‘कांग्रेस महाधिवेशन र नेतृत्वको चर्चा’

✍️ गोविन्द बिसी   POSTED ON : आश्विन ६, २०७८ (७:३१ AM)

‘कांग्रेस महाधिवेशन र नेतृत्वको चर्चा’

परिवेशमा बदलिँदो नेतृत्वको बहस र चर्चा प्रायःजसो चलिरन्छ । नेपाली कांग्रेसको राजनीतिक वृत्तमा अहिले आन्तरिक नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । देशभर नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनको सरगर्मी चलिरहेका बेला उम्मेदवारी घोषणा र नेतृत्व चयन हुँदैछ । पार्टीको सांगठनिक संरचनाको बलियो आधारशीला वा मेरुदण्ड मानिने सबैभन्दा तल्लो तहमा वडादेखि नयाँ नेतृत्व चयनसँगै जिम्मेवारी हस्तान्तरण प्रक्रिया गरिँदैछ । 

वडा अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरू स्थानीय तहमा पालिका अधिवेशन, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशनमा सहभागि हुने र नेतृत्व चयन प्रक्रियामा प्रत्यक्ष संलग्न हुनेछन् । त्यस्तै, केन्द्रीय नेतृत्वका लागि मताधिकार पाउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्न वा छान्न क्षेत्रीय प्रतिनिधि निर्णायक हुनेछन् । 

कांग्रेस वृत्तमा महाधिवेशनको सरगर्मी चलिरहँदा विभिन्न जिल्लामा युवापंक्तिले नेतृत्व तहमा अग्रसरता लिन थालेको विषयले यतिबेला चर्चाले पाइरहेका छन् । पार्टीको नेतृत्व छनोट प्रक्रियामा अत्यन्तै प्रभाव राख्ने प्रारम्भिक चरणको अधिवेशनबाट कतिपय स्थानमा अधिकांश युवाहरू वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको परिणाम हेर्दा २५ वर्षमुनिकै युवाहरू पनि कांग्रेसको स्थानीय तहअन्तर्गतको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको झण्डै ६० प्रतिशत हिस्सा ४० वर्षभन्दा कम उमेरका नेताहरूले ओगटेका छन् । 

हालसम्म सम्पन्न वडा तहको अधिवेशनका क्रममा सर्वाधिक चर्चामा आएका केही प्रतिनिधिमूलक घटनालाई हेरौं । जस्तैः दैलेखको दुल्लु नगरपालिका वडा नम्बर–३ बाट वडा सभापतिमा १९ वर्षीया किशोरी स्वस्तिका महत निर्वाचित भइन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २१ वर्षीया पूजा फुयाँल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित भइन् । त्यस्तै, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२ बाट जिल्लामै सबैभन्दा कम उमेरका हलिम खान १८ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भए । 

तनहुँको म्याग्दे गाउँपालिका-५ का १९ वर्षीय जुपिटर वाग्ले नेपाली कांग्रेसको कान्छो क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए, सल्यानको बनगाड कुपिन्डे नगरपालिका–७ को वडा कार्यसमितिको उपसभापतिमा सुसन केसी निर्वाचित भए । सार्वजनिक सञ्चारमाध्यमबाट चर्चामा आएका यी केही प्रतिनिधिमूलक घटनाहरू अध्ययन र विश्लेषणका विषय बन्न सक्दछन् । 

त्यसैगरी, प्युठान जिल्लाबाट बिएस्सी फिजिक्स पढ्दै गरेकी २२ वर्षीया प्रतिभा पौडेल र कास्कीबाट २५ वर्षकी इन्जिनियर विद्या बराल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरूको रूपमा विजयी भएका छन् । अधिकांश विद्यार्थी राजनीतिमा सक्रिय युवाहरू कांग्रेसको स्थानीय अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । यसबाट के बुझ्न सकिन्छ भने, युवाहरूको नेपाली राजनीतिमा प्रवेश र आकर्षण बढ्दो छ । 

नेपाली राजनीतिमा युवाको आकांक्षा बढ्दै जानुले व्यवस्थाभन्दा अवस्था र नेतृत्वको कार्यशैलीप्रतिको वितृष्णा र अविश्वास हो । अहिलेको युवा पिढीले पुस्तान्तरण मात्रै होइन, नेतृत्वबाट दृढ संकल्पसहित परिवर्तन र रूपान्तरणको मार्गदिशा खोजिरहेको छ । तर, युवा नेतृत्व भनेरमात्रै सबै उपलब्धिको रक्षा र सम्मान हुँदैन । त्याग, तपस्या र संघर्षमय इतिहास बोकेका पुराना नेताकार्यकर्तालाई पन्छाएर अघि जानु हुँदैन ।

कांग्रेसको केन्द्रीय नेतृत्व तहमा ६० देखि ७५ वर्ष उमेर समूहका नेताहरू फेरि पनि गुटउगुट सिर्जना गरी नेतृत्व सम्हाल्ने होडबाजीमा छन् । बीपी कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको हिमायती कांग्रेसभित्र विभिन्न गुटका हाँगाहरू झांगिँदैछन् । 

यो अवस्थामा एकातिर राष्ट्रिय राजनीतिको मूलप्रवाहमा एजेन्डा स्थापित गर्न आन्तरिक चुनौती छ, अर्कोतिर नेता कार्यकर्तामा भावनात्मक एकता, सद्भाव र मेलमिलाप बिग्रँदै जाने देखिन्छ । नेपाली कांग्रेसको विधानले दिएको भन्दा द्इै वर्ष बढी अर्थात् ६ वर्षसम्म कांग्रेसको नेतृत्व सम्हाल्दा महाधिवेशन हुने नहुने आशंकाका बीचमा सुरु भएको छ । अझैसम्म क्रियाशील सदस्यता विवाद टुंगोमा लाग्न सकेको छैन । नेपाली कांग्रेसको विधानमा सदस्यता प्राप्त गरेको एक वर्ष पुगेपछि क्रियाशील सदस्यता लागि आवेदन दिन पाउने व्यवस्था र प्रत्येक ६ महिना सदस्यता विवरण अद्यावधि गर्नुपर्ने प्रावधान छ यो कार्यान्वयन हुन सकेन । 

पार्टीका भातृ तथा शुभेच्छुक संस्था विधानतः समयमै विस्तार हुन सकेनन् । दशौं वर्षदेखि तदर्थवादमा चलेका भ्रातृ संस्थाको अधिवेशन गराउनसमेत अग्रसरता देखाएनन् । आफैं अधिवेशन गर्न भ्रातृसंस्था स्वायत्त छैनन् । पार्टी नियन्त्रणले थिचिएका नेविसंघ, तरुण दललगायत भ्रातृ संस्था अहिले नेतृत्वको निगाहमा प्रत्येक ६ महिना म्याद थप्दै चलेको स्थितिमा छन् । 

पार्टीलाई चलायमान बनाउने विभागहरू पार्टी सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिँदासम्म गठन भएनन् । आधाजसो विभाग कार्यकाल सकिएर महाधिवेशनको तिथि घोषणा भइसकेपछि गठन भए तर विवादका कारण तिनले पनि काम गर्न सकेनन् । स्वतन्त्रता, समानता, पहिचान, समावेशीता, समन्याय, मानवअधिकार, लोकतन्त्र, समाजवाद जस्ता वैचारिक एवं सैद्धान्तिक अवधारणाहरूले राजनीतिक, सामाजिक र आर्थिक क्रान्तिका माध्यमबाट परिवर्तनको दिशाबोध गर्‍यो । 

यी अवधारणालाई आत्मसात गर्दै सात दशकभन्दा लामो गौरव र संघर्षमय राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेस महाधिवेशनको संघारमा आइपुग्दा राजनीतिक असन्तुष्टि र प्रतिस्पर्धालाई द्वन्द्व र विभाजनबाट होइन, लोकतान्त्रिक विधिबाट समस्या हल गर्ने अठोट लिएर अघि जानु कांग्रेसका लागि उपयुक्त मार्गदिशा हुन सक्दछ । यहाँ भावी नेतृत्वमा आवश्यक केही गुण र विशेषताको चर्चा गरौं :

विश्वासयोग्य, क्षमतावान नेतृत्व : 

वैचारिक रूपले आत्मनिर्भर नेतृत्व संगठनमा चाहिन्छ । विश्वासिलो, भरोसायोग्य, सक्षम नेतृत्वका लागि उसको उमेर, अनुभव, समय, योग्यता र योगदानमा भरपर्छ । नेपाली कांग्रेसको महाधिवेशनमा सबै तहका संगठनात्मक संरचनामा नेतृत्वका आकांक्षी पनि धेरै छन् तर, कार्यक्षमताको मूल्यांकनका आधारमा व्यवस्थापन गर्नुपर्ने अवस्था छ । कांग्रेसलाई सम्पूर्ण नेपालीको विश्वासयोग्य र भरोसायोग्य बनाउन क्षमतावान्, ऊर्जावान्, गतिशील र वैचारिक नेतृत्व चाहिन्छ । केही अनुभव, कुशलता र दक्षता हासिल गरेको नेतृत्वलेमात्रै सही मार्गदिशामा लैजान सक्दछ । जिम्मेवारी लिनु सरल विषय होइन, यो बौद्धिक शक्ति, सामथ्र्य र व्यावहारिक दृष्टिकोणले महŒवपूर्ण मानिन्छ । 

चुस्तदुरुस्त संगठन :

सही ठाँउमा सही मानिसको व्यवस्थापन भएमात्रै पार्टी तथा संगठनलाई चुस्तदुरुस्त राख्न सकिन्छ । पार्टी संरचनालाई वैज्ञानिक र प्रभावकारी बनाउनु आजको आवश्यकता हो । त्यसैले, नेतृत्वमा निर्णय गर्न सक्ने क्षमता, इच्छाशक्ति, डर व्यवस्थापन, भावनात्मक विकास, दीर्घकालीन सोच, लक्ष्य निर्धारण, तथ्य वा विषयगत ज्ञान, अध्यननशील, सामूहिक कार्य, वक्तव्य वा तार्किक क्षमता आदि चाहिन्छ ।

एजेण्डा केन्द्रित : 

नेपाली कांग्रेसले शान्ति र संविधान दिएर देशको राजनीतिक नेतृत्व सम्हाल्यो । संविधानसभा निर्वाचन सम्पन्न गरी ३ करोड नेपालीलाई अधिकार सम्पन्न बनाइसकेको कांग्रेसको अबको लक्ष्य विकास र समृद्धि हो । विकास निर्माण र समृद्धिको लक्ष्य हासिल गर्न कांग्रेसका लागि अवसर र चुनौती दुवै छ । नेपालमा आजसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेसले सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत र रक्षार्थ भूमिका खेल्नुपर्ने अवस्था छ । राजनीतिक परिवर्तनको मूलधारबाट दिगो शान्ति, स्थायित्व र आर्थिक क्रान्ति सिर्जना गरेर विकासशील राष्ट्रको रूपमा अघि बढाउने लक्ष्य कांग्रेसका सामु चुनौती छ ।

कार्यशैलीमा सुधार :

राजनीतिक दल नीति, विधि र पद्धतिमा चल्न जरुरी छ । विभिन्न समय भएका सहमति, सम्झौता र परिवर्तनलाई जीवन्त राख्नु जरुरी छ । आन्तरिक रूपमा पटकपटक विभाजन र एकताले जनताको जनमतको रक्षा हुन नसकेको आलोचनात्मक हुन थालेका छन् । त्यसैले, नेतृत्वशैलीको सुधार र विकास गरी तदनुकूल पार्टी गतिविधि अघि बढाउनुको विकल्प छैन ।

राजनीतिक दलले आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक गतिविधि अघि नबढाउँदासम्म राज्यका अन्य गतिविधिहरू अघि बढ्ने सम्भावना छैन । तसर्थ, राजनीतिक दलले अगुवाइ गर्ने, राज्यका अन्य निकायहरूलाई पनि समयसापेक्ष आफ्ना गतिविधि अघि बढाउन प्रेरित गर्ने कार्यलेमात्रै समग्र राज्यको लोकतन्त्रको रक्षा गर्न सम्भव हुनेछ र समाजवादी लोकतन्त्र स्थापना गर्न सम्भव हुनेछ । 


Top