जर्मनीकी चान्सलर मर्केल जसले हारेर पनि जितिन्

✍️ शम्भु कोइराला   POSTED ON : आश्विन १५, २०७८ (९:१२ AM)

जर्मनीकी चान्सलर मर्केल जसले हारेर पनि जितिन्

नमागिएको सल्लाह : 

जर्मनीमा सन् २०२१ सेप्टेम्बर २६ आइतबारका दिनमा भएको संघीय संसद्को निर्वाचनमा चान्सलर एन्जेला मर्केलको पार्टी सिडियु र उसको भगिनी संगठन सिएसयु ब्लकले २४.१ मत प्राप्त गरी दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ भने विपक्षी पार्टी सोसियल डेमोक्रेटिक पार्टी (एस्पिडी)ले २५.७ प्रतिशत मत प्राप्त गरी झिनो मतान्तरले सत्तारुढ मर्केलको पार्टीलाई दोस्रो स्थानमा पु¥याएको छ । सन् २००२ पछि यो पार्टी सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । ग्रीन पार्टीले अहिलेसम्मकै राम्रो नतिजाका साथ १४.८ प्रतिशत मत प्राप्त गरेको छ । 

यस पार्टीले जलवायु संरक्षणसम्बन्धी मुद्दालाई निर्वाचनमा प्रमुखताका साथ उठाएको थियो । एफडिपी पार्टीले ११.५ प्रतिशत मत ल्याएर पहिलेको भन्दा राम्रो नतिजा निकाली सरकारमा जाने सम्भावनालाई बलियो बनाएको छ, साथै एएफडी पार्टीले ४.९ प्रतिशत मत ल्याएको छ । एसपिडीका ओलाफ सोल्ज अथवा सिडियुका आर्मिन ल्यासेटमध्ये जोसुकै चान्सलर बने तापनि ग्रीन पार्टी र एफडिपीको समर्थन नयाँ सरकार बन्नका लागि निर्णायक हुने देखिन्छ । हालै मर्केलले सोल्जलाई बधाई दिएपछि उनको चान्सलर बन्ने बाटो सहज बनेको आकलन गरिएको छ । यसमा पनि मर्केलले राजनीतिक संस्कार प्रदर्शन गरेकी छिन् । 

यो चुनावमा एसपिडीले गत चुनावभन्दा ५.२ प्रतिशत सिट बढाएको छ भने सत्तारुढ पार्टीले ८.९ प्रतिशतको नोक्सानी सहनुपरेको छ । ग्रीन पार्टीले ५.८ प्रतिशत सिट संख्या बढाएर सरकार बनाउने समीकरणमा बलियो हैसियत प्रदर्शन गरेको छ । सिटसंख्याका हिसाबले एसपिडीले २०६ सिट, सिडियु सिएसयु ब्लकले १९६, ग्रिन्स ११८, एफडिपी ९२, एएफपी ८३, डि लिंका ३९, एसएसडब्लु १ गरी जम्मा सिट ७३५ रहेका छन् । 

चान्सलर एन्जेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक पार्टीले कसैले पनि बहुमत प्राप्त नगरेकाले कसैको जित नभएको तत्कालीन प्रतिक्रिया दिएको छ भने एसपिडीले जर्मनीमा राम्रो सरकार बनाउन आफूहरूलाई मत दिएको जनाएको छ । चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कसैको बहुमत नभएका कारण गठबन्धन सरकार बन्ने निश्चित भएको छ । 

सन् २००५ मा जर्मनीको चान्सलर बनेकी प्रथम महिला चान्सलर मर्केलले १६ वर्ष शासन गरिन् । लगातार चार कार्यकाल चान्सलर भएकी मर्केललाई जर्मनीलाई स्थायित्व दिएको र देशको प्रतिष्ठा बढाएको भनेर इज्जतका साथ हेर्ने गरिन्छ । सन् २००० मा पार्टीको नेतामा चयन भए तापनि सन् २००२ मा भएको आफ्नो पार्टीबाट चान्सलर पदको उम्मेदवारीको प्रतिस्पर्धामा भनेपछि परिन् । तर, तीन वर्षपछि सिडियुको चान्सलर पदको प्रतिस्पर्धामा विजयी भएर १६ वर्षसम्म लोकप्रिय नेताका रूपमा स्थापित हुँदै शासन गरिन् ।

सन् १९५४ मा हृयाम्बर्गमा जन्मेकी मार्केलको पूरा नाम एन्जेला डोरोथिया कासनर मर्केल हो तर उन्लाई एन्जेला मर्केलको नामबाट चिनिन्छ । सन् १९७८ मा युनिभर्सिटी अफ लेइपजिगमा भौतिक शास्त्रको अध्ययन गरेकी थिइन् भने सन् १९७८ मा सोही विषयमा विद्यावारिधि गरेकी थिइन् । 

सन् १९८९ मा बर्लिन पर्खाल भत्केर दुई जर्मनी एकीकरण भएपछि सिडियु पार्टीमा सक्रिय भएकी थिइन् । राजनीतिमा लागेको छोटो समयमा नै हेल्मेट कोलको सरकारमा महिला तथा युवामन्त्री बनेकी थिइन् । सन् १९९८ को आम निर्वाचनमा हेल्मुट कोलको पराजय भएपछि उनी सिडियु पार्टीको महासचिव बनेकी थिइन् । 

सौन्दर्य प्रशाधनको प्रयोग नगर्ने मर्केल सादा विचार र उच्च विचारमा मान्यता राख्छिन् । शृंगार नगरेको सम्बन्धमा एकपटक उनलाई सोधिएकोमा उनले आफू कुनै मोडेल नभएको र नागरिकको सेवक भएकाले त्यसो गर्नु जरुरी नभएको बताएकी थिइन् । शासनको लामो अवधिमा कुनै राज्यका पदमा आफ्ना मान्छेलाई नियुक्त नगरेकी मर्केलका लागि सौन्दर्य सामग्री, महँगा सवारीसाधन, सुरक्षा निकायको लावालस्कर, निजी विमान, ऐयासी जिन्दगी रुचिका विषय थिएनन् । उनी आफ्नो घरको काम आफैं गर्थिन् । उनका पति र उनी मिलेर घरायसी धन्दा फत्ते पार्दथे । कोही व्यक्तिगत वा सरकारी सहयोगी राखेकी थिइनन् । उनी आमनागरिक जस्तै अपार्टमेन्टमा बस्छिन् । उनले भौतिक सुख सुविधातिर चासो नै राखिनन् । 

मार्केलले हारेर पनि जितिन् :

सन् २००८ को आर्थिक मन्दीको डटेर सामना गरेका कारण मर्केलको व्यक्तित्व एक्कासि बढेको थियो । आवश्यक परेका बेला अर्थतन्त्रमा सरकारले पनि हस्तक्षेप गर्नुपर्ने धारणा राखेकी उनले उक्त विश्वव्यापी मन्दीबाट अर्थतन्त्रलाई जोगाएकी थिइन् भने सर्वसाधारण जनतालाई पनि राहत दिएकी थिइन् । मर्केलको उदार आप्रवासन नीतिको प्रशंसा भएको थियो भने परमाणु ऊर्जालाई चरणबद्ध रूपमा हटाउने काममा पनि सफलता मिलेको थियो । 

सन् २०१५ मा युद्धग्रस्त सिरियाबाट आएका करिब १० लाख शरणार्थीलाई आश्रय दिने चुनौतीपूर्ण निर्णय गरेकी थिइन् । युरोपको अनुदारवादी पार्टीको चान्सलर भएर पनि युद्धग्रस्त मुस्लिम देशका नागरिकलाई आश्रय दिनु आलोचना सहनुपर्ने र जोखिमको विषय भए तापनि मानवीय नाताले उनले यस्तो निर्णय गरेकी थिइन् । जुन् कामको विश्वव्यापी रूपमा प्रशंसा भएको थियो । 

विश्वको जुनसुकै कुनामा पुगे तापनि आफ्नो धार्मिक कट्टरता नछोड्ने र आतंकमा सहभागी हुनेमा अग्रपंतिमा रहेको भनेर आलोचित बनेको मुस्लिम समुदायको त्यति ठूलो संख्यालाई आश्रय दिनु जर्मनीमात्र नभएर समस्त युरोप र पश्चिमी गोलाद्र्धका प्रजातन्त्रवादी देशहरूकै लागि खतरा थियो तथापि यो चुनौतीपूर्ण काम गर्ने आँटिलो र चुनौतीपूर्ण निर्णय उनले गरिन् । 

प्रतिष्ठित फोर्वस म्यागेजिनले १० वर्षसम्म विश्वकै सबैभन्दा शक्तिशाली महिला घोषित भएकी मर्केल महिलाको उत्थान हुनुपर्छ महिलाले नेतृत्व लिनुपर्छ भन्ने धारणा राख्थिन् । युरोपियन आयोगका प्रमुख उर्सुला भान डेरलाई त्यो पदमा पुर्‍याउँन उनको महत्वपूर्ण भूमिका रहेको थियो । विज्ञान विषयकी विदुषी भएर होला उनी धेरै बोल्दिनथिन् । तर, जनताको सोचाइलाई बुझेर तदनुसारको काम कारबाही गर्थिन् । 

मर्केलको पार्टी झिनो मतान्तरले सबैभन्दा ठूलो पार्टी बन्न सकेन । उनको लोकप्रियता राम्रै भएको अवस्थामा यस्तो नतिजा अप्रत्याशित जस्तो देखिन्छ यद्यपि, चुनावअगाडिका प्रक्षेपणले कडा प्रतिस्पर्धा हुने भविष्यवाणी गरेका थिए । हुन त मर्केलले यो चुनावपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन् । उनको उत्तराधिकारीको रूपमा आएका अर्मिन ल्यासेटलाई मतदाताले विश्वास गर्न नसकेको हो कि भन्ने अड्कल गर्ने परिस्थिति बन्न गएको छ । सबै श्रमिकहरूलाई सम्मान तथा आत्मसम्मान दिलाउने विपक्षी उम्मेदवार सोल्जको नाराले मतदातालाई आकर्षित गरेका कारण नतिजा उल्टिएको अनुमान गरिएको छ । 

राजनीतिबाट निवृत्त भएपछि किताब पढ्छु तर निदाइहाल्छु होला, धेरै थाकेकी छु, भनेकी उनले आफ्नो फुर्सद्को समय अध्ययन÷अध्यापनमा बिताउने कुराको संकेत दिएकी छन् । मर्केलको पार्टी पराजित भएको छ तर उनी जर्मनीका जनता र विश्व समुदायको स्मृतिमा रहेकी छन् । यस्तो विरोधाभासपूर्ण अवस्था देखापरेको छ । 

मार्केलबाट नेपाली नेताहरूले सिक्नुपर्ने पाठ :

मार्केलको साधा जीवन उच्च विचार, विलासी जीवन र भ्रष्ट चिन्तन भएका नेपाली नेता र ठूलाबडाका लागि सिक्नुपर्ने पाठ हुनसक्छ । जस्को सिङ छैन उसको नाम तिखे भनेजस्तै जुन देश गरिबीको कुचक्रमा फसिरहेको छ, त्यो देशका नेतालगायत ठूलाबडाको सुरक्षा तामझाम, उठबस, रबाफ देख्दा लाजमर्दो देखिन्छ । ट्राफिक जामको समस्याबाट पीडित नागरिक भएको देशमा नेताहरूको कथित सवारी चलाउँदा नागरिकको दुःखको रत्तिभर पर्वाह गरिँदैन । 

मार्केल नागरिकलाई ठूला सपना देखाउँनमा भन्दा आफ्ना नागरिकलाई पर्न आएका दैनन्दिन समस्याप्रति ध्यान दिन्थिन् । घरघरमा ग्यास पाइप, उत्तर दक्षिणबाट रेलले जोड्ने कुरा, मेट्रो रेल, मोनोरेल, समृद्धिको सपना देखाउने नेपाली नेताहरू नागरिकका फोहोर व्यवस्थापन, खानेपानी, स्थिर बिजुलीबत्ती, विपद् परेका बेला नागरिकलाई प्रत्यक्ष सहयोग गर्ने कुरालाई वास्ता नै गर्दैनन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय चासोको केन्द्र राजधानी शहर काठमाडौंको फोहोर नउठेको महिनौं भइसक्यो तर आश्वासनका चाँङ बाँड्न नगरका मेयरलाई फुर्सद छैन । 

मेलम्चीको पानी चाख्नमात्र पाएका काठमाडौं उपत्यकावासीलाई विपद्ले थला परेको योजनाको काम तदारुकताका साथ गर्नुपर्नेमा मन्त्रालय नेतृत्वविहीन भएको महिनौं भइसक्यो । कसैलाई चासो छैन । मर्केल र जर्मनाबाट नेपाली नेताहरूले सिक्ने पाठ भनेको गठबन्धन सरकारबाट मुलुकलाई स्थिरता दिन सकिन्छ भन्ने हो । उनी चार कार्यकाल जर्मनीको चान्सलर बनिन् तर ठूलो दलको नेताको रूपमा मात्र । 

जर्मनीको राजनीतिमा समानुपातिक पद्धतिको अभ्यासको कारण बहुमत आउनु कठिन कार्य हो तर ठूलो दलको ३५ प्रतिशतभन्दा कम सिटसंख्या भए तापनि चार कार्यकाल १६ वर्षसम्म उनले निरन्तर शासन चलाइन् । राजनीतिक अस्थिरता भएन । जर्मनीको इज्जतलाई युरोपमा र विश्वसामु गर्व गर्न लायक बनाइन् । हाम्रा नेताहरू दुई तिहाइ नजिकको सरकार पनि पूर्णकार्यकाल चलाउने हैसियत राख्दैनन् । 

विवादको विषय पनि नीतिगत वा विचारगत भएर होइन फगत् सत्ताको भागबण्डा गरेर मिलिजुली शासन गर्ने ढंग नपुगेर । क्रोध, अहंकार, बदलाको भाव नेपाली राजनीतिको अस्थिरताको कारण हो । हाम्रा विद्यालय तहको परीक्षा अनुत्तीर्ण नेताहरू आफूलाई सर्वज्ञानी र तत्वबोध भएको ठान्छन् भने विज्ञानकी विद्यावारिधि मर्केल आफूमा विद्वत्ताको कुनै अहंकार प्रदर्शन गर्न मन पराउँदिनन् । 

अन्तमा, सन् २००८ को विश्वव्यापी मन्दीबाट मुलुकलाई त्राण दिन सफलता मिलेसँगै उनको लोकप्रियता बढ्दै गयो । उनले कोरोना महामारीलाई पनि सफलतापूर्वक व्यवस्थापन गर्न सकिन् । विश्वमञ्चमा मर्केलकालको जर्मनीलाई सम्झनलायक बनाइन् । इज्जत दिलाउन सफल भइन् । जनताका साना समस्यामा मिहिनेत गरेर निप्टारा गर्ने शैली मर्केलको लोकप्रियताको अर्को कडी थियो । 

यी यावत् सफलताका बाबजुद उनको पार्टी झिनो मतले पछाडि पर्‍यो । अर्को शब्दमा भन्नु पर्दा मर्केलको पार्टी पराजित भयो । यद्यपि, अहिले विजय प्राप्त गरेको भए पनि उनी चान्सलर बन्ने थिइनन् । किनकि, उनले राजनीतिबाट निवृत्त हुने बताइसकेकी थिइन् । प्राविधिक रूपमा मर्केलको पार्टी पराजित भएको छ तर जर्मनीमात्र होइन समस्त विश्वले उनको सत्कर्मको कारण उनलाई सम्झिरहनेछ । त्यसैले, जर्मनीकी चान्सलर मर्केलले चुनाव हारेर पनि जितेकी छिन् । मर्केलको निवृत्त जीवनमा खुशी मिलोस् । शुभकामना ।


Top