शब्द-संसार संयोजन

✍️ प्रा.डा. भुपप्रसाद धमला   POSTED ON : आश्विन १३, २०७८ (७:४८ AM)

शब्द-संसार संयोजन

के हामीले कहिल्यै यत्तिका धेरै प्राणीहरू बसोबास गर्ने यस पृथ्वीमा किन मान्छेमात्र संसार बुझ्न र बताउन सक्ने भयो होला भनेर गम्भीरतापूर्वक घोरिएर बिचार गरेका छौं ? के हामीले मान्छे मात्रको स्मृतिमा किन यति धेरै ज्ञान भण्डारण भयो होला भनेर कहिल्यै सोचेका छौं ? सरल जस्ता देखिए पनि यी प्रश्न अलि जटिल छन् । प्रश्न जति जटिल देखिन्छन् तिनका उत्तर त्यत्ति नै जटिल पनि हुन्छन् । 

यी प्रश्नका सम्बन्धमा सरल जस्तो देखिने एउटा अलि जटिल कुरा छ । सबैलाई थाहा छ मानवजातिसँग एउटा अद्भूत शक्ति छ जुन अरू प्राणीसँग छैन । त्यो शक्ति अर्थोक केही नभएर विचार आदानप्रदानको माध्यमको रूपमा रहेको भाषा हो । मानवले प्रयोग गर्ने भाषामा ध्वनि संयोजन गरी शब्द र शब्द संयोजन गरी बाक्य बनाइन्छन् । ध्वनि उत्पन्न गर्ने क्षमता अरू प्राणीसँग पनि हुन्छ तर तिनलाई अर्थपूर्ण शब्दमा र शब्दलाई सन्देशमूलक वाक्यमा संयोजन गर्नसक्ने सामथ्र्य भने मानव जातिसँग मात्र हुन्छ भन्ने कुरा हामीलाई थाहै छ । भाषाले मानव मन र मस्तिष्कलाई संसारसँग जोड्दछ । संसार बारेको ज्ञान यसरी निर्माण हुन्छ । सोही ज्ञान अर्को पुस्तामा स्थानान्तरण हुँदै जान्छ ।

शब्द-वस्तु योग :

शब्द नै त्यस्तो कुरा हो जसले हाम्रो मस्तिष्कले बनाएको धारणालाई संसारसँग जोड्दछ । सामान्य जस्तो देखिए पनि यो प्रक्रिया अलि यान्त्रिक जस्तो छ । प्रसिद्ध आधुनिक भाषाशास्त्री फर्डिनान्ड डि ससुर (१९१३) भन्छन्व-स्तु र त्यस वस्तुसम्बन्धी धारणाबीच शब्दले पुलको काम गर्छ । कुनै शब्द उच्चारण हुने बित्तिकै त्यसले यही वस्तुलाई जनाएको हो भनेर दिमागमा त्यस वस्तुका बारेमा एउटा धारणा बन्दछ । जस्तो कि रूख भन्ने शब्द कसैले उच्चारण गर्ने बित्तिक्कै साँच्चैको रूख नदेखे पनि रूखको चित्र हाम्रो मानसपटलमा उपस्थित हुन्छ । रूखलाई नेपाली भाषिक समुदायले ‘रूख’ भन्ने शब्दको उच्चारण हुने बित्तिक्कै बुझ्दछन् । 

त्यसैगरी प्रत्येक भाषिक समुदायले त्यो शब्दका माध्यमबाट त्यस वस्तुलाई राम्ररी बुझ्दछ र अरूलाई पनि बुझाउँछ । शब्दले वस्तुलाई यसरी अनौठो ढंगले संयोजन गर्छ । ससुरको विचारमा शब्द र संसारबीचको यो सम्बन्ध काल्पनिक हुन्छ-काल्पनिक यस अर्थमा कि जुन वस्तुका लागि जे शब्द दिए पनि हुन्छ । जस्तो कि गुलाफ भनिने वस्तुलाई कुनै अर्को नाम दिए पनि त्यसको सुगन्ध उही र उस्तै हुन्छ (शेक्सपियर, रोमियो याण्ड जुलियट) अर्थात् ‘रोज’ शब्द गुलाफको बोट वा फूल जस्तो देखिँदैन तर त्यस शब्दलाइ अंग्रेजीमा रोज भनिन्छ । वस्तुलाई जनाउने नाम जे पनि हुन सक्ने भएकोले त्यसलाई काल्पनिक भनिएको हो । 

त्यसले यही वस्तुलाई जनाएको हो भन्ने कुरा केवल त्यस भाषिक समुदायको बीचमा आम समझदारी बन्नु पर्छ । शुरुमा कसैले कुनै वस्तुको नाम आफ्नो मनखुशीले दिन्छ त्यसैले त्यो बिलकुल काल्पनिक हुन्छ तर काल्पनिक भए पनि निश्चित भाषिक समुदायले त्यसलाई अपनाउँछ अनि त्यसको अर्थ पारम्परिक हुन्छ । त्यसपछि त्यसको अर्थ निश्चित जस्तै हुन्छ कुनै व्यक्तिले आफूखुशी शब्द परिवर्तन गर्न सक्दैन ।

प्रयोगमा आउने शब्द प्रतीकात्मक हुन्छ-प्रतीकात्मक यस अर्थमा कि शब्द र त्यसले जनाउने वस्तुको बीचमा प्राकृतिक सम्बन्ध हुँदैन । प्राकृतिक सम्बन्ध हुँदैन भन्नुको अर्थ हो शब्द र त्यसले जनाउने वस्तु उस्तै देखिँदैनन् जस्तो कि जंगलमा पाइने रूख र त्यसलाई जनाउने शब्द ‘रूख’ विल्कुल फरक हुन्छन् त्यसैले जंगलको रूख र पुस्तकको रूख प्राकृतिक रूपले उस्तै हँुदैनन् । उस्तै नभएर नै प्राकृतिक सम्बन्ध हँुदैन भनेको हो । प्राकृतिक नभएकैले कुनै भाषामा प्रयोग हुने शब्द प्रतीक मात्र हो । 

तर, शब्द र वस्तुबीचको सम्बन्ध प्राकृतिक नभएरमात्रै शब्द प्रतीक हो भनेको होइन । माथि भनिए जस्तै अंग्रेजी भाषामा ‘रोज’ भनिने वस्तुलाई नेपाली भाषामा ‘गुलाफ’ भनिन्छ किनभने अंग्रेजी भाषी समुदाय र नेपाली भाषी समुदायले पहिलेदेखि नै आफ्ना आफ्ना शब्दलाई त्यस वस्तुको प्रतीक बनाए जुन प्रतीक जे पनि हुन सक्थ्यो । प्रतीक अलौकिक होइन नितान्त लौकिक हुन्छ किनभने यो लोक परम्पराबाट उत्पति र विकास हुन्छ । 

उदाहरणका लागि कुनै वस्तु एउटा भाषामा एउटा नामले चिनिन्छ भने अर्को कुनै भाषामा अझ अर्को नाममा पुकारिन्छ । जति धेरै भाषा हुन्छन् त्यति धेरै भिन्दै नाम हुन सक्छन् जस्तो कि नेपाली भाषामा बोलिने ‘रूख’ शब्द संस्कृतमा ‘वृक्ष’, हिन्दीमा ‘पेड’ र विश्वका अन्य विभिन्न संस्कृतिका भाषामा अझ भिन्नै शब्दहरू हुन्छन् तर ती शब्दले उही वस्तुलाई जनाइरहेका हुन्छन् । त्यत्तिमात्र होइन कतिपय अवस्थामा एक शब्दले पनि धेरै वस्तुलाई जनाइरहेको हुन सक्छ । यसकारणले शब्द र वस्तुबीचको सम्बन्ध प्रतीकात्मक हुन्छ । 

भाषाको सीमा :

तर, शब्द भौतिक संसारमा विद्यमान प्रत्येक वस्तुको प्रतिबिम्ब होइन । सबै मूर्त वस्तुको नाम त राख्न सकिएला । संस्कृति विशेषको अर्थ पनि स्थापित हुन सक्ला तर अमूर्त वस्तुको नाम कसरी राख्ने ? सबैले बुझ्ने गरी अमूर्त वस्तुलाई शब्दसँग कसरी जोड्ने ? त्यो शब्द र अमूर्त वस्तुलाइ मूर्त रूपमा एकै ठाउँमा कसरी राख्ने ? उदाहरणका लागि लोकतन्त्र, समाजवाद, स्वतन्त्रता, सामजिक न्याय जस्ता शब्दको प्रतिरूप के हुने ? जीवन र जगत बुझ्नका लागि बडो मुस्किलले मात्र अमूर्त वस्तु र शब्दको संयोजन गरिएको हुन्छ । यस अर्थमा भाषाले संसारलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैन । 

कतिपय विद्वानहरूले अनुकरणात्मक शब्दले त्यसले जनाउने वस्तु वा घटनाको वास्तविक प्रतिनिधित्व गर्छ भन्छन् तर वास्तवमा भाषाले संसारको सही प्रतिनिधित्व गर्दैन । भाषाले संसारलाई अंशमा मात्र प्रस्तुत गर्छ पूर्णमा होइन । झलक्क हेर्दा शब्द र संसारबीचको यो सम्बन्ध विलकूल सत्य हो जस्तो लाग्छ तर यो कुरा साँचो होइन । उदाहरणको लागि कुखुराको भालेको आवाजसँग मिल्ने भनिएको शब्द ‘कुखुरीकाँ’ ठ्याक्कै भालेको आवाजसँग दुरुस्त मिल्दैन । फेरि त्यही भाले बासेको आवाज अन्य संस्कृतिका भाषामा अझ भिन्नै ढंगले उच्चारित हुने गर्दछ । त्यसकारण जीवन र जगतका प्रत्येक वस्तु भाषामा प्रतिबिम्बित हुन सक्दैन । यस अर्थमा भाषाको काम र सामथ्र्य पनि सीमित नै हुन्छ ।

यस सम्बन्धमा फ्रेन्च दार्शनिक ज्याक डेरिडा (१९६६) भन्छन्–कुनै भाषामा प्रयोग हुने शब्द र वस्तुबीचको सम्बन्ध काल्पनिक र प्रतीकात्मक भएको कारणले यसले दिने अर्थमा पनि समानता र निश्चितता हुँदैन । यही कारणले शब्द र अर्थको बीचमा स्थायी र यकिन सम्बन्ध हुँदैन । यस अर्थमा कुनै अर्थ सर्वकालिक हँुदैन । अर्थ परिवर्तनशील भएको कारणले भाषालाई सिपालु मान्छेले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न पनि सक्छ । 

राजनीतिक शब्दावली :

कुनै पनि समाजको कुनै पनि भाषा तटस्थ हुन्छ भन्न सकिँदैन । यसले अर्थको अनर्थ र अनर्थको अर्थ पनि निकाल्न सक्छ । भाषा पक्षपाती प्रकृतिको हुन्छ त्यसैले यसले दिने अर्थ पनि निष्पक्ष हँुदैन । स्वार्थी र शक्तिशाली मानिसले यसलाई आफ्नो स्वार्थअनुकूल हुनेगरी प्रयोग गर्न सक्छ । विशेष गरी राजनीतिक शब्दावलीको प्रयोग दैनिक कामकाजको भाषाको प्रयोगभन्दा फरक हुनसक्छ । हिजोआज राजनीतिक भाषा यथार्थभन्दा धेरै टाढा हुन थालेको छ । यसको मुख्य कारण शब्दमा अर्थको विचलन र अस्थिरता हो जसलाई कूटिल राजनीतिज्ञले दुुरुपयोग गर्न सक्छन् । 

प्रतीकात्मक शब्द र यथार्थ संसारको सही संयोजन राजनीतिमा हुँदैन किनभने धेरैभन्दा धेरै शब्दको खेल राजनीतिमा हुन्छ । कुनै शब्दको अर्थ निश्चित र सर्वकालिक नहुने भएकाले राजनीतिकर्मीले यसलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोज्छन् जुन सर्वसाधारणलाई थाहै नहुन सक्छ । माथि उल्लेख गरिएका लोकतन्त्र, समाजवाद, स्वतन्त्रता, सामजिक न्याय जस्ता राजनीतिक शब्दावलीको अर्थ निश्चित र एउटा हुँदैन । 

तथापि उनीहरू दाबी गर्छन्- हामीले भनेको कुरा शतप्रतिशत ठीक छ । अरू स्वतन्त्र चिन्तकहरू भन्छ्न्–राजनीतिकर्मीले यथार्थ लुकाउँछन् र आफ्नो स्वार्थअनुकूल असत्यलाई सत्यजस्तो देखाउँछन् । यसरी सत्यलाई असत्य र असत्यलाई देखाउन पनि भाषाको प्रयोग हुनेगर्छ । त्यसकारण शब्द–संसार संयोजन त्यत्ति आधिकारिक छैन जति हामी सोच्ने गर्छौं । 


Top