सभामुखको तटस्थता र निष्पक्षताको प्रश्न ?

✍️ प्रा.देवीभक्त ढकाल   POSTED ON : आश्विन ५, २०७८ (७:३५ AM)

सभामुखको तटस्थता र निष्पक्षताको प्रश्न ?

सभामुख जस्तो उच्च पदमा हुने व्यक्ति उच्च नैतिक चरित्रको, विद्वान, विगतको इतिहास स्वच्छ भएको इमानदार, निष्पक्ष, तटस्थ र शालीन मात्र निर्वाचित हुने मान्यता संसदीय प्रजातन्त्रको हुन्छ । सच्चाइ, नैतिक र चारित्रिक शुद्धता प्रजातान्त्रिक शासन व्यवस्थाका अभिन्न आदर्श हुन् । त्यो मान्यता, आदर्श र मर्यादाप्रति समर्पित व्यक्ति सांसद र सभामुख नहुँदा संसदका गतिविधिहरू देश र जनताको हितमा नभएर रमितामा परिणत भए । संसदीय अभ्यासमा जनतालाई लज्जित बनाउँदै आएको संसद अबरुद्ध जस्तो तीतो घटना फेरि किन दोहोरिँदै छ ? बाहुबलले संसदलाई सञ्चालन गर्ने र अबरुद्ध गर्ने दुवै काम संसदीय अनुशासन, मर्यादा र चरित्रविपरीत मानिन्छ । बाहुबलजस्तो लज्जास्पद गतिविधिलाई धर्म मान्ने प्रचलनबाट सत्तारुढ र प्रतिपक्षका नेताहरू मुक्त हुनैपर्छ ।

पार्टी फुटको बीजारोपण आफैं गर्ने, असन्तुष्टि र आक्रोशको थलो संसदलाई किन बनाउने ? आफ्नै अक्षमताले प्रधानमन्त्रीको पद गुम्यो । दोष अर्कालाई थुपारेर संसदमा फेरि खोते थाप्ने ? सभामुख विधि विपरीत चल्मलाउन पाउँदैनन् । प्रजातन्त्रमा विधिविहीनतालाई चुनौती न्यायालयले दिन्छ । नेतृत्वमा सत्य र न्यायको पक्ष कमजोर हुँदा सबैको सबैप्रति आपसी अविश्वास छ । विवादको छिनोफानो गर्ने निकाय न्यायालय हो । फैसलाको प्रतीक्षाको अधैर्यता विधिप्रतिको अविश्वास हो । समस्याको निकास न्यायालय र संवादबाट निस्कन्छ । संसद अबरुद्ध गरेर निस्कन्न ।

लाजको पसारो सदनमा महिला सांसदहरू पुरुषको काँधमा नाँच्दै गर्ने कस्तो विरोध प्रदर्शन ? अश्लीलता र अशिष्टताको भद्दा प्रहसन । सदन र सांसदहरूको चीर हरणको दृश्य । लाग्थ्यो सदनमा फिल्म सुटिङ हुँदैछ । संसद अबरुद्ध गर्नु भनेको देश र समयको दुरुपयोग हो । संसदलाई नियमित र व्यवस्थित गर्ने दायित्व सत्ता पक्ष र प्रतिपक्ष दुवैको हो । सांसदहरूले बुझ्नुपर्ने विषय के हो भने निर्वाचित सांसदहरूको तोकिएको पदावधिको समय, बुद्धि, विवेक जनताले खरिद गरेका छन् । 

जनतालाई बिक्रीवितरण गरेको समयलाई सांसदहरूले र पार्टीहरूले राष्ट्रिय स्वार्थविपरीत आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्न पाइँदैन । सदनलाई पार्टीको र नेताको स्वार्थपूर्तिको थलो बनाउन हुँदैन । सांसदहरूका प्रत्येक काम कारबाहीले देश र जनता लाभान्वित हुनुपर्छ । देश र जनतालाई लज्जित बनाउने सम्पूर्ण क्रियाकलाप अवैध र आपराधिक हुन् । विधि निर्माताले अवैध र आपराधिक काम गर्न मिल्छ ?

सांसदहरू जस्तो देश सञ्चालनको दिशानिर्देश गर्ने मुख्य जिम्मेवारबाट समय, साधन र स्रोतको दुरुपयोग हुन्छ भने देशमा अनियमितता र अव्यवस्थाको जगजगी कति होला ? संसदीय व्यवस्थालाई असफल बनाउन र देशलाई अस्थिरताको बाटोमा हिँडाउन उच्च पदमा नैतिक धरातल कमजोर भएका व्यक्तिहरूको नियुक्तिले मलजल गर्छ । यो अवस्था देश, जनता र प्रजातान्त्रिक वातावरणका लागि दुर्भाग्यपूर्ण हो । सांसदहरूलाई हाक्ने शक्ति सभामुखको निष्पक्ष, तटस्थ रहने गुणका अतिरिक्त नैतिक र बौद्धिक क्षमता हो । अहिलेको समस्या त्यो क्षमताको अभाव हो ।

वर्तमान सभामुखसँग सभामुखमा हुनुपर्ने बौद्धिक, चारित्रिक नैतिकताका आधारभूत विशेषताहरूको न्यूनताले उनको निर्णय क्षमतामा सधैं प्रश्नचिहृन लाग्छ । सभामुख हत्या आरोपित व्यक्ति हुँदा सदनलाई नियन्त्रण गर्न नैतिक र चारित्रिक शक्ति हुँदैन भन्नेकुरा नियुक्ति गर्दा नसोच्नु सम्बन्धित पार्टीका नेताहरूको कमजोरी हो । तत्कालीन पार्टी अध्यक्षको हैसियतले सभामुख सापकोटाको नियुक्तिमा ओली सबैभन्दा दोषी छन् । सदनको अध्यक्षता गर्दा सांसदहरूले सभामुखको अनुहारमा हत्या आरोपितको चित्र देख्ने स्थितिले उनीप्रति सदनका सदस्यहरूको दृष्टिकोण स्वतः नकारात्मक हुन्छ । 

वर्तमान सभामुखमा सदनलाई नियन्त्रित र व्यवस्थित गर्ने चरित्रबल र आत्मबलको अभाव नै मुख्य समस्या हो । बहुमतले लोकतन्त्रमा मनपर्दी गर्ने स्वतन्त्रता हुन्छ भन्ने राजनीतिज्ञहरूको कुत्सित मनस्थिति नै संसदभित्रको बखेडा र द्वन्द्वको कारण र परिणाम हो । विधि र कानुनभन्दा बहुमत शक्तिशाली हुँदैन ।

गैरजिम्मेवार बन्न जति सजिलो छ जिम्मेवार बन्न त्यसभन्दा धेरै कठिन छ । राजनीतिक नेतृत्व नैतिकवान र सक्षम व्यक्तिलाई जिम्मेवारी दिन सधैं किन चुक्छ ? के पार्टीमा निष्कलंकित र योग्य अन्य माननीयहरू थिएन ? आफ्नो व्यक्तिलाई उच्च पद दिने चरित्रले पार्टीमा सक्षम व्यक्तिहरूले उच्च जिम्मेवारी पाउँदैनन् । पार्टी हाक्ने ठेकेदारहरू नै इमानदार, नैतिकवान, निष्पक्ष र सक्षम नहँुदा छनौटमा नैतिकवान व्यक्तिहरू पर्दै पर्दैनन् ।

सभामुख कुनै पार्टीबाट नियुक्त भए पनि उसको पार्टी हुँदैन । सभामुखको शपथ खानु भनेको प्रकारान्तरले पदमा रहुन्जेले दलीय सम्बन्धलाई विच्छेद गर्नु हो । निष्पक्षता र तटस्थताको शक्ति सबैसँग समव्यवहार गर्ने आचरण र क्रियाकलापबाट निस्कन्छ । साझा व्यक्ति बन्न व्यक्तिसँग अन्तरनिहित इमानदारी, तटस्थता र निष्पक्षताको शक्तिको प्रचुरता नै अनिवार्य शर्त हो । अहिले राजनीतिमा तटस्थता, निष्पक्षता मौखिक विषय बने । मौखिक निष्पक्षता र तटस्थताले द्वन्द्व उत्पादन गर्छ । सार्वजनिक पद धारण गर्ने सबैले इमानदारी, निष्पक्षता र तटस्थता प्रत्याभूत गर्नुपर्छ । सभामुख निष्पक्षता र तटस्थताको उदाहरणीय पात्र बन्नुपर्छ । विवेक नहुनेहरू सभामुखको गरिमामय पदका लागि योग्य मानिँदैनन् ।

सभामुखहरूको इतिहासलाई केलाउँदा तटस्थता, निष्पक्षता, नैतिकता र बौद्धिकताका धनी सभामुखलाई मात्र सदन सञ्चालन गर्ने क्षमता र आत्मबल प्राप्त हुन्छ । उच्चस्तरको शालीनता, नैतिकता, शिष्टता, बौद्धिकता, सदाचार, वाकपटुता, सत्यप्रतिको निष्ठा, तटस्थता र निष्पक्षता सभामुख पदका विशिष्ट योग्यता हुन् । यिनै विशेषताहरूले पदमा रहँदा काम गर्ने मनोबल र शक्ति दिन्छ । यी शर्तहरूको अभावमा कुनै पनि नेताको समर्थन र साथले सभामुखको पदको गरिमालाई धान्दैन ।

दलीय संसदको अनौठो पक्ष हो दलहरूबाट निर्वाचित सभामुखको दल हुँदैन । दलहरूसँग विशेष सम्बन्ध हुनै हुँदैन । सभामुख निर्वाचनको प्राविधिक पक्षलेमात्रै बनायो र उसले कुनै दलको नेताको निर्देशनलाई पालना ग¥यो भने सभामुख विवादित बन्छ । विवादहरूलाई व्यवस्थापन गर्न सभामुखले सभामुखको पदीय आचरण र चरित्रमा अडिग भएको प्रमाणहरू सबैले अनुभव गर्न पाउनुपर्छ । यहाँ कुनै पनि पद योग्य, सक्षम र चारित्रिक, नैतिक शक्ति हुने मानिसहरूले पाउँदैनन् । 

योग्यता, नैतिकताले पदलाई कमाण्ड गर्ने व्यक्तिहरूभन्दा पद डिमाढण्ड गर्ने व्यक्तिहरूले कसैको आशिर्वाद, निगाहमा र लगानीमा पद प्राप्त गर्छन् । योग्यहरूले पद प्राप्त गर्ने परिस्थिति नै नहुँदा प्रायः सबै उच्च र जिम्मेवार पदहरूमा अयोग्य व्यक्तिहरू मनोनयन हुने र निर्वाचित हुने हुँदा प्रायःसबै जिम्मेवार व्यक्ति विवादित छन् ।

सभामुखको मात्रै होइन सांसद तथा अख्तियारी प्राप्त सबै पदहरूमा निगाहबाट पदासीन हुनेहरूको मुख्य समस्या हो व्यक्तिद्वारा निर्देशित हुने कि विधिद्वारा निर्देशित हुने ? विडम्बना नियुक्ति विधिले होइन व्यक्तिले गर्छ । प्रजातान्त्रिक व्यवस्थामा सार्वजनिक पदको भूमिका निर्वाह गर्ने क्षमता विधिद्वारा निर्देशित चरित्र हुन्छ न कि व्यक्तिद्वारा निर्देशित ? व्यक्तिको इमानदारी, तटस्थता, स्वच्छता र चरित्रजस्ता गुणहरूमा नियन्त्रणात्मक शक्ति हुन्छ । 

त्यस शक्तिको नितान्त अभाव नै वर्तमान सभामुखको समस्या हो । अहिलेको संसदको समस्या सभामुखको कमजोरी हा । तसर्थ उच्च पदमा निर्वाचित र छनौट हुने व्यक्तिको चरित्र आदर्श हुनुपर्छ । हाम्रो दुर्भाग्य भनौं कि नियति भनौं जिम्मेवार पदमा नियुक्ति हुनेहरूले यसअघि नै नैतिकता, तटस्थता र स्वच्छता लिलाम गरेपछिमात्र त्यो भूमिकामा कसैको कठपुतलीको रूपमा पुग्छन् । कसरी प्रदर्शित हुन्छ तटस्थता र निष्पक्षता ? 

दलहरूसँग सम्बन्धित सबै सांसदहरू टाँगाका घोडा जस्ता भएका छन् । नेताहरूले सबै सांसदहरू र कार्यकर्ताका नवीन सोच र सकारात्मक ऊर्जा नष्ट गरेका छन् । सकारात्मकता र नवीन सोच नभएको नेतृत्वले देश किमार्थ बन्दैन । विकासका विषयहरूमा र विकासका मोडलहरूमा पार्टीहरू र नेताहरूका बीच विगत तीन दशक यता गम्भीर बहस, अन्तक्र्रिया र छलफल किन भएन ? यो नेतृत्वको गम्भीर त्रुटि हो । छलफल, बहस र असन्तुष्टि खाली सरकारको नेतृत्वमा, मन्त्री पदमा र अन्य अबैध आम्दानीसमेत हुने पदहरूको नियुक्तिको भागबण्डामा हुन्छ । विकास त हाम्रा नेताहरूले मौखिक विकास गर्छन् । ढुकुटी रित्याउने र सरकारी सम्पत्तिमा विलासी जीवन कसरी बिताउनेबाहेक जनताको जीवनस्तरलाई कसरी उठाउने भन्ने विषयमा पार्टीका नेताहरू कहिल्यै गम्भीर बनेनन् । नेताहरूले सत्ता र शक्तिको लुछाचुँडीमै जनताको र देशको भविष्य वर्वाद गरे ।

अहिले तटस्थता र निष्पक्षताको याचना गर्ने ओली एण्ड कम्पनी पनि तटस्थता र निष्पक्षताको कसीमा यसअघि असफल प्रमाणितमध्येमै पर्दछन् । इमानदारी, तटस्थता र निष्पक्षताको अभाव नै वर्तमान राजनीतिको मुख्य समस्या हो । नेपाली नेताहरू प्रायः सबैले इमानदारी, निष्पक्षता र तटस्थताका गुणहरूलाई लिलाम गरिसकेका छन् ।

Top