वर्तमान राजनीतिक अवस्था र निकासको बाटो

✍️ डा. डीआर उपाध्याय   POSTED ON : आश्विन १४, २०७८ (८:४४ AM)

वर्तमान राजनीतिक अवस्था र निकासको बाटो

आज मुलुक गम्भीर संकटमा छ । किनकि राजनीतिक वातावरण त्यति सहजरूपमा अघि बढ्न सकेको छैन । राजनीतिक दल र तिनका नेताहरू सत्तास्वार्थको लडाइँमा छन् । देश विकासका काम ओझेलमा परेका छन् । सधैभरि देश यसरी चल्दैन । अब देश विकास र समृद्धिका लागि युवा जुटनुपर्छ । देश बनाउने भनेको युवाले हो । युवा तात्नुपर्छ । बुढा नेताबाट अब युवाले नेतृत्व खोसेर लिनुपर्छ । अब पनि बुढा नेताको हातमा नेतृत्व गयो अथवा जान दियौं भने मुलुकको अवस्था जहाँको त्यही हुने निश्चित छ । 

अहिले हाम्रो देशमा सबै दलमा बुढा नेताहरूले नै नेतृत्व गर्दै आएका छन् । उनीहरूले युवालाई सजिलै नेतृत्व छाड्लान् भन्ने कुनै छाँटकाँट छैन । यो हाम्रो देशको समस्या हो । युवाहरू नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दबाब दिने आँट गर्न सकेनन् । युवामा आँट हुनुपर्छ । आँट र साहसले नै मुलुक बनाउने हो । आज देशमा यति धेरै उर्जाशील युवा नेता छन् । अब उनीहरू अग्रमोर्चा सम्हाल्न अगाडि बढ्नुपर्छ । यो युगको माग हो, समयको माग हो, नेपाल धर्ती माताको माग हो । 

हाम्रा पार्टीहरूबीच देशको समसस्याभन्दा आन्तरिक समस्यामा रुमलिएर बसेका छन् । नेकपा एमालेभित्रको नेतृत्वमा रहेको टकरावले यतिबेला अलगअलग हुनपुगेका छन् । दुई धारमा स्पष्ट रूपमा अलगअलग भएका भए पनि त्यसमा अनेक गुट र उपगुट रहेका छन् । हुँदाखाँदाको दुई तिहाइ नजिक रहेको सरकार पचाउन नसकेर ओलीले मुलुक र पार्टीलाई यहाँसम्म ल्याए र उत्तानो पारेर पल्टाए । यसरी हेर्दा आगामी दिन त्यति सुखद् छैनन् । अहिलेसम्मको इतिहासमा एमाले यसभन्दा पहिला यति कमजोर कहिल्यै बनेको थिएन । 

राजनीतिक इतिहासमा एमालेको लागि यो दुखद् क्षण हो । नेताहरूको मनपरीले आज देशभरिका एमाले कार्यकर्ता दुःखी बनेका छन् । एमाले तत्काल मिल्लाजस्तो छैन । माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर संगठन विस्तारका लागि देश दौडाहामा छन् । उनले आफ्नो बाटो तताइसकेका छन् । एमालेभित्रको तेस्रो धार ओलीको चेपुवामा परेका छन् । 

तेस्रो धारले पार्टी मिलाउने दौडधुपमा लागे पनि सफल हुन सकेनन् । तेस्रो धारमा जोसिला पढेलेखेका युवा नेता छन् । अब एमालेले तेस्रो धारलाई नेतृत्व दिएर पार्टी जोगाउनुपर्छ । यसबाहेक अर्को कुनै विकल्प छैन । तेस्रो धारमा डा.भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोर्कण विष्ट, योगेश भट्टराई, रघुजी पन्तलगायत धेरै छन् । 

पार्टीभित्रको सशक्त नेतृत्व अहिलेको गम्भीर सवाल हो । अबका दिनमा युवाले नेतृत्व हातमा लिएर उनीहरूलाई बिदा दिनुपर्छ । यो रोग सबै पार्टीमा छ । यसको उपचार समयमै गर्नुपर्छ । यदि समयमा उपचार नभए बिरामीको अवस्था के हुन्छ ? ठीक एमाले र अन्य पार्टीको अवस्था त्यस्तै छ । एमाले त्यति ठूलो पार्टी आज यो अवस्थामा देख्दा टिठ लागेर आयो । बेलाबेलामा नेपालको राजनीतिमा उतार चढाव आउने गरेको छ । आमनागरिकमा राजनीतिप्रति यतिबेला त्यति उत्साह नै छैन । 

लामो समयदेखिको आन्दोलन, संघर्ष र बलिदानमार्फत देशमा यति धेरै उपलब्धि हासिल भएका छन् । उपलब्धिमाथि कसैले खेलबाड गर्नु हुँदैन र गर्न दिनु हुँुदैन । परिवर्तन ल्याउन धेरैको त्याग, तपस्या र बलिदान छ । नेपालका राजनीतिक दल र तिनका नेताहरू बेलाबेलामा बेइमान हुनाले यी समस्या उत्पन्न भएका हुन् । प्राप्त उपलब्धिलाई संस्थागत विकास गर्ने बाटोतर्फ सबै लोकतन्त्रवादी शक्ति इमानका साथ लाग्नुपर्छ । परिवर्तित अवस्थालाई सबैले जोगाएर राख्नुपर्छ । नागरिकहरूको जीवनसँग जोडिएका तमाम समस्या राज्यले सम्बोधन गर्ने नीति कार्यक्रम ल्याउनुपर्छ । नीति ल्याएरमात्र हँुदैन, कार्यान्वयन गर्ने बाटोमा अग्रसर हुनुपर्छ । 

अब परिवर्तनको संस्थागत विकास गरी मुलुक अघि बढ्नुपर्छ । दिगो विकास नै आजको आवश्यकता हो । सत्ता केन्द्रित राजनीतिले मात्र मुलुकलाई निकास दिँदैन । शक्तिका लागि जे पनि गर्ने, सत्तामा एकपटक बसिसकेपछि त्यहाँबाट बाहिर आउन नखोज्ने प्रवृत्ति र चिन्तनले नेपालको राजनीति थला परेको छ । शासन प्रणालीमाथि सधैं खतराको घण्टी बजिरहेको छ । आमनागरिकमा राजनीतिक दलहरू तथा नेताहरूप्रति विश्वास घट्दै गएको छ । दल र तिनका नेताहरूले दिगो रूपमा जनताको मन जित्न अझै सकिरहेका छैनन् । 

शक्तिका लागि जे पनि गर्ने दल र तिनका नेताहरूलाई जनताले चिनिसकेका छन् । यो परिस्थितिभित्र राजनीतिक अस्थिरताको बिउ छर्ने काम नेपालका राजनीतिक दल आफैंले गरिरहेका छन् । सरकारले गलत काम गरिरहेको छ भने नागरिकले खबरदारी गर्न छोड्नु हुँदैन । सरकार भनेको नागरिकको अभिभावक हो । राज्यप्रति नागरिकहरूले आफ्ना गुनासा राख्न पाउने अधिकार छ । यसमा कोही डराउनुपर्ने आवश्यकता छैन । राज्य नागरिकको जीवन सहज बनाउने काममा सधैं तत्पर रहनुपर्छ । 

देशमा अन्यौलता सिर्जना गर्न कसैलाई दिनु हुँदैन । राज्यका सेवासुविधामाथि नागरिकको सहज पहुँच स्थापित गर्नुपर्छ । नागरिकहरूको करको सदुपयोग गर्ने काममा राज्य इमानदार बन्नुपर्छ । पारदर्शी र सुशासन कायम गर्ने कुरामा राज्यको ध्यान सधैं केन्द्रित बन्नुपर्छ । हाम्रो देशमा एउटा व्यक्ति सधैंभरिका लागि नेता बनिरहन खोज्छन् । यो पनि देशका लागि समस्या हो । लोकतन्त्रमा बेलाबेलामा नेतृत्व परिवर्तन भइरहनुपर्छ । यस्ता सवालले नै लोकतान्त्रिक राज्य प्रणाली बलियो बन्छ । आवधिक निर्वाचन, कानुनी शासनको प्रत्याभूति, सुशासन र जवाफदेही सरकार सञ्चालन नै लोकतन्त्रका आधारभूत मूल्य मान्यता हुन् । 

नेपालका राजनीतिक दलहरूले नेपालको शासन प्रणालीको परिवर्तनका लागि निकै लामो संघर्ष र बलिदान गरेका छन् । राजनीतिक परिवर्तनका लागि आम नागरिकले दलहरूलाई साथ र सहयोग गर्दै आएका हुन् । तर, परिवर्तनलाई संस्थागत बनाउने र आफूलाई शासकीय क्षमताको प्रयोगमार्फत आम जनजीवनलाई सहज बनाउने कुरामा अहिले पनि दलहरू र तिनका नेताहरू चुकिरहेका छन् । जबसम्म हामी नेपालका राजनीतिक दलहरूभित्र लोकतान्त्रिक वातावरण निर्माण गर्न सक्दैनौं, व्यक्तिगत स्वार्थ र सर्वसत्तावादी चिन्तन र प्रवृत्तिमाथि बोल्न सक्दैनौं, त्यसबेलासम्म लोकतन्त्रमाथि खतरा रहिरहन्छ । 

आजको यो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य गरेर देश विकासको खाका कोर्नुपर्ने आवश्यकता देखिएको छ । दलहरू मिल्नुबाहेक अर्को विकल्प छैन । आन्तरिक खिचातानीमा मुलुकको भविष्य बर्बाद गरिनु हँुदैन । मुलुकको भविष्यका लागि दल र तिनका नेताहरू गम्भिर बन्नुपर्छ । अब कुरालेमात्र मुलुक बन्दैन । मुलुक बनाउन काम गर्नुपर्छ । अहिले दलहरूबीचमा जुन किसिमको रस्साकस्सी छ त्यो मुलुकका हितमा छैन । अहिले मुलुकमा नयाँ सरकार निर्माण भएको छ । 

यो सरकार मुलुकको हितमा अघि बढ्नुपर्छ । अहिलेको आवश्यकता भनेको देश बनाउने हो । देश नबनेसम्म मुलुकले दुःख पाउँछ । राजनीति विषयमा सही विश्लेषण गर्नुपर्ने आवश्यकता छ । हावादारी कुराले जनतामा अन्योलता हुन्छ । राजनीतिलाई गिजोल्नु हितकर र शोभनीय दुवै हँुदैन । सरकार पनि त्यतातर्फ लाग्ने प्राथमिकतामा देखिँदैन । आमनागरिकको चाहना चाहिँ यो छ कि पछिल्लो अभ्यासले देशलाई निकास मात्रै होइन, विकासको बाटोसमेत प्रशस्त गर्नुपर्छ । राजनीतिक क्रान्तिका सबै चरण समापन भएको छ, नागरिकको सहभागिताले लेखिएको संविधानसमेत कार्यान्वयनमा आएको छ । साँच्चै अब मुलुक विकासको बाटोमा लम्कनुपर्छ । 

अहिले बनेको सरकारको काम र संस्कार चाहिँ धेरै फेरिनु आवश्यक छ । संस्कार परिवर्तनले सफलतालाई मार्गप्रशस्त गर्दछ । यो नै आजको अनिवार्य आवश्यकता हो । संसारमा कुनै सिद्धान्त स्वतःखराब वा असल हुँदैन । सिद्धान्त र विचार अमुक अनि अमूर्त पक्ष हुन् । अब सरकारलाई राजनीतिक कुरामा अल्मलिनुपर्ने बाध्यता छैन । देशको अग्रगामी र नागरिक अपेक्षित विकासका खास सवालहरूमा ठोस पहल गर्नुमात्र बाँकी छ । अपेक्षित संस्कारलाई सार्थक बनाउन कर्मचारीतन्त्रमा व्यापक सुदृढीकरण आवश्यक छ । 

सरकारका सबै कार्यक्रमलाई नागरिकसम्म पुर्‍याउने माध्यम कर्मचारीतन्त्र नै हो । सरकारी वा सार्वजनिक सेवासुविधा लिने क्रममा कर्मचारीले प्रवाह गर्ने सेवाको चुस्तता अनि गुणस्तरका आधारमा नागरिकको सरकारप्रतिको विचार निर्माण हुन्छ । कार्यालयमा हुने ढिलासुस्ती, सहजीकरणभन्दा बेवास्ताको प्रवृत्ति अनि नजराना माग्ने बानीले बेइज्जती चाहिँ सरकारको हुन्छ । सुशासन कायम गर्नु राज्यको कर्तव्य हो । नागरिकका गुनासा र सुझाबलाई यथोचित रूपमा सुनिनुपर्छ । विकासका प्रष्ट योजना दिएर नागरिकसँग सहयोग माग्नुपर्छ । 

वास्तवमा सरकारले आमनागरिकको हितमा काम गर्न लागेमा नागरिकबाट श्रम वा पुँजी वा दुवैको प्रशस्त सहयोग आउँछ । देशको विकासका लागि प्रशासनिक तथा सामाजिक आचरण र मानवीय नैतिक मूल्यमान्यता पुनर्जागरणमा सघन ध्यान दिनुपर्छ । समाजका हरेक क्षेत्रमा तत्कालीन सुधार अनि दीर्घकालीन विकासका योजना आउनुपर्छ । बेरोजगारी, गरिबी, अन्याय, अत्याचार, दण्डहीनता, भ्रष्टाचार, मूल्यवृद्धि नियन्त्रणमा सरकार निर्मम बन्नुपर्छ । 

न्याय, सभ्यता र सुशासन प्रत्याभूत हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र आवास कम्तीमा सरकारको दायित्व बन्नेगरी कार्यक्रम दिनुपर्छ । देशको शिक्षा क्षेत्र भयावह छ । हामी विदेशीलाई सस्तो कामदार उपलब्ध गराउने कारखाना बन्दैछौं । पढेका र दक्ष भनिएको जनशक्ति सम्पन्न देशलाई अनि शारीरिक श्रम गर्ने जति खाडी मुलुकलाई पठाएर समृद्धिको आशा गर्नु गलत हुन्छ ।

यसका लागि देशको समग्र अवस्था गएर ठोकिने भनेको राजनीतिमा रहेछ । सिस्टममा रहेछ । हामीले युवा जोश जागरका साथ काम अघि बढाएनौं भने भोलिको पुस्ताले हामीलाई धिक्कार्ने छ । अब ढिलो नगरौं युवाहरू जुर्मुराऔं । पार्टीको नेतृत्व र देशको नेतृत्वमा आफ्नो हातमा लिएर देशप्रतिको यो जिम्मेवारीलाई निर्वाह गरौं । नेपाललाई समृद्धितर्फ अगाडि लैजान पहल गरौं । गफमात्र होइन काम गरेर देखाऔं । आजको आवश्यकता भनेको गफ गर्ने मुख होइन काम गर्ने साहस, उत्साह, जागरका सथै भिजन र मिसनको आवश्यकता छ ।


Top