इतिहासको पानाबाट : भोटका वकिल (दूत) जितबहादुरलाई नेपाल सरकारको निर्देशन

✍️ प्रा.डा. तीर्थप्रसाद मिश्र   POSTED ON : आश्विन ९, २०७८ (८:४२ AM)

इतिहासको पानाबाट : भोटका वकिल (दूत) जितबहादुरलाई नेपाल सरकारको निर्देशन

भारतीय उपमहाद्वीपमा अंग्रेजको सबल उपस्थितिले यस क्षेत्रको राजनीतिमा अर्थपूर्ण प्रभाव परेको देखिन्छ । अंग्रेजहरू हिन्दूस्तानमा मात्र सीमित नरही आसपास प्रभावक्षेत्र विस्तार गर्ने नीतिमा अगाडि बढ्दा नेपाल जस्तो सानो मुलुकलाई आफ्नो राष्ट्रिय स्वार्थ, स्वाभिमान र स्वतन्त्र अस्तित्व रक्षा गर्नसमेत धौधौ परेको थियो । सन् १८१६ को सुगौली सन्धिबाट नेपाललाई आफ्नो अनुकूल बनाउन सक्षम भएको अंग्रेज सरकारले भोट (तिब्बत) मा पनि आँखा गाडेको थियो । बीसौं शताब्दीको प्रारम्भतिर भोटमाथि चिनियाँ पकडमा ह्रास आयो । यसले रूसको प्रभाव वृद्धि हुने आशंका गरी अंग्रेजले भोटलाई तह लगाउन साम, दाम, दण्ड, भेदको नीति लियो । 

उक्त नीतिबाट पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन । अंग्रेजले सैन्य शक्ति प्रयोग गरेर भएपनि भोटलाई तह लगाउन सन् १९०३ मा योङ हसबैन्डको नेतृत्वमा सैनिक कारबाही गर्ने अभियान सञ्चालन गर्‍यो । यस अभियानमा नेपालले परोक्ष रूपमा अंग्रेजलाई नै सहयोग गरेको थियो । तर, नेपालले अंग्रेजलाई सहयोग गर्नुका पछाडि राणाहरूको व्यक्तिगत स्वार्थमात्र थिएन ।

नेपालको राष्ट्रिय स्वार्थसमेत जोडिएको थियो । भोटमा रुसको प्रभाव वृद्धि भएमा नेपालले भोटमा पाएको सुविधा तथा व्यापारको एकाधिपत्यमा आघात पर्ने सम्भावना देखी नेपालले अंग्रेजलाई उक्त सहयोग गरेको थियो भन्ने भनाइ पनि छ (तीर्थप्रसाद मिश्र, अंग्रेज-भोट विवादमा नेपालको भूमिका, २०५४) । तर, आफ्नो यस प्रकारको नीतिबाट भोट रुष्ट नहोस् भन्ने चाहना पनि नेपालले राखेको थियो । त्यसैले प्रत्यक्ष रूपमा आफूले अंग्रेजलाई सहयोग गरेको देखाउने चाहँदैनथ्यो तर उक्त चाहना समय क्रमसँग डोकाले छोपेजस्तै भयो ।

यसै सन्दर्भमा अंग्रेज-तिब्बत विवाद उत्सर्गमा पुगी अंग्रेजी फौज ल्हासामा पुग्न लागेका बेला नेपालले भोटका आवसीय दूत जितबहादुर खत्रीलाई गोप्य सन्देश पठाएको थियो । उक्त सन्देशको विवरण यहाँ प्रस्तुत गरिएको छ । त्यसबेला महत्वपूर्ण पत्र एवं आदेश पठाउनुपूर्व कमान्डर इन चिफ तथा श्री ३ बाट साधक टिप्पणी स्वीकृत गराउने चलन रहेको देखिन्छ । प्रस्तुत साधकमा पनि श्री ३ चन्द्र शमशेर र कमाण्डर इन चिफ भीम शमशेरले स्वीकृत गरेको हस्ताक्षर छ । यो निर्देशनपत्र गोप्य राखिएको थियो भने कोड भाषाको प्रयोग भएको थियो । यसपत्रको विवरण परराष्ट्र मन्त्रालय अभिलेखालयबाट २०४० सालमा टिपोट गरिएको हो ।

मूल पाठ :

श्री ३ महाराजश्री कमाण्डर इनचीफ बाट ल्हासाकावकीलकपतान जीतबहादुर षतृ छेत्रीलाई अंकबाट लेषी पठाउने जैसी कोठाबाट साधकजाहेर गरेको ..........मर्जी

भीमशमशेरको हस्ताक्षर (अंग्रेजीमा)

हुकुम

चन्द्रशमशेरको हस्ताक्षर (अंग्रेजीमा)

उपरान्त. आजसम्म ञाहाहाम्राहजुरमाजाहेर भयाको षवरले र अंग्रेज सर्कारको कामकारवाइले नीजहरू आफ्नाफौजलीताहाल्हासामाआउन्या पुरा वन्दोवस्त गरेको देषींछ कदाचितनिजहरू ताहाल्हासामाआयाभन्यानीजहरू ताहाआइपुगी सबै कुराको अंजाममिलाइसके पछि. मेरो तपाईंहरू संग भेट् गर्नाको ठूलो मनसुवा छ. तर ताहातपाइहरू काहा भेट् गर्ना भोट् सर्कारलाइ. जनाउनदी तेसै आउनाले भोट् सर्कार चिढीन जाने संभवहुनाले सो भेट् गर्न जाने कुरा. भोट् सर्कारमाभनीपठायाको छु मंजुरी आउनासाथतपाइहरू सँग भेट् मुलाकात्कोषुसीहासिलगर्न आउन्या छु. तपाइहरू संग कैल्हे भेट् होलाभन्यालागी रहेछ. भोट्को मंजुरी आउनालाइ केही ढीलो हुनजालाकी यस वीचमामौकापर्‍यो भन्या म षुसी साथ भेट् गन्र्या छु भनीगोप्यतवर संग भोटेहरूले थाहानपाउने गरी भनि पठाउनु. भोट् सर्कारलाइ पनी हाम्रा मुलुकमा अंग्रेज सर्कारको वकील र अंग्रेजका मुलुकमा हाम्रा सर्कारकावकील रहृयाको हुनाले ञाहासम्मअंग्रेजकाअफिसरहरूको आयापछी हाम्राअहदले भेटघाट गर्न जानु पर्छ. फलानादिनजाने मनसुवा गरेको छु. नीजहरू संग भेट् गरी केहीनोक्सानहुन्याहोइन वरु निजनीहरू संग तपाइहरूकै वढीया हुन्याहीसावको कुरा गन्र्यै छु. भनी ४ काजीहरूलाइभनी पठाउनु र हुंछ जानु भनीमंजुरी दीयाभन्या वेसै भयो. कदाचीतमंजुरी दिनगाह्रो मान्याभन्या यसवाट तपाइहरूको केहीहानी छैन वढीयै हुन्या छ भनी समझाइवुझाइ. राम्रो कुरा गरी. मंजुरी लीअंग्रेजकामुष्यअफीसरहरू संग भेट् गर्न जानु. भेट हुदाहाम्राश्री ३ महाराजवाट तपाइहरू आउनु भयामा भेट गर्न जानु. दोस्तीभाव राष्नु भन्याहुकुममलाइआयाको र तपाइहरू ञाहाल्हासामाआउनु भयाको हुनाले भोट् सर्कारको मंजुरी नलीयकवारआउनाले भोट् सर्कार साह्रै चीढीन गै मेरोज्यानको पनी षतडा हुन्याहुनाले. नीजहरूसंग. सोधीतपाइहरू संग भेट् मुलाकातगर्न आञा भेट् मुलाकातहुदाषुसीलाग्यो. हाम्रो टीवेट संगको हालकायम रह्याको रिस्तामातोड् पर्न जाने किसीमको केहीकाम कुरा मैले गरी भनीहुन सकन्या. केही छ भन्याभन्नु होस. म षुसीसाथ. भरमगदुर गर्नालाइतयार छु. तिमीले गरी हुन्यासम्मको मदत वृटीस अफीसरहरू. ताहाआयाभन्या गरी दीनु भनीमलाई श्री ३ को हुकुमआयाको छ भन्या वेहोराको कुरा र अरु मौकामाफिकको. यसतिर अंग्रेजहरूमापनी इ हाम्रा दोस्तीहुन् भन्या वेस गरी पर्ने हिसावको र उस्तिर भोट् संग पनीतोड् नपर्ने. भोट सर्कारले पनीहाम्रै तरफकाहुन. भन्यापार्नालाई मुनासिवमाफीकजो काम कुरा गर्नु पर्छ सवै राम्रो गौरविचार साथ वुद्धी पुर्‍याइ. कामकुरा गर्नु. मैले भोट सर्कार संग केही कुरा गर्नु पर्छ भन्यापनीभन्नु होस भन्यापनी कुरा गर्नु. भोट् सर्कार संग हाम्रो तोड् नपर्ने अघीकै वमोजीम् दोस्ती रहनालाइ केहीवाधानगर्ने हिसावको केहीकाम कुरा गरी दिनु होस् भनीभन्या गरी पनीदीनु. ताहाको षै षवर सोध्याभन्या सवै आफुले जान्या वुझ्यासम्मवताइवुझाइदिनु विर्टीस अफीसरहरूलाइहाम्रो वास्ता केही राषेनन् भंन्यानपरोस्भोट् सर्कार संग कुरा काहानी गरी. चीत्तबुझाइनीजहरू संग सरोकार राषनु. अंग्रेजहरू ताहाल्हासामाकदाचीतआइपुग्याभन्या र नीजहरू माथी केहीदगावाजीभोटले गर्न लागेको सुचनातिमीले पायौ भंन्यागोप्यतवर संग कसैले थाहानपाउने गरी भेस वदलीतिमीआफै गै वा अरु आफनामानीसलाइ कसैले थाहानपाउने गरी पठाइ. सो कुरा अंग्रेजकामुष्यअफीसरलाइ सुनाइदिनु भयाको षवर वरावर जाहेर गरी पठाउनु. 

६० सालमागगते २ रोज २ शुभम् .......................

श्री ३ चन्द्र शमशेरको हुकुमअनुसार ल्हासास्थित नेपाली वकिल जितबहादुरले तत्कालीन विवादमा मध्यस्थताको भूमिका निर्वाह गरेका थिए । तत्कालै भोट र अंग्रेज दुवैतर्फबाट नेपालको भूमिकाको सराहना गरिएको भए पनि कालन्तरमा अंग्रेजको प्रभाव भोटमा विस्तार हुँदा नेपालले ठूलो मूल्य चुकाउनु परेको थियो । यस तोकआदेशमा श्री ३ महाराजर कमाण्डर इन चिफ दुवैले अंग्र्रेजीमै हस्ताक्षर गरेका थिए । त्यसबेला श्री ३ को तोकलाई हुकुम र कमाण्डर इनचिफको तोकलाई मर्जी भनिन्थ्यो । 

नेपाली वकिल जितबहादुरको भूमिकाको प्रशंसा गर्दै अंग्रेज सरकारले उनलाई तक्मा प्रदान गरेको थियो । अंग्रेज सरकारको तक्मा पाएपछि उनी सर जितबहादुरका नामले चिनिए । 


Top