कम्युनिष्ट पूर्वप्रधानमन्त्रीहरूबीच गालीगलौज प्रतियोगिता

✍️ प्रा. देवीभक्त ढकाल   POSTED ON : आश्विन १९, २०७८ (७:२० AM)

कम्युनिष्ट पूर्वप्रधानमन्त्रीहरूबीच गालीगलौज प्रतियोगिता

लेख्न पनि ग्लानी हुने विषय, धिक्कार गालीगलौज हाम्रो राष्ट्रिय राजनीतिको प्रमुख विषयवस्तु । अहिले एकथरी यो शताब्दीकै इतिहासमै कहलिएका स्वयं अब्बल घोषित कम्युनिष्टका पूर्वप्रधानमन्त्री जस्तो महत्वपूर्ण पदमा आसीन हस्तीहरू गालीगलौज प्रतियोगितामा अत्यन्तै लगन र मिहिनेतका साथ विगत केही समययता सक्रियतापूर्वक भाग लिएको विषय हामी नेपालीहरूका लागि पक्कै नौलो छैन । प्रतियोगितामा सबै पूर्वप्रधानमन्त्रीहरू आफ्नो अक्षमतालाई प्रतिस्पर्धात्मक रूपमा निर्लज्ज प्रदर्शनमा व्यस्त छन् । यस्तो प्रतियोगिता नेपाल जस्तो आर्थिक रूपमा गरिब र खेल मैदानको भौतिक संरचना पनि बनाउन नपर्ने खेल नेपालका लागि उत्तम खेल ठहराएकै कारण सम्भवतः यो खेल उच्चतहमा आसीनहरूबाट प्रयोगमा ल्याइएको हुनुपर्दछ । 

गालीगलौज संस्कृतिको विकासमा विगत केही समययताको गतिविधिका आधारमा मूल्यांकन गर्दा यस्तो प्रतियोगिता आयोजना हुनु आफैंमा लज्जाको विषय हो तर अचम्म के छ भने गौरवको विषयवस्तु बनाइएको छ । यो गाली सभ्यता कम्युनिष्टहरूको पुरानु सभ्यता हो । पचास वर्ष पहिलेको सम्झना आउँछ तत्कालीन पेकिङ रेडियोबाट प्रसारण हुने कार्यक्रमबाट अमेरिका, भारतलगायत देशहरूलाई चीनले गरेको गालीमात्रै प्रसारण हुन्थ्यो । उक्त प्रसारणको ध्येय नै विरोधीलाई गाली गर्नुबाहेक कुनै सिर्जनात्मक विषय प्रसारण हुँदैनथ्यो । लाग्छ कम्युनिष्ट सिद्धान्तको उत्पत्ति र विकास गाली सभ्यतासँगै भएको हो कि भन्ने निष्कर्षमा पुग्नु अन्यथा हुँदैन ।

नेपालमा पनि विगत तीन वर्षयता कम्युनिष्टहरूबीच सत्ता र शक्ति संघर्षको दौरान राजनीतिक र लाभका पदहरूमा आफ्ना व्यक्तिहरूको नियुक्ति, आफ्ना ठेकेदारलाई सरकारी कामको ठेक्कापट्टा मिलाउने जस्ता नितान्त व्यक्तिगत न्यायिक र सिर्जनशीलताको वैज्ञानिक धरातलमा गोप्यरूपमा सुरुवात भएको गाली पुराणले संसद विघटन, अदालतद्वारा बारम्बार संसदको पुनर्बहालीको शृंखला र फ्लोर क्रसिङको क्रमदेखि सार्वजनिक हुने क्रमले तीव्रता पायो । 

जब अदालतले शेरबहादुरलाई प्रधानमन्त्री बन्ने अधिकार प्रदान गर्‍यो यो घटना र एमाले पार्टीको दुर्घटनापछि गालीगलौजको विकास, विस्तारले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीजस्ता अति उच्चतहमा काम गरिसकेका व्यक्तिहरूको गालीगलौजको शृंखलाले उच्चतहका व्यक्तिहरूको निचतालाई छरपष्ट रूपमा सार्वजनिक हुँदा गालगलौज गर्नेहरूलाई भन्दा सुन्नेलाई लज्जाबोध भएको अवस्था छ । देशमा परिवर्तन र विकासका सम्भावनालाई खोज्ने हिजोका जिम्मेवार प्रधानमन्त्रीहरू यसरी निम्नस्तरको गालीगलौजमा उत्रने संस्कार र संस्कृतिले हाम्रा जिम्मेवारहरू नै गैरजिम्मेवार भएको प्रमाणित गरेको छ । 

यस्तै गैरजिम्मेवारहरूको हातमा सत्ता भएकोले देश लथालिंग र भताभुंग भएको हो भन्ने निष्कर्षमा आमनेपाली जनता पुगेको अवस्था आफैंमा लज्जास्पद भन्नुपर्छ । लज्जा जनस्तरमा छ तर उनीहरूले अझै लज्जाबोधभन्दा गौरवको अनुभूति गरेको विषयले परिस्थिति सुध्रने सम्भावना तत्काल नदेखिनु भविष्य अझै अन्धकार हुने लक्षण प्रष्ट भएको विषयले हामी नेपालीलाई थप चिन्तित बनाएको छ ।

यसले सम्पूर्ण नेपालीलाई मात्रै होइन विश्वका धेरै नागरिक र सरकारलाई गलत मार्ग निर्देश गरेको छ भने गैरकम्युनिष्ट जगतलाई नकारात्मक आनन्द प्रदान गरेको छ । यो गाली पुराण वाचनको नियमितता र निरन्तरताले लाग्छ उनीहरूको दृष्टिकोणमा एक प्रकारको राष्ट्रिय आवश्यकताकै रूप लिएको छ जुन सर्वथा गलत विषय हो ।

खासगरी बालुवाटारदेखि बालकोटको ऐतिहासिक पराजयको यात्रालाई पनि गालीगलौज संस्कृतिको रूपमा विजय जुलुसमा प्रदर्शन गरिएको थियो । त्यो तामझाम वास्तवमा अदालत र माधव नेपाललगायत विपक्षी शक्तिहरूलाई गालीगलौज गर्ने उद्देश्यले आयोजना भएको विषय राष्ट्रिय राजनीति र संस्कारित राजनीतिको अपेक्षा गर्ने समुदायका लागि दुर्भाग्यपूर्ण घटना भन्नुपर्छ । आफूसँग भएको करिब दुई तिहाइ हाराहारीको जनमत आफैंले व्यवस्थापन गर्न नसकेको र आफैंले राग, द्वेष बढाउँदा सरकार ढलेको विषयमा पश्चाताप र हीनताबोध हुनुपर्ने अवस्थामा गौरवान्वित भएको दृश्य आफैंमा लज्जास्पद थियो । 

लज्जास्पद अवस्थालाई गौरवको विषय बनाउने कम्युनिष्ट क्षमता र दर्शनलाई भने नकारात्मक र सकारात्मक दुवै कोणबाट व्याख्या र विश्लेषण गर्न सकिन्छ । पराजयबाट सिर्जना भएको कार्यक्रम हो बालुवाटार बालकोटको जग हसाउने जात्रा । आफ्नो सरकारलाई व्यवस्थित गर्ने क्षमता र योग्यता नहुँदा सरकार ढल्यो । त्यसबाट लज्जाबोधको साटो गौरवान्वित हुने संस्कार र संस्कृतिले कम्युनिष्ट सिद्धान्तमा सकारात्मक र नकारात्मक पक्षको विभेद गर्ने क्षमता र योग्यता नभएको प्रष्ट हुन्छ । 

पराजयको अवस्थामा आयोजित कार्यक्रममा बालकोटको बार्दलीबाट एमालेमा माधवकुमार नेपाललाई ठाउँ छैन भन्दै गालीगलौज प्रतियोगिता विधिवत रूपमा उद्घाटन भएको हो । त्यस ऐतिहासिक दिनलाई कम्युनिष्टहरूले पक्कै भविष्यमा राष्ट्रिय गालीगलौज महोत्सवको रूपमा मनाउने नै छन् । यसका उपलब्धिलाई संस्थागत गर्दै यसको विकासमा भावी पुस्ताको विशिष्ट योगदान हुने विषयमा अहिले नै शंका गर्नु हतार हुनेछ ।

यिनको गाली दर्शन र चिन्तनको विज्ञता, लगनशीलता र निरन्तरताको भने प्रशंसा वा खेद के गर्ने त्यसको निक्र्याैल भविष्यले गर्ने नै छ । गालीगलौजमा जस्तै विज्ञता यिनहरूमा प्रशासनिक विषयवस्तुमा भएको भए यिनले पानीजहाज, मेट्रो चलाउने योजनालाई चन्द्रमामा नेपालीहरूलाई स्थानान्तरण गर्ने विश्वलाई नै चकित बनाउने योजना बनाउनमात्रै होइन कार्यान्वयन नै गर्न बेर लगाउने थिएनन् ।

यो राष्ट्रिय गालीगलौज प्रतियोगिताको समय र कार्यतालिका अघोषित छ । जुन ठाउँमा, जतिबेला जहाँ मन लाग्यो त्यहीँ प्रतियोगिता चल्छ । प्रतियोगीहरू प्रतियोगितामा एकै ठाउँमा र एकै समयमा र एकै दिनमा सहभागी हुनु पनि नपर्ने यो गालीगलौज प्रतियोगिता अत्यन्तै वैज्ञानिक छ । धुर्मुस-सुन्तलीले बनाए जस्तो खर्चिलो खेलमैदानको जरुरत नपर्ने यो प्रतियोगिता नेपालको सन्दर्भमा व्यावहारिक र चमत्कारिक छ । यी देशका प्रधानमन्त्रीसम्मको अनुभव प्राप्त हस्तीहरूको गन्तव्य भनेको कम्युनिष्ट सिद्धान्तका माध्यमले प्रथम चरणमा आफैँ र आफ्नालाई धनाढ्य समाजवादसम्मको यात्रामा यिनीहरू अहोरात्र क्रियाशील रहने प्रतिज्ञा र प्रतिबद्धतासमेत यसभित्र अन्तरनीहित विषयहरू हुन् भन्ने कुरा श्रोताहरूले नबुझ्दा भने उनीहरूप्रति अन्याय हुन्छ ।

यस प्रतियोगिताको विषयमा कुरा गर्दा प्रतियोगितामा भाग लिने शीर्षस्थ व्यक्तिहरू अन्याय गर्न जन्मेका हुन् अन्याय सहन र गल्तीलाई आत्मसात गर्न हुँदै होइन । यसबारे पूर्वजानकारीविना यस प्रतियोगिताको कथावस्तु बुझिँदैन । कथा वस्तुलाई बुझिएन भने नाटक हेर्नुको के अर्थ ? यो प्रतियोगिता कति चल्छ ? कहाँ चल्छ ? कहिलेसम्म चल्छ भन्ने कुरा त्यो प्रतियोगितामा भाग लिनेहरूलाई पनि थाह छैन । त्यो चल्नुको वास्तविक कारण त यिनीहरूभित्र गुजुल्टिएको निजी स्वार्थ हो ।

तर, यिनीहरू सिपालु छन् । त्यसलाई निजी स्वार्थ नभनेर यिनीहरूले यसलाई सामाजिक र राष्ट्रिय स्वार्थको आवरण पनि निर्लज्ज दिन्छन् । किनकि यिनीहरूसँग लाजले पनि केही समययता साथ छोडेको छ । यी कम्युनिष्ट सिद्धान्तका कट्टर अनुयायीहरूमा आफू निर्वस्त्र भएको थाहा छैन । 

गाली प्रतियोगिताको दुवै टिमको नेतृत्वदायी भूमिकामा भने देशका जानेमानेका कम्युनिष्ट पार्टीका पूर्वप्रधानमन्त्रीको भूमिका निर्वाह गरिसकेका, राष्ट्रले पत्याएका तर गनाएका व्यक्ति छन् । देशका पूर्वप्रधानमन्त्रीहरूले गाली प्रतियोगितामा भाग लिनु देश र आमनागरिकले गर्व गर्नुपर्छ । तर, देश किन बनेन भन्ने सूत्र पनि यो प्रतियोगिताले उजागर गरेको छ । प्रधानमन्त्रीको पदमा बसेका व्यक्तिहरू यति तल्लो तहमा उत्रेर गाली गर्न सक्छन् भन्ने आमनागरिकले अनुमानसम्म नगरेको विषयलाई अहिले सुन्नु र भोग्नुपरेको छ । 

अहिले गाली प्रतियोगिताका नेताहरू सार्वजनिक समारोहमा आफ्नो वक्तव्यको मूल विषय नै एकले अर्कोलाई नयाँ र चोटिलो गाली कसरी गर्न सकिन्छ भनेर विशेष अध्ययनसाथ प्रतियोगितामा दिनहुँजसो सरिक हुन्छन् । जहाँ गए पनि उनीहरूले कार्यक्रम सुरुआतसँगै आफ्नो गाली पुराणलाई वाचन गर्छन् । लाग्छ अहिले त यसले राष्ट्रिय गानकै स्थान लिएको छ । लाग्छ अहिले देशको र जनताको आवश्यकताको पूर्ति गाली पुराणले नै गर्छ । देशले कस्ता प्रधानमन्त्री पाएछ भन्ने विषयले गर्व गर्ने कि घृणा गर्ने यसबारे कसैकसैलाई द्विबिधा होला तर धेरैले विनाद्विविधा घृणा नै गरेको हुनुपर्छ । 

यो देशको दुर्भाग्य नै भन्नुपर्छ यस्तो गालीको ज्ञान कसरी आयो । हाम्रा विद्यालयहरू र विश्वविद्यालयमा पनि गाली विषयलाई पाठ्यक्रममा राखेको जानकारी छैन । प्रतियोगितामा बेजोडका प्रतिस्पर्धी देखिनु कम्युनिष्ट सिद्धान्तधारीहरूले भूमिगत कालमा गालीगलौज विज्ञानको अनौपचारिक शिक्षा भने राम्रो लिएको विषय प्रष्ट भएको छ ।

जुन देशमा उच्च नेतृत्वमा संस्कार, शालीनता, शिष्टाचार, मर्यादा हुँदैन त्यहाँका नेताहरूमा नैतिकता, इमानदारी, निष्ठाको राजनीति सम्भव नै छैन । निष्ठाको राजनीति नगर्नेहरूले जनता र देशप्रति निष्ठावान बन्न आवश्यक ठान्दैनन् । जनताप्रति निष्ठा नहुनेहरूबाट इमानदार कामकारबाही हुने कुरै भएन । यी सबै कारणहरूको प्रभावले नै देशमा कानुन, नियमहरूको पालना नहुने विषयले सिर्जना गरेको विकृति र विकारको सिकार जनता र देश बनेका छन् । नेतृत्वमा शिष्टाचार, नैतिकताको अभावले सिर्जना हुने विकृति र विकारको उपचारविना देश बन्दैन । 

त्यसैले हाम्रो मुख्य समस्या आर्थिक होइन । समस्या नैतिक हो । नैतिकताको बीजारोपणविना हामीले सुधारको अपेक्षा गर्नु मरुभूमिमा पानीको अपेक्षामा छट्पटाउनु जस्तै हो । उच्च पदका व्यक्तिहरूमा अशिष्ट व्यवहार र आचरणबाट शिष्टाचार, नैतिकता, इमानदार हुने प्रतिस्पर्धामा प्रतिस्पर्धी हुने वातावरणविना देश बन्दैन । समाज सुध्रँदैन । भनिन्छ ‘महाजनो येन गत स पन्था’ । 


Top