बरु कांग्रेसमा यस्तो गरौं न

✍️ शान्तिकृष्ण अधिकारी   POSTED ON : आश्विन १४, २०७८ (८:४० AM)

बरु कांग्रेसमा यस्तो गरौं न

खल्तीमा सुको पैसो नहुनेदेखि बैंकमा लाखौं रकम जम्मा गरेर बसेका आमनागरिकहरूको पार्टी नेपाली कांग्रेस हुनुपर्दछ । निधारबाट चुहेको पसिना हत्केलाले पुछ्दै गन्तव्यमा पुग्नेहरूदेखि मर्सिडिज कारमा हुइँकिनेहरूसम्मको प्यारो दल नेपाली कांग्रेस बन्न सक्नुपर्दछ । खेत खल्यानमा हलो जोत्दै गरेकाहरूदेखि अफिसको घुम्ने कुर्सीमा बसेर घण्टी बजाउँदै चिया मगाउनेहरू सम्मले मेरो भन्ने पार्टी नेपाली कांग्रेस हुनुपर्दछ भन्ने आम लोकतन्त्रवादीको चाहना छ । यसो भएमा मात्रै बीपी कोइरालालगायत कांग्रेसका संस्थापकहरूको सपना पूरा हुने हो ।

कांग्रेस भने कतै बाटो बिराउँदै त छैन भन्ने आजको मूल प्रश्न हो । धनाढ्यहरूलाई बढी कर लगाई दुई छाक जुटाउन मुस्किल परेका नागरिकहरूको बन्दोबस्ती गर्नेतर्फ कांग्रेसको सोचाइ हुनुपर्ने हो । बैंकमा मोटो रकम जम्मा गरेकाहरूबाट न्यायोचित संकलन गरी आङमा एकसरो नाना नभएकालाई कपडा उपलब्ध गराउने पार्टी बन्नुपर्ने हो नेपाली कांग्रेस । पार्टीको मूल प्राथमिकतामा तिनै आमनागरिक पर्नुपर्दछ भन्ने आमधारणा छ तर दोलखा कांग्रेसको हालै प्रकाशित समाचारले भने धेरैको होस् उडाएको छ ।

दोलखा जिल्लामा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि उम्मेदवारी दिन साठी हजार रुपैयाँ तोकिए छ । त्यही बमोजिम उपसभापति, सचिव, सदस्यहरूका लागि केही कम हुनेगरी दस्तुर निर्धारण गरिएको छ । यसको सिधा अर्थ के हुन्छ भने उक्त जिल्लामा नेपाली कांग्रेसको राजनीति गर्ने हो भने पैसा बोकेर आऊ, पैसा छैन भने कांग्रेसको राजनीति नै नगर । नेपाली कांग्रेस भनेको धनी वर्गको मात्रै पार्टी हो भनेर कम्युनिष्टहरूले लगाइरहेको आरोपलाई पुष्टि गर्ने काम यो निर्णयले गर्न पुगेको छ ।

हुन त नेपाली कांग्रेसको केन्द्रको निर्णय पनि यसभन्दा केही कम छैन । रकमको आकारमा केही सानो देखिए पनि सबै नेपालीका लागि उपयुक्त हुने दस्तुर उम्मेदवारहरूका लागि तोकिएको छैन । केन्द्रको निर्णयनुसार पनि जिल्ला सभापतिको उम्मेदवार हुन दश हजार रुपैयाँ दस्तुर बुझाउनुपर्दछ भने केन्द्रीय सभापतिका लागि तीस हजार रुपैयाँ तोकिएको छ । महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिन इच्छुक क्षेत्रीय प्रतिनिधिले पाँच हजार रुपैयाँ तिरेपछि मात्रै उम्मेदवारी दर्ता हुने व्यवस्था गरिएको छ ।

कोही मानिस लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा समर्पित छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श र सिद्धान्तलाई मुलुकमा फैलाउन आफ्ना सबै पेशा व्यवसाय छाडेर दिन–रात गाउँ–गाउँ चहारेको छ । नेपाली कांग्रेस नै आफ्नो जीवन हो भनेर पूरै जीवन कांग्रेसमा समर्पण गरेको छ । उसको कुनै कमाई छैन । योगदानका हिसाबले ऊ कम्तीमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुपर्ने हो तर ऊसँग क्षेत्रीय प्रतिनिधिको उम्मेदवार हुन पाँच सय र महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुन पाँच हजार बुझाउने आर्थिक हैसियत नै छैन । त्यसपछिको केन्द्रीय समितिको दस्तुर त परकै कुरा भयो । अब के उसले राजनीति छाड्ने कि रकम जोहो गर्न गलत मार्ग समात्ने ?

यसैगरी कांग्रेसको विभिन्न तहमा पुग्नका लागि उम्मेदवारी दिन मोटो रकम बुझाउनुपर्ने व्यवस्था गरियो भने आगामी दिनको कांग्रेस कस्तो हुन्छ ? कसैले सोचेको छ ? जति समय बित्दै गयो दस्तुर उति बढ्दै जाने निश्चित छ र पन्ध्रौं महाधिवेशनमा पुग्दा नै यसको आकार कस्तो होला ? कसैले चिन्ता गरेको छ ? यद्यपि जेनतेन सबैले दस्तुर बुझाएका छन् तर पार्टीले यो रकमको सदुपयोगका लागि कुनै व्यवस्था गरेको छ ? सर्वत्र चासोको विषय बनेको छ ।

जो कोहीले उम्मेदवारी दिन नपाओस् भनेर नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको भन्ने चर्चा सुनिन्छ । थोरै दस्तुर राखेमा अनावश्यक उम्मेदवारीहरू पर्ने र जसले गर्दा पार्टीले आन्तरिक निर्वाचनमा पनि धेरै झन्झट व्यहोर्नुपर्ने भन्ने तर्क उपयुक्त नै लाग्न सक्ला तर यसको नियन्त्रणका लागि दर्ता दस्तुरभन्दा अन्य उपाय अपनाउन नै उपयुक्त देखिन्छ । कि त पुराना, इमानदार नेता एवं सदस्यहरूले मसँग त्यति पैसा छैन भनेर निवेदन दिए भने निःशुल्क दर्ता हुने व्यवस्था गर्न सक्नुपर्ने देखिन्छ । पैसाले उम्मेदवारी नियन्त्रण गर्न खोज्नु सर्वथा गलत मानिन्छ । 

बरु यसो गरौं न :

नेपाली कांग्रेसमा अहिले यस्तो अवस्था आइसकेको छ कि आज क्रियाशील सदस्यता लियो आज नै जुनसुकै पदको उम्मेदवार बन्न पाइन्छ । केन्द्रमा पुग्न भने दश वर्षको बार बन्देज छ तर क्षेत्रीय सभापतिसम्म हुनका लागि त तिकडम जानेको व्यक्ति भयो भने आजको आजै हुनसक्दछ । वडा र नगर तहका निर्वाचनमा त कुनै अवरोध हुने कुरै भएन । धन र जनको जोहो गर्न सक्नेले न नेपाली कांग्रेसको आदर्श बुझेको हुनुपर्दछ न कांग्रेस र कांग्रेसीको चरित्र नै । 

अघिल्लो महाधिवेशनसम्म त चुनावमा सहभागी हुन कम्तीमा एक महाधिवेशन पर्खनुपर्ने व्यवस्था थियो यस पटकदेखि त त्यो पनि हटेको छ । नयाँ सदस्यलाई आकर्षण गर्न यसो गरिएको भनिए तापनि यसबाट उत्पन्न हुने परिणाम त्यति सुखद् पक्कै हुन सक्दैन भन्ने विश्लेषण हुन थालेको पाइन्छ ।

नेपाली कांग्रेसले व्यवस्थित गर्ने नै हो भने विभिन्न उपाय छन् । सदस्यता लिएकालाई खारेर योग्यता बनाइसकेपछि मात्रै नेपाली कांग्रेसको कुनै तहमा जान पाउने अवस्थाको निर्माण गर्न सकिन्छ । नेपाली कांग्रेसलाई राम्ररी नबुझी कांग्रेसको कुनै कार्यकारी तहमा पुग्न नसक्ने व्यवस्था गरी संगठित कांग्रेसको निर्माण गर्न सकिन्छ । नेतृत्व तहमा पुग्न गरिने जालझेललाई न्यूनीकरण गर्ने विभिन्न नीतिनियमको बनाई कांग्रेसलाई सबल बनाउने उपाय खोज्न सकिन्छ । मात्र नेतृत्व वर्गको इच्छाशक्तिको खाँचो छ ।

जस्तै नेपाली कांग्रेसका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघजस्ता दर्जनौं भ्रातृ या शुभेच्छुक संस्था छन् । ती संस्थाहरूमध्ये कुनै एकमा पाँच वर्ष काम गरिसकेपछि मात्रै नेपाली कांग्रेसको साधारण सदस्य हुनसक्ने व्यवस्था गर्न सकिन्छ । कांग्रेसको साधारण सदस्य भएको एक वर्षपछि मात्रै क्रियाशील सदस्यता प्राप्त हुने र क्रियाशील सदस्यता प्राप्त गरेको दुई वर्षपछि मात्रै कांग्रेसको कुनै पदमा उम्मेदवारी दिन पाउने जस्ता व्यवस्थामात्रै गरियो भने पनि अहिले जस्तो भाँडभैलो उम्मेदवारीमा नहुन सक्दछ ।

विडम्बना त के भएको छ भने नेतासँगको पहुँचका आधारमा या अरू कुनै कारणले आज नेपाली कांग्रेसका सदस्यता लियो भोलि सांसद् या कार्यसमितिको सदस्य बन्यो । जसलाई पार्टीको मूलमर्म थाहा हुँदैन र उसको ध्येय पार्टीलाई अग्रगति दिनुपर्दछ भन्ने पनि हुँदैन । जसले पार्टीका लागि रगत पसिना बगाएको हुँदैन उसले पार्टी जोगाउनुपर्दछ भन्ने मान्यता राखेको हुँदैन । उसको ध्येयमात्र उसको स्वार्थ पूर्ति गर्नु हुन्छ र उसलाई पार्टीमा पद दिने नेताको स्वार्थमा चलखेल गर्नु अर्को उद्देश्य रहन्छ ।

विगतका अनुभव नै हे¥यौं भने पनि धेरै जानकारी मिल्दछ । अर्को पार्टीबाट केशरबहादुर विष्ट, नारायणसिंह पुनहरूलाई कांग्रेसमा भित्र्याइयो । आउने बित्तिकै सांसद बनाइयो । नारायणसिहं त बितेर गइसके तर उनीबाहेकका त्यस्ता व्यक्तिहरू आज नेपाली कांग्रेसमै छन् त ? कांग्रेसमा रहँदा पनि पार्टी विस्तारका लागि उनीहरूले के कति काम गरे ? उनीहरूलाई दिइएको सम्मान कांग्रेसका लागि उपलब्धिमूलक रहृयो त ?

ठीक त्यसको विपरीत विद्यार्थी कालदेखि नेवि संघको राजनीतिमा लागेका कैयौं त्यस्ता नेताहरू छन् जसले आजसम्म कुनै पद पाएका छैनन् तर पनि नेपाली कांग्रेसमै छन् । पार्टीका शीर्षस्थ भनिएका नेताहरूले जति लात हाने पनि जसरी बाच्छोले माउको थुनमा मुख लैजान छाड्दैन त्यसैगरी राष्ट्रियता, लोकतन्त्र, समाजवादका मन्त्र पढ्दै दौडिरहेका छन् । त्यसैले कांग्रेसले विचार गरोस्-पैसा या दस्तुर बढाएर स्वच्छ कांग्रेस बन्दैन ।


Top