जनगणनामा धर्ममा हिन्दू र पैतृक भाषामा संस्कृत लेखौं

✍️ मणि शर्मा   POSTED ON : आश्विन १८, २०७८ (७:११ AM)

जनगणनामा धर्ममा हिन्दू र पैतृक भाषामा संस्कृत लेखौं

नेपालमा जनगणना सुरु हुन लाग्दा यसमाथि विभिन्न शंका उपशंकाहरू जनमानसमा उब्जिन थालेको छ । विशेषगरी धर्म, भाषा र भारत अधिकृत नेपाली भूमिमा बस्ने नेपालीहरूको जनगणनामाथि । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बनाई दिएको जनगणनाको फर्मेटले नेपालमा सनातन धर्ममाथि पश्चिमाहरूले गरी रहेको अतिक्रमणको यो पछिल्लो कडीको रूपमा जनताले लिएका छन् । जनगणना भन्नाले केवल एउटा स्वतन्त्र तथा सार्वभौम सम्पन्न भौगोलिक क्षेत्रभित्रको मानिसहरूको गणनामात्रै नभएर यो भौगोलिक, आर्थिक, धर्म, भाषाभाषीलगायतको सर्वेक्षणसमेत हो । यसको माध्यमबाट सरकारलाई मुलुकको आगामी दिनको खाका कोर्न सजिलो हुन्छ ।

जनगणना शब्द अंग्रेजीको सेन्ससबाट अर्काको हो र सेन्सस शब्दको उत्पत्ति ल्याटिन शब्द सेन्सेयर (अभलकभचभ) अर्थात् अनुमानबाट आएको हो । मध्यकालीन रोमन गणराज्यहरूमा सेनामा भर्ना हुन मिल्ने युवाहरू तथा कर तिर्न जनताको गणनाको काममामात्र प्रयोग गरिन्थ्यो जनगणना । यसबाट जनतासँग सम्पत्ति कति छ तथा उनीहरूमाथि कति कर निर्धारण गर्न र राज्यबाट कति र कस्तो सहयोग र सुविधा दिन सकिन्छ भनेर निर्धारण गरिन्थ्यो । ख्रिष्टपूर्व छैठौं शताब्दीका रोमन राजा सर्भियस तुलियसले यसलाई संस्थागत गरेका थिए ।

इजिप्टमा मध्यकालीन शासन व्यवस्थाको अन्त्य र नयाँ राजतन्त्रको सुरुवातमा फारोह अमासिसले प्रजाहरू कहाँ कसरी बसेका छन् वार्षिक रूपमा रिपोर्ट गर्नु पर्दथ्यो । पछि रोमनहरूले इजिप्ट लिएपछि उनीहरूले सरकारी तौरमा जनगणना सुरु गरेका थिए । इजरायलमा बाइबलको भनाइअनुसार प्रभुको आदेशले प्रजाले कर तिर्नका लागि जनगणना गरिन्थ्यो । ख्रिष्टाब्द ६ मा रोमनले जुडेआ (इजरायल) कब्जा गरेपछि उनीहरूले पनि जनताले कर तिर्नका लागि जनगणना सुरु गरेका थिए । चीनमा हान साम्राज्यको पालामा ख्रिष्टाब्द २ को बीचमा जनगणना गरिएको थियो । 

यसको उद्देश्य पनि कर असुल गर्ने नै थियो । त्यो जनगणनाअनुसार चीनको जनसंख्या ५ करोड ७६ लाख ७१ हजार ४०० जना थिए भने घरधुरी १ करोड २३ लाख ६६ हजार ४७० थिए । तर, यो जनगणना कर तिर्नेहरूको मात्रै लिइएको थियो र सेनामा भर्ना भएकाहरूको संख्या पनि यसले देखाउँथ्यो । दोस्रो जनगणना ख्रिष्टाब्द १४४ मा भएको थियो । 

भारतमा ख्रिष्टपूर्व ३३० मा सम्राट चन्द्रगुप्त मौर्यको पालामा चाणक्यको नेतृत्वमा पहिलो पटक जनगणना भएको थियो र त्यसपछि सम्राट अशोकको पालामा भएको थियो । भारतमा आधुनिक जनगणना ब्रिटिस भायसरय लर्ड मायोको पालामा सन् १८७२ देखि दश/दश वर्षमा जनगणना गर्ने गरी सुरु भएको हो । सन् १८३० मा पराधीन इण्डियामा हेनरी वाल्टरले पहिलो पटक ढाकामा जनगणना सुरु गरेकाले उनलाई भारतको जनगणनाको पिता भनिन्छ । 

बेलायतको सम्राट विलियम प्रथमले सन् ११८३ मा उनले जीतेका राज्यहरूमा भूमिकर लगाउन जनगणना गरेका थिए । दश/दश वर्षमा जनगणना गर्ने प्रथा बेलायतमा सन् १८०१ देखि सुरु भएको हो । सन् १३२८ मा पहिलो पटक फ्रान्समा आर्थिक कारणले जनगणना लिइएको थियो । त्यस बेला फ्रान्सको जनसंख्या एक करोड साठी लाखदेखि एक करोड सत्तरी लाख थियो । 

सन् १७९० मा बेलायती उपनिवेश बनेको अमेरिकाको भर्जिनियामा जनगणना सुरु भएको हो । त्यतिखेर चर्चको पनि गणना हुन्थ्यो । सन् १८५० अगि बेलायतीहरूले मूल अमेरिकी आदिवासीहरू जसलाई उनीहरूले दासदासी बनाएका थिए, उनीहरूको अमेरिका र युरोपभरि किनबेच गर्थे, उनीहरूको जनगणना गर्दैनथे । अमेरिकाको मूलवासीहरूलाई, जसको राष्ट्र तिनीहरूले कब्जा गरेका थिए तिनीहरूलाई मानिसको कोटिमा राखेका थिएनन् । 

दासदासीको गणना अलग्गै राखेका थिए सन् १८५० र १८६० को जनगणनामा । पश्चिमाहरूले कब्जा गरेका मुलुकहरूमा त्यहाँका मूल बासिन्दालाई बन्दी बनाएर, हत्या गरेर, दासदासी बनाउनुका साथै उनीहरूको सनातन धर्मलाई नाश गरेर ख्रिष्टान बनाएका थिए । तर जनगणनामा राखेका थिएनन् । बेलायती उपनिवेश अष्ट्रेलियामा पहिलो पटक सन् १८२८ नोभेम्बरमा न्यू साउथ वेल्समा जनगणना भएको थियो । अष्ट्रेलियाको मूल निवासी आदिवासीहरूको जनगणना गरिएको थिएन् । सन् १९७१ को जनगणनादेखि मात्र त्यहाँका मूल आदिवासी र जनजातिहरूको जनगणना गर्न सुरु गरिएको हो ।

नेपालमा श्री ३ चन्द्र शमशेरको पालामा सन् १९११ मा व्यवस्थित तथा प्रणालीगत रूपमा पहिलो पटक जनगणना सुरु भएको हो । यसअघि श्री ३ जंगबहादुर राणाले विसं १९१०, १९११ र १९१३ मा जनगणना गर्ने कामको थालनी गरेका थिए । त्यसको प्रतिवेदन नेपाली कागजमा हस्तलिखितरूपमा तयार पारिएको थियो । ती तीनमध्ये एकमा अभिलेखीकरण गर्नेको नाम क्याप्टेन सतराम खत्री र सुबेदार जगतबहादुर खत्री उल्लेख छ । जनगणना प्रतिवेदनमा नेपालका जिल्लाहरूको संख्या ३३ उल्लेख छ । उक्त जनगणनाअनुसार नेपालको जनसंख्या ८० लाख थियो ।

यसअघिका जनगणनाहरूलाई नेपाली जनताले शंकाको नजरले हेरेका थिएनन् । ओली सरकारको पालामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले तयार पारिदिएको खाकाको आधारमा जनगणना फर्र्मेट तयार भयो र वर्तमान देउवा सरकारले पनि यसलाई नै निरन्तरता दिएको छ । यसभन्दा पहिला शिक्षकहरूबाट जनगणना गराउने भनिएकोमा हाल आएर बाह्र कक्षा उत्तीर्ण युवाहरूद्वारा जुन राजनीतिक दलहरूका कार्यकर्ता भएको आमजनताको धारणा छ, तिनीहरूबाट जनगणना गराउनु शंकास्पद देखिन्छ । 

सबै जनता साक्षर छैनन् न त सबै नै शिक्षित । गणकले के भरे, के भरेनन् कसैले हेर्दैनन् । गणकहरू माथि विश्वास नै गर्ने चलन थियो तर अहिले सरकार आफैंले यसमा शंका उत्पन्न गराएको छ । त्यसमाथि शहरी क्षेत्रमा जनताले सही तथ्यांक दिने नगरेको कुरा पनि अहिले आएको छ । यो भनेको सरकार माथिको पूर्णअविस्वास हो । सरकार तथा राजनीतिक दलहरूको विश्वसनीयता उनीहरूको क्रियाकलापले दिन प्रतिदिन घट्दै गएको छ ।

पश्चिमा शक्तिकेन्द्र तथा भेटिकनको निर्देशअनुसार बनेको जनगणना फारममा सनातन धर्मावलम्बीहरूलाई अल्पमतमा पार्ने बृहत् षड्यन्त्र भएको स्पष्ट हुन्छ । नेपाल विश्वकै सबैभन्दा पुरानो सनातन धर्मावलम्बी देश भएको इतिहास छ । सनातन धर्मको उत्पत्तिस्थल नेपाल नै हो । तथापि यहाँ कुनै अन्य धर्मप्रति भेदभाव थिएन न त छ तर अहिलेको संविधानले मुलुकमा धार्मिक असहिष्णुता बढाएको छ । नेताहरू हिन्दूत्वको खोल ओढेर विदेशी धर्मसापेक्ष मुलुक बनाउन लागि परेको यो संविधान र तिनीहरूको गतिविधिहरूले प्रमाणित हुँदै आइरहेको छ । ‘अयं निजः परो वेति गणना लघुचेतसाम् । उदारचरितानांं तु वसुधैव कुटुम्बकम् ।। 

अर्थात्, यो आफ्नो बन्धु हो, यो आफ्नो बन्धु होइन, यस्तो गणना सानो चित्त भएकाहरूले गर्छन् । उदार हृदय भएकाहरूका लागि त (सम्पूर्ण) धरती नै परिवार हो । सनातन धर्मको मूल संस्कार र विचारधारा हो यो । न त हाम्रो धर्मले अरू धर्म मान्नेहरूलाई काफिर भन्छन् न त शैतान । अरबीमा काफिर शब्दको अर्थ हो (अल्लाहलाई) अस्वीकार गर्नेहरू, ढाक्नेहरू । कुरानमा ६४ प्रतिशत भाग काफिरको सम्बन्धमा छ । कुरानमा काफिरहरूको बारेमा उल्लेख गर्दै भनेको छ । 

पवित्र महिना (रमदान) बितेपछि, मूर्तिपूजकहरूलाई जहाँ भेट्छौं हत्या गर । जसले हाम्रो आयात अर्थात् कुरानलाई मान्न इन्कार गर्छन् उनीहरूलाई आगोमा झोसी देऊ, काफिरहरूलाई जहाँ भेट्छौ त्यहीँ हत्या गरिहाल, काफिरहरूसँग युद्ध गर, उनीहरूलाई तिमीभित्र कटुता देखिनुपर्छ । 

ख्रिष्टानहरूले गैरख्रिष्टानहरूलाई शैतान भन्छन् । शैतानको अर्थ हो नराम्रो अर्थात् पाप कर्म गर्न जन्मेका प्राणी । बाइबलअनुसार शैतान यस्तो प्राणी हो जो पाप कर्मगर्नाको कारण उत्पत्ति भएका हुन् । बाइबलअनुसार शैतान यस्तो एक प्राणी हो जो आफूले गरेको पापका कारण तल खसेको हो । ऊ आफ्नो शक्तिले भ्याएसम्म परमेश्वरको विरोध गर्न र परमेश्वरको प्रयोजनलाई असफल पार्न कोसिस गर्छ । त्यसैले ख्रिष्टानहरूले विश्वको सबैभन्दा प्राचीन धर्म संस्कृतिमा माथि प्रहार गर्दै ख्रिष्टानीकरण गर्दै लगेका छन् ।

त्यसैको निरन्तरता जनगणना फारम हो सनातन धर्ममाथि प्रहार । हिन्दूलाई मष्टो, बोन, जैन, सिख, खस, प्रकृतिपूजक आदिमा विभाजन गरेर अल्पसंख्यकमा पार्ने षड्यन्त्र हो यो जनगणना । हामी सनातन धर्मावलम्बी र हाम्रो धर्मग्रन्थ वेद आफैं प्रकृतिपूजक हो । ॐद्यौ शान्तिरन्तरिक्ष शान्तिः । पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।। वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिब्रहृम शान्तिः । सर्वं शान्तिः शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि ।। ॐ शान्तिः शान्तिः शान्तिः ।

भावार्थ, शान्ति त्रिभुवनमा, जल, थल गगनमा, अन्तरिक्षमा, अग्निमा, पवनमा, औषधिमा, वनस्पतिमा, वनमा, उपवनमा, सकल विश्वमा, अवचेतनमा, शान्ति राष्ट्र निर्माणमा, सृजन, नगर, ग्राम, भवन, जीवमात्रको तन, मन र जगतको कण कणमा शान्ति होस् । हाम्रो सनातन धर्मले भन्छ, ॐ सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु । मा कश्चित् दुःख भाग्भवेत् ।। ॐ शान्तिः शान्तिः शान्तिः । सबै सुखी होउन् सबै रोगमुक्त रहून्, सबैको जीवन मंगलमय बनोस् र कोही पनि दुःखको भागी न बनून् । हे प्रणव, शान्ति शान्ति शान्ति प्रदान गर ।

यस्तो मानवताले परिपूर्ण सनातन धर्ममाथि राज्यबाट भएको प्रहारलाई परास्त गर्दै हामी सबै सनातन धर्मावलम्बीहरूले धर्मको कोलममा हिन्दू लेखेर पश्चिमा शक्तिराष्ट्र र भेटिकन चर्च तथा तिनका अनुचरहरूको षड्यन्त्र असफल पार्नुपर्छ ।

साथै, भाषाको कोलममा पैतृक भाषा, मातृभाषा र अन्य भाषा लेखिएको छ जुन षड्यन्त्रको अर्को पाटा हो । २०४६ सालपछि कति विदेशी ग्रीनकार्ड, पिआरधारीहरू नेपाल आएर राजनीतिको ब्यापारमा तल्लीन छन् । कतिपय नेताका विदेशी पत्नी, कतिपयका विदेशी पति भएकाहरू छन् । २०६३ सालमा करिब चालीस लाख भारतीयहरूले नेपाली नागरिकता पाएका छन् । तिनीहरूलाई पैतृक वा मातृभाषामा हिन्दी लेख्न लगाएर नेपाली भाषालाई अल्पमतमा पारिने षड्यन्त्र हो यो ।

त्यसैले पैतृक भाषामा संस्कृत, मातृभाषामा नेपाली, अवधि, मैथिली, भोजपुरी, तमु, मगर, तामाङ आदि आफ्नो मातृ भाषा र अन्यमा पनि नेपाली भाषीले संस्कृत नै अरूले नेपाली लेखेर हाम्रो सनातन धर्मको रक्षा गर्नु प्रत्येक सनातन धर्मावलन्बीहरूको परम कर्तव्य हो । हामी सबैको भाषाको स्रोत संस्कृत नै हो, संस्कृत हाम्रो भाषाको जननी भएकाले पैतृक तथा अन्य भाषामा संस्कृत लेखौं । यसरी हामी देशी विदेशी षड्यन्त्रकारीको षड्यन्त्रलाई चकनाचुर पार्न सक्छौं । 

जनगणनामा राष्ट्रको सम्पूर्ण भूगोलभित्रको जनतासहित जनगणना हुनुपर्छ तर भारतले कब्जा गरी राखेको पैंसट्ठी हजार हेक्टर भूगोलभित्र बस्नेहरूको जनगणना गर्न सक्छ सरकारले ? के कालापानी क्षेत्र, भारतले कब्जा गरेको सुस्तालगायतको क्षेत्रमा जनगणना गर्ने हिम्मत छ यो सरकारको ? यदि यसमा जनगणना गरिएन भने यो भूमि भारतलाई छाडिदिएको प्रमाणित हुन जान्छ । यदि भारत अधिकृत हाम्रो भूमिमा जनगणना गर्न सक्ने आँट यो सरकारको छैन भने जनगणनाको कुनै अर्थ रहँदैन ।

Top