पत्रकारितामा शिक्षितहरूको वर्चस्व

✍️ रिसव गौतम   POSTED ON : आश्विन ७, २०७८ (७:५२ AM)

पत्रकारितामा शिक्षितहरूको वर्चस्व

पत्रकारिताको विश्व इतिहास धेरै पुरानो भए पनि नेपाली पत्रकारिता उति पुरानो होइन् । युरोप तथा अमेरिका जस्ता विकसित मुलुकहरूमा ४-५ सय वर्षअघिदेखि पत्रकारिता क्षेत्रको विकासक्रम सुरु भयो । यद्यपि नेपालमा पत्रकारिता जगत एक शताब्दीभन्दा धेरै पुरानो होइन । विश्वविद्यालय स्तरमा नेपालमा विसं २०३३ सालदेखि त्रिविअन्र्तगत रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पठन सुरु भएको हो । तर पनि नेपालमा पत्रकारिता क्षेत्रको संस्थागत विकास हुन थालेको भने २०४६ सालको राजनीतिक परिवर्तनपछि नै हो । 

खासगरी पत्रकारिता क्षेत्रमा संघन रूपमा अध्यापन सुरु हुन लागेको २०६० सालदेखि हो । त्यसपछि भने नेपाली पत्रकारिता जगतले व्यावसायिकता एवं संस्थागत विकासको जग बसाल्ने यत्न गरिरहेको छ । यद्यपि पत्रकारिताको क्षेत्रले आफूलाई संस्थागत विकास गर्दै लैजाने क्रममा अनेकन बाधा अड्चन तथा चुनौतीहरू झेलिरहेको देखिन्छ । करिब दुई वर्षयतादेखि विश्वभर फैलिएको कोभिड-१९ अर्थात् कोरोना भाइरसको महामारीले सबैभन्दा बढी असर मिडिया क्षेत्रमा परिरहेको छ । 

यसबीच नेपालमा पनि थुप्रै प्रकाशन गृहहरू बन्द भइसकेका छन् । धेरै प्रकाशन गृह आर्थिक अभावको चपेटा झेलिरहेका छन् । धेरै पत्रकारहरूले रोजगारी गुमाएका छन् । पत्रकारिता पेशा अपनाउनेहरू नै आर्थिक समस्याका कारण वितृष्णाका सिकार भइरहेका छन् तर यसबीच डिजिटल मिडियाले फड्को मारिरहेको छ । पेपरलेस भएका कारण कम खर्चिलो हुँदा र सूचना प्रविधिको उपयोग अचाक्ली बढिरहँदा नेपालमा डिजिटलमा आधारित मिडियाहरू फष्टाउन थालेका छन् । अवश्य पनि त्यसले एउटा सकारात्मक छनक दिएकै छ । 

यद्यपि आमरूपमा पत्रकारिता आर्थिक हिसाबले जोखिमको पेशा भएकाले पनि यस क्षेत्रमा अध्ययन गर्न चाहने, भविष्य खोज्न चाहने पढैया युवायुवतीहरूको संख्या बढ्न सकेको छैन । बरु यस क्षेत्रमा राजनीतिमा लागेर बिखलबन्दमा परेका बेरोजगारहरू बढिरहेका छन् । तिनीहरूले पत्रकारिताको हुर्मत लुटिरहेका छन् । यस क्षेत्रको प्रगति उन्नतिको लागिभन्दा उनीहरू आफ्ना राजनीतिक अभिष्ट पूरा गर्ने कडीका रूपमा यस क्षेत्रलाई उपयोग गरिरहेका छन् । खासगरी पत्रकार महासंघमा पनि उनीहरूको गुणात्मकभन्दा संङख्यात्मक दबदबाका कारण यस क्षेत्रलाई उनीहरूले आपूmअनुकूल नचाइरहेका छन् । 

यहाँ पत्रकारहरू धेरै भए, मिडियाहरू धेरै भए भन्ने पनि सुनिन्छ तर असली पत्रकारहरू जो पत्रकारिताको पेशागत मर्यादामा रहेर काम गरिरहेकाहरूलाई वस्तुनिष्ट ढंगले छुट्याउने हो भने पत्रकार धेरै भएका छैनन् । सरोकारवाला निकायले त्यसलाई छुट्याउन सक्नुपर्छ । समयसापेक्ष कानुन र आचारसंहिता ल्याइनुपर्छ । अन्यथा यस पेशाप्रति नयाँ पढैया पुस्ताले नजरसम्म नलगाउने स्थीति बन्न सक्छ । शिक्षितहरूको आर्कषणको थलो यो नबन्न सक्छ । संविधानले पत्रकारिता गर्न जो कसैलाई अधिकार दिएको छ तर विधि र विधान, अचारसंहिता, पेशागत मर्यादा र नैतिकता सबैले देखाउन सक्नुपर्छ । त्यो देखाउने हिसाबको अनुगमन हुनैपर्छ । 

पत्रकारिता राज्यको चौथो अंग हो । समाजको पहरेदार र सूचनाको संवाहकको रूपमा पत्रकारले काम गर्न सक्नुपर्छ । यसकारण पत्रकारितालाई समाजको ‘वाच डग’ का रूपमा हेरिन्छ । समाजको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिकलगायत समग्र आयाममा परिवर्तन आउन पत्रकारिता क्षेत्रको अहम भूमिका हुन्छ । 

विकसित मुलुकहरूमा समाजका सबैभन्दा शिक्षित र बौद्धिक वर्गहरू पत्रकारितामा सग्लन देखिन्छन् । पत्रकारिता पनि अत्यन्त खोजमूलक, तथ्यपरक र विश्लेषणात्मक हुने गरेका दृष्टान्त छन् । आजको अमेरिका, युरोप, जापान वा चीनको पत्रकारिता हेनुहोस् ती अत्यन्तै खोजमूलक एवं रचनात्मक हुन थालका छन् । सिर्जनात्मक एवं बौद्धिकतालाई रुचाउनेहरू त्यहाँ पत्रकारितामा आइरहेका छन् । 

न्यूर्योक टायम्स, फोर्स म्यागेजिन, बिबिसी-सिएनएन जस्ता विश्वप्रसिद्ध मिडियाले दिने विश्व हल्लाउने अनुसन्धानमूलक खबरहरू बाहिर ल्याइरहेका हुन्छन् । उनीहरूको पत्रकारिताले समाज, राष्ट्र र अन्र्तराष्ट्रिय जगत बुझ्न महत्वपूर्ण र सजिलो बनाइरहेको हुन्छ । यसरी विश्व परिवेशलाई नियाल्ने हो भने पत्रकारिता सबैभन्दा बौद्धिक र सम्मानित पेशाको रूपमा विकसित भएको देखिन्छ । तर, नेपाल, भारत, बंगलादेशलगायत आर्थिक विकास र सगम्र समृद्धिमा केही कमजोर तर उदार लोकतन्त्र भएको मुलुकमा मिडियाहरू व्यवस्थित हुन सकेका छैनन् । मिडियाहरू दुरुपयोग हुने परिपाटी यस्ता मुलुकहरूमा विकसित भइरहेका छन् ।

बढ्दो पाखण्डपन :

नेपालको पत्रकारिता जगतमा नयाँ रूपमा पाखण्डपन देखापरेको छ । खासगरी २०६० सालपछि पत्रकारिता क्षेत्रमा विश्वविद्यालयस्तरमा पत्रकारिताको विषयगत अध्ययन गरेका जनशक्तिहरू थपिएका छन् । त्यसरी पत्रकारितालाई नै विषय बनाएर उच्च अध्ययन गर्नु अलि अलि होइन, धेरै राम्रो काम हो तर त्यसरी अध्ययन गर्दैमा जो कोही वरिष्ठ पत्रकार वा विशेष पत्रकार हुने होइन । मानिसलाई कर्मले नै महान् बनाउने हो । अध्ययन, स्वअध्ययन आफ्नो ठाउँमा छ । त्यसको यथोचित मूल्यांकन समाज वा राष्ट्रले गर्छ र गर्नुपर्छ । किनकि डिग्रीको सम्मान देशले गरेन भने आखिर पढ्नुको अर्थ नै के हुन्छ र ? 

तर, पत्रकारिता विषय लिएर पढेकै कारण म विशेष हुँ अरूले के जानेको छ र भन्ने ठान्नु झन् मुर्खतापूर्ण हो । हिजोसम्म पत्रकारिता तालिमका आधारमा, अनुभवका आधारमा, विशिष्ठ कर्मको आधारमा चलिरहेको थियो । अहिले पनि नेपाली पत्रकारिताको मूल जग त्यही अनुभवी एवं पुराना सिर्जनशील-कर्मशील पत्रकारहरू नै हुन् । उनीहरूले नै नेपाली पत्रकारिताको जग बसाएका हुन् ।

पत्रकारिता वास्तम्वमा तालिम, अध्ययन, स्वअध्ययन, अनुशासन र विशिष्ठ चाहना एवं मिहिनतका आधारमा गर्न सकिने विषय हो । पत्रकारित गर्न कुनै घनिभूत विश्वविधालयको अध्ययन अनिवार्य चाहिने विषय होइन । सारा विश्व जगतमा त्यो आज पर्यन्त पनि चलिरहेको छ । किनकि पत्रकारिता मानवीय जीवनका हरेक विषयहरूसँग जोडिन्छ । त्यसकारण कुनै पत्रकार विश्व विद्यालयमा पत्रकारिता पढेकै आधारमा अब्लल हुन्छ भन्ने हुँदैन । फेरि आजको जमानमा भनेको स्पेसलाइजेसनको जमाना हो । 

कुनै विषयमा विषयगत ज्ञान भएकाहरू सो विषयको पत्रकार हुँदा उसले अलि बढी गहिराहीमा पत्रकारिता गर्नसक्छ । जस्तो कि वर्षांै कलाकारिता गरेर कोही व्यक्ति पत्रकारितामा आयो भने उसले कला बिटमा अलिकति गहिराइमा पत्रकारिता गर्नसक्ला । त्यसैगरी अर्थशास्त्र वा वाणिज्यशास्त्र पढेको व्यक्ति पत्रकारितामा आउँदा अवश्य पनि उसमा व्यावसायिक ज्ञान, व्यवस्थापन र वित्तीय ज्ञान बढी हुन्छ र उसले आर्थिक पत्रकारिता राम्रो गर्न सक्छ । 

जस्तो कि नेपालमा आर्थिक अनलाइनहरू वा आर्थिक दैनिक पत्रिकाहरूमा धेरैजसो अर्थशास्त्र वा व्यवस्थापनमै अध्ययन गरेकाहरू छन् । उनीहरूले विषयगत अध्ययनकै आधारमा आफ्नो क्षमता देखाएका छन् । आर्थिक विषयमा ठूला भनिएका दैनिकहरूले पनि उनीहरूलाई पछ्याइरहेका देखिन्छन् । त्यसकारण राम्रो पत्रकारिता विषयगत ज्ञान बढी आवश्यक हुन्छ । त्योसँगै तालिम तथा परामर्श त जरुरत छ नै । पत्रकारिता विषय लिएर डिग्री लिँदैमा गज्जबको पत्रकारिता भने हुने होइन । यद्यपि त्यसरी अध्ययन गरेर पत्रकारितामा आउँदा पक्कै एउटा खालको क्षमताको विकास हुन्छ नै तर पत्रकारिता विषय पढेकै आधारमा ढोंग पिट्दै हिँड्नु सुहाउने कुरा होइन ।

पत्रकारितामा शिक्षितहरूको खाँचो :

नियम, आचारसंहिता, अनुशासन र कर्तव्यनिष्ठताको परिधिभित्र रहेर पत्रकारिता सबैले गर्न पाउनुपर्छ । नेपालको नयाँ संविधानले पनि व्यक्तिको बोल्ने, लेख्ने स्वतन्त्रतालाई सुनिश्चित गरेको छ तर जनता शिक्षित एवं चेतनशील नभएपछि पत्रकारिता पनि व्यवस्थित एवं उत्तरदायी हुन सक्दैन । नेपालमा अहिले भएको पत्रकारिता व्यवस्थित र समाज एवं राष्ट्रप्रति उत्तरदायी हुन सकेको छैन । त्यो सक्थ्यो भने भ्रष्टाचार नियन्त्रण, सद्चारिता, राजनीतिक स्थिरतामा निकै ठूलो योगदान पुग्थ्यो । यहाँ त पार्टी पत्रकारिता भइरहेको छ । पत्रकारितामा लाग्नेहरूले पत्रकारिताको धर्म निर्वाह गरिरहेका छैनन् । 

पत्रकारितालाई कसैको पनि बन्देज वा निरंकुशतामा राख्न पाइँदैन । पत्रकारिता आफैं स्वनियममा बाँधिनुपर्छ भन्नेछ । पत्रकारहरूले आचारसंहिता पालना गरेर पत्रकारिताको धर्म निर्वाह गरिनुपर्छ भन्ने छ तर त्यसो हुन सकिरहेको छैन । खासगरी त्यसो नहुनुमा पत्रकारितामा शिक्षित व्यक्तिहरूको वर्चस्व कायम हुन नसक्नुले हो । 

यसअघिको सरकारका सूचना तथा सञ्चारमन्त्रीले पत्रकारहरूले परीक्षा लिनुपर्ने, परीक्षा पास गरेकाहरूलाई मात्रै पत्रकारिता गर्ने अनुमति दिनुपर्ने भन्नेजस्तो कानुन ल्याउने यत्न गरेको थियो । त्यो उत्ति नराम्रो विषय त थिएन तर नेपालमा नाम मात्रको पत्रकारिता गर्ने, अरूले लेखेका समाचार तथा आर्टिकल सारेर पत्रिका चलाउनेहरूको बिगबिगी र नेता पत्रकारको बोलवालाले त्यस्ता नियमको अचाक्ली विरोध ग¥यो । फलतः त्यस खालको प्रावधान आउन सकेन । ठीकै छ त्यो आएन । पत्रकारिताका विश्वविख्यात गुरुहरूले पनि यो पेशा स्वनियमन हुने हो भनिरहेका छन् । 

पत्रकार, पत्रकारहरूका संस्थाहरूले नै पत्रकारिताका विकृति सुल्झाउनुपर्ने तर यसमा कसैको दासत्व वा निरंकुशता हुन नहुने बताइरहेका छन् । त्यसलाई मानेर पनि एउटा प्रावधान चाहिँ के ल्याउनै पर्ने देखिन्छ भने अब पत्रकार हुन कम्तीमा स्नातक उत्तीर्ण हुनु परोस् । त्यसो हुँदा एकातिर कम्तीमा डिग्रीको सम्मान हुन्छ । शिक्षित एवं पढैयाहरूको वर्चस्व यसमा कायम हुन्छ । समाज शिक्षितहरूले लिड गर्‍यो भनेमात्रै प्रगतिशील बाटोमा अघि बढ्ने हो । अन्यथा पढ्नु वा पढाइनुको के अर्थ र ? 

त्यसकारण नेपाली पत्रकारितालाई कम्तीमा शिक्षितहरूको हातमा छोड्न सकियो भने त्यसले पक्कै पनि एउटा सकारात्मक नतिजा दिन्छ । सामान्यतया दुई दशकसम्म नपढी जो कसैले डिग्री लिन सक्दैन । उसले पढ्ने क्रममा सयौं परीक्षाहरू पास गरेको हुन्छ । सयौं किताबहरू, देशी विदेशी दर्शनशास्त्रहरू, समाजका मूल्य मान्यता, व्यवसायका, अर्थतन्त्रका मूल्य मान्यताहरू पढेको हुन्छ । उसको बुझाइको स्तर, समाजलाई हेर्ने दृष्टिकोण फराकिलो भएको हुन्छ । जसले पत्रकारिता जस्तो फराकिलो विद्यामा समाजको आवश्यकतालाई पस्केर योगदान दिन सक्छ । त्यसकारण अरू गर्न नसकिए पनि पत्रकारितामा शिक्षितहरूको वर्चस्व बढाउने कुरामा सरकारले ध्यान दिन जरुरी छ । 


Top