन गाई देख्यौ ती पृथ्वी हुन् । साँढे तिमीले देख्यौ, त्यो धर्म हो । २ पोखरी भनेको धर्म र अधर्मको २ रूप हो, पहिले ती दुई दिदी बहिनी ब्राहृमणी थिए ।

धर्मभन्दा अधर्मको ठूलो वहस गर्थे, भिक्षा पनि नदिने, कुकर्मी, पाप कर्मले गर्दा तरंग र छाल भई तिनीहरू अहिले पोखरीमा बसेका छन्, बाटामा देखेको गधा भनेको क्रोधको रूप हो । क्रोधपछि आवेग र तनावले मानिसलाई सताइरहन्छ, भगवत प्रेम नभएसम्म यस्तै हुन्छ । हात्ती चाहिँ घमण्ड हो, मद हो । बाटामा जुन ब्राहृमण देखियो त्यो मै हुँ, जसलाई अनन्त भनिन्छ । बाटोमा देखिएको गुफा चाहिँ संसार हो, यो ओढार जस्तै छ । 

यसरी परोक्ष र प्रत्यक्ष अर्थ लगाइदिनुभएछ कौडिन्यलाई भगवान अनन्तले । कौडिन्य घर आई १४ वर्षसम्म अनन्त व्रत आराधना गरेछन् र धन धान्य, ऐश्वर्यले पूर्ण भएछन् । अन्तमा मुक्ति पनि मिलेछ । युधिष्ठिरलाई भगवान श्रीकृष्ण भन्नुहुन्छ अनन्त चतुर्दशीका दिन तपाईं पनि व्रत गर्नुस् । १४ वर्षको अनुष्ठानको फल तपाईंले एकै वर्षमा पाउनुहुन्छ । त्रिभुवनपति अनन्तको महिमा सर्वव्यापक छ । जसले भगवानको आरधाना गर्छ ऊ पापदेखि रहित भई जीवन सुखमय बिताउन सक्छ, कष्ठ पनि मेटिन्छ ।   


Top