सर्वस्वीकार्य बन्दै छ कांग्रेसको नीति, सिद्धान्त र कार्यक्रम

✍️ इन्द्रबहादुर बराल   POSTED ON : आश्विन १८, २०७८ (७:०८ AM)

सर्वस्वीकार्य बन्दै छ कांग्रेसको नीति, सिद्धान्त र कार्यक्रम

नेपालको राजनीतिमा आर्थिक सामाजिक रूपान्तरणको सन्दर्भमा नेपाली कांग्रेसले लिएको नीति, सिद्धान्त र कार्यक्रम निर्विकल्प रूपमा देखिँदै आएको छ । यस अर्थमा नेपाली कांग्रेसले गर्व र सन्तोष गर्ने ठाउँ छ । तथापि त्यसको जस वा श्रेय लिन नसक्नु त्यत्तिकै दुःखद पक्ष पनि हो । यसका बाबजुद पनि नेपाली समाज आज कांग्रे्रेसकै पद चिहृनमा हिँड्न खोजेको अवस्थालाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । नेपाली समाजले प्रथम जनक्रान्ति २००७ ले स्वतन्त्रताको सास फेर्ने अवसर पाए पनि समाजमा अपेक्षित आर्थिक सामाजिक रूपान्तरण हुन सकेन । भयो त केबल राजनीतिक परिवर्तनमात्र तर त्यतिमात्रै क्रान्तिको अन्तिम लक्ष्य थिएन । 

त्यो प्रथम जनक्रान्तिको लक्ष थियो समानता, स्वतन्त्रता, न्याय र भ्रातृत्व जस्ता उद्देश्यलाई पूरा गर्नु । यी उद्देश्य पूरा गर्न देशमा आर्थिक सामाजिक रूपान्तरणको खाँचो थियो । त्यसैलाई कांग्रेसले एकमात्र निर्विकल्प लक्ष निर्धारण गर्‍यो । जुन नेपाली कांग्रे्रेसको विसं २०१२ सालमा वीरगञ्जमा सम्पन्न छैटौं महाधिवेशनले पारित गरेको थियो । त्यही आर्थिक सामाजिक रूपान्तरणको लक्ष पूरा गर्न नेपाली कांग्र्रेसले लोकतान्त्रिक समाजवाद (प्रजातान्त्रिक समाजाद) को नीति औपचारिक रूपमा अंगीकार गरेको हो । आज पनि लोकतान्त्रिक समाजवाद सिंगो नेपालीको मूल मुद्दा बनेको छ । हिजो नेपाली कांग्रे्रेसलाई दलाल पुँजीवाद र बुर्जुवा भनेर विरोध गर्नेहरूको अगाडि लोकतान्त्रिक समाजवाद कांग्रे्रेसको हातबाट खस्ला र टिपौंला भनी टुलुटुलु हेरेर बसेको अवस्था प्रष्ट देखिँन्छ । 

यसरी हेर्दा कांग्रे्रेसको वैचारिक धरातलभित्र कम्युनिष्टहरू पनि आफ्नो स्पेस (स्थान)को खोजीमा रहेको सहजै अनुमान गर्न सकिन्छ । अर्थात् नेपाली कांग्रे्रेसको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवाद आजको ताजा राजनीतिमा सर्वस्वीकार्य बनेको देख्दा कांग्रे्रेसजनहरूको एक प्रकारको विजय हो । सत्ता राजनीतिभन्दा माथि उठेर हेर्‍यो भने निसन्देह कांग्रे्रेसका लागि यो अत्यन्तै गर्वको विषय हुनुपर्छ । यसर्थ सत्ताभन्दा सिष्टम (पद्धति) को राजनीति महत्वपूर्ण हुन्छ । केही सत्ता नै सबथोक ठान्नेहरूबाहेक अन्यका लागि लोकतान्त्रिक समाजवादलाई नै एकमात्र लक्ष बनाउनु स्वाभाविकै देखिन्छ र पर्छ । 

नेपाली कांग्रेसको समानता, स्वतन्त्रता, न्याय र भ्रातृत्व जस्ता सिद्धान्त, राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता आदर्शबाट निर्देशित नीति, सिद्धान्त र कार्यक्रमबाट आकर्षित नहुने कमै राजनीतिक दलहरू होलान् । यस कारण हालैका राजनीतिक घटना क्रममा नेपाली कांग्रे्रेस पार्टी अरू कम्युनिष्टलगायत दलहरूको आकर्षण र रोजाइमा परेको हुनसक्ने अनुमान गर्न सकिन्छ । विसं २०७४ सालको संघीय संसदको निर्वाचनमा नराम्रोसँग पराजित भएर आज पुनःसत्ताको बागडोर सम्हाल्न पुग्नु त्यसैको (कांग्रेसको नीति, सिद्धान्त र कार्यक्रम)को परिणाम हो । 

यद्यपि कांग्रेस इतरका कुनै पनि दलहरू कांग्रेसको त्यस नीति, सिद्धान्त र कार्यक्रमलाई सिधैं स्वीकार नगरे पनि घुमाउरो पारामा आत्मसात गरेको पाइन्छ । लोकतन्त्र र समाजवादलाई आत्मसात गर्नु भनेको कांग्रेसले अवलम्बन गरेको नीति, सिद्धान्त र कार्यक्रमलाई सिद्धान्ततः अंगीकार गरेको ठहरिन्छ ।

नेपालका मूलधारका कम्युनिष्ट पार्टीहरू चाहे नेकपा एमाले होस् वा नवगठित नेकपा एकीकृत समाजवादीदेखि माओवादी केन्द्रलगायत कम्युनिष्टहरूमा लोकतान्त्रिक समाजवादपट्टिको आकर्षण बढ्दो रूपमा देखिएको छ । सामान्यतया कम्युनिष्टको आधारभूत सिद्धान्त भनेको उत्पादनका साधनहरूमा सामाजिकीकरण र राज्यनियन्त्रित अर्थव्यवस्था हो । तर, आजका ती मूलधारका कुनै पनि कम्युनिष्ट पार्टीहरूमा माथि उल्लेखिति अर्थराजनीतिलाई त्यागी सकेको अवस्था छ । यद्यपि केही जडसूत्रवादी कम्युनिष्ट पार्टीहरूमा कहिलेकाहीँ ती उत्पादनका साधनमा सामाजिकीकरण र राज्यनियन्त्रित अर्थ व्यवस्थाको सामान्य धङधङी भने नगन्य रूपमा भए पनि छेउ कुनामा पाइन्छ । तर, त्यस्तो जडसूत्रवादी कम्युनिष्ट विचारधारालाई नेपाली समाजले अब पचाउन (स्वीकार्न) सक्ने स्थिति देखिँदैन । 

यसर्थ नेपाली कांग्रेसका संस्थापक नेता जननायक विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो पार्टी कांग्रेसलाई लोकतान्त्रिक समाजवादको गोरेटोमा हिँडाएर यहाँसम्म ल्याइपुर्‍याउने श्रेय उहाँमै जान्छ । त्यसैले राजनीतिक दृष्टिलेमात्रै होइन आर्थिक सामाजिक रूपान्तरणको दिशामा अघि बढाउने श्रेय बीपीलाई नै जान्छ । आजको नेपाली आर्थराजनीतिमा बीपी पथमा हिँड्ने प्रयत्नहरूमा नेपालका कम्युनिष्टहरू पनि लालायित छन् भने नेपाली कांग्रेसमा त्यो इच्छाशक्ति सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले देखाउनुभएको छ । तथापि नेपाली कांग्रेस प्रचारमाभन्दा काममा बढी विश्वास गर्न पार्टी भएकाले ती आर्थिक सामाजिक रूपान्तरणका प्रयास धेरै चर्चामा आउने गरेको पाइँदैन । 

उता कम्युनिष्टहरूले ज्येष्ठ नागरिकलाई दिइएको वृद्वभत्ता ‘गायत्री मन्त्र’ बनाएर जनमानसमा कत्रो फुर्तिका साथ हामीले यति ग¥यौं उति गर्‍यौं भनी प्रचार गर्दै त्यसैलाई ‘प्राण वायु’को रूप लिएका छन् । यसले के बताउँछ भने ‘बोल्नेको पिठो बिक्री हुन्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भने जस्तै भएको छ । नेपाली कांग्रे्रेसले अहिले चामल बेच्न नसकेको हो कि जस्तो देखिँदै छ जहाँ कम्युनिष्टहरू विज्ञापन (मार्केट्रि«ङ) गर्न खप्पिस भएको प्रमाणित गरिरहेका छन् । यसो किन भनिरहेको हो भने पहिलो गिरिजा नेतृत्वको कांग्रेस सरकारले बृहत् सामाजिक सुरक्षा कार्यक्रम ल्याएको थियो । 

त्यसको विस्तृत कार्यक्रमसमेत बनिसकेको थियो । त्यो कार्यक्रम लागू हुँदानहुँदै दुर्भाग्यबस देश जबर्जस्त मध्यावधिमा धकेलियो । त्यसपछिको एमालेको अल्पमतको सरकारले कांग्रेसले बनाएको बृहत् सामाजिक सुरक्षा कार्यक्रमको एउटा हिस्सा वृद्धभत्ता दिने निर्णय गर्‍यो । आज त्यही वृद्धभत्ता भजाएर बुढेसकालको लौरो बनाउन सफल भएको छ नेकपा एमाले । 

नेपाली कांग्रेसको नीति, सिद्धान्त र कार्यक्रमको विस्तृत कार्ययोजनालाई पार्टीको तल्लो तहसम्म पु¥याउन नसक्दा त्यसको पूरा राजनीतिक लाभ लिन चुकेको देखिन्छ । अहिलेको समय विज्ञापनको समय हो । हो यो विज्ञापनको समयलाई बुझ्न र बुझाउन अब पार्टीले स्पष्ट कार्य योजनासहित जनसमक्ष जानै पर्ने हुन्छ । त्यसो त नेपालका सबै खाले कम्युनिष्टहरू नीति, सिद्धान्त र कार्यक्रमको दृष्टिकोणबाट नेपाली कांग्रेसकै बाटो अवलम्बन गरेको पाइन्छ । तर, कांग्रेसजनमा आफ्नो पार्टीको नीति, सिद्धान्त र कार्यक्रमका बारे गाउँघर र टोल टोलमा बहस छलफल चलाउने काममा अल्छी गरेका कारण त्यसको राजनीतिक लाभ कम्युनिष्टहरू लिइरहेका छन् । लोकतान्त्रिक समाजवाद अनुरूपका कामको सन्देश जनसमक्ष पुर्‍याउने काम नेताकार्यकर्ताको हो । 

कांग्रेस नेतृत्वको सरकारले आफ्नो आदर्श र सिद्धान्तअनुरूप के के काम भए गरे भन्ने जानकारी लिने र दिने काममा कांग्रेस पार्टी चुकेको अवश्य हो । यसर्थ अब एकपटक पछाडि फर्केर आफ्ना कामकारबाहीको समीक्षा गर्दै भावी कार्यदिशा तय गर्नुपर्ने देखिन्छ । आर्थिक/सामाजिक रूपान्तरणका लागि नेपाली कांग्रेसले योजनाबद्ध ढंगले कार्यक्रम अघि बढाउने क्रममा सर्वप्रथम भूमिसुधार कार्यक्रममा आफ्नो ध्यान केन्द्रित गर्‍यो । 

धेरै लामो समयदेखिको विभेद र असमानताको अन्त्य गर्दै जोताहा किसान (मोही) र तल्सिङ (जग्गा धनी) को विवादलाई समानताको आधारमा बराबरी हक कांग्रेसले दिलाएको हो । तर, पनि कांग्रेसले ‘कर्म गर फलको आशा नगर’ भनेझैँ विज्ञापन गर्न आवश्यक ठानेन । त्यस्तै पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसमेत पाँच जिल्लाका लाखौं कमैया (हलिया) हरूको पुस्तौंदेखिको ऋण तिर्न नसकेर एक प्रकारले बधुवा मजदुरको रूपमा रहेका कमैयाहरूको ऋण मोचन (मिनाहा) गरेको थियो कांग्रेसले ।

त्यतिमात्रै होइन मुक्त कमैयाहरूको जीविकोपार्जनका लागि पुनःस्थापनाको कार्यसमेत नेपाली कांग्रेसले अघि बढाएको थियो । यसरी चाहे ती जोताहा किसान हुन् या कमैया मजदुरहरू नै किन नहुन् तिनीहरूलाई न्याय दिलाउन समाजवादी कार्यक्रमको एउटा सानो र सांकेतिक कदमअघि बढाएको थियो कांग्रेसले । राजनीतिको मूलधारमा सम्पूर्ण क्षेत्र, वर्ग, जाति, लिंग आदिलाई सहभागी र समाहित गर्नगराउन कांग्रेसले कदमजम अर्थात् कर्णाली, दलित, महिला, जनजाति र मधेसीलाई पार्टीमा अनिवार्य सहभागी हुने गरी नीति निर्माण कांग्रेसले नै गरेको थियो । 

त्यही नीतिनुरूप आज राजनीतिमा समावेशी र समानुपातिक प्रतिनिधित्व भइरहेको छ । राष्ट्रको मुलप्रवाहमा सम्मिलित गर्न र उनीहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न गराउन निश्चित अवधिसम्मको लागि आरक्षण व्यवस्थाका लागि राष्ट्रिय आयोगहरू निर्माण पनि कांग्रेसले गरेको थियो । उदाहरणका लागि राष्ट्रिय दलित आयोग, महिला आयोग, आदिवासी÷जनजाति प्रतिष्ठान आदि हुन् । त्यस्तै मानवअधिकारको प्रत्याभूति गर्न राष्ट्रिय मानवअधिकार आयोगको स्थापना भएको थियो भने देशमा आर्थिक अनुशासन र पारदर्शिता अनि सदाचारिता कायम गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्माण कांग्रेस आफैंले गरेको थियो । 

यी माथि उल्लेखित अन्य धेरै ससाना थुप्रै कामहरू नेपाली कांग्रेसकै नीति, सिद्धान्त र कार्यक्रमअन्तर्गत भएका थिए । आजसम्म ती कार्यहरू निर्विवाद रूपमा अघि बढिरहेका छन् । यसर्थ नेपाली कांग्रेसको नीति, सिद्धान्त र कार्यक्रम सर्वस्वीकार्य देखिएको छ । तथापि त्यसको राजनीतिक लाभ लिन भने कांग्रेस चुकेको हो कि जस्तो महसुस गरिँदै छ ।

Top