नेतृत्व परिवर्तन चित्र कि चरित्रको ?

सन्दर्भ : नेपाली कांग्रेसको १४औं महाधिवेशन

✍️ प्रा.देवीभक्त ढकाल   POSTED ON : आश्विन १२, २०७८ (७:५७ AM)

नेतृत्व परिवर्तन चित्र कि चरित्रको ?

देशमा र सबै पार्टीहरूमा विद्यमान विकृतिका सर्जक निसन्देह सम्बन्धित पार्टीका नेताहरू नै हुन् । विकृतिको कारण उनीहरूको चित्र होइन चरित्र हो । महाधिवेशनहरूले पार्टीका नेताहरूको विकृत चरित्र फेर्ने त कुरै नगरौं कतिले त तीस–चालीस वर्षसम्म चित्र पनि फेर्न सकेका छैनन् । प्रायः सबै पार्टीका महाधिवेशन कर्मकाण्डी प्रमाणित भएको तीतो सत्यलाई कांग्रेसको चौधौं महाधिवेशनले पुनरावृत्ति नगरोस् । फेरि पात्र फेरिँदैमा प्रवृत्ति फेरिन्छ नै भन्ने छैन् । पार्टीभित्रको गुटबन्दी र भ्रष्ट चरित्रले अहिलेसम्मका सबै नेताहरू र सरकारहरू पूर्णतः असफल प्रमाणित भए । कांग्रेसको यो महाधिवेशनले पनि चित्रसम्म फेर्न सकेन भने चरित्र फेरिँदैन । 

चरित्र फेरिएन भने नेतृत्वले जनताका आकांक्षाहरूको प्रतिनिधित्व गर्न सक्दैन । बहुदलीय शासनमा पार्टी नेतृत्वले जनताका आकांक्षाको प्रतिनिधित्व गर्ने योग्यता राखेन भने जनताको भावनाको बिचल्ली हुन्छ । कांग्रेस जनताको भरोसाको केन्द बन्ने कि जनतालाई विचल्ली बनाउने त्यसको निर्णय महाधिवेशनले गर्ने भएकाले सबै सचेत जनताको ध्यान अहिले कांग्रेसको महाधिवेनमा केन्द्रित छ ।

दशकौंदेखिको राजनीतिक लगानी, आफ्नै पार्टी, आफ्नै साथी सत्तामा हुँदा किन हुँदैछ त्यो लगानी आफ्नैका कारणले खरानी ? नेपालको समग्र राजनीति यही सेरोफेरोमा रूमलिएको छ । हाम्रा परिवर्तनहरूले बारम्बार शक्ति केन्द्र फेरिए तर शक्तिमा हुनेहरूको चरित्र फेरिएन । त्यसैले नेपालको राजनीति निराशाको केन्द्र बनेको छ । राजनीतिसँग निराश र आशावादी दुवै बन्न नस्कने अपठ्यारो स्थितिमा हामी छौं । निराशाको कारण हो नेतृत्वमा विकसित व्यक्तिगत स्वार्थ । 

हिजो निःस्वार्थका मूर्तिहरू सत्ता र शक्तिमा पुगेपछि एकाएक पहिचान किन फेरे ? पहिचान र जीवनशैली र चिन्तन फेरिएपछि मानिसमा स्वतःभ्रष्ट आचरणको विकास हुन्छ । धर्म, इमानदारी, सिद्धान्त, निष्ठा र विश्वासलाई तिलाञ्जलि जसले दिन्छ ऊ भ्रष्ट हुन्छ । दुर्भाग्य सबै पार्टीका सत्तासीन भएका नेताहरू कुनै चोखा रहेनन् ।

नेताहरूको निकटतम सम्बन्ध सदाचारसँग हुनुपर्नेमा भ्रष्टाचारसँग छ । भ्रष्टाचारलाई प्रायःसबै पार्टीका सबै तहका नेताहरूले विशेष योग्यता बनाए । भ्रष्टाचारमैत्री चरित्र र आचरण भएका व्यक्तिहरूको नेतृत्वले भ्रष्टाचारको समस्याको जन्जिरभित्र जनता तड्पिएका छन् । महालेखाले ओलीको कार्यकालमा सर्वत्र भ्रष्टाचार देखायो । चारैतिर भ्रष्टाचारको दुर्गन्धभित्र ओली भ्रष्टाचार छैन भन्दै उफ्रन्छन् । भ्रष्टाचारमा नाम कमाउने ओलीमात्र एक्ला होइनन् । सत्तामा हुनेहरूको एउट साझा रोग हो भ्रष्ट आचरण ।

नेपालमा खर्चिलो निर्वाचन नै भ्रष्टाचारको कारण र परिणाम हो । जुन देशमा निर्वाचन खर्चिलो भयो जान्नुस् भ्रष्टाचार भयो । भ्रष्टाचारको प्रारम्भिक उपचार नै निर्वाचन पद्धतिलाई कमभन्दा कम खर्चिलो बनाउनु हो । लगानी गरेपछि नाफा आवश्यक हुन्छ । अहिले भएको भ्रष्टाचार निर्वाचनमा भएको लगानीको उठौती हो । जसले जतिधेरै निर्वाचनमा लगानी गर्छ त्यत्ति नै धेरै भ्रष्टाचार गर्छ । फेरि एकपटक निर्वाचन धनले जित्नेले सधैं निर्वाचन जित्ने आधार धनलाई बनाउँछ । त्यसरी धनले निर्वाचन जित्नेहरूको ध्याउन्न देश बनाउँन हुँदै हुँदैन । 

धनको बलमा निर्वाचनमा प्रतिस्पर्धाहरू, भोटका लगि डर धम्की दिनेहरू देशघाती र अयोग्य उम्मेदवार हुन् । निर्वाचन देश र समाज परिवर्तनको नयाँनयाँ खाकाहरूको छलफल र त्यसको छनौट बारे जनताको अधिकारको सुनिस्चितता हो । फगत भोट हाल्न पाउने व्यवस्थालाई प्रजातान्त्रिक निर्वाचन भनिँदैन । कुनै डर, त्रास, प्रलोभन तथा षड्यन्त्रविना उम्मेदवारहरूको योजना र खाकाको आधारमा उम्मेदवार छनौट गर्न पाउने अधिकारको सुनिस्चितताभित्र मात्र प्रजातान्त्रिक निर्वाचन पद्धतिको मर्म जीवित हुन्छ । निर्वाचन उम्मेदवारको योग्यता, कार्यकुशला र क्षमतालाई जनतासम्म लैजाने र त्यसलाई जनअनुमोदन गर्ने प्रक्रिया हो ।

त्यसैले निर्वाचन उम्मेदवारका विचारहरू, योजनाहरू र विकासका कार्यक्रमलाई प्रत्यक्ष जनतासम्म पु¥याउने अभियान हो । जनतासँग पार्टीलाई र देशलाई कसरी अगाडि बढाउने भन्ने रणनीति, अन्तक्र्रिया, छलफलको निष्कर्ष हो निर्वाचन परिणाम ।

निर्वाचनमा धनको प्रयोग भनेको भविष्यमा भ्रष्टाचार गर्ने योजना हो । अब लोभ, लालच, मोलाहिजा र दलको समेत दास भएर भोट दिनै हुँदैन । दललाई भन्दा उम्मेदवारको योग्यता, आचरण र इमानदारीलाई मतदान गर्ने मनोविज्ञान विकास गरौं त सबै दलले योग्य उम्मेदवार छान्न बाध्य हुन्छन् । हामीले अहिलेसम्म दललाई रोज्दा ती दलका नेताहरूले देशलाई नै दलदलमा पु¥याए । दलका नेता आफैं इमानदार नहुँदा यिनीहरूको योग्य उम्मेदवार छान्ने योग्यता, चरित्र र विवेक नै छैन । अब मतदाताले पनि पार्टीको पूर्वाग्रहबाट सच्चिनुपर्ने हो कि ? 

हामीले दललाई आँखा चिम्लेर छान्ने खराब आदतले दलहरूले खराब उम्मेदवार दिए । अब दलभन्दा उम्मेदवारको योग्यतालाई मतदान गरौं त दलहरूले राम्रोभन्दा राम्रो उम्मेदवार छान्नुपर्ने बाध्यता सिर्जना हुन्छ । हामी दलको मालिक हौं भन्ने सन्देश जनताले निर्वाचनमा दिनुपर्छ । असल उम्मेदवार नदिने दललाई मतदान नगरौं त शुद्धीकरणको दबाब स्वतः सिर्जना हुन्छ । 

कांग्रेसभित्र शुद्ध कांग्रेसकै खडेरी अपत्यारिलो विषय ? यो तीतो सत्य हो । शुद्ध नेपाली कांग्रेसका शुभचिन्तक, मतदाता र कार्यकर्ता अहिले नेतृत्वविहीन छन् । के चौधौं महाधिवेशनबाट तिनीहरूलाई नेतृत्व दिने नेता जन्मन्छ ? फेरि गुटकै नेताले पार्टी सञ्चालन गर्ने अवस्था बन्यो भने पार्टी थप दुर्घटनाग्रस्त हुन्छ । विवेकलाई प्रयोग गर्न क्रियाशील सदस्यहरू चुक्नु हुँदैन । कांग्रेसभित्र नेपाली कांग्रेस होइन देउवा कांग्रेस, पौडेल कांग्रेस र सिटौला कांग्रेसको बिगबिगीले शुद्ध नेपाली कांग्रेसका कार्यकर्ता टुहुरा भए ।

यसले गर्दा कांग्रेस पार्टीको बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेतृत्वले निर्माण गरेको संगठनात्मक विरासतलाई क्षतविक्षत पार्दा कांग्रेस सबैभन्दा धेरै मत पाउने तर पराजित पार्टी बन्यो । गुटगत नेतृत्वमा अल्झेको कांग्रेस चौधौं महाधिवेशनको निर्वाचनले गुुटको संस्कृतिको अन्त्य गरेन भने कांग्रेस घरमा जर्सी गाई पाल्ने तर दूध दुहुन नजान्ने किसानजस्तै हुन्छ ।

चौधौं महाधिवेशनमा देशको, जनताको र कांग्रेसको भविष्यप्रति चिन्तन गर्ने कांग्रेस रोज्ने कि आफ्नै भविष्यप्रति चिन्ता गर्ने कांग्रेस रोज्ने ? देश, जनता र पार्टीप्रति इमानदार कांग्रेस रोज्ने कि गुट र व्यक्तिप्रति इमानदार कांग्रेस रोज्ने ? जनताका समस्यालाई समाधान गर्ने कांग्रेस रोज्ने कि व्यक्तिगत समस्या र व्यक्तिगत लाभमा केन्द्रीकृत कांग्रेस रोज्ने ? आफ्नो लागि काठमाडौंमा महल बनाउने कांग्रेस रोज्ने कि जनताका झुपडीको मुहार फेर्ने कांग्रेस रोज्ने ? आफ्नो घरदैलोमा सुविधा सम्पन्न बाटो लैजाने कांग्रेस रोज्ने कि जनताको झुपडीमा बाटो पु¥याउने चिन्तन बोक्ने कांग्रेस रोज्ने ? 

आफू बिरामी हुँदा विदेशी अस्पतालमा राज्यको ढुकुटी सक्ने कांग्रेस रोज्ने कि देशभित्रै राम्रो अस्पताल बनाएर जनतालाई गुणस्तरीय स्वास्थ्य सुविधा दिने चिन्तन बोक्ने कांग्रेस रोज्ने ? देशभित्रका शिक्षण संस्थाहरूको गुणस्तरलाई छिन्नभिन्न पार्ने र जनताका छोराछोरीलाई आफ्ना लफंगा कार्यकर्ता बनाउने र आफ्ना छोराछोरी विदेशका गुणस्तरीय शिक्षण संस्थामा पढाउने स्वार्थी कांग्रेस रोज्ने कि देशभित्रै गुणस्तरीय शिक्षण संस्थाहरूको सपना देख्ने कांग्रेसको नेतृत्व रोज्ने ? भाषणमा परिवर्तनका आधारहीन गफ चुट्ने कांग्रेस रोज्ने कि व्यवहार र क्रियाकलापका माध्यमले वास्तविक परिवर्तन गर्ने कांग्रेस रोज्ने ?

पञ्चायतकालको जस्तो गाउँ फर्क राष्ट्रिय अभियानको गन्धमा रमाउने नेतृत्व छान्ने कि प्रजातान्त्रिक पद्धतिको नेतृत्व छान्ने ? देशको अर्थतन्त्रलाई वैज्ञानिक सुधार गरेर देशभित्रै युवाहरूलाई रोजगारीका अवसरहरू देख्ने कांग्रेस रोज्ने कि नागरिकलाई विदेशीको गुलाम बनाउन खाडीमा निर्यात गर्ने कांग्रेस रोज्ने ? देश विकासको स्पष्ट खाका भएको कांग्रेस रोज्ने कि निजी स्वार्थमा केन्द्रीकृत कांग्रेस रोज्ने ? स्वचालित कांग्रेसको नेतृत्व छान्ने कि सञ्चालित नेतृत्व छान्ने ? राज्यका साधन र स्रोतहरूलाई मितव्ययी प्रयोग गर्ने कांग्रेस रोज्ने कि ढुकुटीलाई सत्यनाश गरेर राज्यलाई कंगाल र आफू र आफ्नालाई धनी बनाउने कांग्रेस रोज्ने ? 

शहरमा बस्ने र गाउँको प्रतिनिधि बन्ने कांग्रेस रोज्ने कि गाउँमासँगै बस्ने सधैं दुःखसुख साटासाट गर्ने कांग्रेस रोज्ने ? कांग्रेसको वैशाखीमा सत्तामा जाने र कांग्रेसको विचार र सिद्धान्तको हत्या गर्ने कांग्रेस रोज्ने कि विचार सिद्धान्तका लागि सबै अवसर र आकर्षणलाई परित्याग गर्ने चरित्रवान र क्षमतावान कांग्रेस रोज्ने ? कांग्रेसको सिद्धान्तप्रति मन वचन र कर्मले निष्ठावान व्यक्ति रोज्ने कि कांग्रेसका मूल्य, मान्यता, भविष्य र सिद्धान्तलाई स्वार्थसँग सहजै विनिमय गर्ने नेतृत्व रोज्ने ? विभाजनमा रमाउने कांग्रेस रोज्ने कि एकतामा भविष्य खोज्ने कांग्रेस रोज्ने ? आफूमात्र धनी बन्न राष्ट्र शोषण गर्ने कांग्रेस रोज्ने कि राष्ट्र समृद्ध बनाउने सोच राख्ने कांग्रेस रोज्ने ? 

मुखले यो निर्वचनलाई कांग्रेसको एकअर्कासँग मन मुटु जोड्ने भनेका छौं के त्यो व्यवहारमा लागू छ ? यसको आत्मिक मूल्यांकन र सिंहावलोकन जरुरी छ । अहिले मत बढी प्राप्त गर्नेले जित्ने, कम प्राप्त गर्नेले सिक्ने । राम्रा नछुटून् खराबले नजितून् । के यो सम्भव छ ?

सशक्त, एकताबद्ध, योजनाबद्ध, सिद्धन्तनिष्ट, नीति-विधि र विचारद्वारा निर्देशित र समर्पितमात्रै होइन सादा जीवन, सादगी भोजन, सादगी पहिरन, सादगी रहनसहन, व्यवहार आचरण, संस्कार, निष्ठा र समर्पण भएको कांग्रेस नेतृत्वलेमात्र वैचारिक संघर्षका माध्यमले विरोधीलाई पराजित गर्नसक्छ । यस्तो कांग्रेसले जनताको आर्थिक जीवनमा आउने परिवर्तनसँगै आफूलाई परिवर्तन गर्ने धैर्य राख्छ । विगतमा प्राप्त अवसरलाई भ्रष्टाचारसँग विनिमय गर्नेलाई गाउँबाटै बाटो बन्द गर्ने अभियानले सार्थकता पाउनुपर्छ ।

माथिका विषयको छिनोफानो गर्ने निर्णायक घडीमा कांग्रेसका क्रियाशील कार्यकर्ता छन् । देशलाई विकासतिर डोहोर्‍याउने कि विनाशतिर लैजाने भन्ने निर्णायक भूमिकामा कांग्रेसका कार्यकर्ता छन् । यस्तो महत्वपूर्ण विषयको निर्णयलाई नाता, पैसा, छिमेकी, भोज, रमझमको व्यवस्था जस्ता गैरराजनीतिक आधारमा निर्णय नगरौँ । 

निर्वाचनबाट एउटामात्र मानिस खराब निर्वाचित भयो भने बाँकी सबैलाई खराब बनाउन एउटै काफी हुन्छ । त्यसैले विवेकलाई व्यक्तिगत प्रलोभनमा जिम्मा दिएर मतदानको बेला आफ्नो जिम्मेवारीबाट पन्छनेहरू नै कांग्रेसको मात्रै होइन यो देशको अन्धकार भविष्यका योजनाकारहरू हुन् । हेरौं कांग्रेसको १४औं महाधिवेशनले चित्रमात्रै फेर्छ कि चरित्रसमेत फेर्छ ? नेतृत्वको चित्र होइन चरित्र फेर्न आवश्यक छ । हाम्रो पुस्तालाई राजनीति गर्नेहरूले धेरै ठगे अब आउने पुस्तालाई नठग्ने नेतृत्वको छनौट गरौं । 


Top