‘राज्य’ अवधारणाको आर्थिक पक्ष

✍️ स्वयम्भुनाथ कार्की   POSTED ON : आश्विन १७, २०७८ (६:५७ AM)

‘राज्य’ अवधारणाको आर्थिक पक्ष

मानव इतिहासको दुई अवधारणा प्रचलित छन् । यी दुईमा कुन सही हो वा कुन गलत हो त्यो लामो बहसको विषय भएको छ । एउटा अवधारणा मान्छेका पुर्खा बा“दर हुन् र ती विकसित भएर अहिलेको अवस्थामा आएका हुन् भन्ने विकासवादको अवधारणा हो । अर्को अवधारणा भने मान्छे मात्र नभएर सबै ब्रह्माण्ड नै यही रूपमा सृष्टि भएको हो । कालान्तरमा रहनसहन, व्यवहार, जीवनशैली परिवर्तन हु“दै वर्तमान रूपमा आएको हो भन्ने दैवी उत्पत्तिको अवधारणा हो । माया सभ्यताको आधारमा परिभाषित गर्ने धारले पनि धेरथोर उत्पत्तिको दैवी अवधारणाको साथ दिन्छ । अनि सबै धर्म सम्प्रदाय आदिका मिथकहरूमा पनि रहनसहन, जीवनशैली जस्ता विषयहरू कालान्तरमा परिस्थितिअनुसार परिवर्तित हु“दै आएको कुरा भेटिन्छ । 

तर, सबै अवधारणामा राज्यको उत्पत्ति सुरुदेखि भएको मानिँदैन । विकासवादको अवधारणामा मान्छे होमो इरेक्टस, रामापिथेकस, शिवापिथेकस आदि चरण पार गर्दै गुफा मानवसम्म आइपुग्दा राज्यको अवधारणा सँगसँगै आउन सम्भव नै थिएन । त्यस्तै, मुन्धुम आदि सनातन शास्त्रहरूमा पनि भगवान्ले मान्छेसँगै राज्यको सृष्टि गरेका थिएनन् । राज्यको अवधारणा परिस्थितिअनुसार बा“च्ने क्रममा विकसित भएको पाइन्छ । 

जुन अवधारणामा भए पनि राज्यको अवधारणा आउने कारण, राज्यको मानव समाज र मानव समाजको राज्यप्रतिको जिम्मेवारी भने समान पाइन्छ । मूलतः सुरक्षा, संरक्षण, पालन आदिको निमित्त नै राज्य अनि राजाको अवधारणा आएको भेटिन्छ । यहाँ राजा भन्नाले राज्यको प्रमुखको जिम्मेवारी पाएकालाई भनिएको हो । 

सुरक्षा भन्नाले भित्री वा बाहिरी कारणले ज्यान धनमाल आदिमा पुग्न सक्ने खतराबाट आफ्ना राज्यका जनतालाई जोगाउनु हो । आन्तरिक बाहृय शत्रुबाट राज्यका जनता मात्र नभएर आगन्तुकहरूलाई समेत रक्षा गर्ने काम सुरक्षा हो । संरक्षण भने अन्याय अत्याचार हुन नदिनु, बलियाले निर्धालाई समाप्त पार्न सक्ने सम्भावना हुन नदिनु जस्ता कुराहरू हुन् । संरक्षण गर्न न्यायको आधार आवश्यक पर्दछ । भएको घटना र लागेको आरोपबीच कति तादम्य छ ?

को वा कुन पक्ष अन्यायमा परेको छ ? जस्ता कुराहरू कति सही निक्र्योल गर्न सकिन्छ त्यति नै निष्पक्ष न्याय हुन्छ । जुन राज्यका शासकहरू जति निष्पक्ष हुन्छन् त्यो राज्य त्यति नै बलियो हुन्छ । भोकमरी, अनिकाल, दैवीप्रकोप आदिबाट जनताको रक्षापछि जीवन धान्न आवश्यक भोजन, कपडा अनि बासको प्रभावकारी प्रबन्ध पालन हो ।

सामान्य अवस्थामा पनि हरेक जनताले कमसे कम जीवनयापनका निमित्त दाना, नाना र छाना प्रबन्ध गर्न सक्ने रोजगारीको प्रबन्ध पालन हो । रोजगारी गर्न अक्षमहरूको दाना, नाना र छानाको बन्दोबस्त राजा अर्थात् शासकले गर्नुपर्छ । यो कुरा बाँणशैयामा मृत्यु कुरेका भीष्मले युधिष्ठिरलाई दिएको राजधर्मको उपदेशमा उल्लेखित छ । शासक अर्थात् राजा अनुपस्थित मानव समाजमा अराजकता पैmलियो । मत्स्य न्याय अर्थात् बलियाले निर्धालाई समाप्त पारेर लुट्ने प्रवृत्ति पैmलियो । त्यसबाट मुक्तिको निमित्त ब्रह्मा, मानव समाज र त्यसै समाजका सामथ्र्यवान र निष्पक्ष मानिएका मनुबीचको तीन पक्षीय सम्झौता नै राज्य र राजाको उत्पत्ति मानिन्छ । 

राजाले वा शासकले सनकको भरमा शासन नगरून् भन्नका निमित्त शासकका केही कर्तव्यहरू निर्धारण गरिए । तीमध्ये प्रमुख सुरक्षा, संरक्षण, पालन हुन् । राज्यको आचरण यसभन्दा बाहिर जानुहँुदैन भन्ने विद्यान्हरू सनातन शास्त्रहरूमा कैयौँपटक उल्लेखित छन् ।

राज्य, राजा वा शासक चाहिने अवस्था मानव समाजमा किन पैदा भयो त ? उत्तर सहज छ, समाजमा अराजकता फैलियो । असुरक्षाले अस्तित्व बचाउन कठिन भयो । दाना, नाना, छानाको अभावमा बा“च्न नै कठिन भयो । यस्तो हुनुको कारण आर्थिक नै हो । अर्थ व्यवस्थाको प्रबन्धन गर्ने जिम्मेवार नहुनाले सबैले आफ्नो हितमा प्रबन्धन गर्न थाले । त्यो अवस्थामा आफ्नो हितको निमित्त आपूmभन्दा निर्धालाई दबाउने काम हुन्छ । आज अर्कालाई लुट्नेभन्दा बलियो भोलि अर्को आउन सक्छ । सबैभन्दा बलियो पनि हरेक समय बलियो रहन सक्दैन । 

बलियो व्यक्ति मात्र हुँदैन, झुण्ड भएर अर्को बलियो संरचना तयार हुन्छ । अनि यस्तै झुण्डहरूको बीचमा रक्तपातपूर्ण झडपहरू पनि हुन्छन् । त्यसैले नियम, विधि, न्यायमा आधार भएको सभ्य संरचना र त्यसको मुखिया आवश्यक पर्छ । त्यो सभ्य संरचना राज्य हो र मुखिया शासक हो ।

आहार, निद्रा, भय, मैथुन सबै प्राणीहरूका आवश्यक तत्वहरू हुन् । यी सबै आवश्यकता पूर्ण गर्न र भविष्यको निमित्त पनि सुलभ होस् भनेर गरिने सञ्चय नै मूल आर्थिक गतिविधि हो । मुसाले दुलोमा धान लुकाएर भविष्यको जोहो गरेजस्तै अन्य प्राणीहरूले पनि गर्छन् । राम्रो गु“ड लगाएर पोथी रिझाउने चराले जस्तै आफ्नो सञ्चय प्रदर्शन गरेर जोडी रिझाउने प्राणीहरू छन् । त्यो खोसिने वा ज्यानै जाने भय पनि सबैमा हुन्छ । 

यो सब संग्रह उपयोग अर्थशास्त्रको प्राकृतिक नियम हो । जब सञ्चय हुन्छ तब त्यो खोसिने भय हुन्छ । त्यसैले धर्मको आवश्यकता पर्छ, धर्म अर्थात् नीति, नियम, कानुन, नैतिकतालगायत सीमाहरू । यिनको पालन गराउन राज्य चाहिन्छ । आर्थिक व्यवस्थाको प्रबन्धन गर्न नै राज्य सञ्चालनका बनेका नीतिहरू नै राजनीति हो । 

राज्यको सम्पत्ति भनेको त्यो राज्यको मात्र स्वामित्वमा रहेको सम्पत्ति मात्र होइन । त्यो राज्यका हरेक अवयव र त्यहाँका सम्पत्ति पनि नैतिक नियमका अधीनमा राज्यकै सम्पत्ति हुन् । जनताका व्यक्तिगत सम्पत्ति राज्यका अक्षय कोषसरहका हुन् । सनातन मान्यताअनुसार आयमा एकपटक राजस्व लिएपछि फेरि जनताको सम्पत्तिमा कुनै कर लिन वर्जित छ । तर, विशेष आवश्यकताको बेला सो आवश्यकताको बोध गराएर राज्यले दिन चाहनेहरूबाट योगदान लिन सक्छ । यस्तो योगदान पछि सामान्य भएपछि फिर्ता गर्ने वा नगर्ने दुवै किसिमको हुन सक्छ । राज्यमा दैवीप्रकोप, शत्रु आक्रमण जस्ता परिस्थितिमा सक्नेहरूलाई राज्यलाई सघाउन राज्यले अनुरोध गर्नु पर्दछ । यस्तो योगदान सामान्यतया सक्नेले राज्य विपतमा पूरा गरेको कर्तव्य हुन्छ । 

यसबाहेक अन्य कुनै महत्वका आयोजनाहरूमा पनि राज्यले जनताबाट मद्दत माग्न सक्छ तर यस्तो रकम भने अपवादबाहेक राज्यले फिर्ता गर्नुपर्ने उल्लेख भएको पाइन्छ । अपवादमा त्यस आयोजनाका प्रत्यक्ष लाभग्राहीको योगदान भने फिर्ता नगर्न पाउँछ । यसैले जनताको व्यक्तिगत सम्पत्तिहरूलाई राज्यको अक्षय कोष भनिएको हो । यस्तो कोष जो आवश्यकताको बेला उपयोग गरे पनि त्यसको शोधभर्ना भने हुनु नै पर्छ । यो शोधभर्ना रकममा पनि हुन सक्छ वा कुनै विशेष सुविधाको रूपमा पनि । राजस्व, कर, शुल्क आदि समेतको राज्यको सिधा स्वामित्वबाट आर्जित कोषबाट गतिशील अर्थतन्त्रको साथै जनताको आर्थिक क्रियाकलापको कारणले गतिशील अर्थतन्त्र राज्यको अर्थतन्त्र हो । यो दुवै कुरालाई एकमुष्टमा हेरेर व्यवहार गर्नुपर्दछ ।

पृथक् रूपमा हेर्ने वा व्यवहार गर्ने हो भने त्यो राज्यले जनताको अपनत्व गुमाउँदै जान्छ । त्यस्ता राज्यमा विद्रोह भएर शासक पदच्युुत हुने सम्भावना हुन्छ । यदि यसो भएन भने जनताको आर्थिक क्रियाकलाप भने राज्यको सीमाबाहिर जान्छ, त्यसबाट राज्यले केही प्राप्त गर्दैन । आर्थिक रूपमा राज्य खोक्रो हुन जान्छ, खोक्रो राज्यमा जनताले आफ्नो भविष्य असुरक्षित देख्छन् । जुन राज्यमा आफ्नो भविष्य उज्यालो देख्छन् त्यो राज्यमा अन्य राज्यबाट जनता जान्छन् । 

यसरी गएका जनताले आफ्नो पौरख, सीप, ज्ञान सबै लिएर गएका हुन्छन् । जनतामा भएको त्यो सम्पत्तिले अर्कै राज्य समृद्ध हुन्छ । भीष्म, विदुर, नारद, शुक्राचार्य, बृहस्पति आदिले हजारांै वर्षपहिले उल्लेख गरेको यो कुरा वर्तमानमा पनि देखिन्छ । वैदेशिक रोजगारीमा गएकाहरूले कस्ता कस्ता मुलुकहरूलाई कति उन्नत बनाए त्यस्ता उदाहरणहरू छरपष्ट छन् । 

मलेसिया, कुवेत, कोरिया, जापान आदि जस्ता रोजगारदाता मुलुक हुन् । वा अमेरिका, युरोप जस्ता अन्य मुलुकका नागरिक आकर्षण गर्ने मुलुकहरू हुन् । सबैको उत्पादनमा योगदानको आधारमा हेर्ने हो भने रैथानेको भन्दा आप्रवासीहरूको कम छैन र आप्रवासीको योगदान ती मुलुकहरूलाई अतिरिक्त योगदान हुन् । त्यसैले आफ्ना जनताको रोजगारी कायम रहोस् भन्ने सुनिश्चित गरेर अन्य राज्यहरूबाट थप सक्षम अनि अर्थतन्त्रमा योगदान गर्न सक्ने मजदुर, शिल्पी, व्यापारी, प्रविधिहरू भित्र्याउनुपर्ने कुरा सनातन मान्यताले भन्छ । पाण्डवहरूले आधा राज्यको नाममा खाण्डव वन प्राप्त गरे । त्यसलाई आवाद गरिसकेपछि आपूmलाई पछ्याएर आएका जनताहरू मात्र बसाएनन् विभिन्न राज्यबाट किसान, व्यापारी, शिल्पी आदि पनि बोलाए । देवताको शिल्पी विश्वकर्मा मात्र होइनन् दानवको शिल्पी मयको पनि अनकन्टारको खाण्डव वनलाई इन्द्रप्रस्थ बनाउन योगदान छ ।


Top