संविधान दिवसमा भूषणको प्रदूषण !

✍️ बद्रीप्रसाद दाहाल   POSTED ON : आश्विन ८, २०७८ (७:४२ AM)

संविधान दिवसमा भूषणको प्रदूषण !

सरकारी तबरबाट भव्य रूपमा मनाइँदै आइएको संविधान दिवसको विवश कर्मकाण्ड यस पालिको सातौं वर्षको प्रवेशले पनि ओठे भाषामा अपसभ्य रूपमा निष्पन्न गर्न पुग्यो । कुहिएका खस्रो चामलको बोरामा पाथीतिनेक थैलोको मुखमाथि मनभोग चामल राखेर स्पेशल बास्नादार मसिनु चामल भनी ग्राहकको आँखा र नाकलाई भ्रमित बनाई बेच्ने कालाबजारियाझैँ गठजोडको सरकारले पनि तक्मा, विभूषण र पुरस्कारलाई अपकार तथा तिरस्कार गर्ने काममा विगतकै सरकारको निरन्तरतालाई सम्मानित गर्न पुग्यो रे ! 

नगन्य असल वा तक्मा ढल्काउन लायक सुपात्रहरूलाई सिरानी हालेर अनगिन्ती कुपात्रमा विभूषण थमाएर संविधानको मर्ममाथि शर्महरामहरूले प्रहार गरेका टिप्पणी, आलोचना र आक्रोशका स्वरहरू विगतका सरकारहरूभन्दा एक कदम अघि बढेको गठजोडको सरकारले देखाएर छाडिदियो भनी घनीभूत रूपमा सञ्चारमा चर्को अचार बनेर प्रचारित भइरहेका छन् ।

संविधान दिवसको सातौं वर्ष गाँठको उपलक्ष्यमा गठबन्धित श्री ६ दलीय सरकारले नौ सय तीन भाग्यशालीहरूलाई एघार किसिमका मानपदवी, आठ थरीका अलंकार र छ प्रकारका पदक भिराइदिएर भर्खरै आफ्नो पुरुषार्थ देखाउन अग्रगामी हो कि ऊध्र्वगामी वा पश्चगामी भूमिका निर्वाह ग¥यो । एकजना नागरिक अभियन्ताले त आपूm छनोटमा नपरेर हो वा साँच्चै अक्षम, अयोग्य, चाकर, भाट संविधान एवं जनविरोधीहरू अलंकार भिर्नेमा परेर हो तत्कालै एक समारोहमा बोले, ‘तक्मा बाँड्ने यो सरकार पञ्चायती सरकार हो । सरकारले लोकतन्त्रलाई स्वीकार गर्छ भने तक्मा जस्ता बक्सिस परम्परालाई निरन्तरता दिनुहुन्न ।’ 

आलो विभूषण प्रदान गरिएको विषयलाई प्रतिपक्षी दलका ओलीबा उखानटुक्का मिसाई खुल्ला कमेडी च्याम्पियनमा दोस्रो तेस्रो पुस्ताप्रति हँसीमजाक पस्किएर मजैले उफ्रिए । उनी भावुकताको नटखट पस्किँदै बोले, ‘ती विभूषण कस्ता कस्ताकोे घाँटीमा झुण्डिएर शरम मानेका छन्, बोल्न सक्ने भए उफ्रिन्थे ती विभूषण तक्मा र मानपदवी ! पीतपत्रकार, झगडिया र लोकतान्त्रिक आन्दोलनसित बेसरोकारवालासित विभूषणले कसरी मीत लागाए त ? घाइते परिवार र शहीद जनलाई कसरी बिर्सिए त भन्ने ओलीको यक्षप्रश्न छ । 

हुन त ओलीको पालामा भन्दा अहिले ठ्याक्कै दोबर ९०३ विभूषण, तक्मा र मानपदवीको सिउर ढल्काएछन् विभिन्न क्षेत्रका कर्मठ भनिएकाले । ओलीले मिचेको संख्यात्मक मापदण्ड पाँच सय चौरानब्बेबाट झन्नै हजारनिकटका नगण्य असल मान्छे र अनगिन्ती ठूला तथा पहुँचवालाले संविधान दिवसको उपलक्षमा मजाले मानको पगरी गुथेर सामाजिक सञ्जालमा भीमकाय फोटो टँसाएर शुभकामना, बधाई, र तारिफका वर्षा आफ्नाबाट गराउन लगाइरहेका छन् । 

निकै गजबको समाजसेवी, प्राज्ञिक, स्रष्टा, न्यायमूर्ति, राष्ट्रसेवक, महान् राजनीतिज्ञ र शिक्षाविद्, व्यावसायिक, वैज्ञानिक र बहुमुखी अभियन्ताको विशेषण पाएर प्रायः गजक्क फुलिरहेका पनि छन् होलान् भने कतिपय योग्य, दक्ष र साँच्चैका पात्रहरू अप्ठ्येरो महसुस मानि पो रहेछन् कि ? निवर्तमान प्र.मं.ले आफ्नो विगत बिर्सिएर भर्खरैको भेलामा पेटका किरा मर्ने गरी बोले, मेरो सरकारको खोइरो खन्नेहरूलाई यो सरकारले पदक थमाएको छ । मुद्दा हराइदिने, तराजुु कोल्टे फर्काइदिने, आँखामा पट्टी बाँध्ने श्रीमान्हरूले तराजु कता ढल्किएको छ ? त्यो त थाहा हुन्छ नि हात बाँधेको हुँदैन । 

यसरी झगडिया, मुद्दा हाल्नेहरू, तथानाम बहस गर्नेहरू, जे पायो त्यही बोल्नेलाई सम्मानित गरिएको छ । बा, श्रीमती, छोराछोरी सम्धी, व्यवसायी, समाजउत्पीडक, कृषकमारा, काला सूचीमा अभिलेखीकृत भएका कतिपयमा मापदण्डै मिचेर मानपदवी, विभूषण र तक्मा दिएकोमा अत्यधिक तातेका छन् बालकोटे बा । उनले ठाडै भने, ‘सरकारले पदक, अलंकार र विभूषणको नाममा कालो पोतेको छ, ती विभूषणहरू लाजमानिरहेका छन् । 

‘आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले’ भनेझैँ तीस वर्षको कालखण्डमा परीक्षितमध्ये सन्त नेता भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाबाहेक अरू कानै चिरेका जोगी हुन्, उही ड्याङका मूला भनेर समाज निर्धक्क न्वारन गर्न हिचकिचाउँदैन । एकजना पूर्वसभामुखले सातौं संविधान दिवसमा प्रदान गरेको तक्मा, विभूषणादि नलिन न्यायाधीशलाई फरमान नै जारी गरिदिए । एमाले फुटाउन भूमिका खेल्नेहरूले पदक पाए, ‘पारि चितुवा करायो, वारि सिँगारी हरायो, भनेझैँ प¥यो’ । 

गठबन्धन दलका शीर्ष भनेर छाप पारेका दुई नेताले यसपालिको पुरस्कारमा बालहठ र राजहठ मजैसित प्रदर्शन गरेको कुरा नेपाली जनताले राम्रैसित बुझे । यही देखेर ओलीको वाक्गोलीले जुकासित तुलना मजैले गरे । तर, उनको बोलीमा दम, तागत र पावर छैन, किनभने उनी पनि सत्ताधीन हुँदा उनलाई पनि ‘यूकावाज लौका’ भन्नेहरू मनग्गे नै थिए । लोकोक्ति भन्छ नि ‘आमाव्यभिचारिणी, छोरी हुन्छे अतिचारिणी’ । 

यसै सन्दर्भमा दार्शनिक नित्सेको भनाइ याद आयो ‘मानवतालाई नाकको बलले चलाउने सबै साधनमा नैतिकता सर्वोत्तम हो ।’ भनिएको पनि छ ‘पण्डितः पण्डितं दृष्ट्वाश्वानवत् घुर्घुरायते’ । ओली महासयका वाक्गोलीमा पनि दम छैन । खोइ उनी उदाहरणीय बन्न सकेका ? यसको मतलब राजहठे, बालहठे र अरू चटपटेप्रतिको सहानुभूति र समर्थन होइन पङ्तिकारको । 

जे होस् राष्ट्रले दिने तक्मा, विभूषण र मानपदवी हिजोकै जीहजुरी, चुक्ली, चाकडी, चाप्लुसी र परिक्रमा गर्ने मर्कटमण्डलीमा थमौती गरेर राज्य चल्दैन । गठबन्धन दलहरूका नायक हूँ भनेर कुम हल्लाउने र छाती फुलाउनेहरूको अझै पनि जनतन्त्री, जनवादी, देशप्रेमीपन देखिएन । न त हिजोका ओलीलगायतमाथि यो न त आज गठबन्धनको झोली बोक्नेहरूसित । जनताले सिरान हाल्ने ठाउँ पाएन, होसियार गठजोडे श्री ६ को सरकार !!! भूषणमा प्रदूषण बढेको छ, तक्मामा तोक्माको आड घटेको छ र पदवी र मानमा शान हटेको छ, गणतन्त्रका नाइकेमा बासी तथा जराजीर्ण कुविचारले दपेटेको छ । 

अस्तु ।

Top