स्वर्गवासी निधिजीलाई कुलप्रसाद कोइरालाको पत्र

✍️ प्रा.डा. कुलप्रसाद कोइराला   POSTED ON : आश्विन ६, २०७८ (७:२६ AM)

स्वर्गवासी निधिजीलाई कुलप्रसाद कोइरालाको पत्र

निधिजी ! जय नेपाल,

‘हम सभ कहुना कजी रहलछी । अपने त सुख में रहैत हयाब ?’ तपाइँ स्वर्गको मानवमस्तिष्कले होइन देवदिमागले बनाएका व्यवस्थामा बडो ठाँटले बीपी, गणेशमान, किसुनजी अनि गिरिजाबाबुसँग चियागफ गरेर मस्तीमा हुनुहोला भन्ठान्छु । हामी जानकी मन्दिरभन्दा पूर्वतिर रहेको सानो बगैंचाका फलैंचामा बसेर प्रजातन्त्र, समाजवाद र आर्थिक व्यवस्थापनका सम्बन्धमा पनि त कुरा गथ्र्यौं नि । त्यसबेला तपाइँहरूका बोलीमा जादु थियो, सम्मोहनको चास्नी थियो । पञ्चायतले डामेका हाम्रा लागि तपाइँ शीतल आषैधि हुनुहुन्थ्यो । तपाइँहरूसँग बसेर कुरा गर्दा अन्तर आनन्दले हामी गमक्क हुन्थ्यौं । पञ्चायतका समर्थकहरू डरले काम्थे या रिसले मुर्मुराउँथे । हामी सबैको शिर ठाडो थियो । 

हुन त जनकपुरका धेरै मान्छे तपाइँका सम्बन्धमा ‘निधिजीमात्रेटा पेपर टाइगर छथ’ भनेर पनि सुनाउँथे मैले कहिल्यै पनि ती कुरामा विश्वास गरिन । दुईतिर बन्दुक भिरेर समाजका शोषक सामन्तका घरमा रहेका कपाली तमसुक जलाउन आफ्नै पितालाई डोरीले बाँधेर पहिले आफ्नै घरमा रहेका सारा तमासुक र कपाली तमासुक जलाएर बाहिर निक्लेको तपाइँको जल्दोबल्दो इतिहासमा मैले स्नान गरिसकेको थिएँ । सरोज कोइरालाको खडेबटैया आन्दोलन र ठाकुरप्रसाद ढुंगानाको दृढ प्रतिज्ञा, राणाको कठोर यातना सहेर पनि प्रजातन्त्रका निमित्त लडेको त्यो लडाइँको इतिहासका झरनाले हामी निथ्रुक्क बनेर पनि गौरवले हाम्रो छाती नाङ्लाभन्दा चौडा हुन्थ्यो ।

हुन त गौरीनारायण डिट्ठा र कृष्णप्रसाद कोइराला जनकपुरमा चर्चित थिए । पछि कोइराला विराटनगर र डिट्ठा जनकपुरलाई कर्मथलो बनाएर बसेका कुरा पनि सुनाउँथे बुढापाकाहरू । तपाइँ सादा जीवन उच्च विचारको प्रतीक हुनुहुन्थ्यो । एउटा सम्पन्न जमिन्दारपुत्र भएर पनि जुन किसिमले तपाइँले गान्धीवादी जीवनशैली अपनाउनुभयो त्यो भने झनै रोमाञ्चक लाग्थ्यो मलाई र म आत्मैदेखि गौरवले अभिभूत बन्थेँ ।

२०४६ सालको जनआन्दोलन हुने निश्चित गरियो । गणेशमानजीको घरआँगनमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तर्राष्ट्रिय प्रतिनिधिसमेत बोलाएर बसेको बैठकले २०४६ साल फागुन ७ गतेदेखि जनआन्दोलन गर्ने भनेर निर्णय ग¥यो । त्यस आन्दोलनमा तपाइँ, मैयाँ भाउजू, शिवधारी, महेश्वरप्रसाद सिंह, डा.रामवरण यादव, वृषेशचन्द्र लाल आदिलाई आन्दोलनभन्दा पहिले नै राजाका मान्छेले जलेश्वर जेलमा लगेर थन्क्याएथे । त्यसै महिनाको फागुन १२ गते मलाई पनि इ.दीपक रञ्जितकारको कमाण्डका प्रहरीले समातेर लगेथे ।

समातेर पुलिस कस्टडीमा चारदिन राखेर पाँचौं दिन जलेश्वर जेलमा पु¥याएको थियो । तपाइँहरू दक्षिणतिर हामी उत्तरतिर राखिएका थियौं । सम्झना त होला निनिधिजी तपाइँलाई पनि । चैत २४ गते राजदरबारअगाडिका घटनाले तपाइँलाई व्यथित गराएछ । महेश्वरप्रसाद सिंहजीले वसन्त गुरुङलाई भन्नुभएछ कोइरालजीलाई पनि लिएर यता आउनुस् । हामी ३८३ जना क्रिमिनल जेलमा थियौं । राजबन्दीका जेलमा ठाउँ नपुगेर हामीलाई यतापट्टि राखेको थियो । त्यस दिन बेलुकाको बिबिसी सुनेपछि तपाइँ धेरै भावुक बन्नुभयो । हामीले कुरा पनि गर्‍यौँ ‘आइ निधिजी बड्ड भावुक भयगेल छथि, राष्ट्रभक्ति सँ ओतप्रोत अभिव्यक्ति निक्ललछल’ । 

त्यस दिन हामी तीन छक परेका थियौं तपाइँका कुराले । हामी त नरहे बाँस नबजे बाँसुरी । मूर्तिचोरको खण्डहर हो दरबार भन्थ्यौं । तपाइँले हामीलाई चुँ गर्न दिनुभएको थिएन । त्यस दिन तपाइँले भने जस्तै मधेसमा छिचिमिरा उम्रेझैँ पार्टी र नेता उम्रेका छन् । मानौं नेपाल वन हो त्यहाँ साउन भदौका वर्षादमा च्याउ उम्रे झैँ प्रान्तीय र जातिवादी दल पलाएका छन् । अहिले कांग्रेसमा भएका पनि देशमा प्रजातन्त्र आएपछि ‘हमर मधेस लोक कहलाग्ता’ अनि के गर्न सक्नुहुन्छ तपाइँ कोइरालाजी ? भनेर मेरो सातो खानुभएको थियो । 

त्यस दिन म तपाइँको राष्ट्रभक्तिका महासागरमा सानु झिँगे माछो बन्ने प्रयत्न गर्दै थिएँ । साँच्चिकै निधिजी अहिले त कुरा नगरौं गाउँगाउँ देश बन्न लागेको छ । वनमाराले पनि सालवृक्षको उचाइको धाक लाउन थालेको देख्छु । पच्चीस गते बिहानै तपाइँले मलाई बोलाएर लक्षण हेर्दा राजाले चाँडै प्रजातन्त्र देलान् जस्तो छ । तपाइँले धनुषाको पार्टी अफिस हेरिदिनुभयो भने राम्रो हुन्छ भन्नुभयो । मैले भनेको थिएँ निधिजी, हजुरले भनेको सबै कुरो मैले मानेको छैन र ? 

अहिले तपाइँलाई सम्झना छ कि छैन मलाई जानकारी भएन । तपाइँले भन्नुभएथ्यो, ‘यो विशेष हो, तपाइँ जागिरे, मेरो पो केही छैन राजनीति गर्छु’ । तपाइँले भन्दा मेरा आँखाबाट झरेका आँसु तपाइँले देख्नुहोला कि भनेर लुकाउन खोज्दा म असफल भएथेँ ।

हो, निधिजी आज महन्त ठाकुरको पनि मधेसवादी राजनीतिक दल छ । आजभन्दा २५ वर्ष पहिले नेपालमा आएर ससुरालाई पिता बनाएर नेपालमा राजनीति गर्न लागेका एकजना महतोले तपाइँका लालबाबु (विमलेन्द्र)लाई हराए । जहाँ क्षेत्र, जात, लेनदेन, जस्ता कुराको आधारमा राजनीति गरिन्छ त्यहाँ वैचारिक दर्शनका आधारमा गरिने राजनीति घस्टिएर मैलो न मैलो चमक सकिएको थोत्रो कपडा जस्तो हुँदोरहेछ । नयाँ चम्किलो लुगा लाउन सबै खोज्दा रहेछन् । जनआन्दोलन सफल भएर २०४६ चैत २६ गते राति हामीलाई जेलमुक्त गर्दा जेलर र अञ्चलाधीशलाई तपाइँले पहिले अरू सबैलाई घर पुर्‍याउनुस् अनिमात्र म, मैयाँ र प्रोफेसर साहेबहरूसँगै जान्छौं भन्नुभएको थियो । 

यो न्याय आज नेपालमा कतै पनि छैन निधिजी । म मात्र हुँ भन्नेको दब्दबा छ । कतै केही भयो भने पनि नैतिक जिम्मेवारी मेरो हो भनेर बोल्ने हिम्मत अहिले त्यो क्षेत्रमा कसैको पनि छैन । निधिजी, तपाइँ राजनीतिक दलमा दृष्टिकोण मिल्नेको एउटा सानो समूह बन्छ र त्यसलाई खेमा भनिन्छ । निन्दकले यसैलाई ग्रुप पनि भन्छन् भनेर बताउनुहुन्थ्यो । अहिले ओली र माधव नेपालबाट त्यो कुरो सबैले छर्लंग हुने गरी बुझेका छन् । 

आज कांग्रेस त्यही खेमा बन्दीमा विभाजित भएर माथिदेखि तलसम्म चिरा परेको छ । हुन त जब गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसको महामन्त्रीबाट राजीनामा दिएथे त्यसको भोलिपल्टदेखि नै नेपाली कांग्रेसमा एक व्यक्ति एक पदको अवधारणा क्रियान्वयन भएको थियो । जब डा.रामशरण महत (चुनाव हारेका)लाई गिरिजाप्रसाद कोइरालाले योजना आयोगको उपाध्यक्ष बनाए अनि किसुनजी र गणेशमानजी उफ्रन लाग्नुभयो । यहीँबाट कांग्रेसको खेमा गुटमा परिवर्तन भएर चिरिन थाल्यो । गिरिजाप्रसादले राजीनामा गरेको खाली ठाउँमा तपाइँ महामन्त्री बन्नुभयो । 

कांग्रेसमा चिरा पर्ने क्रम चाहिँ केन्द्रबाट गाउँ र गाउँगाउँबाट व्यक्तिव्यक्तिका हृदयसम्म पुग्यो । यसलाई मिलाउन कलबलगुडीले पनि सकेन । कलबलगुडीबाट बल हराएर कलमात्र बोकेर फर्केको कांग्रेस आज सुवर्ण र गणेशमान् सभापतिमा उठेको अधिवेशन या मातृका बीपीका बीचमा परेको २००९ साले टक्करका भुँमरीमा परेको छ ।

निधिजी पुत्रले एकोतिष्ट र पार्वण तिथिमा पठाएको अन्नजल सबै पितृले उपभोग गर्दछन् जुनजुनीमा भए पनि तिनलाई मन पर्ने सामग्री बनाएर विश्वदेव र कव्यबाहनले पु¥याउँछन् । जसरी अहिले मनि एक्स्चेन्जले जुनसुकै मुद्रा सम्बद्ध व्यक्तिका खातामा नेपाली मुद्रा बनाएर दिन्छ विप्रेषणका रूपमा । त्यस बेलाका आर्यले मरेका पितृका निमित्त गरेको यो कल्पना सुन्दर छ । निधिजी तपाइँ देशको नेता हुनुहुन्थ्यो । पछिल्ला अवसरमा तपाइँका नाममा सिंगो तराई एक ठाउँमा उभिन्थ्यो । 

आज त्यस्तो टावर पर्सनालिटी जसले सिंगो सग्लो मधेसलाई नेपाल भनिने अखण्ड भूभाग बनाएर मानसिक रूपमा जोडोस् त्यो सम्भावना निकै टाढासम्म पनि देखिँदैन । मरुभूमिमा अणीर पनि वृक्ष कहलिए ‘निरस्त पादपे देशे एरण्योद्रपि द्रुमायते’जस्तो नाइटो नझरेका र जमिन्दारी प्रथाको, जातीय विभेदको, फर्वाड र ब्याकवाडका मनोदलदलबाट माथि उठ्न नसकेकाहरूले चक्रव्युह बनाएर जनतालाई घेरामा हालेको देखिन्छ । निधिजी लामो निष्ठाको राजनीतिक अभ्यास र सुशिक्षित भएर पनि विमल अहिलेसम्म चक्रव्युह तोडेर बाहिर निक्लन सकेका छैनन् । आशीरवाद पठाइदिनु होला ‘यथापिता तथैव पुत्रः परिकल्पनीय’ भनेर हुँदोरहेनछ । 

राजनीति पनि एक प्रकारको युद्ध मैदान नै हो तर उम्दो चरित्र, आकर्षणयुक्त व्यक्तित्व, नैतिक बलको शस्त्रास्त्र, त्याग, निष्ठा र जनविश्वासको आधारभूमिविना राजनीतिको कमाण्डर बन्न सकिँदैन भन्ने अहिलेका धेरै कांग्रेसले बुझेजस्तो लागेन । कुरो नबुझी हाँस्नु, सुन्निएर मोटाएको छु भन्ने ठान्नु जनताको हृदयमा स्थान नबनाई नेता हुँ भन्ने ठान्नु आफूले आफैंलाई धोका दिनु हुँदोरहेछ है निधिजी । सबैलाई सम्झाइदिनुहोला ।

तपाइँहरूले पालन गरेका मूल्यका गोरेटा पुरिन हराउन लागेका छन् । पुरानो मान्छे मर्छ तर संस्कार संस्कृति मर्दैन, ईषत् परिवर्तन र परिष्कारका साथ त्यो नित्य प्रवहणशील नै रहेको हुन्छ । यो संसारका कुनै कुरा स्थिर नहुन सक्छन् । सबै कुराको एक न एक दिन अन्त्य हुन्छ नै । त्यसका निमित्त हामी तयार हुनैपर्छ जस्तो लागेकाले यो पत्र लेखेको हो । तपाइँकै लोकमा पनि त सधैं बस्न पाइँदैन रे । ‘क्षीणे पुण्ये मत्र्यलोकं विशन्ति’ भन्ने कता हो पढेको थिएँ । निधिजी धेरै के लेखौं ? तपाइँलाई पनि नन्दनवागतिर जानुपर्ने होला । अँ साच्ची लठ्ठी टेक्नुहुन्थ्यो छ कि छैन ? अहिले जयनेपाल है त निधिजी ।

उही

तपाइँको 

कुलप्रसाद कोइराला,

मत्र्यमण्डलको बानेश्वर ३१ ।

Top