नेपालको एकमात्र समस्या दण्डहीनताको पराकाष्ठा

✍️ प्रकाशमणि दहाल   POSTED ON : आश्विन १८, २०७८ (६:५४ AM)

नेपालको एकमात्र समस्या दण्डहीनताको पराकाष्ठा

उनी हतार हतार मेरो सर्टको बटम लगाउँदैथिइन् । राजु कम्प्युटरमा एउटा म्याटर प्रिन्ट गर्ने धमाधममा थियो । झ्याप्पै बत्ती गयो । 

‘अइया ! कस्तो सारो घोच्यो ! हरे !’

‘लुज्जा । सेभ गर्नै पाएको थिएन । अब कतिबेला आउने होला !’

मैले बेग्लै थाप्लो ठोकेँ ‘आज पनि काम नहुने भयो । हिजो म नपुग्दै हाकिमसाबको सवारी भएछ, आज म नहिँड्दै बत्ती महोदयको सवारी भयो !’

उनी झ्यालमा गएर बटनको काम सक्तै बोलिन् ः ‘होइन यसरी झ्यापझ्याप बत्ती जाँदा ती विद्युत्का कर्मचारीलाई सजाय हुँदैन ? के गरेर बस्छन् यिनीहरू ? यिनीहरू त बत्ती बाल्ने होइन निभाउने काम पो गर्छन् क्यार । क्यानडामा म बसुन्जेल दुई वर्षमा एकैपल्ट बत्ती गएको थिएन, न पानी गयो, न इन्टरनेट । त्यहाँ त गयो भने कर्मचारीलाई तात्तातै सजाय हुन्छ अरे !’

छोरो हाँस्यो र बोल्यो : ‘तब त त्यो क्यानडा । त्यस्तो कडाइ हुने हो भने हाम्रो देश दश वर्षमा क्यानडाभन्दा माथि पुग्छ ।’

‘किन नगरेको त त्यस्तो ?’ 

‘उहाँ देश बनाउनु छ, यहाँ आफू बनिनु छ ।’

‘बनेको हो र बा त्यो ? झन् बिग्रिएको होइन र ? सारा देश बिस्याहार र गरिबीको चङ्गुलमा आक्रान्त छ, आधा जनता विश्वभरि हजार ठोकर खाँदै मजदुरी र सिपाहीगिरी गर्न बाध्य छन् यता एकमुट्ठी मान्छेको ऐशआराम, यही हो बनेको ?’

‘हो हुन त, यदि जनता आत्मनिर्भर भए भने तिनको पुच्छर को लाग्छ ? त्यसकारण कम्तीमा दुई तिहाइ मान्छे गरिबीमा भएकै जाती । त्यसो भए समाज सदा ऐँचमा रहिरहन्छ र त्यसको एकमात्र सर्वसफल उपाय हो दण्डहीनता ।’

‘कसरी ?’ उनले सोधिन् ।

‘यो कुरा अलिक जटिल छ ।’ 

‘बुझाउनु न त ।’

‘मान्छेमा मूलतः ठूलो र सानोको भेद हुन्छ । यो भेद एकातिर सिँढीको खुड्किला जस्तै व्यक्तिपिच्छेको हुन्छ भने अर्कातिर धन, बल, प्रतिभा, पद, आपसी र बाहृय सम्बन्धको स्तर, प्रकृति आदिअनुसार कहीँ तीव्र हुन्छ भने कहीँ सामान्य ।

हाम्रो देशमा बलात्कारी, हत्यारा, तस्कर, भ्रष्टाचारी खुलेआम घुम्नेमात्र होइन उल्टो प्रजातन्त्र, समानता, सदाचार, नैतिकता, देशभक्तिको भाषण गर्ने र ठूल्ठूलो पद, पदकसहित मान, सम्मान पनि पाउँछन् । तिनका विरुद्ध भरसक उजुरै पर्दैन, परिहाले दर्तै हुँदैन, भइहाले कारबाही हुँदैन, भइहाले निर्दोष घोषित हुन्छ वा हलुका सजाय हुन्छ । कैद नै भइगए पनि मुद्दा फिर्ता लिइन्छ वा बीचैमा माफी पाउँछ । किन ?

उखु किसानको करोडौं बक्यौता नतिर्नेहरू खोइ ? बालुवाटार, ललितानिवासलगायत तराईका हदबन्दीमाथिका हजारौं बिघा सरकारी जग्गा प्रकरण उहिलेको नमिता-सुनितादेखि पटकपटक यहाँ उहाँका बलात्कार र हत्याका अपराधी खोइ ? दरबार हत्याकाण्ड, मदन भण्डारी, अमर लामालगायत हत्यारा ? चितवनमा मतपत्र च्यात्ने ? अनेक सरकारैपिच्छे हुने अनेक नामका भ्रष्टाचारी ? अरबौंका कर, महसुल बक्यौता पचाउनेहरू कहाँ छन् ? एक लाखको निर्माण गरेर पचास लाखको बिल पेश गर्नेहरू कहाँ छन् ? करोडौंको भुक्तानी लिएर बाटो पुल, सडकमा मान्छे डुब्ने खाडल अलपत्र छोड्नेहरू कहाँ छन् ? कहाँ हराउँछन् यी अपराधी ? किन काम गर्दैन दण्डविधानले ?

किनभने यो सबै गरेगराएको हुन्छ ठूलाले । अधिकार नहुने, शक्ति नहुने, हैसियत नहुनेले त यस्तो गर्नै सत्तैmन । अर्थात् अनैतिकता, लापरबाही, ढिलासुस्तीदेखि बेइमानी र आपराधिकतासम्म गर्ने-गराउने अपवादबाहेक अवसर र क्षमता हुनेले नै हो । त्यस्तो अवसर र क्षमता ठूलासँग नै हुन्छ वा ठूलाको आदेश-निर्देशबाट वा तिनको आडबाट नै हुन्छ । तिमी सोधौली ठूला को हुन् ? प्रष्ट छ ठूला भनेका कर्मचारीका, प्रहरीका, सेनाका, राजनीतिका, कानुनका, धर्मका उच्चवर्ग हुन् । जनसमुदायका पनि सम्पत्तिका, उद्योग-व्यापारका, संघसंस्थाका वा दादागिरीका ठूला नै ठूला हुन् जो शासनका ठूलालाई प्रभावित पार्न वा उनीहरूसँग साँठगाँठमा रहन सक्छन् । अर्थात् सबै क्षेत्रका ठूला र ठूलासँग जोडिएका सबै ठूला हुन् । 

खासमा ठूला भनेका तिनै हुन् जसले यो हुन नदिनुपथ्र्यो, नदिन सक्थे तर आफैँले आफैँमाथि कारबाही गर्ने त कुरा भएन ! न आफ्नो आदेश तामेल गर्ने वा भोलि आफैलाई चाहिने मान्छेलाई कारबाही गर्ने कुरा आउँछ । तब त दण्डहीनता छ, दण्डबाट उन्मुक्ति छ । ठूलालाई वा ठूलाको आडमा भएकालाई जेजे गरे पनि सबै छुट छ :

‘बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत । 

छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित ।।’ चरितार्थ छ । 

त्यतिले मात्र पनि ठूलोे को हो भनेर चिन्न र तिनले किन, कसरी दण्डहीनता गराउँछन् भन्ने प्रष्ट नहोला । ठूलो हुन सबैलाई रहर लाग्नु स्वाभाविक हो तर ठूलो भइसकेपछि टिकिरहनु पनि पर्छ । त्यसैबाट हुन्छ गर्ने नगर्ने सबैथोक । खासगरी हाम्रो नेपालमा ठूलो भएपछि ठुल्याइँको कथित इज्जत, अहंकार हुने भइहाल्यो । खर्चबर्च, खानपिन, रहनसहन लरतरो सस्तोमस्तोले हुने भएन । ऊ ठूलो भएपछि उसकी उनी, छोराछोरी, नातेदार र नोकरचाकरसमेत ठूलो हुनुपर्‍यो । फलतः सबैको आचारविचार र हैसियत बढ्छ । त्यसैसँग गाँसिन्छ सेखासेखी वा प्रतिद्वन्द्विता । साथै आपूmलाई ठूलो मान्ने आफ्ना आसागुर्जा पनि स्थानस्थानअनुसार ठूला हुन्छन् र त्यसको पनि ख्याल राखिदिनुपर्छ । नत्र ठूलालाई कसले सधैँ कुर्नेस गरोस् ? अर्को ठूलो खोज्न र गोप्य चुहाउन थाल्छ । त्यो सबै थाम्ने दायित्व सँगसँगै हुने भइहाल्यो ।

यसैका निमित्त दुई/तीन नम्बरी गर्नुपर्‍यो । गर्छन् मातहतकाले । अत आपूmलाई मात्र होइन गर्नेलाई पनि चाहियो । गर्दा भनेजतिमात्र नहुनसक्छ । अर्थात् सुन ओसार्दा कहीँ गोली चल्न, ज्यान मर्न पनि सक्छ । त्यो सबै भइपरी आउनेसमेत व्यहोर्नु परिहाल्छ । 

समाजमा ठूलाको कस्तो विशेषाधिकार, विशेष सम्मान, सुविधा र मान्यता हुन्छ र त्यसको सानामाथि कस्तो दबदबा रहने गर्दछ भन्ने हामीलाई थाहै छ, कारण हामी आपैंm कहीँ ठूला छौं र कहीँ साना । त्यसैकारण सानाले ठूलाको न अवज्ञा गर्न सक्छ न भण्डाफोर न त्यसबाट लछारपाटै लाग्छ । ‘फलानो बाकसमा भोट हाल्नू’ वा ‘मतपत्र छाप नलगाई ल्याएर फलानालाई दिनू’ भन्ने आदेश गरेको धेरैले भोगेको वा सुनेको हुनुपर्छ । सञ्चारको सञ्जालले बेरेको एक्काइसौं शताब्दीमा एउटा वडा अधिवेशनको चुनाउ प्रहरी लगाएर एकलौटी गराएको गुनासो उपचारहीन हुन्छ । 

जसरी एउटा प्रधानमन्त्रीसँग अर्को देशको प्रहरीले तुइन काटेर आफ्नो नागरिकलाई मारेको जघन्य अपराधको विरोधमा एक शब्द बोल्ने उपाय हुँदैन । वस्तुतः ठुल्याइँ र सानो भन्नु भएको मनोविज्ञान हो र भय कथित बदनामीदेखि धर्म, जात, धन, पद, ज्यान, सन्तानको सुरक्षासम्म पैmलिन्छ जसलाई सम्राटका नयाँ लुगा भन्ने कथाको मूर्ख र पदका निमित्त अयोग्य ठहराइने भय सम्झिए पुग्छ । 

जुनै समाजमा पनि मानिस उच्च-मध्यम-निम्न तीन तह वा वर्गका हुन्छन् । ठूलो भन्नाले उच्चवर्गलाई बुझिन्छ । मध्यम वर्गमध्ये केही उच्चवर्गका नजिक हुन्छन् जसलाई उच्चमध्यमवर्ग भनिन्छ भने केही निम्नवर्गका नजिक हुन्छन् जसलाई निम्नमध्यमवर्ग भनिन्छ । यसरी शुद्ध मध्यमवर्ग कमै हुन्छन् । संख्याका दृष्टिले उच्चवर्ग थोरै, मध्यमवर्ग अलिक धेरै र बाँकी सबै निम्नवर्ग हुन्छन् ।

शक्तिका दृष्टिले उच्चवर्ग सबैभन्दा शक्तिशाली, मध्यमवर्ग कम शक्तिशाली र निम्नवर्ग शक्तिहीन हुन्छ । यही शक्तिकै कारण कोही ठूलो वा सानो हुन्छ र प्रत्येक उच्चवर्ग अरू सबैभन्दा ठूलो मानिन्छ । निम्नवर्ग सम्पूर्ण शासित, पीडित, दमित र शोषित हुन्छ अथवा सम्पूर्ण शासित, पीडित, दमित र शोषित नै निम्नवर्ग हुन्छ । 

शासकीयताका दृष्टिले उच्चवर्ग शासक हुन्छ । बाँकी दुई वर्गमा मध्यमवर्ग शासक अर्थात् उच्चवर्गले निम्नवर्गमाथि गर्ने शासनको सहायक वा साधन हनेहुँदा निम्न वर्गका लागि प्रत्यक्ष शासक हुन्छ, उच्च वर्गका लागि शासित र आदेश तामेलकर्ता तथा सहयोगीसमेत हुन्छ । अतः मध्यमवर्गको यो उच्चवर्गनिकटको समूह नै उच्चवर्गको मतियार हुन्छ । अर्थात् उच्चवर्गका तर्पmबाट सुनदेखि बन्दुकसम्म बोक्ने काम यही समूहले गर्छ र उच्चवर्ग सधैं पर्दापछाडि रहन्छ । त्यसैले उच्चवर्ग यस आफ्नो सहयोगी मध्यम वा निम्नवर्गलाई संरक्षित राख्न बाध्य हुन्छ । 

अर्थात् एउटा ठूलाको घनिष्ठ सहयोगी मध्यम वा सानोवर्गको छोरो वा भाइभतिजाले जाँड खाएको टेबलमा झगडा पर्दा जे भेट्यो त्यसैले हानेर कुनैलाई मारिदिनसक्छ । अथवा कुन मन परेकी वा फेला परेकी केटीलाई बलात्कार गर्छ वा त्यस क्रममा परिबन्दवश मारि नै दिनसक्छ । बोक्सीको बहानामा कुटिने, मलमुत्र खुवाइने वा मारिने गरिबको कुरा पनि यही हो । अब त्यसलाई जोगाउने जिम्मा पनि उही ठूलालाई नै आइपर्छ । 

यही सत्य हो सबै ठूलाको । अर्थात् राजनीतिका, त्यसमा पनि हर पार्टीका, कर्मचारी, प्रहरी वा साहुमहाजन जुनै ठूलाको पनि कुरा उही हो । तब त ठूलाहरू आपसमा बाझाबाझ सेखासेखी त गर्छन् तर कसैले कसैलाई कारबाही गर्न सत्तैmनन् । जत्रै शीतयुद्ध परेपनि भूमिगतै रहन्छ । कारबाही नगरी नहुने गरी बाहिरिएमा सुल्झाउन सजिलो पर्नेगरी ठहराएर कुनैलाई पक्राउ गर्ने, आयोग गठन गरिदिने, कुरा अलिक मत्थर भएपछि रिपोर्ट थन्क्याइन्छ र अदालतै नपुर्‍याई छोडाइन्छ । अदालतै पुगे पनि न्यायको नौ सिङअन्तर्गत भरसक मुद्दा जिताउने, हारेर जेल पुगे पनि अपिलबाट वा मुद्दा फिर्ता लिएर वा संविधान दिवसजस्तो पर्व पारेर निकाल्ने कुरा आइसकेको छ । 

यसरी देशमा शासनको घोषित सतह र अघोषितअन्तर्तह गरी दुई सञ्जाल समानान्तर चलेका हुन्छन् । सतहको देशविकासजन्य संविधान, प्रजातन्त्र, मानवता, शिक्षा, यातायात, कृषि, उद्योग, विकास, जे जे भने पनि अन्तर्यको यही दुई नम्बरी खानेखुवाउने, त्यसकै तानाबाना मिलाउने, त्यसकै खोसाखोस र उछिनपाछिन, दलालीमोलाली गर्ने, त्यसैमा उत्पन्न सामान्यदेखि जघन्य हत्यासम्मका अपराधको टालटुल छोपछाप गर्ने काम नै राष्ट्रिय जीवनको मुख्य व्यस्तता भएको कुरा अलिकति पनि ध्यान दिएर हेरे छ्याङ्ग देखिन्छ । 

त्यसैले यो दण्डहीनताजन्य सञ्जाल चाहिँ वास्तविक हुन्छ । किनकि जुनै सरकार आएपनि, जुनै पार्टी भएपनि ठूलाहरूलाई नखाई हुँदैन, नखुवाई हुँदैन, खान नदिई हुँदैन । त्यसक्रममा अनेक द्वन्द्व र झमेला गाँसिएर आइहाल्छन् जुन एउटासँग अर्को गाँसिँदैजान्छ र ठूलादेखि सानासम्म सबै एकअर्का बोहोरिँदै र बेहेरिँदै जान्छन् ।

कौटिल्यले भनेका थिए प्रकाश र अन्धकारजस्तै दण्ड र अपराध एकअर्काका विपरीत हुन्छन् एउटा जागेपछि अर्को सुतिहाल्छ । त्यसैले त शान्तिपर्वमा दण्डलाई नै वास्तविक शासन र खुद विष्णु भनिन्छ ‘दण्डो हिः भगवान् विषणुर्दण्डो नारायण प्रभु’ । यसैलाई अंग्रेजीमा ‘स्पेयर द रड : स्पोइल द सन’ भनिन्छ ।

वास्तवमा दण्ड प्रतिशोधात्मक मात्र होइन, निवारणात्मक, प्रतिरोधात्मक, सुधारात्मक र सुरक्षात्मक पनि हुन्छ । मात्रै हाम्रोजस्तो दण्डहीनताको लामो दुष्चक्रमा परेको परिवेशमा दण्डको प्रारम्भ कहाँबाट कसले कसरी गर्ने भन्ने नै समस्याग्रस्त छ । अन्यथा दण्डलाई छेल्न, टार्न, पेल्न वा प्रभावमा पार्न र यसबाट केही गरे पनि उम्किन सकिँदैन भन्ने विश्वासको स्थापना हुने हो भने विकास र अग्रगमनका कामबाहेक नब्बे प्रतिशत समस्या समाप्त हुनेछन् । 


Top