सम्माननीय मोहका विपक्षमा नागरिक चेतना !

✍️ डा.नारायण चालिसे   POSTED ON : आश्विन ९, २०७८ (८:२५ AM)

सम्माननीय मोहका विपक्षमा नागरिक चेतना !

हिजैमात्र एकजना भद्र मित्र एवं शुभचिन्तकले भन्नुभयो ‘तपाईंका पनि केही सीमा छन् । तमाम विसंगति र विकृतिका डंगुरमा बसेर पनि अमुक व्यक्ति रिसाउँदा अमुक लाभबाट वञ्चित हुन्छु भन्ने भयले तपाईं पनि अपेक्षित रूपमा बोल्न सकिरहनु भएको छैन र सक्नुहुन्न । तपाईं जुन राजनीतिक सिद्धान्तमा आस्था राख्नुहुन्छ देखिरहनु भएको छ त्यहाँ कति धेरै विकृति छन्, लाजमर्दो अवस्था छ । न सत्ता, न संगठन जताततै असफल छ पार्टी, राजनीतिर सरकार । 

हुन त तपाईं हामी एउटै डुंगामा यात्रारत छौं । कतिखेरै हामी दुवैको डुंगा पल्टिन सक्छ र हामीसँगै घोप्टिन सक्छौं । तापनि अहिले तपाईं देश र संविधानको रक्षा गर्ने समूहमा हुनुहुन्छ । हिजो एक थरिबाट देश र संविधानको रक्षा हुन सकेन भनियो आज अर्को थरिबाट रक्षा हुन सकेन भनिँदै छ । यो राजनीतिको खेलमा सत्यको खोजी पनि आफैंमा ठूलो चुनौती नै बनिरहेको अवस्था छ । तापनि खोइ तपाईं जस्तो व्यक्ति बोलेको ? पत्रपत्रिकामा लेखिरहनु हुन्छ । खोइ यस्ता विषयमा कलम चलाएको ? जहाँसम्म मैले चिनेको छु तपाईं यस्तो हुनुहुन्नथ्यो ।’ 

मित्रको यो कुराले मलाई भित्रैसम्म छोयो । म त्यति धेरै कमजोर त थिइन र सायद छैन भन्दैछु अहिले पनि तर खोइ के नामको भयले ममाथि पनि शासन गरिरहेकै रहेछ ? म त्यस्तो देखिन थालेछु । कुरा ठीकै पनि होला । मेरो कमजोरी अरूले देख्ने हो, आफू आफैंमा त सधैं असलै देखिन्छु । सबैतिर यस्तै नियम त लागू हुँदो होला । मलाई मजस्तै सबै जनालाई आफू असलै लाग्दो हो र त आफ्ना कमजोरी मैले देख्न नसकेझैँ उहाँहरूले आफ्ना कमजोरी देख्न सकिरहनु भएको छैन । 

साह्रै कमजोर छ हाम्रो आस्था र सम्बन्धको डोरी जो साँचो कुराभन्दा वा सत्यको बाटोमा हिँड्न खोज्दा दण्डको भागी हुनुपर्ने भयले सताइरहेछ हामीलाई । यसरी नै विभिन्न लोभ र भयले मौन बस्ने म जस्ता आस्थाका पुजारीहरूले भरिएको देशको नागरिक हुँ म ।

आत्ममोहका कुरा धेरै नै भइसके । वा भनौं जे जति कुरा भएका छन् आत्ममोहकै त भएका छन् । कति बलियो हुँदोरहेछ मोहको चेतना । मान, पद, प्रतिष्ठा, सत्ता र शक्ति सायद यिनै हुन् हाम्रा चाहना । अनि दम्भ र अहंकारमा चुर्लुम्म डुबेर न्याय, अन्यायको परिधिबाट अलि पर बसेर बुद्धि र विवेक बन्धक बनाएर सत्ताको दाउपेचमा तँछाडमछाड गरिरहेको व्यक्तिका निम्ति त्यति नै संसार हो । र, त्यसपछि पनि उसको मोह भरिएन भने हुने अनाचार र व्यभिचार हो । यति भएपछि पुग्यो । जीवन सार्थक भयो । यस्तो तन्त्रलाई पनि लोकतन्त्र नै हो भनेर पैरवी गर्ने हाम्रो संविधान जो हामीले नै बनाएको भनिएको छ । 

हामीले ल्याएको लोकतन्त्र, हामीले रोजेको शासन व्यवस्था, हामीले बनाएको संविधान, हामीले चुनेका नेता, हामीले देखेका सपना । हामीले नै बनाएका योजना, हामीले पास गरेको बजेट, हामीले निर्माण गरेका नीतिनियम जताततै हामी नै हामी छौं देशभरि । अनि हामीले यो पुगेन ऊ पुगेन, यो भएन ऊ भएन, भनेर कसलाई सुनाउने अनि किन सुनाउने ? 

जताततैबाट बाटो छेकिएका खासमा हामी नागरिक ! आफैंप्रति शंकाको दृष्टिले हेरेपछि मात्र अलिअलि कुरो खुलेजस्तो लाग्छ । हामी अर्थात् यो देशका अकिञ्चन नागरिक जो आफैंले आफैंलाई शासन गरिरहेका छौं । यो मुलुकको राष्ट्रपति हाम्रो राष्ट्रपति । यो मुलुकको प्रधानमन्त्री हाम्रो प्रधानमन्त्री । यो मुलुकका अर्थमन्त्री हाम्रा अर्थमन्त्री । यो देशको योजना आयोग हाम्रो योजना आयोग । यसरी सबै व्यक्ति हाम्रा छन्, सबै संरचना हाम्रा छन् तर हाम्रो कोही पनि छैन । सायद यसैको नाम लोकतन्त्र हो !

मान र मोहका कुरा, सम्मान र सम्माननीयका कुरा । कति हो कति हाम्रो मान र नामको क्षेत्र । मैले २०३८ सालतिर यो देशको प्रतिष्ठित राजनीतिक पार्टी (तत्कालीन प्रतिबन्धित) को जुधारु भ्रातृ संगठनको सदस्यता लिएको थिएँ । जुन दिन त्यो संगठनको सदस्य भएको थिएँ मलाई संसार जितेको अहंमा रमेको सिकन्दर जस्तो लागेको थियो । आज हिसाब गर्दा चालीस वर्ष पुगेछ । यत्रो वर्ष म जस्तो सामान्य व्यक्तिले पनि अविचलित आस्था राखेको समय भएछ । यसरी नै आस्था राख्नेको ठूलो जमात अहिले सत्ता र शासनको पैतालामुनि छट्पटाइरहेको छ । र, जहिले पनि यो देश र जनताको दिन आउने छ भनेरै विश्वास गरेको छ र गरिरहेको छ । 

यसबीचमा पनि धेरै परिवर्तन आए र ती सबै परिवर्तनलाई हामीले जनताको निम्ति गरिएको परिवर्तन भन्दै आइरहेका छौं । निरंकुश मानिएको पञ्चायती व्यवस्थाले सत्र सालदेखि छयालीस सालसम्म तीस वर्ष शासन ग¥यो । हामी तीस वर्षपछि परियो । अब पनि यसरी नै यो शासनलाई स्वीकारेर बस्नु हुँदैन भनेर छिटोछिटो जनताको पक्षमा काम गर्न हतारिएका हामीले लोकतन्त्र (प्रजातन्त्र) र त्यसपछि क्रमशः लोकतान्त्रिक गणतन्त्र ल्याउँदासम्म त बत्तीस वर्ष बिताइसकेका छौं । र, हामीलाई लागेको छ त्यो तीस वर्ष हामीले जति घाटा बेहो¥यौं त्यसभन्दा धेरै गुणा बढी घाटा लोकतन्त्रमा बेहोरिसकेका छौं । 

ती त्यागी र संघर्षशील नेताहरू जो हामीले आआफ्नो राजनीतिक आस्थाका केन्द्रबिन्दु भनेर अझ भनौं पुजेर आएका थियौं तिनै स्वनामधन्यहरूकै शासन व्यवस्थामा छौं अहिले पनि र भन्न बाध्य छौं हाम्रा आदरणीय आस्था पुरुषहरू हामी जनता तपाईंहरूको शासनका निरीह जनता हौं । कस्तो विडम्बना छ यो देशको ? यसभन्दा चित्त दुख्ने समय अर्को कस्तो होला र ?

र, तपाईंहरू माननीय र सम्माननीय भएको हेर्न र भोग्न विवश हाम्रो आस्थाको यो कस्तो विकृत रूप हो ? अनि तपार्ईंहरू तिनै अनुहार लिएर हिँड्नु भएको छ ? तिनै मुखले बोलिरहनु भएको छ ? र तिनै कर्म गरिरहनु भएको छ जुन तपाईंहरूले गर्छौं भन्नुभएको थियो । हामीलाई आशंका छ तपाईंहरू तपार्ईंहरू हुनुहुन्न । के साँच्चै तपाईंहरूको दिमागमा ती दिनका कुनै सम्झना बाँकी नहोलान् र ? भनेपछि हामीले के बुझौं ? यताका केही वर्षमा जे जसरी तपाईंहरू सत्तारोहणको दौडमा सामेल भइरहनु भएको छ यो समय र त्यो समयका बीचमा कुनै तुलना गर्न लायक कुनै कुरा होलान् ? यसरी पनि च्युत हुँदोरहेछ चरित्र ? यसरी पनि हिँड्दो रहेछ समयको घडी ?

म अमुक पार्टी वा अमुक व्यक्तितका कुरामात्र गरिरहेको छैन । म र म जस्तै आस्थावान् व्यक्तिहरू नै त छन् हरेक पार्टीमा । ती तमाम आस्थावान् र निष्ठावान् व्यक्तितको यो प्रतिनिधि बोली हो । आज जसरी माननीय र सम्माननीयको निम्ति तपाईंहरूले आफ्नो चरित्रको बजारीकरण गर्नुभएको छ के त्यो हिजोको व्यवस्थाका प्रतिनिधिहरूको भन्दा तपाईंको अनुहार कुनै कारणले फरक छ जस्तो लागेको छ ? निश्चय तपाईंसँग अनगिन्ती काइते बहानाहरू होलान् आफ्नो संरक्षण गर्ने तर कहीँ कतै ती शोभनीय छँदै छैनन् । 

राष्ट्रलाई अनिर्णयको बन्दी अनि जनतालाई आस्थाको बन्धक बनाएर देश र जनताकै नाम पारेर भए गरेका यी गैरजिम्मेवार गतिविधि र क्रियाकलाप के क्षम्य छन् ? कुनै पार्टी सत्ता र शक्तिको प्राप्तिको निम्ति बेसरम भएर टुट र फुटको घिनलाग्दो प्रहसनमा सामेल छन् भने कुनै पार्टी आफ्ना सबै संरचनालाई ध्वस्त पारेर गुटबन्दी र चरम विकृतिको दलदलमा भासिएका छन् । 

मैले बाउन्न सालतिरै यस प्रवृत्तिको भनक पाएर भ्यागुताहरू आहाल नै रुचाउँछन् भन्ने शीर्षकमा एउटा कविता लेखेको थिएँ । नेपाली साहित्यका शीर्ष कवि मोहन कोइरालाले त्यो कविता निकै मन पराएका थिए र अर्का क्रान्तिकारी कवि विनय रावलले आफ्नो सम्पादनमा छापिने श्रीजा पत्रिकामा उक्त कविता प्रकाशित गरेका थिए । आज मलाई त्यही कविताको पुनः स्मरण भइरहेको छ । साँच्चै शब्द अलि नमीठा लाग्न सक्छन् तर सत्ताका भ्यागुताहरू सत्ताको आहालमै रमाउँदा रहेछन् । अहिले हामी सत्ताभन्दा पर कुन उद्देश्यले प्रेरित छौं र ? मात्र सत्ता अनि सत्ता ।

यसरी विकृत बन्दोरहेछ पार्टी, संगठन र चरित्र भन्ने समयमै बुझ्न सकेको खण्डमा जनता पनि त्यति दुःखी हुँदैनथे तर बिचरा जनतालाई त्यो शिक्षित हुने अवसर प्राप्त छैन । अझै कति समयसम्म जनताले यसरी अँध्यारो देशमा रुमल्लिनुपर्ने हो ? बरु त्यो जानकारी पाउन सके जनता त जनार्दन हुन् त्यति समय अझै पर्खिन सक्छन् । आश्वासनका लड्डु बाँडेर गरिने यी प्रहसनहरू धेरै भइसकेका छन् । राजनीतिको रंगमञ्च धेरै धमिलिइ सकेको छ ।

सत्यं ब्रुयात् प्रियं ब्रुयात् नब्रुयात् सत्यमप्रियम् भन्ने उक्ति छ संस्कृतमा । साँचो कुरा बोल, प्रिय कुरा बोल तर अप्रिय छ भने सत्य कुरा पनि नबोल भन्ने यस श्लोकको आशय हो । हामी पनि विभिन्न स्वार्थ र प्रलोभनको मोहले गर्दा अमुक व्यक्ति रिसायो भने मेरो अमुक पद गुम्छ अथवा पाउँनै लागेको वा पाउन चाहेको अमुक लाभबाट वञ्चित हुन्छु भन्ने भयले निर्वस्त्र सम्राट्हरूको प्रशंसामा रमाएर बस्ने हामी जस्तै जमातले र तिनै प्रशंसकहरूका आत्मघाती प्रशंसामा जसरी सत्तासीनहरू रमाइरहेका छन् र सत्ताकांक्षीहरू जसरी उत्तेजित भइरहेका छन् यो उत्तेजना पनि बढी भइसकेको छ । 

निश्चय नै परिणामहरू झन् भयावह बन्दै गइरहेका छन् । असफल राष्ट्रको सूचीमा दरिँदै गएको देशमा केही त सन्तोषका कुरा गरौं ¤ अति भयो अब त देश र जनताको पक्षका कुरा गरौं !


Top