विधान महाधिवेशन वामशक्तिहरूको पुनर्मिलन

✍️ आर.सी. न्यौपाने   POSTED ON : आश्विन १७, २०७८ (७:०७ AM)

विधान महाधिवेशन वामशक्तिहरूको पुनर्मिलन

आमुख :

नेपाली कम्युनिष्ट आन्दोलनको वस्तुनिष्ठ विकासक्रमलाई थप समृद्ध बनाउन विचार, सिद्धान्त, कार्यदिशाको सवालमा नेकपा (एमाले) ले महत्वपूर्ण योगदान गरेको छ । नेपालको सामाजिक न्याय र रूपान्तरणका पक्षधरहरू विशेषतः वामपन्थी शक्ति समूहहरूलाई एकताबद्ध तुल्याउँदै वाम जनमतको उद्देश्यलाई उत्साहित बनाउन कुनै कसर बाँकी राखेको छैन । जनताका मुक्तिगामी सपनाहरू मर्न नदिनसमेत देश र जनताप्रति जिम्मेवार र जवाफदेहितासाथ आदर्शमा अडिक रहेर सबैखालका अवसरवादीविरुद्ध संघर्षमा प्रतिबद्ध छ ।

माक्र्सवाद लेनिनवादका आधारभूत सिद्धान्त, सामाजिक न्यायको संघर्षबाट प्राप्त ज्ञान, विचार, अनुभव, भूधरातलीय यथार्थको मूल्यांकनसहित जनताको बहुलदीय जनवादको विकास, चुनौतीउपरको विजय हो । माक्र्सवाद, लेनिनवादका सिद्धान्तको रक्षा, विकास जबजले माक्र्सवादको सिर्जनात्मक विकासमा विचारधारात्मक दृष्टिबाट महत्वपूर्ण भूमिका खेलेको छ । 

इतिहासमा अनेकौँ चुनौतीहरूलाई चिर्दै छरिएर रहेका वाम शक्तिहरूलाई एकताबद्ध बनाउँदै सिंगो कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरी बहुमतको वाम सरकार बनाउन सफल भयो । तथापि, पार्टीभित्र अनायास देखापरेका शत्रुवत अन्तरसंघर्षको उचित व्यवस्थापन गर्न नसकिएको परिस्थितिले एउटा शक्ति र समूह सरकार तथा पार्टीबाट बाहिरिन र चोइटिन पुग्यो । यस्तो विषम परिस्थितिमा समेत एमाले तथा नेतृत्व अध्यक्ष ओलीलगायतले सबै खालका अवसरवादी तत्वविरुद्ध निडरतासाथ विजय हासिल गरी एमालेको इतिहास र शाख बचाउन सक्नुभयो । यो परिघटनालाई वर्गसंघर्ष र अन्तरसंघर्ष दुवै दृष्टिबाट अत्यन्त चुनौतीपूर्ण र सम्भावनायुक्त हिसाबले लिनुपर्छ । 

विधानमा संगठनात्मक सिद्धान्त र संरचना :

यतिबेला नेकपा एमाले १०औँ महाधिवेशनको पूर्वार्धको चरणमा विधान महाधिवेशन २०७८ असोज १५, १६, १७ मा आयोजना हुन गएको छ । पार्टी जीवनमा संगठनात्मक सिद्धान्त र संगठनात्मक संरचनाको महत्वपूर्ण भूमिका रहन्छ । विधान महाधिवेशन क्रान्तिकारी कम्युनिष्ट, राष्ट्रवादीहरूका लागि निकै नै उत्साह र उमंग, गौरव र प्रसन्नताको प्रस्ताव हो । यो महाधिवेशनलाई वामशक्तिहरूको पुनर्मिलन सम्मेलनको रूपमा पनि लिनुपर्छ । अनेकौँ चुनौतीका पहाडहरू पन्छाएर सिंगो वाम आन्दोलनलाई संगठित गर्दै सुखी नेपालीको संकल्प पूरा गर्नु जरुरी छ । 

विधान महाधिवेशनले अवश्य पनि यसमा उचित मार्गनिर्देश गर्न सक्षम हुने नै छ । नेपालको कम्युनिष्ट तथा राष्ट्रिय राजनीतिलाई नयाँ तरिकाबाट संगठित गर्दै अगाडि बढाउनुको विकल्प छैन । सबैखालका चुनौतीहरूको सामना समाजवादी विचारधाराबाट मात्र गर्न सकिन्छ । त्यसैले माक्र्सवादको सिर्जनात्मक विकास जबजको कार्यदिशालाई वस्तुनिष्ठ गरी समाजवादको लक्ष्य चुम्न आवश्यक महान् बहस इतिहासको आवश्यकता हो । 

यो आवश्यकता आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुन गइरहेका तीन प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीद्वारा राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलद्वारा विधान मस्यौदा प्रस्ताव प्रस्तुत हुनेछन् । भलै ओलीद्वारा प्रस्तुत राजनीति प्रतिवेदनमा १० बुँदे पक्षधरका घनश्याम भुसालजीले फरक मत राख्नुभएको देखिन्छ । ती फरक मत थाँती राखेर अनुकूल समयमा छलफल गर्ने गरी विधान महाधिवेशन निश्चित देखिएको छ । 

मूलतः यो विधान महाधिवेशन नेपाली राजनीतिमा नौलो पाठ हो । यस महाधिवेशनले पार्टीलाई व्यवस्थित तवरबाट परिचालन गर्न अत्यावश्यक विधि, विधान बनाउने महŒवपूर्ण कार्यभार पूरा गर्नेछ । उचित संगठनात्मक सिद्धान्त र संगठनात्मक संरचनाको संश्लेषण गर्न यो महाधिवेशन सफल हुनेछ । यो महाधिवेशनले राजनीतिक, सांगठिनक संरचना निर्माणमा दिने योगदानले देशी विदेशी प्रतिक्रियावादी र दक्षिणपन्थी अवसरवादका साथै पार्टी चोइट्याउने प्रवृत्तिको भण्डाफोर गर्दै शुद्धीकरण र सुदृढीकरणको महाअभियान अगाडि बढाउनेछ ।

वर्गीय आत्मसमर्पण, राष्ट्रिय आत्मसमर्पणवादविरुद्ध साथै एकाधिकार दलाल पुँजीवाद, उदारीकरण, निजीकरण एवं नवऔपनिवेशिकीकरण जस्ता खराब प्रवृत्तिविरुद्ध एमाले जुट्नुपर्छ । सबै खालका उत्पीडनविरुद्ध एमालेलाई उभ्याएर माक्र्सवाद लेनिनवादको पथप्रदर्शनमा सकारात्मक ध्येयका साथ इतिहासको समीक्षाका

साथ जबजको विकास गर्दै उचित नीति, योजना, संगठन संरचना बनाउनुपर्छ । संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयतामा आधारित बनाएर पार्टीको सार्वभौम अधिकार पार्टीका संगठित सदस्यहरूमा निहित गर्नु द्वन्द्वात्मक भौतिकी चेतना हो ।

छलफलमा स्वतन्त्रता, कामकारबाहीमा एकरूपताको नीति, मित्रवत् अन्तरसंघर्ष, गतिशील यथार्थ हो । इतिहास, योगदान, क्षमताको कदर गर्दै सामानुपातिक अवसरको विधि सांगठनिक सिद्धान्तकै विषय हो । पछिल्लो समय अंगीकार गरेको ७० वर्षे उमेर हदको विषय सिद्धान्तको विषय होइन । विचार निर्माण र नेतृत्वको उमेर हद भन्ने कुरा माक्र्सवाद संगतभन्दा पनि आत्मकेन्द्रित अवसरवादको सन्निकट छ । यस्ता विषयले इतिहासप्रति न्याय नगर्ने हुँदा बेलैमा विचार गर्न आवश्यक देखिन्छ । यसरी संगठनात्मक सिद्धान्त र संगठनात्मक संरचनाको प्रस्तावमा विधान महाधिवेशन जिम्मेवार बन्नेमा कुनै शंका छैन । 

पार्टीभित्रको खराब प्रवृत्तिविरुद्ध संघर्ष :

पार्टीका जिम्मेवार नेतृत्वहरूबीच र आफ्नै नेता कार्यकर्ताहरूका बीचमा आवश्यक हार्दिक छलफल, बहस, आलोचना, आत्मालोचनाको प्रक्रियालाई बढाउँदै लगेर सिंगो पार्टीलाई एकताबद्ध बनाउँन सकिन्छ । एकलाई अर्काको विरुद्ध उक्साएर पार्टीभित्र भाँडभैलो सिर्जना गर्ने भँडुवा प्रवृत्ति पार्टीभित्रको गम्भीर समस्या हो । यो स्थितिबाट पार्टीलाई नेता कार्यकर्ताको पङ्क्तिलाई बेलैमा सतर्क पार्न सकिएन भने साम्राज्यवादी, प्रतिक्रियावादीहरूले नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई आपसमा भिडाएर आफ्नो स्वार्थ पूरा गर्नेछन् । 

जतिसुकै मीठा, चिप्ला कुरा गरे पनि अवसरवाद अवसरवाद नै हो । हामी एक-आपसमा एक-अर्काप्रति बहस, छलफल तथा संघर्ष गरिरहँदा कतै यही बिन्दुमा प्रतिक्रियावाद दलाल, पुँजीवाद, भुइँफुट्टावाद घुसेको त छैन प्रश्न गम्भीर छ । त्यसैले पार्टीभित्र देखापरेका यावत समस्या र कमजोरी हटाउन यो विधान महाधिवेशनमा नेकपा एमालेले पूरै गम्भीरता र विशेष योजनासाथ काम गर्नुपर्छ । माक्र्सवाद जीवन्त विचारधारा भएकोले यसले सबै खालका खराब प्रवृत्तिविरुद्ध संघर्ष गर्दै कुनै पनि वस्तु, घटना तथा प्रतिक्रियामा अन्तरनिहित सकारात्मक र नकारात्मक विषयको वस्तुगत मूल्यांकन लेखाजोखा गरी आशावादको पृष्ठपोषण गर्दछ ।

अहिले पार्टीमा देखापरेका विभिन्न जोड कोणका समस्याहरूलाई वस्तुवादी तरिकाबाट उचित चिरफार गरी कमीकमजोरीहरूको पहिचान गरी सच्याउन पहल गर्नुपर्छ । सामूहिक तवरबाट समस्या समाधान गर्नुको अलावा जबज र अध्यक्ष ओलीलाई दोष दिएर आपूm पानीमाथिको ओभानो बनेर पन्छिने प्रवृत्ति खेदजनक छ । वास्तवमा पार्टीभित्र देखापरेका अराजकता, गुटबन्दी, महत्वाकांक्षा, व्यक्तिवादी पदलोलुपता जस्ता खराब प्रवृत्ति, देश र जनताप्रति गैरजिम्मेवार चिन्तन र आचरणका परिणाम हुन् भनेर बुझ्नु पर्दछ । 

पार्टीभित्र आत्मकेन्द्रित अवसरवाद यति बढेको देखिन्छ कि निहित स्वार्थपूर्तिका खातिर पदलोलुपता, महत्वाकांक्षाका लागि घुर्की, धम्की, चाकडी, चाप्लुसी, बार्गेनिङको संस्कृति कतै संस्थागत भएको त होइन ? निश्चित जिम्मेवारीमा बसेर निष्ठापूर्वक पार्टी, देश र जनताको पक्षमा काम गर्ने आदर्श हराउँदै गएको देखिन्छ । प्रायजसोको चिन्ता एकपछि अर्को माथिल्लो पद हासिल गर्ने हतारो देखिन्छ । मलाई माथि लगोस्, अरूलाई तलतल झार्दै लगोस् भन्ने ध्वंसात्मक चिन्तन हाबी छ । पार्टीमा हुर्कदै गरेको आत्मकेन्द्रित अवसरवाद, आर्थिक अराजकता, सुविधाभोगी चिन्तनलाई बेलैमा चिरेर सामानुपातिक अवसर र अनुशासनको मार्गमा सबैलाई हिँडाउन सक्नुपर्छ । 

अन्तमा : 

पार्टी एकताको निरन्तरताको महायज्ञ नेकपा एमाले निर्माणको प्रक्रियाले मजदुर, किसान, राष्ट्रिय पुँजीपति एवं देशका सम्पूर्ण उत्पीडितवर्ग, जाति, क्षेत्र, लिंग, समुदायका हकहितको संरक्षण, सम्बद्र्धनको प्रतिनिधित्व गर्न चुक्नुहुँदैन । आम जनताको दैनिक जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउन विकास निर्माण प्रक्रियालाई तीव्रता दिनुपर्छ । राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, सार्वभौमिकताको ज्वलन्त मुद्दाहरूमा एमाले गम्भीर बनेर पहरेदारी गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य सम्प्रभुता सुनिश्चितताको लागि आवश्यक नीति योजनाका साथ नेतृत्व गर्नुपर्छ । 

राष्ट्रको समग्र विकासको सवालमा चुनौती बनेको पुरानो उत्पादन सम्बन्ध तथा नोकरशाही पुँजीवादको चरित्रलाई समूल नष्ट गर्नु जरुरी छ । विश्व कम्युनिष्ट आन्दोलनका सकारात्मक प्रभावहरू आत्मसाथ गर्दै आफ्नो दायित्व निर्वाहमा चुक्नुहुँदैन । यो नेपाली जनताको अपेक्षाको विषय पनि हो । विधान महाधिवेशनले विधि विधान तथा विचार संश्लेषणको प्रक्रियालाई उचित निष्कर्षमा पुर्‍याई दक्षिणपन्थी संशोधनवाद, संक्रमित जड्सूत्रीय संशोधनवाद, अकर्मण्यवाद, मनोगतवादी ग्रन्थीहरूको विरुद्ध दृढतापूर्वक संघर्ष चलाउनुपर्छ ।

देखापरेका यावत समस्या र चुनौतीहरूको ऐतिहासिक समीक्षा गरी सही शिक्षाबाट सिंगो नेकपा एमालेलाई एकताबद्ध, चलायमान, गतिशील, ऊर्जाशील बनाउने युगीन कार्यभार विधान महाधिवेशनबाट संश्लेषित हुनुपर्छ । सामाजिक वर्ग संघर्ष र विचार संघर्षको यिनै पद्धतिको कार्यभारलाई विशेष ख्याल गर्दै आसन्न विधान महाधिवेशनको आयोजना गरिएको छ । विश्वास छ, यस महाधिवेशनले सबै प्रकारका आशंका, अन्योलता र कमजोरीहरूलाई यथाशक्य चिरेर विचार, सिद्धान्त, दर्शन, आदर्श, संगठन, संकल्प र जनभावनामा नवीनतम स्पष्टता साथै एकताबद्ध एमाले निर्माण गरी नयाँ ऊर्जा एवं आत्मविश्वास पैदा गराएर सिंगो पार्टीलाई आफ्नो जनपक्षीय मिसन पूरा गर्न सफल बनाउने नै छ । 

माक्र्सवादी विचारमा नयाँ उचाइ कायम गर्न जबजको सिर्जनात्मक विकास र पार्टीमा बुझाइएको एकरूपता वर्ग पक्षधरतासहित दृढ संकल्प एकता, संगठन र भावनामा नयाँ संश्लेषणसहित एकताको प्रतिबद्धता स्थापित गर्नु नेकपा एमालेको लागि सबैभन्दा ठूलो पूरा गर्नुपर्ने कार्यभार हो । एकता, संघर्ष, रूपान्तरणको अविच्छिन्न शृंखलाद्वारा गुजँद्रै एकताको द्वन्द्वात्मक प्रक्रियाद्वारा एमाले विकसित हुँदै आएको छ । विद्यमान राजनीतिक अन्योलता चिर्दै शान्ति स्थायित्व र समृद्धिको बहार ल्याउन एवं राष्ट्र र जनताको आधारभूत हितका पक्षमा व्यापक जनपरिचालन गरी पार्टीलाई थप स्थापित गराउनुपर्छ । पार्टीले यससम्बन्धी सैद्धान्तिक बुझाइलाई आत्मसाथ गरेर आगामी कार्यदिशा तथा संगठनात्मक सिद्धान्त र संरचना निर्माणमा विधान महाधिवेशन सफल हुनेछ ।


Top