देशभक्तहरूको खाँचो छ देशलाई

✍️ मणि शर्मा   POSTED ON : आश्विन ४, २०७८ (७:५८ AM)

देशभक्तहरूको खाँचो छ देशलाई

भारतमा नेपाली लाहुरेहरूले त्यहाँ जन्मे, हुर्केका वा आफ्नो पिताको जागिरको सिलसिलामा त्यहाँ पढ्न गएका भर्खरका केटाहरूलाई लैनछोकरा भन्ने चलन छ । लाहुरेहरूले प्रायः चाहन्छन् यी लैनछोकराहरू पनि उनीहरू जस्तै पल्टनमा जागिर खाऊन्, आफ्ना साहेबहरूलाई सल्युट ठोक्दै जयहिन्द साब भनून्, तिरंगालाई सल्युट गर्दै जनगण मन वा सारा जहाँ से अच्छा हिन्दूस्ताँ हमारा गाऊन्, भारतको सुरक्षा गर्न वीर गोर्खालीको सन्तान भएकोले इमानदारीपूर्वक सीमामा गएर लड्न जाऊन्, बरु भारतको सीमा बचाउन आफ्नो ज्यान नै बलि चढाउन किन नपरोस् । लाहुरे पल्टनेहरूबाट पाएको लैनछोकराको परिभाषा यही हो ।

मैले एसएलसी गरेपछि यस्तै पल्टनेहरू हाम्रो घरमा आएर बालाई भन्ने गर्थे, भेना, अब भान्जाले पनि म्याट्रिक पास गरिसक्नु भएछ, एनसिसीको तालिम पनि प्राप्त हुनुहुन्छ, बन्दुक चलाउन पनि आउँछ, अब यस्ता लैनछोकराहरूले पल्टनमा जागिर खानुपर्छ । भान्जालाई पनि पल्टनमा लगाइदिऊँ, हाम्रो साहेबले हामीले भने छि भर्ती गरिहाल्नु हुन्छ । तर, मलाई विदेशी पल्टनमा जागिर खानु थिएन, अगाडि पढ्नु थियो र पढाइ जारी राखेँ । यो सिलसिला म बिएमा पढ्दासम्म चलिरहृयो ।

आज हाम्रा राजनीतिकर्मीहरू, शासक वर्ग, बृद्धिजीवी, नागरिक समाज, केही बिग मिडिया हाउस, नोकरशाहहरूको विदेश भक्ति तथा विदेशीबाट प्रायोजित यो व्यवस्था र यो संविधान हेर्दा लाग्छ हाम्रो मुलुक भाडाका सैनिक जन्माउने मुलुकमात्र रहेनछ, अपितु माथि उल्लेख भएका जीवहरू जन्माउने मुलुक पनि रहेछ । समग्रमा यी अरू देशका लागि नेपाल विरुद्ध लड्ने लैनछोकराहरू रहेछन् । 

जसरी भारत वा बेलायतको सेनामा ती देशको स्वार्थका लागि फगत केही पैसा र पेन्सनका लागि भाडाको सिपाही बनेर लड्ने ती लाहुरे र आफ्नै देश, यो देशको मौलिकता, इतिहास, धर्म, संस्कार रपरम्पराहरू विरुद्ध लड्ने यी लैनछोकराहरूमा तात्विक अन्तर छैन । ती लैनछोकराहरू जुन देशको नुन खाएका छन् उनको पक्षबाट उनका शत्रुहरूविरुद्ध लड्छन् र हाम्रा लैनछोकराहरू आफ्नै देश तथा देशवासीविरुद्ध लड्दैछन् । 

हाम्रो मौलिक धर्म, संस्कृति, परम्परा जीवित रहे राष्ट्र जीवित रहन्छ । हामीले हाम्रो इतिहास, धर्म, संस्कृति, मौलिकता र परम्पराको रक्षाको लागि बलिदान दिनुपर्छ । मुगलबाट भारतलाई मुक्त गर्न एकचोटि शिख धर्मगुरु गुरु गोविन्द सिंहले युवाहरूलाई आहृवान गर्दै भनेका थिए ‘धर्म संस्कृतिको रक्षाको लागि अकाल पुरुष वा महकालले बलिदान माग्छ, उम्लिरहेको रगत चाहिन्छ, कसैमा साहस छ भने अगाडि आउनुहोस् । आफ्नो शिर कटाएर अकाल पुरुषलाई तृप्त पार्नुस् ।’ 

चुनौती सुनेर सभामा निस्तब्धता छायो । एउटा युवक साहस गरेर उनको अगाडि आए । गुरुले उनलाई पर्दा पछाडि लगे । केही छिनपछि फर्किदा उनको हातमा रक्तरञ्जित तलवार थियो । फेरि त्यही आहृवान दोहोरियो, ‘छ कोही अरू जसले आफ्नो शिर कटाउन सक्छ ?’ फेरि एउटा युवक उनको अगाडि आयो । उसले आफूलाई बलिदान दिन तयार भयो । त्यही प्रक्रिया दोहो¥याइयो । 

यसरी पाँचजना आत्मबलिदानी प्रस्तुत भए । उक्त समारोह सम्पन्न हुनुअगाडि गुरु गोविन्द सिंहले ती पाँचजनालाई नै एक एक गर्दै बोलाए र सबै बाहिर आए । गुरुले कसैको शिर काटेका थिएनन्, केवल उनीहरूमा देशभक्तिको भावना छ कि छैन भनेर परीक्षा लिएका थिए. । जसले आफूले आफैंलाई बलिदान दिन तयार हुन्छ उसले नै आफ्नो देश, आफ्नो सनातन धर्म, संस्कृति, मौलिकता र परम्पराको रक्षा गर्न सक्षम हुन्छ । जो अहंकार, कामना, तृष्णा, वासना, मोहमाया, भोग लिप्सा र लोभ लालचबाट मुक्त हुन्छ, जसको हृदयमा देशप्रेमको भावना हुन्छ, उसले नै आफ्नो देश, धर्म, संस्कृति, मौलिकता र परम्पराको रक्षा गर्न सिक्छ । कायरहरू विदेशीको हातमा आफूलाई बेचेर उसको कठपुतली बन्छन् ।

गुरु गोविन्द सिंह एउटा महान् योद्धा, भक्त, कवि तथा आध्यात्मिक नेता हुनुहुन्थ्यो । धर्म तथा देशको स्वतन्त्रता रक्षाको यज्ञमा उनका छोराहरू सहित सम्पूर्ण परिवारले प्राण बलिदान दिएका थिए । उनले अन्याय र पापलाई सिसमाप्त पार्न मुगलहरूसँग १४ पटक युद्ध लडेका थिए र युद्ध जितेका थिए । औरंगजेबले कश्मिरी पण्डितलाई जबरदस्ती मुसलमान बनाउन खोज्दा उनीहरू गोविन्द सिंहको पिता गुरु तेगबहादुरका दरबारमा उजुरी लिएर आएका थिए । 

उनले तपाईंहरू मध्ये को महापुरुष हुनुहुन्छ जो धर्म परिवर्तनविरुद्ध नेतृत्व गर्न सक्नुहुन्छ भन्दा सबैले उनलाई नै छाने । दिल्लीमा धर्म परिवर्तनविरुद्ध युद्ध गर्दा औरंगजेबले चाँदनी चौकमा सार्वजनिक रूपमा गुरु तेगबहादुरको शिर काटेका थिए । २७ डिसेम्बर १७०४ मा उनका छोरा जोरावर सिंह र फत्तेह सिंहलाई मुगलले पर्र्खाल बनाएर टालिदिएपछि गोविन्द सिंहले विजयपत्र लेखेर औरंगजेबलाई चेतावनी दिँदै भनेका थिए, ‘तिम्रो साम्राज्य अन्त्य गर्न खालसा पन्थ जन्मिसकेको छ ।’ १७०६ मा औरंगजेबको मृत्यु भएपछि उनका छोरा बहादुर शाहसँग गोविन्द सिंहको सुमधुर सम्बन्ध स्थापित भयो । 

यो देखेर सीमाको नवाब बजिद खाँ तिल्मिलाएर दुईजना पठानलाई उनको हत्या गर्न पठायो । उनीहरूले झुक्याएर उनीमािथ घातक प्रहार गर्दा ७ अक्टोबर १७०८ मा गुरु गोविन्द सिंह नांदेड साहेबमा दिव्यज्योतिमा लीन हुनु भयो । हिन्दू धर्मको रक्षाका लागि आफ्नोमात्र होइन पूरै परिवारको बलिदान दिने गुरु गोविन्द सिंह र तेगबहादुरबाट नेपाली सनातन धर्मावलम्बीले शिक्षा लिनु जरुरी छ । राष्ट्र अहिले अर्धनिद्रामा छ । आमजनता अर्धमुर्छित अवस्थामा छन् । अहिलेको अवस्था राजधानीबाहिर पनि राष्ट्र जागरणको हो । राष्ट्रियचेतना फैलाउँदै राष्ट्र जागरणको काम राजनीतिक दलहरूले गर्नुपर्ने हो ।

हारुन अल रसिद फारसका राजा थिए ( सन् ७६३-८०९ ) यिनको शासनकाल स्वर्णकाल थियो । एकदिन उनको दरबारमा एकजना शिकारीले जुरेकोइली चरी बेच्न ल्याएको थियो । राजाले मूल्य सोध्दा उसले बजारभाउभन्दा धेरै बढी भन्यो । बादशाहले जान्न चाहे, यसको यति चर्को मूल्य किन, झन यसको त एउटा खुट्टा छैन । शिकारीले भन्यो, क्षमा गर्नु होला महाराज, हेर्दा सामान्य भए पनि यो एउटा विशेष प्रकारको चरो हो । 

यसको विशेषता हो जब म शिकारमा जान्छु, यसलाई सँगै लिएर जाने गरेको छु । भन्नु पर्दा यो चरो मेरो शिकारको मुख्य साधन हो । मैले शिकारका लागि ओछ्याएको जालमा यसलाई बाँधेर राख्छु । यो चराले तब एउटा विचित्र आवाजमा चराहरूको ध्यान आकर्षण गर्छ । त्यसको यो आवाजले बथानका बथान चरा आएर जालमा फस्छन् । यसपछि म सबै चराहरूको शिकार गर्छु । 

बादशाहले उसले भनेको मूल्य तिरेर चरो किने र तत्काल चरालाई काटे । आश्चर्र्यचकित हुँदै शिकारीले सोध्यो, ‘बादशाह, सरकारले यति मँहगो मूल्य तिरेर किनेको चरालाई किन काट्नु भयो ? यति सुनेर बादशाहले अति मूल्यवान कुरा भने जो आज पनि इतिहासमा स्वर्णाक्षरले लेखिएको छ, ‘जसले अरू जाति (विदेशी) को दलाली गरेर स्वजाति (स्वदेशी)सँग गद्दारी गर्नसक्छ, त्यसको परिणति यस्तो हुनु न्यायसंगत हुन्छ ।’ 

राष्ट्रिय चेतना फैलाउने, राष्ट्रिय भावनाले जनताको मनमुटु ओतप्रोत गरिदिने राष्ट्रिय जागरणको महान् कार्य जागृत अन्तस्करण भएका व्यक्तिहरूलेमात्र गर्न सक्दछन् । प्रचलित अन्धभावनाभन्दा माथि उठेर जसको मस्तिष्कले सोच्नसक्छ यस्ता व्यक्तिहरूले मात्र राष्ट्रिय जागरणको काम गर्न सक्छन् । जसको जीवनधारा व्यक्तिगत स्वार्थभन्दा माथि, सामूहिक हित चिन्तनमा, राष्ट्रप्रेममा ओतप्रोत छ, जसले आफ्ना ती आदर्शअनुरूप आफ्नो जीवन प्रक्रिया चलाउन सक्षम छ उसले नै राष्ट्रिय जागरणको कामलाई नेतृत्व दिनसक्छ । तात्कालिक लाभको मृगमरिचिकाको पछाडि दगुर्र्ने नागरिकहरूलाई अहिलेको व्यवस्थाको दूरगामी कुपरिणामहरूको स्मरण गराएर, यसभन्दा बढी अपेक्षाकृत लाभप्राप्तिका लागि पुरुषार्थको प्रेरणा दिनसक्ने व्यक्तित्वहरूको खाँचो छ मुलुकलाई ।

यस्ता व्यक्तिहरूलाई प्राचीन कालमा पुरोहित भनिन्थ्यो । जसले आफ्ना् पुर, गाउँ, नगर, समाज र देशको हित गर्न सकून् र हित गर्ने प्रेरणा दिऊन् । पुरोहित यस्तालाई भनिन्छ, जसले आफू अगाडि आएको लाभलाई होइन कि अगाडि आउने दिनहरूमा आफ्नो देश र देशका नागरिकहरूको हित सम्झेर त्यसको प्राप्तिको व्यवस्था गर्न सकून् । नेताहरूको स्वार्थका पछाडि नलागेर आफ्नो देश तथा सनातन धर्मको रक्षाका लागि गुरु तेगबहादुर र गुरु गोविन्दसिंह जस्ता व्यक्तित्वको खाँचो छ मुलुकलाई । 


Top