कालीगण्डकी संरक्षणको पक्षमा !

✍️ डा. नारायण चालिसे   POSTED ON : आश्विन १६, २०७८ (७:२८ AM)

कालीगण्डकी संरक्षणको पक्षमा !

के के विषयमा कुरा गरौँ जता हेर्‍यो उस्तै विकृति र अव्यवस्थाले भरिएको छ देश । पटक-पटक आफ्नो देशका बारेमा यस्ता कुरा गर्न पटक्कै मन हुँदैन तर विडम्बना, अव्यवस्थाहरूले सुखै दिँदैनन् । हो देश एजेन्टहरूकै हातमा छ । देशका प्रधानमन्त्रीदेखि खरिदारसम्म कसलाई बनाउने भन्ने कुराको जिम्मेवारी एजेन्टहरूले लिएका हुन्छन्, पहिलो डिल उनीहरूसँग हुन्छ भनिन्छ । उनीहरूलाई चित्त बुझ्यो भने कुरा अघि बढ्छ होइन भने स्टप, अर्को विकल्प खोजिन्छ भनेको सुन्दा मन पोल्न थाल्छ । चलखेलको यो सञ्जालमा तलदेखि माथिसम्म देशै गाँजिएको छ । गहिराइमा पुगेर विषयको गम्भीरता नबुझी गरिने हरेक निर्णयहरूका पछाडि निहितार्थले धेरै ठाउँ पोलिरहेको हुन्छ ।

लेख्न त अब देश बचाऔँ अभियानमै लेख्नुपर्ने भएको छ तापनि अहिले कालीगण्डकी बचाऔँ अभियानबाट कुराको थालनी गरिएको छ । आर.के. अदीप्त गिरी मेरा प्रिय भाइ । हामी कालीको जल र बालुवामा खेलेर हुर्केका । उहाँ राम्रो स्रष्टा र व्यवसायी पनि हुनुहुन्छ । पछिल्लो समयमा कालीगण्डकी संरक्षण अभियानमा पनि उहाँ सक्रिय रूपले लाग्नुभएको छ । 

केही समयदेखि कालीगण्डकी बचाऔँ अभियानअन्तर्गत नदी सप्तक पोस्टर कविता शृङ्खला चलाइरहनुभएको छ । जसअन्तर्गत मुलुकका प्रतिष्ठित कवि माधव घिमिरे (स्वर्गीय) देखि लिएर वर्तमान पुस्ताका सुपरिचित कविहरू श्रवण मुकारुङ, भूपीन खड्का, नवराज कार्की, इन्द्रकुमार विकल्प, प्रज्वल अधिकारी, हेमन्त गिरी मोहराज शर्मा, रोशन परियार, राखी गौचन र जनक कार्की, रामजी नेपाली, चिन्तु गिरी गरी बिहीबारसम्म तेह्रजना कविहरूबाट कालीगण्डकीको संरक्षणका पक्षमा लेखिएका कविताहरू प्रकाशमा आएका छन् र यो क्रम जारी छ । 

यस अभियानको नेतृत्व भाइ आर.के.अदीप्तले गरिरहनुभएको छ । देशको जिम्मेवार नागरिकले देशका प्रति देखाउने चासो, चिन्ता र खबर्दारीको महत्वपूर्ण कडीका रूपमा विस्तार भएको यो अभियानले निरन्तरता पाइरहनुपर्छ अनि सरोकारवाला निकायको पनि यसतर्फ ध्यान जानै पर्छ ।

त्यसैगरी धर्म, संस्कृतिका विज्ञ, वातावरणविद्, पर्यावरण विद्, भूगर्भविद् आदि विद्वान् व्यक्तिहरूबाट पनि कालीगण्डकीको महत्व र विशेषताका बारेमा सारगर्भित लेखहरू प्रकाशित गर्ने क्रम बढिरहेको छ । कालीगण्डकीलाई धार्मिक, सांस्कृतिक, पर्यावरणीय र प्राकृतिक महत्वका दृष्टिले हेरिँदै आएको छ । कालीगण्डकीलाई सभ्यताको सूचक त मानिन्छ साथसाथै पर्यावरणीय सन्तुलनका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । क्लाइमेट चेन्ज वाटर एण्ड इनर्जी नेक्सस इन कालीगण्डकी बेसिस अफ वेस्टर्न नेपानल शीर्षकमा विद्यावारिधि नै गरिरहेका वातावरणविद् नवराज पोरखरेलले काली गण्डकीको धार्मिक, सांस्कृतिक एवं पर्यावरणीय महत्वलाई नै विषय बनाएर लेखेको बाह्रखरीमा प्रकाशित एउटा लेख कालीगण्डकीको उद्गमस्थल तिब्बत र नेपालको सीमाना दामोदर कुण्डदेखि देवघाट धामसम्मका ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका स्थलका विषयमा गहिरो सन्धान गरी लेखिएको छ । 

त्यस लेखमा कालीगण्डकीमा मात्र पाइने शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने प्रसंगदेखि काली किनारमा अवस्थित विभिन्न धामका बारेमा र तत्तत् धाममा ऋषिमहर्षिहरूले तप साधना गरेको, विभिन्न दर्शनशास्त्रको रचना गरेको र काली किनारबाट सभ्यताको विकास भएको भन्ने विषयमा चर्चा गरिएको छ । त्यसैगरी बौद्ध धर्मसँग पनि कालीगण्डकीको सम्बन्ध जोडिएको र इ.पू.दोस्रो शताब्दीमा लुम्विनीदेखि कालीको किनार हुँदै तिब्बत, चीनसम्म बौद्ध धर्मको विस्तार भएको कुरा पनि सप्रमाण प्रस्तुत गरिएको छ । 

आधुनिक विषयका अध्येताहरूसमेत आर्यसभ्यता, धर्म र संस्कृतिसँग जोडिएको कालीगण्डकीको महत्वका विषयमा अभिरूचिपूर्वक अध्ययन गरिरहेका छन् भने स्वयं धर्म र संस्कृतिका अनुयायीहरूले त अझ विशिष्ट किसिमले कालीगण्डकीको धार्मिक, सांस्कृतिक महत्वका बारेमा लेख्दै र बोल्दै आइरहेका छन् । कालीगण्डकीका विषयमा देवीभागवतलगायत पुराणहरूमा व्यक्त विचार र ती विचारको सारसमेटेर लेखिएका आध्यात्मिक लेखहरूको महत्व छुट्टै छ ।

हामी एकातिर सम्पदा संरक्षणका ठूलाठूला कुरा गरेर थाकिरहेका छैनौँ अर्कोतिर सम्पदाको विनाशलीला टुलुटुलु हेरिरहेका छौं । बागमती नदीको विनाशलीला देखिसकेका हामीलाई नदीको दुरावस्थाका विषयमा धेरै भनिरहन नपर्ला । त्यसैगरी नदी संरक्षणका नाममा अर्बौं अर्ब बागमतीकै पानीसरह दूषित भएर खेर गएको दृश्य पनि हाम्रा अगाडि नै छ । र, भोलि कालीगण्डकीमात्र होइन हरेक नदीको अवस्था त्यही हो अनि चिन्ता यही हो । यताका वर्षहरूमा हाम्रो सभ्यताकै विशिष्ट इतिहास बनेर बगेकी कालीगण्डकी र यीसँग जोडिएका हजारौँ सम्पदाको विनाशको भयानक दृश्य हाम्रा आँखासामु बिझाउने पीडा बनेर चह¥याइरहेको छ ।

मुस्ताङको जोमसोमदेखि कालीगण्डकीको किनारमा विस्तार हुँदै आइरहेको वस्ती विकाससँग जोडिएर कालीगण्डकीको विनाशकोक्रम पनि अगाडि बढिरहेको छ । नदीजन्य पदार्थ (गिट्टी, ढुंगा, बालुवा) को दोहन, विभिन्न धार्मिक महत्वका पाटीपौवाहरूको विनाश, नदीमा फोहर र ढल मिसाउने क्रमजस्ता कर्म र व्यवहारबाट नदीको स्वच्छता मासिँदै गएको छ भने यसबाट भूक्षय, बाढीपहिरो र पर्यावरणीय असन्तुलनको मार यो क्षेत्रका वासिन्दाले भोग्दै व्यहोर्दै आएका छन् । यो क्रम बढ्दो छ र परिस्थिति र वातावरण दिनप्रतिदिन भयावह बन्दै जाँदो छ । 

हिन्दू मान्यतानुसार भगवान् शिव र पार्वतीको पुण्य वासस्थान हिमालय क्षेत्र अनि तिब्बत र मुस्ताङको सीमानामा अवस्थित दामोदर कुण्डलाई आधार क्षेत्र बनाएर कागवेनी (मुक्तिक्षेत्र) राहुघाट, गलेश्वर, बेनीघाट, सहस्रधारा, मोदीवेनी, ज्यामिरघाट (जैमिनिघाट), बेलबगर, पूर्तिघाट, रुद्रबेनी, रिडी (रुरुक्षेत्र) राम्दी, केलादी घाट हुँदै देवघाटसम्म प्रवाहित रहेकी पवित्रपावनी, शालीग्रामा काली गण्डकीका यी हरेक स्थलसँग आध्यात्मिक प्रसंग जोडिएका छन् । हरेक घाटसँग हाम्रो सांस्कृतिक नाता रहेको छ । 

नदी आफैंमा सभ्यताको नाम त हुँदै हो त्यसमाथि काली गण्डकीसँग विशेष सन्दर्भहरू जोडिएका छन् । यताका वर्षमा हाम्रो समस्त सांस्कृतिक, धार्मिक, आध्यात्मिक मर्यादालाई उल्लंघन गरी नदीलाई व्यावसायिक निशानी बनाएर नदीको दोहन गर्ने कर्मले प्रश्रय पाउँदा सभ्यताकी जननी काली गण्डकीको अवस्था निकै दयनीय बनिरहेको छ भन्ने समाचार एकातिर तीव्र बनेको अवस्था छ भने राजनीतिको दुस्चक्रमा नदीलाई फसाएर यसको डाइभर्सन गरी रूपान्तरण गरिने भन्ने अर्को त्यत्तिकै अशोभनीय समाचार पनि चर्चामा रहेको अवस्था छ । 

काली किनारमा अवस्थित सयौँ ठाउँका बस्तीहरू र हजारौँ हजार रोपनी खेती गर्ने जमीनलाई बाँझो पारेर नदीको डाभर्सन गरी अर्कोतर्फ लैजाने भन्ने महत्वाकाङ्क्षी योजनाका पछाडि निश्चय पनि केही राम्रा कुराहरू पनि होलान् । तर एउटालाई बनाउन अर्कोलाई सिध्याउने राजनीतिको दाउपेचलाई गम्भीरतापूर्वक अध्ययन अनुसन्धान हुन नितान्त जरुरी छ ।

हामी विकासका विरोधी पनि होइनौँ तर विनाशका साक्षी पनि हामी बन्न सक्दैनौँ । हामी विकासका नाममा उत्ताउला बन्दै गइरहेका अनगिन्ती दृष्टान्तहरू छन् । देशलाई नै ठेक्कापट्टामा रूपान्तरण गरेर देशको पहिचानसँग जोडिएका यावत् वस्तुहरूसँग खेलबाडमात्र गरिरहेका छैनौँ तुच्छ स्वार्थका पछि लागेर अनमोल रत्न गुमाइरहेका छौँ । हाम्रो आफ्नो सांस्कृतिक पहिचान गुम्दै गइरहेको छ र हामी मुर्कट्टा बन्दै गएका छौँ ।

तमाम विकल्पहरू छन् जसको उपयोग गर्न सके यी स्थायी सम्पदाहरूको यसरी विनाश गर्नै पर्दैन । विकासका नाममा सिमेन्ट र पत्थरको मरुभूमि निर्माणलाई प्रश्रय दिने र क्षणिक एवं सानो प्रलोभनमा परेर जसरी हामी विनाशको बाटोमा हिँडिरहेका छौँ त्यसको परिणति निश्चय सुखद छैन ।

कालीसँग भावनात्मक साइनो जोडिएका हामी कालीकै किनारमा जन्मे हुर्केका व्यक्तिहरूका कुरा त झन् कति हो कति । काली त हाम्री जननी हुन् नि ! हामी त कालीकै काखमा हुर्केका । बगरको चाँदीजस्तो बालुवामा खेलेर हाम्रो बाल्यकाल बितेको हो । गाईथुने, बेलबगर, नानीघाट, डौँठे, मानुहुँ, काउछेसम्मको नदी बगर हाम्रा खेल्ने, पौडिने, साँखर थापेर माछा मार्ने ठाउँ हुन् । गाई चराउन, पढ्न, बजार गर्न र घाट जाने ठाउँ पनि हाम्रो बेलबगर । अनि हामीले काली गण्डकीलाई केबल पानी बग्ने नदी भनेर त कहिल्यै जान्दै जानेनौँ । 

कालीगण्डकीलाई विष्णुको अवतार मान्ने हामीले कालीको पानीलाई जल भन्छौँ पानी भन्दैनौँ । औँसी, पूर्णिमा, एकादशी, माघेसंक्रान्ती आदि पर्वमा स्नान गरेर कालीको निर्मल जलले हामीले तन र मनको विकार पखाल्यौँ, पवित्र भयौँ । देह र आत्मशुद्धिको यो आध्यात्मिक प्रक्रियामा काली हाम्री तीर्थस्थल हुन् । अनि कालीको जलले त हामीले केटाकेटीमा दिसा पनि धोएनौँ पाप लाग्छ भनेर । 

हाम्रा लागि कालीका हरेक ढुङ्गा शालिग्राम हुन् । हामी प्रत्येक ढुङ्गालाई ढोग गर्छौं । खोइ ? यो हाम्रा आस्थाको सम्मान गरेको ? खोइ ? हाम्री कालीको पवित्र जलको सम्मान गरेको ? हामीले नचिताएको कुरा भइरहेछ भन्ने सुन्दा मन खिन्न छ । यसरी कालीलाई असीम आस्था राखेर हुर्किएका हामीले काली गण्डकीको स्वाभाविक गतिमा कुनै अवरोधको कल्पना पनि गरेका छैनौँ । 

मलाई शास्त्रीय कुराहरू पनि त्यति धेरै थाहा छैन तर यति थाहा छ गण्डकी प्रस्रवण क्षेत्र भनेको हाम्रो निम्ति पवित्र तीर्थ क्षेत्र हो । कालीको बगरमा बालुवा बोक्ने ट्रक पुर्‍याएर बालुवा गिटी, ढुङ्गालगायत सामम्री व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने, कालीमा फोहोर फाल्ने, ढल मिसाउने भन्ने त हामी चिताउनै सक्दैनौँ । कालीकिनारका बस्तीहरूबाट निस्केको फोहर र ढलसमेत नदीमा मिसाउने जस्तो निन्दनीय कर्म गर्न थालिएको खबरले त मन छियाछिया नै बनेको छ ।

कालीको नीलो पानीसँग जीवनका सत्यहरू साटेर बाँचेका हामी नदी किनारामा उभिएर आज खोजिरहेछन् कालीको पवित्र जलमा सत्यका झलकहरू । तर, पाइरहेका छैनन् । कसले खोस्यो हाम्रा ओठको हाँसो ? कसले खोस्यो हाम्रा आँखाको उज्यालो । हाम्रा पाइलामा उभिने सौन्दर्यमय गतिको शक्ति कसले खोसिरहेको छ ? हामी आफ्नो भूमिको महत्वलाई नपढ्ने, हाम्रा अनमोल रत्नहरूलाई कौडीको दाममा अरूको हातमा सुम्पिने, देखासिकी गरेर विदेशी अपसंस्कृतिलाई भित्र्याउने, परधर्मको अनुशरण गर्ने, आफ्नो धर्मको अपमान गर्ने जस्ता ज्यादै तल्लोस्तरका कर्ममा लागेका छौँ । 

संसारको कुनै पनि मुलुक छैन जसले आफ्नो सभ्यता, संस्कृति, धर्म र परम्परामा गर्व नगरोस् । हामी मात्र यस्ता नागरिक हौँ जसलाई आफ्नोपनको कुनै गर्व छैन । गतिलो इतिहास नभएका, आफ्नो कुनै पहिचानको आधार नै नरहेका मुलुकहरू धमाधम पहिचानको खोजीमा लागेका बेला हामी भनेँ आफ्नो पहिचानलाई लिलामीमा राखेर क्षणिक स्वार्थमा रम्न लागेका छौँ । गुण र गरिमालाई नचिनेका भुइँफुट्टा व्यक्तिलाई नेतृत्वमा पुर्‍याउने र तिनैका कठपुतली बनेर आत्महत्याको पत्रमा सगर्व हस्ताक्षर गर्ने हामीजस्ता मूर्खहरूप्रति कुनै दिन दया गर्ने मानिस हुने छैन । त्यसबेला आफ्नै कुकर्मममा पछुताउनुबाहेक हामीसँग अर्को विकल्प रहने छैन । र, अन्त्यमा राष्ट्रकविको कालीगण्डकी कविताको एक श्लोक-

माछापुच्छ्रे हिमशिखरको पारमा मुक्तिक्षेत्र,

बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र ।

तिम्रो जन्मस्थल छ पहिलो ज्यातिको दिव्यधाम,

काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम । (माधव घिमिरे, कालीगण्डकी) 


Top