कांग्रेसमा युवा नेतृत्वको बहस

✍️ मेघनाथ दाहाल   POSTED ON : आश्विन १९, २०७८ (७:१५ AM)

कांग्रेसमा युवा नेतृत्वको बहस

ओली सरकारको बहिर्गमनपछिको सबैभन्दा चर्चित एवं बजारमा व्याप्त राजनीतिक हल्लाहरूमा सबैभन्दा बढी स्थान पाएको विषय कांग्रेसको आसन्न महाधिवेशन सम्भावित नयाँ नेतृत्व साथै पुस्तान्तरणका लागि भइरहेको सकस एवं दोस्रो पुस्ताका नेताहरूको तयारीका विविध आयाम नै हुन् । नेपालको प्रजातान्त्रिक पद्धतिको विकासमा जसले जतिसुकै गाली गरे पनि वा प्रशंसा गरे पनि नेपाली कांग्रसको भूमिकालाई नजरअन्दाज गर्न जोकोहीले सक्दैन तर अबका दिनमा कांग्रेसको शाख हिजोका कामहरूले बचाउन नसक्ने यथार्थता दिनप्रतिदिन देखिँदो छ ।

सत्ताको राजनीतिमा सधैं सफल नेपाली कांग्रेस आफ्नो आर्थिक-सामाजिक तथा राजनीतिक नीतिगत पक्षहरूलाई देश विकासको क्षेत्रमा लागू गर्ने कुरामा सधैं कहिँ कतै कुनै हिसाबमा भएको गल्ती कमजोरीले आलोचित हुँदै आएको छ । त्यसैगरी राजतन्त्रको अनावश्यक महत्वकांक्षाका कारण नारायणहिटीबाट तत्कालीन राजालाई बिदा गर्दै गणतन्त्रिक परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारीलाई कांग्रेसले विविध कठिनाइहरूबीच सफलतापूर्वक सम्पन्न गरेकै हो । 

थोरै समयमा नसोचेका कामहरू नभएका होइनन् तर बहुदलीय प्रजातान्त्रिक व्यवस्थाले नेपालीहरूको मुहार फेर्न नसक्ने ठोकुवाका साथ सशस्त्र विद्रोहमार्फत नेपाल र नेपालीका सबै किसिमका समस्याहरूको समाधानमा लाग्ने बाचा बन्धनका साथ तथा कथित माओवादीहरूको सशस्त्र आन्दोलनले राजनीतिलाई मात्र बिथोलेन नेपालको विकासको यात्रालाई नराम्रोसँग अस्तव्यस्त बनाएर छाड्यो । हुन त यस कुरालाई उनीहरू स्वीकार गर्ने पक्षमा देखिँदैनन् । अझ आजको गणतन्त्र तथा समावेशी र संघीयताको मसिहा माओवादी नै हो भन्ने कुरामा बेलाबेलामा चर्का भाषणबाजी गर्न उनीहरू पछाडि पर्दैनन् ।

राजनीति र विकासको यो यात्रामा हाम्रो कार्यकारीणीहरू चाहे त्यो संगठनात्मक होस् वा राज्यसञ्चालनको नै किन नहोस् युवाको साथ सहयोग र ऊर्जा पाए केही हुन्थ्यो कि भन्ने हुटहुटीले सबै नेपालीलाई पोल्न थालेको छ । विगत तीन दशकको प्रजातान्त्रिक पद्धतिको यात्रामा शेरबहादुर देउवा पचासको दशकमै कार्यकारिणी भए तर थोरै र अस्थिर समयमा, प्रचण्ड साठीको छेउछाउमै थिए तर उनले पनि पूरा एक वर्ष राजकाज चलाउन पाएनन् । धेरै आशा गरिएका भट्टराईले पनि खासै उल्लेख्य काम गर्न सकेको कसैले महसुस गरेनन् । 

बाँकी सबै कार्यकारिणीहरू सत्तरीभन्दा माथिल्लो उमेरमा आफ्नो दल र सिंहदरबारको कार्यकारिणीको कुर्सीमा बस्दा पो मुलुकले विकासको काकाकुल स्थितिबाट उक्सिन नसकेको हो कि भन्ने एक किसिमको मनोवैज्ञानिक छटपटी देखिन थालेको छ । हुन पनि अपवादवाहेक उमेर बित्दै जाँदा व्यक्तिको क्षमतामा स्वाभाविक कमी आउने कुरा सत्य हो । तर विडम्बना राजनीतिक यात्रामा व्यक्तिको उमेरलाई कार्य क्षमताको मापक धेरैजसो मुलुकहरूमा बनाइँदैन । यसको साथै विश्वमा विगत तीन दशकमा देखिएको सबै क्षेत्रको विकास तथा चामत्कारिक परिवर्तनका कारण जसरी व्यक्तिहरूको इच्छा, आकांक्षा, सोच, व्यवहार तथा सामाजिक-सांस्कृतिक एवं व्यक्तिगत तथा सामूहिक चालचलनहरू दिनानुदिन परिवर्तन भइरहका छन् ।

त्यसैगरी उपलब्ध सबै किसिमका स्रोतसाधनको उच्चतम प्रयोगको माध्यमद्वारा उत्पादनको वृद्धिले रोजगार तथा आयको मात्र नभएर निर्यातबाट मुलुकको मुहार फेर्नसक्ने युवा जमातको आवश्यकता राजनीति जस्तो महत्वपूर्ण क्षेत्रमा चाहिने कुराको प्रमाण आजको विश्वपरिवेशमा दिनप्रतिदिन आइरहेका छन् । स्वयं बीपी नेपालको पहिलो निर्वाचित कार्यकारी हुँदा पैतालीस वर्षका मात्र थिए । उनको बहुआयामिक व्यक्तित्वको एउटा प्रमुख कारक उमेर पनि हो भन्नेहरू छन् यद्यपि उनको तत्कालीन समयको व्यक्तित्वको निर्धारण उमेरलेमात्र गरेको थियो भन्न चाहिँ अन्याय हुन्छ । 

त्यसैगरी वर्तमान सभापति शेरबहादुर देउवाले पनि गिरिजाप्रसादसँगको राजनीतिक लडाइँबाट मात्र संगठन तथा मुलुकको कार्यकारिणी प्राप्त गरेको कुरा हामीले बिर्सनु हुँदैन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रजातन्त्रको पुनः स्थापनापछिको निर्वाचित संसदको सभामुख हुँदाको समय त्यस्तै पैतालीसको हाराहारमै हुनुपर्छ । राजनीतिमा सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराई सभामुख हुँदा युवा नै हुनुहुन्थ्यो । 

आगामी चौधौं महाधिवेशनको संघारमा नेपाली कांग्रेसमा देखिएका, धेरैले आश गरेका र विपक्षीहरूले पत्याएका एक दर्जनभन्दा बढी संख्याका युवा नेताहरूले खुट्टा नकमाई दलको आन्तरिक शाखको मात्र नभएर संगठनको साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिचयको लागि नेतृत्वलाई समयसापेक्ष ठोस विचार, योजना र कार्यक्रमका साथ निर्णायक पदहरूका लागि प्रजातान्त्रिक नियम पद्धति र सोचका साथ ललकार्न सक्नुपर्ने दिन आइसकेको छ । कांग्रेसको प्रजातान्त्रिक विधि, मूल्य मान्यताप्रतिको दृढ विश्वासप्रतिको नेपाली दाजुभाइ एवं दिदीबहिनीमा आजको दिनमा एक किसिमको अगाध एवं अनौठो विश्वास तथा समर्पण रहेको पाइन्छ ।

विद्यमान विविध गुटउपगुट तथा समूहहरूमध्ये कोही एकजनाको टिममा लाग्ने वा एउटाको फेर समातेरमात्र अगाडि जाने किसिमको जुन प्रवृत्ति देखिँदो छ यसले न त दललाई न त मुलुकलाई नै सही दिशामा हिँडाउन सक्छ । नेपालको राजनीतिक यात्रामा कांग्रेसको काँधमा आएको जिम्मेवारीहरू जसरी नेतृत्वले आपूmलाई हराएर पनि पूरा गरेको छ, त्यसको जगमा टेकेर सिनियर नेताहरूको सल्लाह, सुझाव र सहकार्यमा जुझारू टिमको निर्माणमा यो महाधिवेशन असफल भयो भने आउँदो आमनिर्वाचनमा सर्वसाधारणहरूले पुराना अनुहारहरूको आधारमा मत दिन्छन् भन्ने कुरामा विस्वस्त हुन सकिँदैन । नेपाली कांग्रेस तेस्रो पुस्तामा हिँडिरहेको छ । 

२०२० देखि ३० सालभित्र राजनीतिमा होमिएको पुस्ता अहिलेको नेतृत्वमा छ । अबको समयमा नयाँ पुस्तामा संगठन तथा कार्यकारीणीको बोझ बिसाउन वर्तमान नेतृत्व तयार हुनुपर्छ भने युवाजमातले नेपाली कांग्रेसको आन्तरिक एवं बाहृय शाखलाई जोगाएर विकासको अभिभारालाई मूर्तरूप दिन सक्नुपर्दछ । वर्तमान नेतृत्व दोस्रो पुस्ताका आदरणीयहरू हुनुहुन्छ । पञ्चायती कालमा कुनै न कुनै रूपमा जेलनेल र परवासमा बस्न बाध्य बनाइएकाको पंक्ति लामो छ । 

उहाँहरूको अथक प्रयास र राजनीतिक सुझबुझको कारण नै मुलुक संघीयता र समावेशीको संवैधानिक व्यवस्थासहितको गणतान्त्रिक प्रजातान्त्रिक शासन व्यवस्थामा हिँडिरहेको छ । अबको मुख्य कार्यभार नै मुलुकको आर्थिक रूपान्तरणद्वारा मुलुकमा विद्यमान समस्याहरूको न्यूनीकरणको नेतृत्व लिनसक्ने र खुवी भएको नेपाली राजनीतिक दलको छनौट नेपाली जनताले गर्ने देखिन्छ ।

नेपाली समाजको वस्तुगत सामाजिक सांस्कृतिक पहिचान र आर्थिक सम्भाव्यतालाई विचार गर्ने हो भने अबको नेपाली समाज बहुलतामा आधारित व्यक्ति तथा समुदायको व्यक्तिगत स्वतन्त्रताको आधारमा पेशा व्यवसाय तथा जीविकोपार्जनको साथ अगाडि जाने बाटोमा छ । समाजको आर्थिक स्वरूप मूलतः पुँजीवादी दर्शन र व्यवहारबाट निर्देशित प्रजातान्त्रिक पहिचान र व्यक्ति तथा परिवार एवं समुदायको स्वतन्त्रतामा आधारित मध्यमार्गी राजनीतिक चिन्तनहरूको जगमा हिँड्ने देखिएकाले नेपाली कांग्रेस जस्तो दलले युवापुस्तालाई थोरै जोखिम मोलेर भए पनि राजनीतिक रूपमा अगाडि ल्याउनुपर्ने स्थितिको सुरुवात देखिँदो छ । 

कांग्रेसमा आउँदो अधिवेशनले नयाँ पुस्तालाई निर्णायक स्थानमा ल्याउनुपर्ने वस्तुगत कुराको आवश्यकता तलका आधारले गरेको देखिन्छ ।

-पुरानो एवं अघिल्लो पुस्तालाई सम्मानका साथ सल्लाहकारको रूपमा लिँदै आवश्यक परेको बेलामा उनीहरूको उपस्थितिलाई सम्मानपूर्वक आत्मसात गरी दलको मूलभूत निर्णायक स्थानहरूमा बौद्धिक, शैक्षिक, राजनीतिक, प्राविधिक तथा आन्तरिक एवं विश्वपरिवेश बुझेर तथा खारिएर आएको नयाँ पुस्तालाई अब विश्वास नगरेर कहिले गर्ने भन्ने मेरो बुझाइ हो तर पद, पोजिसन, योजना तथा तिनको कार्यान्वयनको निर्णय चाहिँ प्रजातान्त्रिक प्रक्रियाद्वारा हुनुपर्दछ न कि कसैको निगाह वा दयामायाको भरमा ।

-नयाँ पुस्ताले कम्तीमा कांग्रेसभित्र मौलाएको गुटउपगुट तथा व्यक्तिलाई देवत्वकरण गर्ने संस्कृतिलाई कम गर्न सक्छन् कि भन्ने आशा हो । 

२०२० देखि २०३० सालसम्मको समयमा राजनीतिमा आएका युवाहरू अहिले नेतृत्वमा छन् । यो पुस्ताले २०४६ सालपछि आजसम्म निरन्तर शक्ति तथा पदमा बसेकाले नयाँ तथा आपूmभन्दा तलको पुस्तामा दलभित्रमात्र नभएर राजकीय पद, शक्ति तथा सुविधाहरूको हस्तान्तरण गर्नुपर्छ भन्ने बुझाइ हो ।

-एक्काइसौं शताब्दीलाई सुहाउने नीति, विचार, दर्शन संगठन र व्यवहारहरू नयाँ पुस्ताको दाँजोमा पुरानो पुस्ता पछाडि रहेको स्वाभाविक रूपमा देखिएको छ ।

-नेपालक वर्तमान राजनीतिक परिवेशमा शासनसत्ताको तीनै तहमा कम्युनिष्टहरूको उपस्थिति साठी प्रतिशतभन्दा माथि रहेकाले यसलाई ठीकविपरीत स्थानमा ल्याउन पुरानो पुस्ताभन्दा सबै हिसाबमा गतिशील नयाँ पुस्ता सक्षम हुन्छ ।

-अबको राजनीति कुनै न कुनै तबरमा उत्पादन र रोजगारसँग जोडिएमा मात्र यसले सही रूपमा मुलुक र सर्वसाधारणहरूको जीवनमा सकारात्मकता ल्याउने भएकाले युवाहरूको सशक्त संलग्नताले मात्रै नीतिनिर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने देखिन्छ । 

-मुलुकको जानसांख्यिक वितरणमा १५ वर्षभन्दा माथि र ६० वर्षभन्दा मुनिका मानिसहरूको संख्या ५६.७ प्रतिशत रहेको वर्तमान स्थितिमा उनीहरूको श्रमलगायत क्षमतालाई उत्पादन तथा प्रविधिमा जोड्न सकेमा मुलुकले फड्को मार्ने कुरामा दुईमत रहँदैन ।

-२५ वर्षभन्दा माथि र ४५ वर्षभन्दा मुनिको जनसंख्याको हिस्सालाई नेपालको विकसित राजनीतिक परिवर्तनले सही रूपमा समेट्न सकेको छैन । त्यसैगरी १५ वर्षभन्दा मुनिको जनसंख्यमा अबको पाँचदेखि दश वर्षसम्म श्रमबजारमा आउँदैछ र उनीहरूमध्ये कम्तीमा ५० प्रतिशतलाई मात्र मुलुकको अर्थतन्त्रले लिनसक्ने किसिमको अर्थराजनीति बनाउन नेपाली कांग्रेसले युवाहरूको निर्णय मान्नुपर्दछ साथै युवाहरूले पनि यसका लागि आपूmलाई सक्षम बनाउन सक्नुपर्ने हुन्छ ।

-कुनै पनि मुलुकको आर्थिक कायापलटमा न्यूनतम शर्त सीपयुक्त श्रमको आपूर्ति र सोको उत्पादनमुखी व्यवस्थापन देखिएको छ । कामका लागि राजकाजको केन्द्रबिन्दुमा भएका सबै राजनीतिक दलहरू निकम्मा भएकाले ७० लाखभन्दा बढी जनशक्ति कमसलस्तरको वैदशिक रोजगारमा गएको तीतो सत्य हाम्रो अगाडि छ । यसलाई सच्याएर मलुकको विकास, समृद्धि तथा लोकतान्त्रीकरणको क्रममा संस्थागत सुधारसहित अगाडि जान युवाहरूको राजनीतिमा संलग्नता अत्यन्त आवश्यक रहेको छ । 

Top