मर्कामा नेपाली विद्यार्थी

✍️ श्रीमननारायण   POSTED ON : आश्विन १०, २०७८ (८:०२ AM)

मर्कामा नेपाली विद्यार्थी

उत्तरी छिमेकी चीनमा एमबिबिएस अध्ययन गर्दै गर्दा कोभिड-१९ को महामारी फैलिएपछि बीचैमा नेपाल फर्केका कवि ५ सय विद्यार्र्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । नेपालमा इन्टर्नसिप गर्न नपाएका उनीहरू पुनः चीन फर्कन नपाउँदा एमबिबिएसको पढाइ अधुरो रहने अवस्था सिर्जना भएको हो । आर्थिक रूपले सम्पन्न नेपाली विद्यार्थीहरू स्वदेश तथा विदेशमा महँगो शुल्क तिरेर पनि एमबिबिएसको पढाइ गर्न सफल भइरहेका छन् । बढी जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्राप्त गरेर देशभित्र पनि यो शिक्षा हासिल गरिरहेका छन् तर मध्यम वर्गीय एवं निम्न मध्यम वर्गीय परिवारका विद्यार्थीहरूको एमबिबिएस डाक्टर बन्ने सपना चीनबाट पढेर पूरा हुँदै आएको छ ।

नेपाल, पाकिस्तान, बंगलादेश र अन्य देशहरूको तुलनामा चीनमा पढाइको खर्च अपेक्षाकृत कम आउने गरेका कारण नेपाली विद्यार्थीहरू चीनमा एमबिबिएसको पढाइ गर्न ब्यग्र रहन्छन् । उत्तरी छिमेकी चीनले नेपाली छात्रहरूको जायज चिन्तामाथि तत्काल ध्यान दिनु पर्दछ । नेपाल सरकारले पनि आफ्नोतर्फबाट यस समस्याको समाधान गर्न हरसम्भव प्रयास गर्नुपर्दछ । 

चीनियाँ विश्वविद्यालयमा बिदा भएका कारण नेपाली विद्यार्थीहरू घर आएका थिए । त्यसपछि चीन सरकारले कोभिड-१९ का कारण लकडाउन घोषण गर्‍यो । विश्वविद्यालयहरूले चाँडै बोलाउने छौं भन्ने आश्वासन पनि दिँदैरहृयो । लगत्तै नेपालमा पनि कोभिडको संक्रमण बढ्दै गयो । कोर्स पूरा गरेको १८ महिना बितिसक्दा पनि इन्टर्नसिप गरेका डाक्टरको प्रमाणपत्र लिन नसकेका विद्यार्थीहरूको भविष्य अन्धकारमै हुने सम्भावना बढ्दै गएको छ । कोभिड-१९ को महामारी फैलिएसँगै चीनमा आफूलाई असुरक्षित ठानिरहेका नेपाली विद्यार्थीहरू तत्कालीन परिस्थितिका कारण नेपाल फर्किएका थिए । 

तर, चीनमा कोभिड-१९को संक्रमण नहटेपछि नेपाली छात्राहरूले आफ्नो विश्वविद्यालयमा पढ्न खोज्दा चीन सरकारले अनुमति प्रदान नगरेको कारण चीनमा अध्यनरत नेपाली छात्रहरूको गत चैत महिनामा विरोध प्रदर्शन पनि गरेका थिए । कोभिड-१९ को संक्रमण चीनकै वुहान शहरबाट फैलिएको आमधारणाका कारण नेपालले मात्र होइन विश्वमा अन्य देशले पनि चीनमा अध्यनरत आफ्ना सन्तानलाई स्वदेश फिर्ता बोलाएका थिए । उनीहरू आफू अध्ययनरत चिनियाँ विश्वविद्यालयमार्फत नै आफ्नो अधुरो कोर्स पूरा गर्न चाहिरहेका छन् तर चीनको सरकार तथा त्यहाँको विश्वविद्यालयले यसको निम्ति अनुमति प्रदान गरिरहेको छैन । 

यहाँसम्म कि तिनको चीन प्रवेशमाथि रोक लगाएदिएको अवस्था छ । नेपाली विद्यार्थीलाई कि त चीन गएर बाँकी कोर्स पूरा गर्ने अनुमति दिइयोस् होइन भने तिनीहरूलाई नेपाल सरकारको नियम, कानुन र स्थापित मान्यताअनुसार बाँकी कोर्स (इन्टर्नसिप) नेपालमा गर्न दिने माग नेपालको परराष्ट्र, शिक्षा, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगसित गरिरहेका छन् । सन् २०१४ ब्याचका १ सय ९३ जना विद्यार्थी पनि इन्टर्नसिप पूरा नगरी नेपाल फर्केका थिए । उनीहरूको समस्या समाधान नहुँदै २०१५ र २०१६ ब्याचका करिब ३ सय विद्यार्थी नेपाल फर्केर अलपत्र छन् । 

२०१४ का विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउँदै भए पनि त्यस यताका विद्यार्थीको भविष्य अनिश्चित हुन गएको छ । नेपालमै इन्टर्नसिप पूरा गर्न पाउनुपर्ने माग राख्दै आएका हुन् । यी ब्याचका १ सय ३९ विद्यार्थीले प्रधानमन्त्री कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा गरिहेको पढाइ नेपालकै पूरा गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्र बुझाइसकेका छन् ।

चिकित्सा शिक्षा आयोगले २०१४ ब्याचका १ सय ९५ डाक्टरहरूलाई नेपालमै इन्टर्नसिप गराउन मेडिकल काउन्सिललाई सिफरिश गरेको छ तर त्यही ब्याचका २८ जना २०१५÷२०१६ ब्याचका ३ सयजना विद्यार्थीको भविष्यबारे निर्णय हुन सकेको छैन । विद्यार्थीहरूले आपूmहरू नेपाल फर्के पनि अनलाइनमार्फत सैद्धान्तिक कोर्स पूरा गरेको दाबी गरिरहेका छन् । कोरोना बढेपछि चीन सरकारले आआफ्नो देश फर्कन आदेश दियो, हामी नेपाल आयौं अझ अहिले आएर चीन सरकारले मिलेसम्म आफ्नै देशमा इन्टर्नसिप पूरा गर्न भनेको छ । चीनले आवतजावत खुला नगरेका कारण अध्ययनका लागि फिर्ता जान नसकेको नेपाली विद्यार्थीको गुनासो छ । 

मेडिकल काउन्सिलका अनुसार सन् २०१४, २०१५ र २०१६ मा वर्षेनी ८ सयको हाराहारीमा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि चीन गएका थिए । उनीहरूले ट्युसन शुल्कबापत करिब ३० लाख रुपैयाँ तिरेका छन् । विसं २०७५ सालदेखि लागुभएको चिकित्सा शिक्षा ऐनले विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि पनि एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने अनिवार्य गरेपछि चीनजाने विद्यार्थीको संख्यामा कमी आएको छ । 

नेपालको चिकित्सा आयोग र मेडिकल काउिन्सलका पदाधिकारीहरू दुई देशबीच सरकारीस्तरबाटै छलफल गरेर विद्यार्थीहरूले अध्ययन गरेको विश्वविद्यालयबाटै पढाइ पूरा गर्नु व्यवस्था मिलाउनुपर्ने भनिरहेका छन् । यस्तो अवस्थामा आखिर निर्दोष दिद्यार्थीहरूको भविष्य अन्योलमा पार्ने निश्चित छ । एकातिर चीनका विश्वविद्यालयले आफ्नो देशमा पढ्नको निम्ति नबोलाउनु र अर्कोतिर नेपालमा बाँकी पढाइको सुविधाको व्यवस्था नहुने भएपछि ती विद्यार्थीको मानसिकतामा नकारत्मक प्रभाव पर्न सक्दछ । 

एमबिबिएसको अन्तिम वर्षको पढाइमा इन्टर्नसिप हुनेगर्दछ । २०१४ ब्याचका विद्याथीहरूको ३ महिनादेखि एक वर्ष इन्टर्नसिप बाँकी थियो यी विद्यार्थीको समस्या समाधान भइसकेको छ । २०१५ र २०१६ ब्याचका विद्यार्थीले भने पूरा एक वर्ष इन्टर्नसिप गर्नुपर्दछ । सन् २०१४ ब्याचका १९३ जना विद्यार्थीमध्ये २८ जनासित कागजातको अभाव थियो । २०१५ र २०१६ ब्याचका विद्यार्थीहरू नेपालमै इन्टर्नसिप गर्ने माग गरिरेका छन् तर नेपाल सरकारले भने चीनसँग समन्वयन गरी यी विद्यार्थीलाई त्यतै पठाउने पहल गर्ने सम्भावना छ ।

किनभने विदेशमा पढाइ गर्न गएकाहरूलाई पढाइ पूरा नगरी यहीँ अवसर दिँदा भविष्यमा तिनको पेशामासमेत समस्या आउनसक्ने ठहर चिकित्सा शिक्षा क्षेत्रका विज्ञहरूको छ । सन् २०२० को अप्रिलको अन्त्यमा अन्तिम परीक्षा उत्तीर्ण गरी सम्बन्धित विश्वविद्यालयमा इन्टर्नसिप गर्ने अवस्था नभएका विद्यार्थीसँग आयोगले आवेदन माग गरेको थियो तर यसलाई निरन्तरता दिने पक्षमा भने मेडिकल काउन्सिल रहेको छैन । 

चीनको विश्वविद्यालयमा अध्ययन गरेका कतिपय यस्ता विद्यार्थी छन् जसले जबसम्म इन्टर्नसिप पूरा गर्ने छैनन् तबसम्म इजाजतपत्र पाउनसक्ने छैनन् । यसको अभावमा बिरामीको उपचार गर्न पाउने छैनन्, जागिर त टाढाको कुरा हो । सन् २०१५ पछि चीनमा पढ्न गएका विद्यार्थीहरूको भविष्यमाथि झन ठूलो खतरा उत्पन्न हुनेछ । चिनियाँ सरकारले या त उसको विश्वविद्यलयमा पढ्ने नेपाली विद्यार्थीलाई पुनः चीनमै पढ्ने अवसर प्रदान गर्नुपर्दछ अथवा नेपालमै इन्टर्नसिप गरेकालाई पूर्णरूपमा मान्यता प्रदान गर्नुपर्दछ, होइन भने भोलिका दिनमा कुनै नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न चीन किन जाने ? भन्ने प्रश्न उठ्न सक्दछ । 

अहिलेसम्म नेपाली युवाहरूमा चीनप्रति खासै बढी नकारात्मक धारणा बन्न सकेको थिएन तर यी र यस्ता घटनाले गर्दा अवश्य तिनको मनमा चीनप्रति अविश्वासको वातावरण उत्पन्न गर्न सक्नेछ । नेपाली विद्यार्थीलाई भारत, अमेरिका, अष्ट्रेलिया, बंगलादेश न्युजिल्याण्ड र अन्य देशरूमा उच्च शिक्षा अध्ययन गर्न जान्छ तर ती देशमा कहिल्यै समस्या उत्पन्न भएकोे सुनिएन तसर्थ नेपाली विद्यार्थीको समस्या समाधान गर्ने काम हुनुपर्दछ । 

३० लाख रुपैयाँ जोहो गर्न एउटा नेपालीलाई आफ्नो घरजग्गा बिक्री गर्ने अवस्थासमेत उत्पन्न गराउँछ । घरका महिलाका गरगहना बिक्री गर्नु, चर्को ब्याजदरमा ऋण काढ्नु र आफूले खुन पसिना बगाई गरेको कमाइबाट पढाइमा खर्च गर्ने गरिन्छ । चिनियाँ सरकारले नेपाली विद्यार्थीहरूको मर्का बुझ्ने काम गर्नुपर्छ । 


Top