संघर्षशील अग्रणी महिला : डा. मञ्जुश्री प्रधान केसी ‘रानु’

✍️ विनोद दाहाल   POSTED ON : आश्विन १४, २०७८ (८:२९ AM)

संघर्षशील अग्रणी महिला : डा. मञ्जुश्री प्रधान केसी ‘रानु’

खोइ कसरी हो उहाँसँग चिनजान भएको सम्झना छैन मलाई तर धेरै लामो समय भएको छैन मेरो उहाँसँगको चिनजान । कोरोना महामारीको पहिलो लकडाउनभन्दा केही वर्ष पहिलेदेखिमात्र हो उहाँलाई मैले चिनेको । कतै कतै साहित्यिक कार्यक्रमहरूमा देखेको र भेटेको । शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री प्रधान केसी । वरिष्ठता, व्यक्तित्वलगायतका कारणले समेत उहाँ समूहमा रानु जस्तो देखिनुहुन्थ्यो, यथार्थमा उहाँको उपनाम भनौं वा साहित्यिक नाम ‘रानु’ नै हो । अर्थात् मञ्जुश्री प्रधान केसी ‘रानु’ ।

कोरोनाको पहिलो महामारी पातलो हुँदै गएपछि उहाँको आफ्नै निवास बबरमहलमा शैली साहित्य समाजको आयोजनामा साहित्यिक कार्यक्रम आयोजना भएको थियो । त्यस कार्यक्रममा मेरो पनि उपस्थिति थियो तर मञ्जुश्री प्रधान को हो भन्ने सबै कुरा मलाई थाहा थिएन । त्यस दिन एउटा रहस्यको उद्घाटन भएजस्तो भयो । प्राध्यापक तथा साहित्यकार भिक्टर प्रधानकी अर्धांगिनी हुनुहुँदो रहेछ उहाँ जसलाई म विगत ३० वर्षदेखि चिन्थेँ र मञ्जुश्री प्रधानलाई पनि विगत चार वर्षअघिदेखि चिनेको हुँ तर अचम्म उहाँहरूबीचको नातासम्बन्ध भने मलाई थाहा रहेनछ । भिक्टर प्रधानले मलाई पढाउनु भएको होइन तथापि उहाँको र मेरो सम्बन्ध शिक्षक र विद्यार्थीको जस्तै छ । 

२०४६ सालको राजनीतिक परिवर्तनपछि म गोरखापत्रमा जागिर खान पुगेको थिएँ, संस्थाको अध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो वरिष्ठ पत्रकार होमनाथ दाहाल । उहाँले मधुपर्क साहित्यिक मासिकमा प्राध्यापक भिक्टर प्रधानलाई विज्ञका रूपमा सल्लाहकार सम्पादक नियुक्त गर्नुभएको रहेछ । म मुना बालपत्रिकामा थिएँ तैपनि उहाँबाट मैले धेरै कुरा सिक्न पाएँ । त्यसपछिका दिनमा पनि मैले उहाँका पाठ्यक्रम, भाषा, साहित्य आदि विषयमा मन्तव्यहरू सुन्न पाएको छु । भिक्टर प्रधानकै सहधर्मिणी अर्धांगिनी हुनुहुँदो रहेछ मञ्जुश्री प्रधान भन्ने थाहा भएपछि ज्ञमलाई अझै खुशी लाग्यो । हाम्रो सम्बन्ध निकट बन्दैआएपछि हिमालय टाइम्समा मैले लेख्दैआएको स्तम्भ ‘अन्तरंग’का लागि यस पटक उहाँको छनोट गरेको हुँ ।


मैले बिहानै उहाँको मेसेन्जरमा सम्पर्क गरेँ । समय सहज छैन त्यसैले भयपूर्ण मनस्थितिमा सम्पर्क गरेर उहाँको फोन नम्बर लिएँ । निर्धारण भएको कार्यक्रमबमोजिम म अपराहृन बबरमहलस्थित उहाँको निवास पुगेँ । कोरोनाको महामारी अझै बाँकी छँदैछ, एकअर्काप्रतिको आशंका, अविश्वास र भय पनि छँदैछ । यही आशंका प्रकट पनि ग¥यौं हामीले । उहाँ र उहाँको श्रीमान्लाई कोरोनाविरुद्धको खोपपछि भएको त्यसको नकारात्मक प्रभावले पनि सकर्त बन्न कर लगाएको रहेछ । तैपनि चिया चमेनासँगै हामीले अनौपचारिक कुराकानी सुरु ग¥यौं जसबाट उहाँका धेरै अन्तरंग कुराहरू यसरी प्रकट भए : 

मञ्जुश्री केसी ललितपुर सानेपाको उच्च घरानाकी छोरी, पिताजी मे.क. गणेशबहादुर केसीको सैनिक उच्च पदका कारण पनि समाजमा प्रतिष्ठा र हैकम थियो । केसी. परिवारको त्यहाँ निकै ठूलो सञ्जाल थियो । पिताजीले जेठी पत्नीको निधनपछि मञ्जुश्रीकी आमा धर्मकुमारीलाई विवाह गर्नुभएको थियो । धर्मकुमारीबाट १५ सन्तानको जायजन्म भयो तर सबै रहेनन् । भएका १५ र रहेका १० मा सबैभन्दा कान्छी हुनुहुन्छ मञ्जुश्री तर दुर्भाग्य उहाँकी माता धर्मकुमारीको पनि असमयमै निधन भयो । मञ्जुश्रीलाई आफ्नी आमाको अनुहार आँखामा मधुरो छायाँचित्र जस्तोमात्र आउँछ अहिले । 

पाँच दाजु र चारजना दिदीकी कान्छी बहिनी हुनुहुन्छ उहाँ । मातापिताकी १५औं सन्तान भएका कारण उहाँका भदाभदैहरू नै उमेरमा उहाँभन्दा धेरै जेठा छन् । उहाँको चुलबुले बालापन सानेपामै बित्यो । सानेपा त्यसबेला ठूलो फाँट थियो । फाँटिला बारीहरू र प्रसन्त खेल्ने ठाउँहरू थिए, बस्ती पातलो थियो । सबैको सबैसँग चिनजान हुन्थ्यो । त्यही रमाइलो परिवेशमा हुर्किनुभएको थियो मञ्जुश्री केसी । 

उहाँ पिताजीकै रेखदेखमा रहनुभयो । पिताजीकै समिपमा रहेर विद्यालयस्तरको शिक्षा नुवाकोटबाट हासिल गर्नुभयो । अनि एसएलसी प्राइभेटबाट पूरा गर्नुभयो । २०१४ साल साउन १२ गते जन्मिनुभएकी केसीको सानैमा पन्ध्र वर्ष पूरा हुँदा नहुँदै भिक्टर प्रधानसँग प्रेमविवाह भएको थियो २०२९ सालमा । भिक्टर पूर्वमन्त्री तथा इतिहासविद् भुवनलाल प्रधानका जेठा छोरा हुनुहुन्छ । ससुरा, श्रीमान् शिक्षित भएका कारण उहाँलाई पढाइमा सहयोग त पुग्थ्यो तर घरमा पुरानो परम्परा कायम थियो । जसले गर्दा मञ्जुश्रीलाई पढाइका लागि सहज वातावरण प्राप्त हुने अवस्था थिएन । ससुराले भने उहाँलाई यसका लागि प्रेरित गर्नुभयो । 

त्यही प्रेरणाले पनि उहाँलाई अघि बढ्न सजिलो भयो । उहाँले चार साढे चार घण्टा सुत्ने समय पाउनुहुन्थ्यो । त्यसबेला लागेको बानी उहाँमा अहिलेको ढल्कँदो उमेरमा कायमै छ । उहाँ अधिकांश समय लेखपढ र सेवामै व्यस्त रहनुहुन्छ । यस्तै कारणले एसएलसी प्राइभेटबाट गर्नुपरेको हो भन्नुहुन्छ उहाँ । त्यसपछि उच्च शिक्षा डिल्लीबजार कन्या क्याम्पस, त्रिचन्द्र कलेको रात्रि कक्षा गर्दैै पूरा गर्नुभएको थियो । 

उहाँले शिक्षाशास्त्रअन्तर्गत मनोविज्ञान विषयमा स्नातकोत्तर गर्नुभयो भने मनोपरामर्शदाता, टिचर टे«नर चाइल्ड डभलोपमेन्ट, फिजियो स्पिच थेरापिस्टका रूपमा लामो समय सेवा प्रदान गर्नुभयो र उहाँ अहिले पनि यस्ता सेवा प्रदान गर्दै आइरहनु भएको छ । यिनै प्राविधिक विषयको अतिरिक्त क्रियाकलापअन्तर्गतको तालिमका लागि उहाँ समय समयमा भारतमा पनि बस्नुभएको थियो । उहाँ आपूm लोग्नेमान्छे जस्तो निडर र हक्की स्वभाककी भएका कारणले मात्र यसरी जीवनलाई संघर्षपूर्ण बनाउँदै भए पनि एकपछि अर्को सफलता प्राप्त गर्दैआएकी हुँ भन्नुहुन्छ । 

वास्तविकता त्यस्तै देखिन्छ । परम्परागत सोचको परिवारकी बुहारी भएर पन्ध्रै वर्षदेखि घरपरिवार धान्दै उहाँले शिक्षा आर्जनदेखि जागिर र अर्को शब्दमा भन्ने हो भने सेवाका काम पनि गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘वास्तवमा मैले नगरेको काम नै केही छैन । होटल व्यवसाय, बंगुरपालनदेखि गैरसरकारी संस्थामा घरदेखि निकै टाढा गएर पनि काम गरेँ’ । 

मनोपरामर्शदाता, टिचर ट्रेनर चाइल्ड डेभलपमेन्ट, फिजियो स्पिच थेरापिष्ट हुनुहुन्छ उहाँ । साथै स्पेसल ओलम्पिक गेमको कोचसमेत हुनुहुन्थ्यो । बिहान सात बजे घरबाट निस्किएर बेलुका सात बजे घर आउहुन्थ्यो रे उहाँ । होटलको काउन्टरमा बसेका बेला र रेडियोबाट प्रसारण हुने गीत, गीतिकथा वा नाटकहरू सुनेर मनमा उब्जिएका भावहरूलाई त्यहीँ बसेर लेख्दालेख्दै उहाँका पुस्तकहरू तयार भएका हुन् भन्नुहुन्छ उहाँ । 

उहाँका ‘पर्खालभित्रको प्रेम’ २०७२, ‘नेपालमा मानसिक रोगीको अवस्था र पुनःस्थापना’ २०७३, ‘कल्पनाको महल’ २०७४ र ‘शैलीका अविराम पाइला’ २०७४ पुस्तकहरू प्रकाशित छन् । उहाँका धेरै कविता, लेख, निबन्ध विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् र प्रकाशित भइरहेका छन् । उहाँले लेख्न थालेको २०४० सालदेखि हो । यसलाई आधार मानेर हेर्दा उहाँले लेख्न थालेको ३८ वर्ष भइसकेको छ । अझै लेखन अनवरत छ । आपूmले सकेसम्म लेखिरहने उहाँको दृढता छ । 

मञ्जुश्री प्रधान केसी ‘रानु’ विभिन्न स्वदेशी तथा विदेशी संघसंस्थाहरूमा संलग्न हुनुहुन्छ । पाटन सामुदायिक पुनःस्थापना संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ घुम्ती कविगोष्ठीको आजीवन सदस्य, अभिनव साहित्य समाजको आजीवन सदस्य, सुरवी साहित्यिक प्रतिष्ठानको आजीवन सदस्य, युरेसिया रेयुकाईको सदस्य तथा नेपाल मानवसेवा संस्थाको सल्लाहकार रहनुभएको छ । हाल शैली साहित्य समाज नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले लेख्नु भएको छ र लेखन इतरका अनेकौं सेवाका काम गर्नुभएको छ । उहाँले पुरस्कारलाई लक्षित गरेर लेखनुभएको छैन र सेवा पनि सेवाकै लागि गर्दै आउनु भएको छ, पुरस्कारका लागि होइन । तैपनि उहाँले अनेकौं पुरस्कारहरू प्राप्त गर्नुभएको छ । यसरी पुरस्कार पाउँदा उहाँलाई आफ्नोभन्दा आफ्नो कामको कदर भएको जस्तो लाग्छ । 

उहाँले दुई दर्जनभन्दा बढी मान, सम्मान, अभिनन्दन र पुरस्कारहरू पाउनुभएको छ । अमृता फाउण्डेशन (प्रथम पाइला), युरेसिया रेयुकाई, मोडर्न कन्या मल्टिपल कलेज, भानु जयन्तीमा कन्या कलेज डिल्लीबजार, नेपाल भोलेन्टियर्स पिस अवार्ड २०१० पर्यटन बोर्डबाट, सिद्धार्थ तथागत कला साहित्य सम्मान सिद्धार्थनगर भारत उत्तर प्रदेश २०१८÷२०१९ विद्यावाचस्पति सम्मान विक्रमशिला हिन्द विद्यापीठ (सारस्वत सम्मान) भारत, विद्यावाचस्पति सम्मान भागलपुर विश्वविद्यालय २०१८, हिरो अवार्ड दि रोटरी क्लब अफ न्यूयोर्क ‘क्विन’÷हिरो अवार्ड हामी नेपाली न्यूयोर्क २०२०, हिन्दी अकादमी मुम्बई, ‘शिक्षारत्न’ सम्मान २०२०, सम्मेलन टेलिभिजन सम्मान भारत २०२०, दामोदर पुडासैनी प्रतिभा पुरस्कार पाउनु भएको छ उहाँले । 

यसका साथै जिल्लाव्यापी कविता सम्मेलन प्रथम पुरस्कार (त्रिशूली नुवाकोट), नेपाल भारत सहयोगका लागि नुवाकोट नृत्य पुरस्कार, भारत नाट्य पुरस्कार, एनएफपी प्रोजेक्ट सम्मान, तापाहिटी सामुदायिक अध्ययन केन्द्र सम्मान, घुम्ती कविगोष्ठी सम्मान, गोदावरी कला तथा साहित्य समाज सम्मान, नेपाल मानव सेवा सम्मान, सुस्त मनस्थिति कल्याण विद्यालय अभिनन्दन, पाटन समुदायमा आधारित पुनःस्थापना संस्था सम्मान, मेरिनोल नेपाल सम्मानलगायत मान, सम्मान र पुरस्कारहरू उहाँले प्राप्त गर्नु भएको छ । 

उहाँको संघर्षको कुरा गर्दा सानैमा विवाह भएर सानै उमेरमा छोराछोरी भएको र तिनलाई हुर्काउँदै, पढाउँदै आफ्नो अध्ययन तथा पारिवारिक जिम्मेवारी पूरा गर्नुपरेको सन्दर्भले मञ्जुश्री प्रधानको संघर्षको सही गवाही दिने गर्छन् । उहाँका हेक्टर, जुपिटर र सुशील तीन छोरा र डिम्बिका, निकिता र निभिषा तीन छोरीहरू छन् । एकजना माहिली छोरी निकिता नर्भेमा रहेकी छन् र उनीबाहेक उहाँका सबै छोराछोरी नेपालकै छन् । अहिले नेपालमा कोही नबस्ने लहर चलिरहेको बेला यसलाई एउटा सकारात्मक सोचका रूपमा लिनुपर्छ नै । 

मञ्जुश्री प्रधानले सरकारी जागिर खानुभएन । उहाँले नर्भेजियन विद्यालयमा प्रिन्सिपल भएर सेवा गर्नुभयो, मानसिक रोगीहरुको लागि पुनःस्थापना संस्था मेरिनोल नेपाल आशादिपमा प्रोग्राम अफिसर, मानसिक रोगीहरूको परामर्श दाता भएर पनि सेवा गर्दै आउनु भएको छ । उहाँले मानार्थ विद्यावारिधि पाउनुभएको छ । अपांगलाई फिजियो स्पिच थेरापीको काम गर्दै आउनुभएको छ । उहाँले सेतो गुराँस चाइल्ड डेभलोपमेन्ट गैरसरकारी संस्थामा समेत काम गर्नुभएको थियो । 

उहाँ सानैदेखि लेखनमा रुचि राख्नुहुन्थ्यो । लेखनमा उहाँमा खासै कुनै व्यक्तिको सोझो प्रभाव त छैन तर माइतीमा दाजु टेकबहादुर खत्री पनि लेखक साहित्यकार भएकाले लेखनको माहौल थियो । त्यसैले उहाँ आपूmले सानैदेखि कलम चलाएको बताउनुहुन्छ । विवाह भएपछि ससुरा भुवनलाल प्रधानले लेख्न र पढ्नमा प्रेरित गर्नुभयो । उहाँले कथा निबन्ध र कविता लेख्नुभयो । यसबाहेक हाल हिन्दी साहित्यबाट अनुवादका काम रिरहनु भएको छ र पुस्तक पनि प्रकाशित गर्नुभएको छ । उहाँको लेखनको बीजभूमि समाज नै हो त्यसमा नेपाली समाज । बहुविवाह, अनमेल विवाह, बालविवाह, सामाजिक विभेद आदि देखेर पनि उहाँलाई केही लेख्न मन लाग्यो जसले उहाँलाई लेखकको रहर मेटाउने काम मात्र गरेन वास्तविक रूपमै लेखक बनायो ।

साहित्यिक लेखनको मूल ध्येय समाज चित्रण र भाव अभिव्यक्ति नै हो भन्नुहुन्छ उहाँ । लेख्नु आत्मसन्तुष्टिकै लागि हो पुरस्कारका लागि होइन भन्ने उहाँको सोच छ । उहाँ सुरुका दिनहरूमा घरको भातभान्साको काम सकेर राति १ बजेसम्म बसेर लेख्थेँ भन्नुहुन्छ । फेरि चार बजेतिर उठ्नुपथ्र्यो रे । अहिले भने उहाँको लेखन कार्यतालिका अलिक फेरिएको छ । ११ बजे सुत्न थाल्नुभएको छ उहाँ । सुस्दरीजलमा अफिस भएका बेला बिहान सात बजे घरबाट हिँडेर साँझ सात बजेमात्र घर आउनुहुन्थ्यो रे उहाँ तैपनि उहाँले लेख्न छोड्नु भएन ।

उहाँको राजनीतिक आस्था वा कुनै वादतर्फको झुकावको कुरा कोट्याएँ मैले । उहाँ आफ्नो कुनै वादतर्फ खासै झुकाव छैन भन्नुहुन्छ तर माइतीतिरको केसी परिवारको ठूलो सञ्जालमा सबै नेपाली कांग्रेस समर्थक भएको उहाँलाई थाहा छ । माइतीतिर सबै पढेलेखेका थिए, शिक्षित थिए । जागिर खाएर जीवन निर्वाह गर्नुपर्ने अवस्था कसैको पनि थिएन र पनि धेरैजसो परिवार नेपाली सेनाका अफिसर थिए । सबै शिक्षित थिए र पनि जागिर खाने छोरीहरूमा बढी पढेलेखेको र माथिल्लो पदमा बसी कार्य गर्नेमा मञ्जुश्री प्रधान हुनुहुन्छ । 

अहिले साहित्यमा पनि राजनीतिमा जस्तै वाद, पक्ष र अनेकौं गुट छन् । यसो हुनुहुँदैनथ्यो भन्ने उहाँलाई लाग्छ । यसरी लेखनमा अनेकौं सिद्धान्त खडा गर्ने र आफ्नो समूहलाई मात्र अगाडि बढाउन खोज्ने प्रवृत्ति वा लेखनलाई उचित होइन भन्ने उहाँलाई लाग्छ । अहिलेको साहित्यलाई उहाँ ‘हलुवा साहित्य’ भन्ने संज्ञा दिनुहुन्छ । जसरी हलुवामा धेरै कुरा मिसाइन्छ साहित्यमा पनि त्यसरी नै सबैथोक एकै ठाउँमा मिसाइने गरिएको छ । यसबाट शुद्ध साहित्य विस्थापित बन्दैगएको उहाँलाई लागेको छ । अरूलाई नमान्ने आपूmमात्र सबैथोक हुँ भन्ने वर्ग नेपाली साहित्यमा उदाइरहेको छ । त्यही कारणले साहित्यको स्तर माथि उठ्न सकिरहेको छैन । गुणात्मकता खस्किरहेको र संख्यात्मक वृद्धिमात्र भइरहेको छ भन्ने उहाँलाई लाग्छ । 

नेपाली साहित्यले पनि विश्वसाहित्यसँग प्रतिस्पर्धा गर्न नसक्ने होइन तर यसका लागि सबै लाग्नुपर्छ स्तरीय साहित्य लेख्नेलाई प्रोत्साहन गरेर माथि उठाउनुपर्छ, सरकारले पनि सहयोग पुग्ने कार्यक्रमहरू दिन सक्नुपर्छ । तर, व्यक्तिमा क्षमता, चाहना, लगनशीलता नभएसम्म सरकारलेमात्र लगानी गरेरमात्र पनि केही हुँदैन भन्ने उहाँको सोच छ । 

अहिलेका मानिसमा उम्रिँदैको तीन पात भन्ने धारणा र अहंकारले डेरा जमाएको छ भन्नुहुन्छ मञ्जुश्री प्रधान । ‘उनीहरू जे पायो त्यही लेख्छन् । समाजलाई केही दिनका लागि भन्दा आपूmले केही प्राप्तिको आशा राखेर लेख्ने गरेको देखिन्छ । लक्ष पुरस्कारलाई मात्र बनाइएको हुन्छ । थोरै लेखेर धेरै लेखेको चर्चा गरिन्छ, गराइन्छ । यसले गर्दा चाकरी चाप्लुसी बढ्छ । स्तरीयताले ठाउँ पाउँदैन र साहित्य जीवन्त बन्दैन’ उहाँ भन्नुहुन्छ । साहित्यकारहरूले एक दुईवटा फुटकर रचना वा पुस्तक छाप्दैमा के के न गरेँ भन्नु हुँदैन, गर्नुपर्ने र लेख्नुपर्ने कुराहरू धेरै छन् । काम बढी र हल्ला कम गर्नुपर्नेमा काम कम र हल्ला बढी भइरहेको उहाँको मूल्यांकन छ । 

हाल उहाँका केही लेखन योजनाहरू छन् । कविता, निबन्ध संग्रह प्रकाशित गर्ने तथा हिन्दी लघुकथाको अनुवाद गरी तिनको प्रकाशन गर्ने उहाँको योजना छ । एउटा पेशा वा व्यवसायमा रहेका बेला अर्को काम गर्ने सामथ्र्य थियो उहाँमा । उहाँ भन्नुहुन्छ, ‘होटलको काउन्टरमा बसेका बेला मैले पर्खालभित्रको प्रेम, कल्पनाको महल र नेपालमा मानसिक रोगीको अवस्था लेखेकी हुँ ।’ उहाँलाई जीवनप्रति कुनै गुनासो र पछुतो छैन । पछुतो लाग्ने कुनै काम आफूले गरेकै छैन भन्ने उहाँलाई लाग्छ । उहाँलाई आफ्नो जीवनप्रति गौरव लाग्छ । 

आपूmले गरेजति काम सबैले गर्ने हो भने नेपालको साहित्यिक र सेवाको क्षेत्र निकै अघि बढ्थ्यो जस्तो उहाँ ठान्नुहुन्छ । लेखनको क्षेत्र होस् वा सेवाको क्षेत्र यसबाट उहाँलाई आपूmले समाजलाई केही दएकी छु भन्ने लागेको छ । उहाँले निबन्ध, कथा र कविता लेख्दैआउनु भएको छ । यी तीनवटै विधाबाट अभिव्यक्ति दिइरहनु भएको छ उहाँ तैपनि उहाँलाई कवितामा भन्दा तुलनात्मक रूपमा निबन्ध र कथाबाट अभिव्यक्ति दिन सजिलो लाग्छ । कवितामा अभिधाभन्दा लक्षणा र व्यञ्जना बढी हुने हुँदा पाठकका लागि बोधगम्य नहोला कि जस्तो उहाँलाई लागेको हो । यो उहाँको निजी विचार हो तर यसमा असहमत हुनुपर्ने कुनै कारण छैन । 

उहाँको विचारमा साहित्य भनेको जीवन हो । पैसाले अरू सबै कुरा पाउन सके पनि साहित्य पैसाले किन्न सकिँदैन । किनभने यो भौतिक होइन भावात्मक हुन्छ । यो अमूल्य छ । त्यसैले नयाँ पिँढीले पनि साहित्यलाई अँगालून् भन्ने चाहनुहुन्छ मञ्जुश्री प्रधान केसी । भावी पुस्ता साहित्य बुझेरमात्र यसमा लागून् । मानिससँग धन होला, पढेलेखेका पनि होलान् तर साहित्यिक भावना सबैमा हुँदैन भन्ने लाग्छ उहाँलाई । वास्तवमा सहित्यले स्वास्थ्य पनि ठीक राख्ने र आयु पनि लम्ब्याउने काम गर्छ भन्ने उहाँको मान्यता छ । 

साहित्य लेख्नेहरू राजनीतिमा जस्तो अरूप्रति डाहा, इष्र्या, घृण र अस्वस्थ प्रतिस्पर्धामा लाग्नु हुँदैन र लाग्दैनन् पनि । सकारात्मक सोच राखेर असल र हितकारी भावनाले लेख्नुपर्छ । यस्तो भावनाले लेखनमा तल्लीन हुने हो भने लेख्ने मानिसको स्वास्थ्य निश्चय राम्रो हुन्छ र स्वास्थ्य राम्रो भएपछि आयु स्वतः लम्बिन्छ । घृणा, गाली कसैप्रतिको अवहेलना, इष्र्या साहित्य हुँनै सक्दैन, त्यो क्षणिक हुन्छ । सहित्य भनेको युगौंयुगसम्म बाँचिरहने, नमर्ने खालको हुनुपर्छ भन्ने उहाँलाई लाग्छ, जुन कुरा वास्तविक हो । उहाँका यी विचारहरूले सार्थकता पाऊन् । हार्दिक शुभकामना मञ्जुश्री प्रधान केसीलाई । 


Top