स्वर्गवासी गणेशमानजीलाई मत्र्यवासी कुलप्रसादको पत्र

✍️ कुलप्रसाद कोइराला   POSTED ON : आश्विन १३, २०७८ (७:४४ AM)

स्वर्गवासी गणेशमानजीलाई मत्र्यवासी कुलप्रसादको पत्र

आदरणीय गणेशमानजी, जयनेपाल,

तपाईं बसाइँ पनि सर्नुभयो, बुढो मान्छे बिर्सनु पो भयो कि ? एक दिन बेलुका महेन्द्र मिश्रले कर्कर गरेपछि तपाईंको चाक्सीबारी निवासमा हामी आएका थियौं । तपाईं भान्सामा हुनुहुँदोरहेछ । हामीलाई त्यहीँ बोलाउनुभयो र हामी पनि आफ्ना नेताका भान्सामा पस्न पाउँदा अति आनन्दित भएर तपाईंनेरै बस्यौं । भोक लागेको होला केही खुवाऊ भनेर आदेश दिनुभयो । मीठामीठा परिकार खाजा भने पनि म त टन्न भएँ । महेन्द्र मिश्र अघाए अघाएनन् मैले जान्ने कुरो भएन । त्यसदिन मसँग पनि पैसा थिएन । महेन्द्रजीसँग पनि थिएन । भएको दिउँसै दुवैले दशतिर कुदेर सकेका थियौं तर तपाईंसँग भन्ने हैसियत हामी दुवैसँग थिएन ।

हामी महेन्द्रजीको दुई वर्षे उपल्ला सदनको अवधि पूरा भएको हुनाले अरू सके चार वर्ष नभए पनि दुई वर्ष त थपिँदिनै पर्‍यो भन्न गएका थियौं । गिरिजा दाइलाई टेलिफोन गरेर पो मलाई हप्काउनुभएको थियो, उता कुरा भएको कुरो मलाई किन नभनेको ? गिरिजा बाबुले मैले दिउँसै भने त गरिदिन्छु भनेर भन्नुभएको रहेछ तपाईंसँग उहाँले होइन त ? सम्झनुभयो ? हो, त्यसै दिन निकैबेर कुराकानी भएपछि तपाईं आफैं अगाडि बसेर हामीलाई घरघरमा पुर्‍याउन आउनुभयो । तपाईंका काखमा बसेर मेरा छोराले फोटो लिए । खल्तीमा के थियो तपाईंले दिएको गणेशमान हजुरबाले दिनुभएको भनेर धेरै दिनसम्म पुर्‍याएर खाएको देखेथेँ । 

मैले नेताले कार्यकर्तालाई त्यो पनि धेरै तल्लातहकालाई यसरी मायाका जलले सेचन गरेको पहिलोपल्ट अनुभव गरेको थिएँ गणेशमानजी त्यस दिन । हुन त यसभन्दा पहिले म जनकपुर नेपाली कांग्रेसको कार्यालय सचिव भएर बसेका बेला तपाईं र गिरिजा दाइ जानुभएको थियो । गिरिजा दाइ एकदिन ब्रहृमपुरी (मैयाँ भाउजूका घरमा) र भोलिपल्टदेखि जचुकालिको गेष्ट हाउसमा बस्नुभयो । तपाईं गएकै दिनदेखि पार्टी अफिसमा नै बस्नुभएको थियो । तपाईंका लागि बीचमा प्वाल भएको एउटा कुर्सी बनाएका थियौं हामीले । बाथरुममा नै पत्रपत्रिका, रेडियो सेभिङका सामान सबै व्यवस्थित गरेका थियौं । 

राणाले कुटी कुटी तपाईंलाई बस्नै नसक्ने बनाएका हुनाले तपाईंलाई कम्बोट चाहिँदोरहेछ । त्यस बेला नेपालमा कम्बोटको प्रचलन आएको थिएन । तपाईंले बेलुका मेरो सारा पुर्खौली सुन्नुभएको थियो । पिपरावालाको घरमा पार्टी अफिस थियो शिवचोकमा । डा.गौराङ्ग मिश्रहरू पैसा लिँदैनथे । जसका पछाडि सिंगो विश्व अदबले झुक्थ्यो त्यो गणेशमानको सेवा गर्ने मौका पनि पाइएको थियो ।

साधारण दुःखी गरिब मान्छे बजारमा देख्दा पनि तपाईं कल्पनुहुन्थ्यो, त्यो करुणा आज कसैमा छैन । धनदौलतका भोका मात्रै होइन दरिद्र छन् सबै । धनदौलत र पदप्रतिष्ठाका निमित्त कांग्रेस कांग्रेसमा चारो खाने बेलाका कागको चरित्र देखिन्छ । एक टुक्रो खाने कुरा खान कागले जसरी हल्ला गर्दछन् त्यसरी नै कांग्रेसमा म खाऊँ मै लाऊँले ग्रस्त पारेको छ । कल्पना गर्नुस्, शेरबहादुरका विरुद्ध विमलेन्द्र निधि, शेखर र शशांक नै पनि एक अर्काका विरुद्ध सभापति पदमा लड्ने सम्भावना छ भन्छन् । सके यिनलाई सद्बुद्धि पठाइदिनुहोस् । तपाईंका पालामा विप्र कोइराला र मातृका कोइराला लडेजस्तो अवस्था आज छैन । 

आज त्यसो गरे भने त गणेशमानजी कांग्रेस त तपाईंहरू बसेकै लोकमा आइपुग्छ । तपाईंका आदरणीय कोइरालाजीसँग त भेट भइरहँदो हो नि । गिरिजाप्रसाद आउँदा भने तपाईं त्यहाँ पनि मुख अमिलो बनाउनुहुन्छ होला होइन ? हुन त तपाईं र सुवर्णजी सभापतिमा लड्दा बिपीलाई कत्रो धावा परेको थियो सोच्नुस् त । तपाईंको हठयोग पनि प्रसिद्धै छ । तपाईं बीपी र सुवर्णजी जसरी सिद्धान्त, देश र जनताका निमित्त अहिले सोचेको देखिँदैन । प्रत्येक जसो भ्रष्टाचार तथा आर्थिक अपचलनका कुरा आए भने त्यसमा नेपाली कांग्रेसका कुनै न कुनै नेताको नाम मुछिएकै हुन्छ ।

हुन त यो देशका वामहरू पनि जर्ज अर्बेलका सुँगुर जस्तै धन, विलास र भ्रष्ट आचरणका रहेछन् । जनतालाई हामी सबै समान भन्ने तर हामी केही चाहिँ अतिविशिष्ट हौं भनेर ओली गुट र माधव गुटमा घमासान नै परेको पनि देखियो । तपाईं भन्नुहुन्थ्यो अरू सबैले घाम पूर्वबाट उदाउँछन् भनेदेखि कम्युनिस्ट पश्चिमबाट उदाउँछन् भन्छन् भनेर । हो रहेछ गणेशमान जी, यी गोन्जालो र चेग्वेभाराका चेला अरू साधारण मान्छेले बुझे गरेभन्दा तल्लो र उल्टो काम गर्नैपर्दो रहेछ यिनलाई । बिआरआई कसैले थाहै नपाई पास भयो । 

एमसिसी बास बस्ने बेलाका रुपी कराए झैँ कम्युनिष्ट कराएर अल्झो लाई त हाले । हुन त यसमा कांग्रेसले पनि अलि कपटी चाल चाहिँ गरेको जस्तो लाग्यो । कागलाई मयूर बनाएर एकछिन पो भ्रमित बनाउन सकिएला सधैं त सकिँदैन । राजालाई पञ्चायतमा प्रजातन्त्र हुँदैन छैनभन्दा तपाईं यस्तै रमाइला उदाहरण दिनुहुन्थ्यो । सबैले लौहपुरुष भन्दा तीन-तीनवटा राजाले डढाएर मलाई भस्म बनाए, भन्नै परे लौहभस्म भन्नुस् पनि भन्नुभएथ्यो ।

प्रकाशमानजी अहिले ठूलो नेता हुनुभएको छ तर उहाँको आफ्नै चिन्तनमा समस्या देखिन्छ । त्यस्तै अरू-अरू सबैजसोका समस्या छन् । कुलघरानको निरवछिन्न उत्तराधिकारको शासन प्रणालीको तपाईंहरूले विरोध गर्नुभएको होइन ? पीएल दाइ हराए राजनीतिमा उनी छैनन् । एकपल्ट महानगरपिता भएर सारा साधन स्रोत जुटाइदिए । उनले जम्मा पारेका धनदौलतमा अरू अरूले मस्ती गरे । जुद्धसमशेरकी नातिनी नेपाली कांग्रेसकी नेता बन्दैछिन् । तपाईंहरू गएपछि तपाईंहरूले स्थापना गरेको पार्टीमै पारिवारिक तन्त्र हावी हुन थालेको छ । विचरा कल्याण गुरुङ, प्रदीप पौडेल, गगन थापा, गुरु घिमिरे, धनराज गुरुङ, बद्री पाण्डेजस्ता युवकले वृद्ध नभई मौकै नपाउने अवस्था छ । 

विश्वप्रकाश शर्मालाई डा.प्रकाशशरणले विस्थापित गरिदिए शेरबहादुरले छोरो र पत्नी स्थापित गर्नुपर्ने भएपछि । विचरा विश्वप्रकाश शर्मा कता शरण पाइएला भन्ने अवस्थामा पुगे । उनी नेपाली कांग्रेसमा चाहिने मान्छे हुन् तर कृष्ण सिटौलाका तप्क्यानले उनलाई टक्स्याइदियो । गणेशमानजी, यी मैले नाम लिएका युवकहरू आसलाग्दो व्यक्तित्वका छन् । तपाईंहरूका उत्तराधिकारीको डुक्राइले यिनको सातो जाने अवस्था बनाइएको छ । शेरबहादुरले त धन, जन, अविवेक सबै प्रयोग गर्दा पनि नभएपछि राज्यशक्तिसमेत प्रयोग गरेर विराशद थाम्ने प्रयत्नको थालनी डडेल्धुराबाट गरे । 

पटकपटक सत्तामा गएर पनि देश र जनतालाई दोहन गर्नुबाहेक अर्को एउटा सानो सिन्को पनि भाँच्ने क्षमता नभएका ठूला नेता बनेका छन् । यो कांग्रेसमा मात्रै होइन कम्युनिष्ट र मधेसवादी पार्टीको र जातीय पार्टीमा पनि यही रोगले आफ्ना जरा फिजाउँदै लगेको देखिन्छ । नेपालको राजनीति नेतापुत्रका नाममा रजिस्टरी गर्ने विधान या ऐन बनाए पनि हुने देखिन्छ । रामचन्द्र पौडेल पनि छोरो र छोरीज्वाइँ राजनीतिमा स्थापन गर्ने धुनमा छन् रे । अँ तपाईंलाई खुशीको खबर छ । अहिले धनुषामा गणेशमान चारनाथ नगरपालिका स्थापित भएको छ । यसो गर्ने काम पनि केशवानन्द गिरी भएको हुनाले भएको हो अन्यथा चारनाथ नगरपालिका नाम राख्न खोजिएको थियो । 

तपाईंले त्यतिका सुकुम्बासीलाई आफ्नो पैतृक जग्गाजमिनको लालपुर्जा बनाएर वितरण गरेको कुरो पोलेर खान पनि सक्थे । पुरानो बानेश्वरको चोकको शीतलपाटी व्यक्तिका नाममा गएर अहिले विशाल ब्यापार कम्प्लेक्स बनेको छ । देख्नेका आँखा फुटे सुन्नेका सही भएको छ । यस्तो काम पनि तपाईंका पुत्रकै निर्वाचन क्षेत्रमा भएको छ । जाली फटाहाका आडमा मात्रै राजनीति सुरक्षित हुन्छ भन्ने धारणा राजनीति कर्मीले बनाएपछि सामान्य जनता न्याय र सदाचार खोज्न कहाँ जाने गणेशमानजी ? 

पार्टीमा सहमति सल्लाहमा होइन, लेनदेन, डर, धाक, धम्की, लोभलाल्चा तथा मोलमोलाइमा सबै काम हुन थालेका छन् । एउटा राम्रो सुरुवात के भएको छ भने जनतामा विश्वास जमाउने काम गर्नैपर्दैन । दुई–चारवटा क्लब खोलिदियो त्यहाँ गुण्डालाई संरक्षण गरिदियो सधैं विजेता । ‘टका धर्म टका कर्म टकायै परमं सुखम्’ गायत्री मन्त्र बनेको छ नेताको । रामचन्द्र पौडेललाई त तपाईं यो बाहुन ठीकै छ भन्नुहुन्थ्यो । ती पनि अब त ६० र ४० का कुम्लाकुटुरा बोकेर जनकपुर जयनगरको रेल्वेमा भिक्स बेच्नेजस्ता भएका छन् । उनी कराइरहन्छन् शेरबहादुर मनलाग्दी गरिरहन्छन् । 

त्यस बेला भनिन्थ्यो, ‘तपाईंलाई जे पनि बोल्ने छुट, शरच्चन्द्र शाहलाई जे पनि गर्ने छुट र साप्ताहिक विमर्शलाई जे पनि लेख्ने÷छाप्ने छुट छ’ भनेर । तपाईं बेलाबेलामा विद्रोह गर्नुहुन्थ्यो सबै डराउँथे । राजारंक कोही पनि तपाईंको सामना गर्न सक्दैनथे । तपाईं त्याग, निष्ठा, संगठन र उदारताको पिरामिड हुनुहुन्थ्यो । यद्यपि तपाईंका कमीकमजोरी थिए होलान् तर समाज तपाईंमा पनि कमजोरी हुनसक्छन् भन्ने कुरो पत्याउँनै तयार थिएन । त्यही तपाईंको आर्जन थियो । 

त्यस बेलाका नेता, मन्त्री तपाईंहरू समाजको इतिहासका आदर्श उदाहरण हुनुहुन्थ्यो । आजका सांसद मन्त्रीलाई हलोकोदालो गर्नेदेखि पढालेखा सबैले सराप्छन् । सबैले भ्रष्टाचारी फटाहा भन्छन् तर चुनावमा विकल्प नपाएर हो या मीठोमसिनो खान नपाएका हुनाले एकदिन पाएको किन गुमाउने भनेर हो रक्सी र मासुमा बिकेर मतदान पनि गर्छन् । अचम्म छ गणेशमानजी, हाम्रा देशको हालहवालात । तपाईं अहिले बसेका मुलुकको हालचाल पाउन पाए मजा हुन्थ्यो तर त्यो सम्भव नहोला ।

उही तपाईंको साधारण कार्यकर्ता

कुलप्रसाद कोइराला


Top