ढुलमुलाएको परराष्ट्र नीति : नयाँ परराष्ट्र मन्त्रीसामु चुनौती

✍️ प्रा.डा.जीवराज पोखरेल   POSTED ON : आश्विन १८, २०७८ (७:०० AM)

ढुलमुलाएको परराष्ट्र नीति : नयाँ परराष्ट्र मन्त्रीसामु चुनौती

प्रधानमन्त्री केपी ओलीको राजनीतिक ताण्डव नृत्यको लामु प्रदर्शनपछि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको छ । गठबन्धन सरकारबाट धेरै आशा र अपेक्षा थिए । परन्तु यसले मन्त्रीमण्डलको पनि विस्तार गर्न सकेन भनेर जनगुनासो राजनीतिक नेपथ्यमा गुञ्जिएको सुनिन्छ । बल्ल झण्डै साढै दुई महिनापछि परराष्ट्रमन्त्रीको रूपमा देशले डा.नारायण खड्कालाई पाएको छ । यसलाई पनि बाध्यात्मक स्थितिको उपजको रूपमा लिन सकिन्छ । संयुक्त राष्ट्र संघमा विश्वका सबै सरकारको प्रतिनिधित्व हुनुपर्ने र नेपालमा परराष्ट्रमन्त्री विद्यमान नभएकाले हतार हतार यो आवश्यकताको परिपूर्ति गरिएको हो ।

डा.नारायण खड्का नेपालको राजनीतिक वृत्तमा सुपरिचित व्यक्ति हुन् । उनी बौद्धिकताका मात्र होइन मिष्ट तथा मृदुभाषी हुनुका साथै सालिन व्यक्तित्वका पनि धनी छन् । तिक्त कुरोलाई पनि मिष्टताका साथ व्यक्त गर्ने उनमा अदिवतीय क्षमता छ । उनी योजना आयोगका उपाध्यक्ष तथा मन्त्री भइसकेका छन् । अहिले उनी परराष्ट्रमन्त्री पनि भए तर वर्तमान अवस्थामा नेपालको परराष्ट्र क्षेत्रमा विभिन्न चुनौती विद्यमान छन् । यिनलाई सम्बोधन गर्नु मन्त्री खड्कालाई फलामको चिउरा चपाए जस्तै हुने कुरामा दुई मतहुन सक्तैन ।

विश्वमा केही परराष्ट्रमन्त्री अति नै सफल रहेका छन् । तीमध्ये सन् २००३ मा परराष्ट्रमन्त्री भएका ब्राजिलका केल्सो आमोरिमलाई सफल परराष्ट्रमन्त्रीको रूपमा मानिएको छ । उनले काठ बिक्री गर्ने राष्ट्रलाई विश्वको महत्वपूर्ण खेलाडीमा रूपान्तर गरिदिए । उनको चतुर कुटनीतिले गर्दा ब्राजिल व्रिकविरादरीमा महŒवपूर्ण देशको रूपमा स्थापित भयो । यसका अतिरिक्त जी २० मा ब्राजिल स्थायी रूपमा रहृयो । ओलम्पिक खेल आयोजना गर्न पनि सफल भयो । 

परराष्ट्र नीति भनेको एउटा राष्ट्रले अर्काे राष्ट्रसित गर्ने व्यवहारको आधारभूत दस्तावेज हो । परापूर्व कालमा परराष्ट्र नीति सहजताका साथ अभ्यास गरिन्थ्यो । पूवक्राइस्टाब्द चौथो शताब्दीमा चाणक्यले कमजोर राष्ट्रलाई आक्रमण गर्ने तथा बलियो राष्ट्रसित सन्धि गर्ने नीति लिएका थिए । यस कटु सत्यलाई नजरअन्दाज गरेर नेपालले शक्तिशाली बेलायतको विरुद्ध सन् १८१४ मा युद्ध गर्‍यो । उसको केही स्थानमा विजय भए पनि अन्य स्थानमा पराजय पनि भयो । त्यसै गरी चीनसित सन् १८५६ मा लडाइँ भयो । यस युद्धमा नेपालले चीनको धेरै क्षति गरेको थियो । नेपालतर्फ पनि क्षति भयो । परिणामस्वरूप सन् १८५६ मा चीनसित सन्धि भयो । 

सन् १६४८ मा भएको बेस्टफलिया सन्धिपछि विभिन्न देशको स्थापना भयो । त्यतिबेला नेपालमा प्रताप मल्ल राज्य गरिरहेका थिए । यसपछि विभिन्न देशको बीचमा अन्तक्र्रिया हुनथाल्यो र परराष्ट्र नीतिको आवश्यकता हुनगयो । परराष्ट्र नीतिविनाको देशलाई दिशाविहीन जहाजको संज्ञा परराष्ट्रविज्ञले दिएका छन् । कुनै देशसित सम्बन्धन हुनु परराष्ट्र नीति हो भनिएको छ । उदाहरणको लागि चीनको ताइवानसित सम्बन्ध छैन । यसबाट के थाहा हुन्छ भने चीनले तावानलाई आफ्नो भाग मानेको छ र यसलाई स्वतन्त्र राष्ट्रको मान्यता चीनले दिएको छैन । परराष्ट्र नीति नाटकीय रूपमा बदलिन्छ पनि । इजरायलसित युनाइटेड अरब इमिरेटसको कूटनीतिक सम्बन्ध राम्रो थिएन तर हालसालै सुमधुर सम्बन्धको स्थापना भएको छ । 

परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय तथा घरायसी नीतिको मिलनबिन्दुको रूपमा लिने गरिन्छ । अन्तर्राष्ट्रिय नीतिको सेरोफेरोमा प्रथमतः अन्तर्राष्ट्रिय पद्धति अथवा शक्ति संरचना रहेको हुन्छ । यस अनुरूप ठूला, मध्यम तथा साना शक्तिहरू रहन्छन् । त्यसैगरी राष्ट्रबीचको सम्बन्धको सञ्चालनका लागि अन्तर्राष्ट्रिय कानुन रहेको हुन्छ, संयुक्त राष्ट्रजस्ता अन्तर्राष्ट्रिय संगठनहरू विद्यमान रहेका हुन्छन् । साथै नाटो, आसियान जस्ता समूह राष्ट्रहरू पनि क्रियाशील हुन्छन् । 

यसका अतिरिक्त सैनिक रणनीति तथा हतियार होडको पनि अभ्यास भएको हुन्छ । त्यसैगरी घरायसी पाटोमा संस्कृति तथा इतिहास, राष्ट्रको भूगोल, आकार तथा जनसंख्या, आर्थिक विकास तथा प्राकृतिक स्रोत, सैनिक क्षमता, राजनीतिक प्रणाली, शीर्ष नेताको व्यक्तित्व तथा चरित्र, राजनीतिक दल तथा स्वार्थ समूह, सञ्चारमाध्यम तथा सार्वजनिक विचार, विज्ञान तथा प्रविधि आदिले निर्णायक भूमिका बहन गरेका हुन्छन् । यस्ता विभिन्न कारकले परराष्ट्र नीतिको निर्धारण गरेका हुन्छन् । 

नेपालको सामरिक महत्वको बारेमा पृथ्वीनारायण शाहले मार्मिक रूपमा चित्रण गरेका छन् । उनले नेपाललाई दुई ढु¨ाबीचको तरुलको रूपमा वर्णन गरेका थिए । अहिले भारत र चीनको बीचमा सम्बन्ध बिग्रिएको छ । यीदुई देशको बीचमा सिमानामा भिडन्त पनि भयो । यसरी दुई प्रतिस्पर्धी देशको बीचमा कसरी आफ्नो अस्तित्वलाई कायम राख्ने हो यो चिन्ताको विषय भएको छ । 

कुनै पनि सानु राष्ट्रले आफ्नो सुरक्षाको निम्ति तीन प्रकारका उपाय अवलम्बन गरेको पाइन्छ । पहिलो हो समदूरी । यो विकल्पलाई पञ्चायतकालको पहिलो चरणमा अवलम्बन गरियो । यो विकल्प त्यतिबेला सफल हुन्छ जब दुवै छिमेकी राष्ट्रको शक्ति बराबर हुन्छ । गत सन् ८० को दशकमा यस्तो स्थिति विद्यमान थियो । परन्तु पछि चीनले भारतलाई विकासको दौडमा नाटकीय रूपमा उछिन्यो । ८० को दशकमा भारतको हाराहारीमा रहेको चीन अहिले पाँच गुना शक्तिशाली भएको छ । किनभने अहिले भारतको कूल गार्हस्थ उत्पादन २.७ खरब अमेरिकी डलर छ भने चीनको १४ खरब । 

यस विकल्पको असर समाप्त भएपछि अवलम्बन गरिने भनेको अन्य देशको सहायता हो । नेपालले शान्ति क्षेत्रको प्रस्ताव राखेको थियो । भारतबाहेकका अनेकौं देशले यसलाई समर्थन गरेका पनि थिए तर यो सफल हुन सकेन । तेस्रो विकल्प भनेको शक्तिशाली देशको निकट रहनु हो । नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइ नगिचको सरकारले यसको अनुसरण गर्दै चीनको निकट गएको केही समयअघि आभास भएको थियो । तर, चीन र भारतबीच हिमाल भएकोले यो त्यति प्रभावकारी हुन नसकेको देखिएको छ । 

आखिर भारतसित नै निकट हुनुपर्ने नेपालको बाध्यता छ । यो तथ्यलाई स्वर्गीय चिनी नेता माओ त्से तुङले पनि महसुस गरेका थिए । बीपी कोइरालाको चीन भ्रमणको समयमा उनले भारतसित नेपालको सांस्कृतिक तथा धार्मिक सामिप्य भएकाले भारतसित रहेको नेपालको सामिप्यलाई चीनले जीवन्त सत्यको रूपमा लिएको उनले संकेत गरेका थिए । 

विगतमा चीन शक्ति संकलन गर्न व्यस्त थियो । नेपालमा विद्यमान भारतको प्रभावलाई उसले खासै ध्यान दिएको थिएन । तर अहिले विश्वको दोस्रो शक्तिशाली राष्ट्रमा रूपान्तरण भएपछि उसले विश्वका अन्य राष्ट्रमा जस्तै नेपालमा पनि आफ्नो प्रभाव जमाउन खोजेको छ । यसले गर्दा नेपाल अहिले साँच्चिकै दुई ढुंगाको बीचको तरुल जस्तो भएको छ । 

यस्तो असहज परिस्थितिमा कस्तो मार्ग अनुसरण गर्ने हो यस विषमयमा नेपालको एक मौलिक अनुभव इतिहासको पन्नामा अंकित भएको छ । १६औं शताब्दीमा गोरखाका राजाद्रव्य शाह तथा उनका भाइ लमजुङका राजा नरहरि शाहका बीच युद्ध हुने गरी सम्बन्ध ओरालो लाग्यो । यसरी छोराहरूको बीचमा युद्ध हुने देखेपछि उनकी आमाले चेपे नदीमा आफ्नो स्तनबाट दूध निकाली नदीमा बगाइदिइन् । आमाको दूध नाघ्नु नहुने प्रचलननुसार आमा जीवित रहुञ्जेल दुवै राजा चेपे नदीको वारि तथा पारि सीमित रहे । यसले गर्दा केही समयसम्म शान्ति कायम रहृयो । 

आध्यात्मिक तथा धार्मिक पर्यटन नेपालका लागि एउटा त्यस्तो नदी हुन सक्तछ । नेपालको इतिहासको आरम्भ काठमाडौं उपत्यकाबाट भएको र यस क्रममा विपस्वी बुद्ध, सिखी बुद्ध, मन्जुश्री आदि आएर तपस्या गरेका परिघटनाले पौराणिक कालदेखि नै नेपालमा धार्मिक पर्यटन हाबी भएको पाइन्छ । वर्तमान अवस्थामा भारतमा बहुसंख्यक मानिस हिन्दू रहेकाले जनकपुर, पशुपतिनाथ तथा राम, लक्ष्मण, भरत एवं शत्रुघ्नको जन्मका लागि पुत्रेष्ठी यज्ञको सञ्चालन गर्ने शृंगी ऋषिको ललितपुर लामाटारमा रहेको गुफाले यो भूमिका बहन गर्न सक्तछ । 

त्यसैगरी बुद्ध धर्मप्रति चिनियाँहरूको झुकाव भएको हुनाले लुम्बिनीले पनि यस्तो सिन्धुको स्वरूप ग्रहण गर्न सक्तछ । यसको सफल उदाहरण भेटिकन शहर हो । यो सहर इटालीमा रहे पनि यो स्वशासित स्थान हो । विश्वभरका इशाई धर्मावलम्बीले आस्थाको रूपमा यसलाई हेर्दछन् । यसका पादरीले यसको शासन गरेका हुन्छन् । 

हुनत अहिलेको सरकार जसोतसो गरेर पाँच वर्ष बिताउने र निर्वाचन गराउनेमा सिमित भएको छ भन्दा अत्युक्ति होवैन । परन्तु खड्का जस्ता बौद्धिक पुरुषबाट देशले केही न केही नयाँपनकोे अपेक्षा गरेको हुन्छ । यस विधाका विज्ञसित परामर्श गरी एक समसामयिक परराष्ट्र नीतिको सूत्रपात गर्न सके डा. खड्का पनि ब्राजिलका केल्सो आमोरिम जस्तै नभए पनि उनको छेउछाउ पुग्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । 

Top