अमरताको चाहना राख्ने अमर

विनोद दाहाल   POSTED ON : आश्विन १३, २०७८ (८:४६ AM)

अमरताको चाहना राख्ने अमर

त्यसो त उहाँको वास्तविक नाम ‘अमर’ होइन, उहाँको नाम ‘सुरेन्द्र महर्जन’ हो । अमर उहाँले साहित्यमा राख्नुभएको उपनाम हो । तैपनि उहाँ अमर नामबाट समेत चिनिनु भएको छ । उहाँ मेरा परिचितहरूको सूचीमा हुनुहुन्नथ्यो । आफ्नो चासो नभएका मानिसहरूले धेरै काम गरेको भए पनि तिनलाई आफ्नो दिमागमा सञ्चित गरिँदो रहेनछ । सुरेन्द्रजी पनि मेरो सम्पर्क र परिचयमा हुनुहुन्नथ्यो । २०७६ साल माघको सुरुवाततिरको कुनै दिन म मेरा मित्र चेतनाथ धमलालाई कुनै कामविशेषले भेट्न उहाँको नेपाल प्रेस काउन्सिलको कार्यालय सञ्चारग्राम तिलगङ्गा गएको थिएँ । 


उहाँसँगको एकछिनको भलाकुसारीपछि माथि छतको क्यान्टिनमा बसेर चिया खाने क्रममा उहाँले मलाई सुरेन्द्रजीका बारेमा बताउनुभयो । उहाँले कौसिकीको ६३ औं अङ्कमा सुरेन्द्रजीबारेको विशेषाङ्क प्रकाशित गर्नुभएको थियो । यति भने मलाई थाहा थियो । त्यसदिन उहाँले चर्चा गरेका सुरेन्द्र पनि उहाँ नै हुनुहुँदो रहेछ । मेरा सामुबाटै चेतनाथजीले उहाँलाई फोन गर्नुभयो र केही दिनभित्रमा विनोद दाहाललाई भेट्नू भन्नुभयो । मैले हिमालय टाइम्सको शनिबारका अङ्कहरूमा व्यक्ति पत्रकारिता विधा प्रकाशन गर्दैआएको थिएँ वा व्यक्तिहरूसँगको अन्तरङ्ग छाप्ने गरेको थिएँ । चेतनाथजीले यही अनुरोध गर्नुभएको थियो । 

चेतनाथजीले आफ्नो बारेमा छापिदिनू नभनी उहाँको बारेमा छापिदिनू भन्नुले उहाँले आपूmलाई भन्दा सुरेन्द्रजीलाई प्राथमिकता दिनु भनेको पक्कै पनि उहाँ नेपाली साहित्यका लागि केही गरेकै मानिस हुनुपर्छ भन्ने मलाई लाग्यो । उहाँको कुरा मैले स्वीकार गरेँ र त्यसको केही दिनपछि हामी तीन जनाले म कार्यरत हिमालय टाइम्सको कार्यालय मध्यबानेश्वरको निकटको कुनै ठाउँमा भेटघाट ग¥यौँ । त्यही दिन हो मेरो साहित्यकार सुरेन्द्र महर्जन अमरसँगको पहिलो भेट । त्यसको केही दिनपछि २०७६ साल माघ ११ गते शनिबारको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा मैले उहाँसँगको अन्तरङ्ग प्रकाशन गरेँ । त्यसपछि भने हामी निकट बन्यौँ । 

उहाँ साहित्यकार मात्र नभएर कलाकार पनि हुनुहुँदो रहेछ । चित्रकारिता, अभिनय, गायन, बाद्यबादन, गीत लेखन मात्र होइन उहाँले साहित्यका सबैजसो विधामा कलम चलाउनु भएको रहेछ । कुनै दिन उहाँले मलाई उहाँको निवासमा बोलाउनु भयो । म टाढा कपनदेखि उहाँको घर पुतलीसडक न्युप्लाजामा पुगेँ । उहाँकै घरमा एबिसी टेलिभिजनको कार्यालय रहेछ । उहाँले दिएको यही निशाना पछ्याएर म त्यहाँसम्म गएको थिएँ । 

त्यहाँ उहाँले एउटा कोठालाई आफ्नो कार्यकक्ष बनाउनु भएको रहेछ । उहाँले गरेका कामहरू र उहाँले पाएका मान, सम्मान र अभिनन्दनहरूका निशानाले कोठा भरिएको थियो । ती सबै उहाँले गरेका कामका साक्षी थिए । फाइलहरू पल्टाएर उहाँका कार्यका समाचार, उहाँका चित्रकारिता, वरिष्ठ व्यक्तित्वहरूसँगका तस्वीरहरू पनि उहाँले देखाउनु भयो । 

अन्त्यमा उहाँले भन्नुभयो, ‘सर हामीले अन्त कतै भेट्न पनि सक्थ्यौँ, म आफैँ पनि तपाईंलाई भेट्न आउँथेँ तर त्यसरी त्यहाँ भेट्दा मैल सरलाई यी सबै कुराका देखाउँन सक्ने थिइन । त्यसैले सरलाई मैले यहाँसम्म दुःख दिएको हुँ ।’ उहाँको कुरा एकदम सही थियो । म त्यहाँ नगएको भए मैले सुरेन्द्र महर्जन अमरलाई यति नजिकबाट यसरी चिन्न सक्ने थिइन । मैले उहाँले पाउनुभएका त्यतिका प्रमाणपत्र झुण्डिएको भित्तो देख्न पाउँने थिइन र उहाँले जतनले बटम फायलमा जोगाएर राखेका कटिङहरू हेर्न पाउने थिइन । 

यसरी सुरु भएर अगाडि बढेको हाम्रो सम्बन्धमा प्रगाढता थपिँदै गएको छ । सामाजिक सञ्जालहरूमा बाक्लै छाउनु हुने सुरेन्द्र र मेराबीच भेट भइरहन्छ । उहाँका विभिन्न कार्यक्रमहरूका समाचारहरूलाई मैले आपूm कार्यरत पत्रिका हिमालय टाइम्समा यथाशक्य स्थान दिने गरेको छु । 

माथि नै भनियो अमर उहाँको साहित्यिक नाम हो । वास्तविक नाम सुरेन्द्र महर्जन । उहाँ काठमाडौंको खाटी नेवार त्यो पनि सहरको मुटु पुतलीसडक न्युप्लाजाको । उहाँ यही ठाउँमा २०२९ साल जेठ १८ गते बुधबार जन्मिनु भएको हो । उहाँका मातापिता मायादेवी महर्जन र जुजुभाइ महर्जनले आफ्नो थर डंगोल र महर्जन दुबै प्रयोग गर्नुभयो । नागरिकताको प्रमाणपत्रमा कडाइ नभएको त्यसबेला त्यो स्वाभाविक थियो तर जब सरकारले नेपालको नागरिकतामा कडाइ गर्दैलग्यो त्यसपछि आफ्नो नागरिकता बनाउने बेलामा सुरेन्द्रजीले आफ्नो थर महर्जन मात्र लेखेर आपूmलाई चिनाउनु भयो । 

त्यसबेला पुतलीसडकको पनि सडकलाइनबाहेक अरू ठाउँमा खेतैखेत थियो । यही खेत र फाँटमा दौँतरीहरूसँग रमाएर उहाँको बाल्यकाल बित्यो । दाजु महेन्द्र र दिदी सीताको सामिप्य पाउनुभयो उहाँले । त्यसो त उहाँका ठुलोबुवा ईश्वरमान र ठुलीआमा हिरादेवीका छोराछोरी अर्थात उहाँका दाजुदिदी राजेन्द्र, राधिका, सरस्वती, केशरी, रीता, ललिताहरूसँग रमाउन पनि उहाँले पाउनु भयो । यसरी रमाएर उहाँको बाल्यकाल बितेको त्यो ठाउँ हेर्दाहेर्दै घरैघरले भरियो । पछिल्लो समयमा काठमाडौं उपत्यका जसरी बाहिरियाहरूबाट भरिभराउ भएको छ त्यसरी नै त्यस बेलैदेखि पुतली सडकको खाली जग्गा भरिन थालेको थियो । अहिलेको पुतलीसडक देख्दा र पहिलेको सम्झिँदा उहाँलाई यो सबै सपना जस्तै लाग्छ । 

सुरेन्द्र १७ वर्षको हुनुहुन्थ्यो । २०४६ सालमा नयाँ ज्योति साप्ताहिकमा उहाँको ‘आजै थाहा पाएँ’ शीर्षकको कविता प्रकाशित भयो । यसबाट उहाँ यति उत्साहित हुनुभयो कि उहाँको मन आकाशमा चरो उडे जसरी उड्यो । त्यसपछि उहाँले यही उत्साहले दिएको ऊर्जा प्रयोग गरी आजका दिनसम्म पनि निरन्तर लेखिरहनु भएको छ जुन यात्राले ३२ वर्ष पार गरिसकेको छ । 

उहाँले के लेख्नुभयो भन्ने होइन के लेख्नु भएन भनेर प्रश्न गर्नु पर्ने हुन्छ । साहित्यका सबैजसो विधामा उहाँको कलम चलेको छ । अक्षर साहित्यभन्दा अलिक पर ललितकलासम्म पनि उहाँ पुग्नु भएको छ । ललितकलाको एउटा शाखा चित्रकलामा समेत उहाँ राम्ररी रमाइरहनु भएको छ । उहाँको यही बहुमुखी व्यक्तित्वका कारण कौशिकी द्वैमासिकले आफ्नो ६३ औं अङ्क ‘सुरेन्द्र हमर्जन ‘अमर’ विशेष’ को रूपमा प्रकाशन गरेको थियो । यिनै सम्पूर्ण कुराहरूले यो पंक्तिकारलाई उहाँसँगको अन्तरङ्ग प्रकाशनसम्म पु¥याएको हो । 

हो, सुरेन्द्र अद्भूत प्रतिभा हुनुहुँदो रहेछ । उहाँको प्रतिभा पर्गेल्न मात्र पनि त्यति सहज छैन । मैले उहाँको कुन विधामा पहिले पस्ने भनेर निकै बेर सोच्नु प¥यो । अन्ततः पहिले साहित्यिक व्यक्तित्वकै पत्र पल्टाउने ठहर गरेँ । २०४६ सालमा कवितामा चोपेको उहाँको कलम तिखारिँदै जाँदा हाससम्म सबै विधाका गरी २९ वटा सग्ला कृतिहरू प्रकाशित भइसकेका रहेछन् । अरू फुटकर रचनाको कुरा त परैको भयो । उहाँको लेखनले प्रायः सबैजसो विधाहरूलाई सँगसँगै हिँडाइरहेको छ । पछाडि छोडिएकाहरू पनि धेरै पछाडि छैनन् । अनि, यसैगरी लघु र स्थूल सबै विधा उहाँको प्राथमिकतामा छन् । 

सुरेन्द्र महर्जन सम्पन्न परिवारका हुनुहुन्छ । काठमाडौंको केन्द्रमा फराकिलो क्षेत्रफलमा उहाँको निवास रहेको छ । सरदर नेपालीभन्दा माथिको स्तर हो यो । सुरेन्द्रमा तर यसको अलिकति पनि अहम् छैन । उहाँको समर्पण भनेको साहित्य र कलामै हो । गायन र अभिनयमा पनि उहाँको रुचि छ । साहित्यमा कविता गीत, गजल, मुक्तक, हाइकु, तान्का, लघुकथा, कथा र उपन्यासहरूका सर्जक हुनुहुन्छ सुरेन्द्र मर्हन ‘अमर’ । यी सबै विधाको विधान उहाँलाई थाहा छ, राम्ररी बुझेर मात्र उहाँले लेख्नुभएको छ । 

साहित्यका अरू विधाका तुलनामा उपन्यास स्थूल विधा हो, यो कथाको बृहत्तम् रूप हो । यसमा एउटा मूलकथाबाट अनेकौं शाखा कथाहरू सिर्जना हुन्छन् । थोरै पात्रको थोरै पक्ष चित्रण कथा हो भने धेरै पात्रको धेरै पक्ष चित्रण उपन्यास हो । यो घटनामूलक विधा अथवा आख्यान हो । यसको लेखन निकै सुझबुझपूर्ण हुन्छ । यसको सिर्जनाबाट पनि उहाँ दच्किनु भएन । उहाँका ‘अनुष्का’ (२०७२), ‘अद्भूत’ (२०७२), ‘मिस्डकल’ (२०७५), ‘स्माइल ड्रिम’ (२०७७) र ‘प्रेमको भाइरस’ (२०७७) गरी पाँच वटा उपन्यासहरू प्रकाशित छन् । 

उहाँको कविता संग्रह ‘भविष्यको सपना’ (२०५६), गीत सङ्ग्रहहरू ‘यौवनका रहर’ (२०५६), ‘लुमु मतिना (नेवारीमा २०५७), ‘दुनियाँको रीत (२०५९), गीति एल्बम ‘दर्पण’ (२०७७), ‘छायाँ’ (२०७७) लगायत सात वटा, हाइकु सङ्ग्रहहरू ‘ओइलाएको पूmल’ ( २०५६), ‘नदीको रङ्ग’ (२०६१), ‘सरिता’ (२०६३) लगायतका कृतिहरू छन् । उहाँको ‘भाग्य’ (२०६९) शीर्षकको एउटा गीतिनाटक पनि प्रकाशित छ । यसै गरी नेवारीमा लेखिएका केही पुस्तक तथा संयुक्त लेखन र गीति एल्बमलगायतका साहित्येत्तर विधासमेत गरी उहाँका २९ वटा कृतिहरू सार्वजनिक भएका छन् । 

२०५९ सालमा उहाँको ललितपुर पाटन तलाछेँ निवासी कान्छा महर्जन तथा ज्ञानी महर्जनकी जेठी छोरी सरिता महर्जनसँग विवाह भयो । सरिताका भाइ सुसन र बहिनी सविता हुनुहुन्छ । विवाहपछि श्रीमती सरिताले विभिन्न प्रकारले सुरेन्द्रको लेखनलाई सघाउ पु¥याउँदै आउनु भएको छ । 

उहाँले गीति नाटक र चलचित्रका कथा पनि लेख्नु भएको छ । कविता भावमूलक विधा हो । यसमा पात्र र कथानकको विधान अनिवार्य हुँदैन । कथा घटनामूलक विधा हो, यसमा पात्र र कथानक अनिवार्य हुन्छन् । यस अर्थमा मानिस कि कवि बन्छ कि कथाकार अथवा आख्यानकार वा गैरआख्यानकार । एक विधाको सिद्धहस्त साहित्यकार अर्कोमा असफल भएको पनि देखिएको छ तर सुरेन्द्रले धैर्य गरेर यो दुस्साहस गर्नुभएको छ । अहिलेसम्मको यात्रामा उहाँ सफल देखिनुहुन्छ । 

उहाँका चित्रकला पनि कोठामा थन्क्याउनु परेको छैन । उहाँ सनैउमेर वा १३ वर्षको उमेरदेखि नै साहित्यमा लाग्नुभयो । २०४३ सालदेखि नै उहाँका कविताहरू पत्रपत्रिकामा प्रकाशित हुन थाले । २०४६ सालसम्ममा त उहाँका धेरै रचनाहरू प्रकाशित भइसकको थिए । जुन बेला उहाँ २३ वर्षको हुनुहुन्थ्यो, यस उमेरमा धेरै जसो केटाहरू बरालिएर हिँडेका हुन्छन् तर सुरेन्द्रले भने क्यानभासमा कुची चलाउन थाल्नुभएको थियो । २०५२ सालमा उहाँले आफ्ना चित्रकलाको प्रदर्शनी गराउनु भयो नेपाल ललितकला (नाफा) हल नक्सालमा । उहाँका मूर्त र अमूर्त चित्रकलाको सिर्जनाको निरन्तरता हालसम्म पनि जारी छ । उहाँको औपचारिक शिक्षा प्रमाणपत्र तह (आईए) सम्मको छ तर उहाँको स्वाध्यायनको क्षितिज निकै फराकिलो बनेर फैलिएको छ । 

सुरेन्द्रले आफ्नो मातृभाषा नेपाल भाषामा पनि गीत र कविताहरू लेख्नुभएको छ, नेपाली भाषामा त उहाँको कलम तिब्रताका साथ दौडिरहेकै छ । यसका साथै अङ्ग्रेजी भाषामा पनि उहाँले गीत रचना गर्नुभएको छ । ‘गीत वा कवितामा भावको सघनता हुनुपर्छ, भाषा त त्यसको संप्रेषणको माध्यम मात्र हो’ भन्नुहुन्छ सुरेन्द्र महर्जन ‘अमर’ । 

उहाँका गीतहरूमा कतै प्रेम छ, कतै संयोग छ भने कतै वियोग पाइन्छ । उहाँ आफ्नो मनस्थितिका आधारमा गीतको भावको भिन्नता समावेश गर्नुहुन्छ, आपूm दुःखी भएका बेला दुःखान्त र आपूm खुसी भएका बेला सुखान्तको भाव । आखिर मानिसलाई संवेगले प्रभावित गरेकै हुन्छ । उहाँ लेखनमा विधान्तरण गरिरहनुहुन्छ । उहाँले एउटा गीति नाटक सिर्जना गर्नुभएको छ ‘भाग्य’ । उहाँ पुस्तकहरूको समीक्षा र समालोचना पनि गरिरहनु हुन्छ । यस्ता रचनाहरू मात्र पनि उहाँका डेढ दर्जन जतिको सङ्ख्यामा प्रकाशित छन् । 

यस्ता अनेकौं सिर्जनाका कारण सुरेन्द्र राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा पनि छाइरहनु हुन्छ । उहाँका अन्तर्वार्ताहरू पनि प्रकाशित छन् । उहाँ प्रकाशकहरूबाट रुचाइएका लेखकमा पर्नुहुन्छ । आफ्ना यस्तै कामको परिणाम उहाँले अनगिन्ती मानसम्मान, पुरस्कार, र प्रशंसापत्रहरू पनि पाउनुभएको छ । राष्ट्रिय स्तरका यस्ता पुरस्कार मान सम्मानहरूमा गद्दी आरोहण रजत महोत्सव पदक –२०५३, लालीगुराँस युवा सम्मान –२०५८, नेपाल पेरोल साहित्य सम्मान –२०६२, सिम्पल सम्मान –२०६८, नेपाल वर्ष गीत उत्कृष्ट पुरस्कार –२०७०, म्युजिक खबर म्युजिक अवार्ड उत्कृष्ट –२०७१, विन्दवासिनी म्युजिक सम्मान –२०७२, नेसनल क्यापिटल एवार्ड –२०७३, लाइफ टाइम अचिभमेन्ट अवार्ड –२०७५, राष्ट्रिय स्रष्टा सम्मान –२०७७, मिक्सडिया फेसन सो विशिष्ट स्रष्टा सम्मान २०७८ तथा राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ लगायत छन् । अहिलेसम्म उहाँ यस्ता डेढ दर्जनभन्दा बढी मानसम्मान, प्रशंसापत्र र पुरस्कारहरूबाट सम्मानित भइसक्नुभएको छ । 

पुरस्कारबारे पनि उहाँको स्पष्ट धारणा छ । पुरस्कारहरूले साहित्यकारहरूमा प्रेरणा जागृत हुन्छ, त्यो साहित्य सिर्जनाका लागि ऊर्जा हो तर यस्ता पुरस्कारहरू निष्पक्ष र निस्वार्थ भावनाले स्थापना भएका हुनुपर्छ भन्ने उहाँलाई लाग्छ । उहाँ पुरस्कारका लागि लेख्नुहुन्न अथवा उहाँ पुरस्कार खोजेर हिँड्नुहुन्न पुरस्कारले नै उहाँलाई खोज्ने गरेको छ । यसो गर्दागर्दै उहाँले डेढ दर्जनभन्दा बढी मान, सम्मान र पुरस्कारहरू पाउनु भयो । उहाँले एउटा साहित्यिक संस्था पनि स्थापना गर्नुभएको थियो तर केही समय सञ्चालनमा आएपछि उक्त संस्था निष्कृय बन्नपुग्यो । यस्ता साहित्यिक संस्थाहरूको सञ्चालनमा ठुलो चुनौती रहेछ भन्ने बोध यसबाट उहाँमा हुनपुगेको छ । 

सुरेन्द्रले पहिलो पटक २०५५ सालमा ‘भविष्यको सपना’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित गर्नुभयो । त्यसको पाठक प्रतिक्रिया राम्रो पाउनुभयो तर केही पाठकहरूले शब्द शुद्धिमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । उहाँ त्यस सुझावप्रति अहिलेसम्म पनि सजग हुनुहुन्छ । उहाँ गीत सङ्गीतमा श्रम र धन दुबै लगानी गर्दै आउनु भएको छ तर यसमा चुनौती पनि देख्नुहुन्छ । यसबाट उचित प्रतिफल पाइँदैन तैपनि उहाँ यतातिरको आकर्षणबाट विमुख हुन पनि सक्नुहुन्न । 

सुरेन्द्र आफ्नो बाल्यकाल सम्झिनुहुन्छ । आमाले हात समातेर स्कुल पु¥याएर छोडेर आएको केही बेरमै स्कुलबाट भागेर आपूmपनि आमासँगसँगै घर आएको अनि आमाको कुटाइ खाएको सम्झना ताजै छ उहाँको दिमागमा । उहाँ भन्नुहुन्छ, ‘शायद यो धेरै केटाकेटीको नियति हो ।’ सहिद शुक्र मावि, पद्मोदय मावि, सरस्वती निकेतनलगायतका विद्यालय चहारेर उहाँले एसएलसी पास गर्नुभयो । अनि रत्नराज्य कलेज भृकुटी मण्डपबाट उहाँले आईए पास गर्नुभयो । 

सरस्वती निकेतनबाहेक अरू सबै शैक्षिक संस्थाहरू उहाँको घरबाट धेरै टाढा थिएनन् । आफ्नै घरको ५०० मिटरको अरिधिभित्र रहेर उहाँले आईएसम्म पढ्नुभयो तर त्यसपछि भने उहाँ औपचारिक शिक्षाको बन्धनभित्र बाँधिइरहन चाहनु भएन । फुक्काफाल भएर उहाँ गीत, सङ्गीत, साहित्य र चित्रकलामै गहिरिन थाल्नुभयो, यसैमा रमाएर आनन्द लिन सुरु गर्नुभयो । उहाँ आपूmले रोजेको यस क्षेत्रमा दिनप्रतिदिन सफल पनि बन्दै जानुभयो । 

त्यसपछिका दिनहरूमा उहाँ यतै रमाएर यिनैबाट आनन्द प्राप्त गरेर यिनमै डुबुल्की मार्दै जान थाल्नुभयो । एक प्रकारले उहाँ अहिले मैले ठिकै गरेछु भन्ने ठान्नुहुन्छ तर अर्को मन अमिलो बनाएर किन मैल उच्च शिक्षाको अध्यन पूरा गरिन भन्ने ठान्नुहुन्छ । शायद, कलेजस्तरको पढाइ पूरा गरेको भए जीवनको बाटो फरक पथ्र्यो कि भन्ने पनि उहाँलाई लाग्छ । कलेजको औपचारिक अध्ययन नत्यागेको भए घरको आर्थिक अवस्था कमजोर थिएन, त्यसकारणले मात्र पढाइ रोक्नु पर्दैनथ्यो । 

डाक्टर, इन्जिनियर र पाइलट किन बन्न चाहिन भन्ने उहाँलाई लाग्छ । बाबुआमाको चाहना पनि त छोराले पढोस् भन्ने नै थियो तर आखिर जे हुनु थियो त्यही नै भयो । यही त हो नियतिले मानिसलाई जता डोहो¥याउँछ मानिस त्यतै डोहोरिनु पर्छ भनेको सुरेन्द्र यसरी मन बुझाउनुहुन्छ । तर, मानिसलाई जता लाग्यो त्यही क्षेत्र राम्रो लाग्छ र त्यसैमा गहिरिन्छ । उहाँ पनि साहित्य र कला क्षेत्रमा लाग्नु भएको छ र यसै क्षेत्रमै रमाउनु भएको छ । 

सुरेन्द्र महर्जन साहित्यलाई मानव मनको भाव र अभिव्यक्तिको माध्यम मान्नुहुन्छ । दुःख, हर्ष, पीडा, चाहना, निराशा आदि यसैका माध्यमबाट अभिव्यक्त हुन्छन् भन्ने उहाँलाई लाग्छ । लेखनमा उहाँ प्रगतिशीलता, श्रृङ्गारिकता, प्रकृति चित्रण हुँदै पुनः प्रगतिशीलतातर्फ नै फर्किनुभएको हो कि जस्तो देखिन्छ । उहाँ स्वयम् पनि यसलाई स्वीकार्नु हुन्छ । सामाजिक विभेद अन्त्यको चाहनाले आपूm यसतर्फ आकर्षित बनेको उहाँको स्वीकारोक्ति छ । आखिर के हो त प्रगतिशीलता ? समाजमा विद्यमान दुई वर्ग त्यो आर्थिक स्तरका आधारमा, वर्णका आधारमा, जातका आधारमा, धर्मका आधरमा, लिङ्गका आधारमा वा आस्थाका आधारमा सिर्जना हुन्छ र पछि परेको वर्गलाई अगाडि परेको वर्गले दपेटेको हुन्छ । 

यसरी हुने भेदभावमा पछाडि परेको वर्गबाट आवाज उठाउनु साहित्यमा प्रगतिशीलता हो । सुरेन्द्रको साहित्यिक बाटो पनि मूलतः यही हो । उहाँ आफ्ना सिर्जनाबाट सन्तुष्ट हुनुहुन्छ । सबै विधा र सिर्जनालाई उहाँ बराबरी माया गर्छु भन्नुहुन्छ । उहाँको यस भनाइमा विश्वास गर्न सकिने आधारहरू पनि छन् । उहाँको कलम सबै विधामा उत्तिकै सबल, सफल र सक्रिय छ । साहित्यबाहेक कलाका गीत, सङ्गीत, अभिनय र चित्रकलामा पनि उहाँ सक्रिय हुनुहुन्छ । त्यसैले उहाँले भनेको कुरामा सत्यता छ । 

साहित्य भनेका भावना हो, भाषा त त्यसको माध्यम हो । उहाँले नेपाली र नेपाल भाषा दुबैमा सिर्जना गर्नुभएको छ । उहाँ आफ्नो मातृभाषा नेपाल भाषा (नेवारी भाषा) लाई औधी माया गर्नुहुन्छ । नेपालीमा अझै बढी तिब्रताका साथ कलम दौडाउनुहुन्छ । अङ्ग्रेजीमा पनि बेला बेलामा पोेखिन चाहनुहुन्छ । उहाँ कुनै एउटै भाषाको उत्थानका लागि रडाको मच्चाउनुको औचित्य देख्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘सबै भाषाको समग्र उत्थान आवश्यक छ ।’ 

साहित्य स्वतन्त्र हुनुपर्छ भन्ने तर्क छ सुरेन्द्रको । साहित्यमा अनेक बन्देजले भावको संप्रेषण राम्ररी हुन नसक्ने उहाँको निष्कर्ष छ । लेखेन भने साहित्यको मृत्यु मान्छेका मनभित्रै हुन्छ भन्ने गरिन्छ । त्यसैले लेख्नुपर्छ भन्ने उहाँलाई लाग्छ तर लेखन सामथ्र्य नहुनेहरूको जबरजस्ती पनि उहाँले यस क्षेत्रमा देख्नुभएको छ । तिनैका कारण साहित्यको गरिमामा आँच आएको उहाँ ठान्नुहुन्छ । त्यस्ताहरूले साहित्यिक चोरी गर्ने गरेका पनि छन् । त्यसैले प्रतिलिपि अधिकार ऐन आएको उहाँ ठान्नुहुन्छ ।

‘लेख्नु मनको भावना पोख्नु हो तर चोरी गरेर कसरी आफ्नो मनको भावना पोख्न सकिन्छ र ? यसो गर्दा आपूm कसरी पोखिने ?’ साहित्यकार सुरेन्द्रको प्रश्न छ । केही पूर्ववर्ती साहित्यकारहरूले आफ्ना उत्तरवर्तीहरूलाई जबरजस्ती र बल गरेर नलेख्नू भनेर दिएको शिक्षाको सम्झना सुरेन्द्रको यस भनाइले गराउँछ । उहाँले लेख्नुभयो, बेस्सरी लेख्नुभयो । पेशा भने पनि व्यवसाय भने पनि उहाँको लेखन नै हो । यसरी लेख्दालेख्दै उहाँका २९ वटा कृतिहरू सार्वजनिक भइसकेछन् । उहाँ ५० वर्षको वय पार गर्दै हुनुहुन्छ । लेख्ने उमेर अझै धेरै बाँकी छ । उहाँबाट अझै धेरै कृतिहरू रचना हुने कुरामा विश्वास गर्न सकिन्छ र उहाँको कर्मनिष्ठताका कारणले पनि यसमा विश्वस्त हुन नसकिने कुरै छैन । 

एक पटक उहाँ गम्भीर रूपमा बिरामी हुनुभयो । सरकार, प्रज्ञाप्रतिष्ठानहरूले थाहा नपाए जस्तो गरे । उहाँले तीबाट सहयोगको खासै अपेक्षा गरेको होइन । उहाँको यो भनाइले उहाँले आफूलाई दृश्य रूपमा अघि सारेर सबै साहित्यकारहरूको आवाज बेल्नुभएको हुन सक्छ । स्रष्टाहरूको सुरक्षामा सरकारले बजेट छुट्याउनु पर्ने तर्क गर्नुहुन्छ उहाँ । उहाँको सोचअनुसारको कार्य हालसम्म हुन सकिरहेको छैन । उहाँको यो भनाइ अत्यन्त मननीय छ । 

गीत, सङ्गीत र साहित्यलाई सुरेन्द्र महर्जन जीवन जिउने कला हुन् भन्नुहुन्छ । उहाँको परिवार र उहाँका दावलका दौतरीहरू कोही पनि उहाँ हिँडेको बाटो हिँडिरहेका छैनन् । नेपालमा यस्ता क्षेत्रमा लागेर बाँच्न सकिने अवस्था उहाँले देख्नुभएको छैन । पेसा र व्यवसाय होइन नेपालमा यो त रुचिको क्षेत्र मात्र हो । उहाँले आपूmलाई एउटा सचेत लेखक, साहित्यारका रूपमा लिनु भएको छ । उहाँले आफ्नो सुरेन्द्र नाम छँदाछँदै ‘अमर’ साहित्यिक उपनाम राख्नुको कारण आफ्नो भौतिक अवसानपछि पनि आपूm अमर भइरहने चाहना हो रे । निकै गम्भीर रोगलाई पछारेर बाँचेका अमर शताब्दी बाँच्नुहोस् र अरू धेरै सिर्जनाहरू गर्नुहोस् । उहाँले चाहे जसरी नै उहाँ अमर पनि बन्नुहोस् । यही शुभकामना । 



Top