आर्थिक विकासका विभिन्न चरण

✍️ मेघनाथ दाहाल   POSTED ON : आश्विन ५, २०७८ (७:३१ AM)

आर्थिक विकासका विभिन्न चरण

विकास, संवृद्धि, परिवर्तन, अग्रगमन, सकारात्मक परिवर्तन, सामाजिक-सांस्कृतिक सुधार, प्रगतिशील सामाजको निर्माण जस्ता यावत् शब्दहरूले दिने अर्थ सारमा एउटै हो । नेपाललगायत कम विकासित र पछाडि परेको मुलुकहरूको वर्तमानको अत्यन्त आवश्यक आधारभूत आर्थिक पक्ष भनेको औद्योगिकीकरणको जगसहित लगानीमैत्री वातावरण र उपयुक्त नीतिहरूको व्यवस्थासहित व्यवसायिकताको व्यापक रूपको विस्तारद्वारा विविध उपभोग्य आधारभूत एवं विलाशी तथा पुँजीगत वस्तु तथा सेवाको उत्पादन, रोजगारको सिर्जना, आम्दानीमा वृद्धि, वस्तु तथा सेवाको उपलब्धताको साथै उक्त वस्तु तथा सेवाहरू किन्न सक्ने सर्वसाधारणहरूको क्षमतामा अभिवृद्धिले आर्थिक वृद्धिको सुरुवातसहितको न्यायपूर्ण वितरण प्रणालीको विकास र सांस्कृतिक पहिचानसहितको क्षमतामा आधारित उन्नत सामाजिक विकासको सुरुवात गर्नहो । 

लामो समयको विकास प्रयासको बाबजुद नेपालीको आर्थिक अवस्थामा तात्विक परिवर्तन नभएको विविध तथ्यांकका साथै हाम्रो आर्थिक क्षेत्रको परिवेशले पनि दर्शाउने गरेको पाइन्छ । मानवीय जीवनको स्वभाविक इच्छा वा अभिलाषा नै सुखी र खुशी जीवनयापन हो यद्यपि सुखी र खुशी हुने स्वरूप र प्रक्रियाको बारेमा सबैको मतऐक्यता चाँहि पाइँदैन । खुशी र सुखी जीवनयापनका लागि के कस्ता पक्षहरूमा सम्झौता, समन्वय र तादात्मयकता चाहिन्छ भन्ने बारेमा सबैको आआफ्नै व्याख्या एवं विश्लेषण हुन सक्तछ तर मानवीय न्यूनतम आधारभूत आवश्यकताका वस्तु तथा सेवा र आम्दानीको स्तरविना आजको समयमा न त सुखी जीवनको कल्पना नै गर्न सकिन्छ न त खुशी हुन नै सकिन्छ ।

खासगरी नेपालजस्तो कम विकसित तथा पिछिडिएको मुलुकको विकास एवं प्रगतिको बारेको गहनतम रूपको छलफल दोस्रो विश्वयुद्धपछिको समयबाट मात्र भएको हो । यसपछि अस्थित्वमा आएका प्रायःजसो सबै आर्थिक सिद्धान्तहरूले आर्थिक विकास एवं प्रगतिको बाटोमा एशिया, अफ्रिका, ल्याटिन अमेरिका तथा अन्यपछि परेका मुलुक एवं क्षेत्रहरूलाई कसरी डोहो¥याउन सकिन्छ भनेर चिन्तनमनन एवं प्रयोगमा बितेको पाइन्छ । खासगरी पश्चिम युरोप र अमेरिकी अर्थतन्त्रमा दोस्रो विश्वयुद्धभन्दा अघि नै विकास तथा समृद्धिको एउटा चरण पार गरिसकेकाले पनि उनीहरू कम विकसित मुलुकहरूको समाजिक–आर्थिक विषयवस्तु तथा सामाजको अनुसन्धानमा आधारित भएर अगाडि बढेको पाइन्छ । 

आधुनिक अर्थशास्त्रका पिता एडम स्मिथले समाज विकाको क्रमलाई शिकारी, घुमन्ते, कृषिमा आधारित, व्यावसायिक र औद्योगिक उत्पादनमा आधारित गरी व्याख्या गरेका छन् भने कार्ल माक्र्सले समाज विकास प्रक्रियालाई विभिन्न सामन्ति, दलाल पुँजीवाद, समाजवादी र साम्यवादी आदि चरणहरूमा व्याख्या गरेका छन् । यसैगरी एक व्रिष्ठ अमेरिकन अर्थशास्त्री डब्लु डब्लु रोष्टोले आर्थिक विकासलाई विभिन्न पाँचवटा चरणमा राखेर व्याख्या गरेका छन् । रोष्टोद्वारा व्याख्या गरिएको विकासको विभिन्न चरणको सान्दर्भिकता आजका दिनमा घटेको छैन किनभने विश्व जनसंख्याको लगभग आधाआधि मानवसमुदाय अहिले पनि आधारभूत खाद्यान्नजस्तो पक्षबाट पीडित रहेको यथार्थ हामीसामु स्पष्टै छ । 

उनका अनुसार समाज विकासको क्रममा सबै समाजले प्रायःगरी पाँचवटा स्तरबाट गुज्रिएर जानुपर्ने कुराको किटान गरेका छन् । परम्परागत समाज, आर्थिक विकासका आवश्यक पूर्वसर्तहरू, आर्थिक छलाङ, परिपक्वतातिरको लम्काइ र अन्तमा आमउपभोगको स्तर भनेर व्याख्या गरेका छन् । परम्परागत समाजमा कृषि मुख्य जीवन चलाउने माध्यम त्यो पनि निर्वाहमुखी र आधुनिक सुविधाहरूको कत्ति पनि ख्याल नभएको व्यावसायिक तथा नाफाको सोच नभएको हुनेछ । सामाजिक परिवेश अत्यन्त स्वाभाविक र प्राकृतिक नियमहरूमा आधारित हुन्छ । बचतको सबै हिस्सा अनुत्पादक कामका लागि खर्च भएको हुन्छ भने पुँजी निर्माण तथा आर्थिक विकासका कुनै पनि काम सुरु भएको पाइँदैन ।

जब समाज अलि विकसित समाजको नजिक पर्छ त्यसपछि समाज विकासको विविध पक्षहरूका बारेमा सोच्न सुरु हुनेगर्छ । दोस्रो चरणमा समाज विस्तारै विकास तथा समृृद्धिको बाटोमा लम्किने भएकोले केही संरचनात्मक सुधारका कामहरूको तयारीमा लागिपर्छ जसले एकातिर यसले श्रम तथा उत्पादनका अन्य साधनहरूको उत्पादनमुखी प्रयोगमा ध्यान दिने एवं नयाँ तरिकाको सुवात हुन्छ भने अर्कोतिर यी साधनहरूको गतिशीलतामा क्रमशः विस्तार आउँछ । यो प्रक्रियाले प्रतिस्पर्धात्मक क्षमताको आधारमा उत्पादकत्वको पनि वृद्धि गर्दछ । कृषि क्षेत्र विस्तारै व्यावसायिकतामा प्रवेश गर्छ भने उत्पादन वृद्धिको कारण अर्थतन्त्रले आफ्नो आकारमा बढोत्तरी ल्याउँछ ।

अर्थतन्त्रले आर्थिक रूपमा संरचनात्मक परिवर्तनका लागि निश्चित तहहरू पार गर्नुपर्ने कुराको रोष्टोले व्याख्या गरेका छन् । खुद राष्ट्रिय उत्पादनको कम्तीमा पाँच प्रतिशत आय, बचत र लगानीका लागि निश्चित गर्नुपर्ने र पूर्वाधारको हकमा उपलब्ध स्रोतसाधनको उचित प्रयोग गर्नसक्ने किसिमको र कृषिक्षेत्रको राष्ट्रिय आयमा हिस्सा क्रमशः घट्दै जानुपर्ने हुन्छ ता कि अन्य क्षेत्रको योगदानमा बढोत्तरी आउन सकोस् जस्ता पक्षहरूको व्याख्या गरेका छन् । तर कृषि क्षेत्रको विकासले अन्य क्षेत्रको विकासमा ठूलो टेवा पुर्‍याउने कुरालाई उनले बिर्सेका छैनन् ।

त्यसैगरी तेस्रो तहलाई विकासको महत्वपूर्ण एवं निर्णायक रूपमा व्याख्या गरेको पाइन्छ । यसमा उत्पादनमुखी लगानीका लागि राष्ट्रिय आयको १० प्रतिशत वा सोभन्दा माथिको थ्रेसहोल्ड आवश्यक हुने एवं राजनीतिक, सामाजिक तथा संस्थागत विकासमा भएको द्रुत प्रगतिले अर्थतन्त्रको आधुनिक क्षेत्रको विकासमा ठूलो सहयोग पुर्‍याउने देखाउँछ । आन्तरिक रूपमा अर्थतन्त्रमा भएको यस किसिमको विकास तथा परिवर्तनले बाहृय जगतमा पनि सकारात्मक सन्देशको कारण अर्थतन्त्रले एउटा तहबाट अर्को आधुनिक व्यावसायिक उत्पादनको तहमा छलाङ मार्दछ । 

यसका लागि समाजको अनुत्पादक खर्चको कटौती, सस्तो तर संस्थागत पुँजीको उपलब्धता, अर्थतन्त्रमा एक-दुईवटा नेतृत्वदायी किसिमका क्षेत्रहरूको विकास तथा सामाजिक एवं आर्थिक पूर्वाधारको लागि वैदेशिक लगानीको उत्सुकता जस्ता पक्षहरू पनि आवश्यक हुने देखिन्छ । चौथोस्तरमा रोष्टोले कुनै अर्थतन्त्रको संरचनात्मक रूपमा आर्थिक–प्राविधिकस्तरमा आउने परिपक्वताको वकालत गरेक छन् । 

रोष्टोले व्याख्या गरेको आर्थक विकास तथा समृद्धिको विभिन्न चरणहरूको अन्तिम चरणमा आमउपभोक्तावादी संस्कृतिको वकालत गरेका छन् । अर्थतन्त्र टिकाउजन्य पुँजीगत तथा अन्य वस्तुहरूको उत्पादनमा संलग्न हुने एवं मानिसहरूको गाउँबाट शहरतिरको बसाइँसराइ अनियन्त्रित तथा धेरै हुने र अर्थतन्त्रको समस्या उत्पादनभन्दा उपभोगमा केन्द्रित हुने देखिन्छ । समाज तथा सर्वसाधारणले सुरक्षा तथा फुर्सदको भुरपुर प्रयोगमा रमाउनेतिर ध्यान दिने भएकाले उच्चस्तरको कल्याणकारी राज्य संयन्त्रको परिकल्ना गरिएको छ । अर्थतन्त्रले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सुरु गर्ने गर्दछ । 

रोष्टोले भनेको जस्तै सबै मुलुकहरूमा विकासको गति, दिशा एवं तरिका एउटै नहुन सक्दछ । प्रत्येक मुलुक आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौगोलिक रूपमा भिन्न तथा विशिष्ट गुण भएकाले तथा प्राकृतिक, मानवीय तथा वित्तीय क्षमतामा भिन्न हुने भएकाले योजना निर्माण तहबाट फरकपना छुट्टिन थाल्दछ । मानवीय स्रोतसाधनको उपलब्धता तथा क्षमता, पुँजीगत साधनहरूको जोहो, पुँजी निर्माण प्रक्रिया तथा प्रविधिमाथिको पहुँचका कारण मुलुकहरूको विकास निर्माण तथा आर्थिक वृद्धिको प्रक्षेपण एवं अन्य मापकमा भिन्नता पाइने गरेको छ । 

त्यसैगरी जनसंख्यको बनाबट, उनीहरूको सांस्कृतिक आधार, धर्म एवं यसले निर्धारण गरेको काम र कामप्रतिको श्रद्धा र लगावजस्ता पक्षहरू पनि विकासका विविध चरणहरू निर्माण गर्ने प्रक्रियामा निर्धारकको भूमिकामा रहने गरेका छन् । मुलुकमा उपलब्ध भएका प्राकृतिक सम्पदाहरूको उचित एवं उत्पादनमुखी प्रयोग तथा यस काममा राज्य तथा यसका विभिन्न निकायको सक्षमता जस्ता कुराले ठूलो अर्थमा विकासका चरणहरू निर्माण गर्ने काममा भूमिका खेलेको पाइन्छ । 

त्यसैगरी कुनै मुलुकको शासन व्यवस्था एवं दलहरू तथा तिनको नेतृत्वमा समयसापेक्ष हुनुपर्ने राजनीतिक नेतृत्वको सही विकास, राज्यद्वारा सर्वसाधारणमा सेवा तथा सुविधाहरूको प्रवाह गर्ने कामका लागि सरकारी संयन्त्रको विकास, सोको परिचालनमा कत्तिको राज्य सफल भएको छ भन्ने कुराले पनि विकासको गति, दिशा तथा परिधिलाई निर्धारण गरिरहेको हुन्छ । 

विभिन्न विद्वान तथा विज्ञहरूको आआफ्नै मतमतान्तर रहे तापनि आजको शाश्वत सत्य भनेको तुलनात्मक लाभको आधारमा तयार पारिएका विविध आर्थिक परियोजना तथा तिनले उत्पादनमा गर्ने सकारात्मक परिणाम कुनै अर्थतन्त्रले सही बाटो लिने कुरामा कसैको दुई मत रहँदैन । मुलुकको प्राथमिकता तथा भूधरातलीय अवस्थिति एवं कूटनीतिको भरपूर एवं फलदायी प्रयोग अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा यसरी प्रयोग गर्ने सकियोस् ता कि स्रोतसाधनहरूको परिचालनको साथै आर्थिक-सामाजिक तथा अन्य पक्षहरूको सकारात्मकता समयसँगै विकास हुँदै जान सकोस् । 

आजसम्मको प्रमाणहरूले के कुरालाई प्रष्ट्याएका छन् भने आर्थिक उन्नति सबैभन्दा पहिलो सर्त दृढ राजनीतिक नेतृत्व तथा दूरदर्शी भिजनसहितको विज्ञहरूको एउटा टिम र सो टिमको सर्वमान्य नै हो । सुशाशन, सुरक्षा, नीतिगत प्रष्टता, संस्थागत विकासको माध्यमद्वारा एक परिपक्व राजनीतिक व्यवस्था, सोच तथा नेतृत्वलेमात्र विकासको सही दिशा, मार्ग तथा गन्तव्य तय गर्न सक्दछ । 


Top