नसरोस् महाधिवेशन

✍️ शान्तिकृष्ण अधिकारी   POSTED ON : आश्विन ७, २०७८ (७:४७ AM)

नसरोस् महाधिवेशन

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको देशभरका वडा कार्यालयहरूका अधिवेशन आजसम्म समाप्त भइसक्नुपर्ने थियो । तेह्र जिल्लाका क्रियाशील सदस्यहरूको नामावली अझै प्रकाशित हुन बाँकी छ भने असोज ५ गतेका लागि तोकिएका वडाहरूमध्ये अधिकांशका सम्पन्न भइसके भने कुनै कुनैमा चल्दैछन् । वडा तहका अधिवेशनहरूले नेपाली कांग्रेसका तल्ला तहका कार्यकर्तामा निकै हलचल ल्याएको छ र कांग्रेसीहरूमा ऊर्जा थपेको अनुभव गरिँदैछ ।

फरक–फरक वडाका अधिवेशनहरूले नेपाली कांग्रेसको आन्तरिक जीवनमा फरक-फरक खालका अनुभूति दिलाएको पाइन्छ । कुनै वडाका सहमतिपूर्वक सम्पन्न अधिवेशनले केन्द्रीय तहका नेताहरूलाई समेत पाठ पढाउन सफल भएका छन् भने कुनै वडाका अधिवेशन केन्द्रीय गुटबन्दीमा फसेर आपसमा झगडाको बिउ रोपी जनस्तरमा नेपाली कांग्रेसलाई झन् कमजोर बनाउने दिशामा पनि अग्रसर भएको पाइयो । केन्द्रीय नेताको दौराको फेर नसमाती आफ्नो राजनीतिक भविष्य नदेख्ने जिल्ला र क्षेत्रका नेताहरूले विग्रह ल्याएका कारण कैयौं वडाका अधिवेशनहरू फोहोरी राजनीतिक खेलको भासमा भासिन पुगेको पनि पाइयो ।

युवाहरूका पक्षमा एक प्रकारको लहर नै ल्याएको छ वडा अधिवेशनले । १९ वर्षका कलिला कार्यकर्ता पनि वडा सभापतिमा चयन भएर सक्षम नेतृत्व दिन अघि बढ्नु कांग्रेसका लागि अत्यन्त सुखद् परिणाम हो । १९ वर्षका, २२ वर्षका, २५ वर्षका महिला वडा तहका नेतृत्वमा स्थापित हुनुले नेपाली कांग्रेसलाई सबैको पार्टी हो भन्ने आभाष दिलाउन सफल भएको छ । पढेका पनि नेता बनेका छन्, नपढेका पनि सभापति भएका छन् । बाहुन क्षेत्री पनि चुनिए, दलित पनि निर्वाचन जित्न सफल भए । 

जनजाति पनि आएका छन्, मुसलमान पनि सहभागी बनेका छन् । अर्थात्, सबै जातजातिको पार्टी नेपाली कांग्रेस हो भन्ने प्रमाणित हुन पुगेको देखिन्छ । सबैभन्दा महŒवपूर्ण कुरा के देखायो भने नेपाली कांग्रेस बुढाहरूको पार्टी हो भन्ने दोष थियो, त्यसलाई होइन भनेर चिर्दै यो सबै उमेरका मानिसहरूको साझा थलो हो भन्ने देखायो ।

अधिवेशन हुन बाँकी वडाहरूमा चाँडोभन्दा चाँडो अधिवेशन सम्पन्न भई नगर, गाउँ, क्षेत्र आदिको अधिवेशन समयमै सम्पन्न होस् भन्ने चाहना अधिकांश कार्यकर्ताको रहेको पाइयो तर कतिपय जिल्लाका क्रियाशील सदस्यहरूको नामावली अद्यापि प्रकाशित नहुँदा भने खिन्न हुने गरेका छन् । नेताहरूका स्वार्थका कारण कार्यकर्तामा जागेको उत्साह नमरोस् भन्ने कामना गरिरहेका कार्यकर्ताहरू वडा अधिवेशनमा सहभागी भएका पाइन्थे । डडेल्धुरा घटनाको सर्वत्र चर्चा हुने गरेको र त्यस्तो कतै नहोस् भन्ने कुरामा सबै एकमत देखिन्थे । 

कतिपय कुरामा पार्टीको केन्द्रीय नेतृत्वलाई अनावश्यक आरोप लगाइएको पनि होला तर कतिपयमा भने अचम्म लाग्नेगरी नचाहिँदो काम भएको पनि देखियो । क्रियाशील सदस्यहरूको वडा भरिको नामावली वेभसाइटमा राखिसकेपछि आफू पक्षीय कार्यकर्ताको मागका आधारमा पटकपटक नाम थप्ने गरेको देखियो । असोज पाँच गते मतदाता सूची प्रकाशित गरिसकेपछि र उम्मेदवारहरूको नामावली प्रकाशित गरिसकेपछि पनि पार्टीको केन्द्रीय कार्यालयबाट थप क्रियाशील सदस्य भन्दै पठाउने गरेको देखियो । जसरी भए पनि सौहार्दपूर्ण तबरमा अधिवेशन सम्पन्न गर्न प्रयत्नशील रहनुपर्ने यस्ता क्रियाकलापले बखेडा सिर्जना गरेका घटनाहरू देखिए ।

यसबाट प्रष्टरूपमा के देखियो भने नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व संवेदनशील हुने हो भने विनाविवाद देशभर वडा तहका अधिवेशनहरू सम्पन्न हुनसक्ने रहेछन् । केन्द्रले नचाहने हो भने तल्लो तहमा अनावश्यकरूपमा त्यति धेरै किचलो नहुने रहेछ । वडा तहका कार्यकर्ताको चाहना निर्विवाद अधिवेशन सम्पन्न गरौं भन्ने हुने रहेछ तर क्षेत्र, जिल्ला र केन्द्रका नेताहरूका चलखेलका कारण वडा तहमा झगडा पर्ने रहेछ ।

निर्विरोध रूपमा अधिवेशन सम्पन्न गरेका वडाहरूमा एकप्रकारको बेग्लै उत्साह देखियो । स्थानीय तहमा हुने अबको वडाको निर्वाचन नेपाली कांग्रेसबाहेक कसैले जित्दैन भनेर फुरफुर भएका देखिन्थे । जहाँ निर्वाचन भयो, त्यहाँका कार्यकर्ताहरू भने यो फुट आजका लागिमात्रै होस्, भोलिदेखि सबै मिलेर जानुपर्दछ भन्ने गर्दथे । अर्थात्, नेपाली कांग्रेसको वडा तहको नेतृत्व चयन गर्नु मात्रै उनीहरूको लक्ष्य होइन कि उनीहरूको मूल लक्ष्य आगामी स्थानीय निर्वाचन हो भन्ने प्रष्टै देखिन्थ्यो ।

वडा तहका अधिवेशनहरूले एउटा छुट्टै प्रकारको उत्साह देखिएको छ कांग्रेस कार्यकर्ताहरूमा । साढे पाँच वर्ष कट्दा पनि हुन नसकेको महाधिवेशन र नेपाली कांग्रेसको वैधानिकतामाथि आँच आउँदछ कि भनेर आत्तिएका कार्यकर्ताहरूमा रौनक छाएको छ । अब यसलाई कुनै पनि हालतमा सार्ने, बिथोल्ने र खलल पार्ने काम गर्नै नहुने देखिएको छ । केन्द्रका नेताहरूले उत्साहलाई पुनः नैराश्यमा बदल्ने हुन् कि भन्ने चिन्ता सर्वत्र छाएको पाइन्छ ।

भ्रातृ संस्थाहरूको समयमै अधिवेशन नभएको परिणाम पनि नेपाली कांग्रेसको अधिवेशनमा झल्किएको छ । नेपाली कांग्रेसको नर्सरी मानिने नेपाल विद्यार्थी संघको अधिवेशन समय समयमा हुँदै आएको भए १९ वर्षदेखि ३२ वर्षसम्मकाहरू कांग्रेसको नेतृत्वमा आउने सम्भावन निकै कम हुन्थ्यो । जोश, जाँगर उत्साह भएका विद्यार्थी पाको संगठन कांग्रेसको भन्दा नेविसंघकै संगठनमा क्रियाशील हुन रूचाउँदथे । आफू त्यहीँ खारिएर माथिल्लो संगठनमा पुग्नु नै उनीहरूको ध्येय हुन्थ्यो तर नेविसंघबाट प्रशोधित हुँदै कांग्रेसको नेतृत्वमा पुग्ने अवसर उनीहरूले पाएनन् । त्यसैले कलिलो उमेरमै सोझै मातृसंस्थामा प्रतिस्पर्धा गर्न उनीहरू बाध्य भएको देखिन्छ ।

३२ वर्षभन्दा माथिकाहरूले क्रियाशील हुने संगठन नेपाल तरुण दल पनि छ तर यसको पनि महाधिवेशन हुन नसक्दा कांग्रेसका युवाहरू खारिने ठाउँको अभाव हुँदै गएको छ । नेपाली कांग्रेसको महाधिवेशनमा यसको प्रभावले गर्दा ठूलै चाप पर्न गएको छ । बुढा नेताहरूको बहिर्गमनको वा अभिभावकत्वको जोडतोडका साथ माग उठ्नुमा यो प्रमुख कारणका रूपमा देखिएको छ ।

अर्को महŒवपूर्ण पाटो के देखियो भने नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या दोब्बर बनाउने अभियानमा जो कोहीलाई सदस्यता प्रदान गरियो । कांग्रेसको नेतृत्व हासिल गर्ने अभिलिप्साले गर्दा एउटै परिवारका सबैलाई सदस्य बनाउने गरेको तर कुनै परिवारकालाई एउटा सदस्यता नदिने गरेको पनि देखियो । कांग्रेसको संगठनमा माखो मार्न नसक्नेले सदस्यता लिएको तर वर्षौंदेखि सक्रियले नपाएको पाइयो ।

त्यस्तै नेपाली कांग्रेसको चारतारे झण्डाको अर्थ नबुझेका हजारौंले क्रियाशील सदस्यता लिएका छन् । नेपाली कांग्रेसको सिद्धान्त र आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवाद हुन् भन्ने नजानेका हजारौं क्रियाशील सदस्य बनेका छन् । यो कुनै नौलो र अचम्म मान्नुपर्ने कुरा होइन तर महाधिवेशनपछि आउँने नेतृत्वले व्यापकरूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी सबैलाई नेपाली कांग्रेसका बारेमा बुझाउनु अत्यावश्यक छ ।

आखिर ढिलो चाँडो नेपाली कांग्रेसको महाधिवेशन अब सम्पन्न हुने निश्चित भएको छ । नेतृत्व र नेतागणले ख्याल गर्नुपर्ने के छ भने यो महाधिवेशनलाई कांग्रेस सुदृढीकरणको महाधिवेशन बनाई जति छिटो सम्पन्न ग¥यो, नेपाली कांग्रेस उति सबल हुन्छ । विवाद खडा गरी, अझ संस्थापन पक्षका कारण नै महाधिवेशन जति ढिलो हुँदै गयो नेपाली कांग्रेस त्यति नै कमजोर हुँदै जान्छ । मंसिरबाट महाधिवेशन जति पर धकेलिन्छ, राष्ट्रिय तहका निर्वाचनहरू त्यति नै नजिकिँदै जान्छन् ।

महाधिवेशनबाट निर्वाचन जति नजिक हुन्छ, महाधिवेशनको प्रभाव त्यति नै बढी हुन्छ । सहमतिमा अधिवेशन सम्पन्न भएका ठाउँहरूमा सकारात्मक प्रभाव पर्दछ र चुनाव भएका ठाउँहरूमा नकारात्मक प्रभाव पर्ने कुरामा कुनै शंका गर्नु पर्दैन । यति साधारण कुरा कांग्रेसका नेताहरूलाई सम्झाइरहनु पर्दैन तर के गर्दछन् हेर्दै जाऔं । 


Top