पार्टीमा सय जोश एक होस

✍️ प्रा.डा.कुलप्रसाद कोइराला   POSTED ON : आश्विन २०, २०७८ (६:०४ AM)

पार्टीमा सय जोश एक होस

आज म अलि फरक विषयमा प्रवेश गर्दैछु है साथी हो, चिसो र ताताका संयोजनमा संसार चलेजस्तै सत् र असत्का संयोजनबाट सभ्यता निर्माण हुन्छ । समाजमा अनुशासन कायम गर्न पनि सदसत् प्रवृत्तिकै आवश्यक्ता पर्दछ । वनमा बुढा रूख धेरै भए भने बिरुवा हुर्कन पाउँदैनन् । तिनलाई बुढा बोटको तप्क्यानले टाक्स्याइदिन्छ । यति सामान्य कुरालाई पनि लोभ, लालचा र तृष्णाले महाभारत सरह नबुझिने बनाइदिँदो रहेछ भन्ने कुरो बुझ्न ओली, माधव र प्रचण्डको द्वन्द्व हेरे पनि पुग्छ । त्यसभन्दा सयौं गुना लाजलाग्दो घृणित चरित्र त पार्टीको महाधिवेशनका क्रममा डडेल्धुरा कांग्रेसले प्रदर्शन गर्‍यो । 

उदयपुर, ओखल्ढुंगालगायत अरू कतिपय जिल्लामा पनि डडेल्धुरे नक्कल गरेको देखियो । नायक एकै भएका हुनाले त्यो पनि आश्चर्य नमाने हुन्छ हिमाल कार्की, प्रदीप सुनुवार चिनेकै अनुहार हुन् । एक भाइको मुष्टि प्रहार अर्का सहवैचारिक भाइका गालामा बजारिएको यो नृशंस, जंगली दृश्य कति हेर्नु, आँखा र मन दुवै वाक्किए । कतिले पनि नपुग्ने सबै एक नम्बरै हुन चाहने र जायज नाजायज सबै कर्म गर्ने नेपाली राजनीतिको विशिष्ट चरित्र बन्दै जाने पो हो कि भन्ने भय भयो । कामातुरले हाडनाता करणी गरेजस्तै राजनीतिकर्मीले गर्न थाले । काङ, वाम, मधेसवादी सबै सत्ता, शक्ति र कमाउने धन्दामा राल काढ्दै हिँडेका दृश्य सामान्य भए । 

यस्तो बेला समाजमा भय, त्रास र लोभ अनि उदासीन प्रवृत्तिको विकास हुन्छ । यसको पहिलो सिकार युवकयुवती नै बन्छन् । युवक र युवति भनेका सभ्यता निर्माणका पाखुरा हुन् । नवसृष्टिका मुहान् हुन् । समाजका नयाँ–नयाँ कुरा सोच्ने तरोताजागिदी या मस्तिष्क हुन् । यो कुरो अहिलेका नेपालमा फगत कल्याण गुरुङ र रामकुमारी झाँक्रीले मात्रै बुझेको देखेँ मैले । गगन र प्रदीप पौडेल आदि धेरै युवकहरू आसलाग्दा भए पनि छहारीकै खोजीमा लागेका देखिए । यस कुराको उचित अनुचित पुष्टिका अनेकौं उपाय होलान् हुन्छन् पनि । म त्यता लाग्दिन ।

कल्याण गुरुङले सुरुदेखि आफ्नो चाहना होइन, दृष्टि प्रक्षेपण गरेका रहेछन् गहिरो गरी हेर्दा । डा. शेखर कोइरालालगायत अरू धेरैले लामो संघर्ष र प्राप्ति अप्राप्तिका उकाली ओराली गरेर बटुलेको अनुभव कल्याण र रामकुमारीले लगभग पढ्दापढ्दै जस्तो अवस्थामा प्रदर्शन गरेछन् । घनश्याम भुसाल, योगेश भट्टराई, डा. भीम रावल जस्ता कायर र पिछलग्गुले सभ्यता निर्माण गर्न सक्दैनन् । मीठा भाषण गर्लान् त्यसभन्दा केही गर्ने छैनन् । ओलीजीलाई नै परब्रहृम परमेश्वर मान्न न हिच्किचाएका तिनका कुरा समाजले कति सुन्ला हेर्न बाँकी नै छ । यता कांग्रेसमा हिजो हजुर्बासँग तिनको भूमिका र सक्रियताका कारणले दोस्रो या तेस्रो पुस्ताका नेताले आफ्ना दृष्टि प्रक्षेपण गर्न सकेनन् होला । 

आज त्यस्तो अवस्था छैन । आजको हजुर्बा पुस्ताकाले दाह्री, कपाल सेता त बनाए तर देश र जनता तथा पद्धति या सिष्टमका निमित्त सिन्को भाँचेका छैनन् । यसरी हेर्दा लग्भग दुई तिहाइ पचाउन नसकेर थला परेका ओलीका कुरै छाडौं । अर्काका उलामालमा लागेर पार्टीलाई तीन न तेह्रको बनाउने तत्कालीन कांग्रेसका दोस्रो पुस्ते र अहिले पहिलो पुस्तामा विराजमानले पनि आफ्नै बलबुतामा प्राप्त हुँदै आएका प्राप्तिसम्म नजोगाएको देख्दा बाख्राका पाठाको सम्म पनि सिकार गरेर खान नसक्ने स्यालले बाघसँग मितेरी लाएर हाड चुस्न लालायित बनेको देखियो । पाँच पार्टी या त्यसभन्दा बढीले नैतिक अनैतिक जे जे मागे पनि दिएर सत्ता सयर गर्नुभन्दा अरू के गरे त ?

मेरा तर्कलाई देशैभरिका कांग्रेसजनले आज प्रदर्शन गरेर नेतृत्व आफ्ना हातमा लिएका छन् । तन्नेरी वर्गले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नैपर्छ । गरेको देखेर लोभी, लालची र षड्यन्त्रकारीबाहेक सबै खुशी भएका छन् । देशैभरिका युवकमा कल्याण गुरुङ र रामकुमारी झाँक्रीका क्रियाकलाप देखिए आज स्थानीय र प्रदेशतहको निर्वाचनमा हार्दिक बधाई छ । ती कांग्रेस जनमा जसले कांग्रेस हुनुको गौरव बोध गरेर असनका साँढेलाई लडाइदिए भीरबाट ।

मान्छे युवक उमेरले होइन चिन्तन सक्रियता र दूरदृष्टिले बन्दोरहेछ । आजभन्दा पाँच वर्षपहिलेदेखि जनताका घर दैलामा पुगेर पार्टीमा विकसित भएका विधान नमान्ने, विधानले तोकेका काम नगर्ने, आफ्ना उत्तराधिकारी बनाउन जायजनाजायज जे जस्तो पनि काम गर्ने, भएभरका पदमा आफू या आफन्तलाई मात्रै बसाउन खोज्ने, आफूलाई मन परेपछि जे र जसो गर्ने प्रवृत्तिका विरुद्ध म एक पल्टमात्रै पार्टी सभापति बन्छु, पार्टीको सभापति पद दिएर होइन जितेर लिन्छु, पार्टी सभापति र प्रधानमन्त्री पदका लागि बीपीका पालादेखि कांग्रेसमा झगडा भएको देखिन्छ त्यसो भएको हुनाले यी दुई पदमा भिन्नाभिन्नै व्यक्ति रहनुपर्दछ । 

स्थानीय तहमा ७० प्रतिशत युवायुवती आउनुपर्छ भने प्रदेशमा ६० देखि ६५ युवायुवतीको प्रवेश आवश्यक छ । केन्द्रमा ४० देखि ४५ प्रतिशत युवायुवती आउनुपर्छ भन्ने डा.शेखर कोइरालाका कुरा देशैभरि गुञ्जिएछन् । जताततैका युवाशक्तिमा नयाँ जोश जुर्मुराएर आएको देखियो । यो हो नेतृत्वको दृष्टिकोण भनेको । 

जनताको अभिरुचि र युग तथा समयको आवश्यकता बुझेर कदम चाल्नभन्दा जाल, झेल, फरेब, ब्रिफकेस, षड्यन्त्र र शक्ति प्रदर्शनलाई रुचाउनेका दिन गए भन्ने सन्देश नेपाली कांग्रेसको १४औं महाधिवेशनले दिन सक्नैपर्छ । लगभग निकम्मा जस्तै देखिएको कांग्रेसमा नयाँ काँचुली फेराउन र नयाँ दिशाबोध गराउनसक्ने नेतृत्व स्थापित हुनुपर्छ भन्ने कुरामा तमाम बौद्धिक समुदाय अहिले सहमत रहेको देखिन्छ । युवाजगत्ले पनि यसलाई समर्थन गरेर सुनमा सुगन्ध थपिदिएको छ । 

जो जुन पेशाव्यवसायमा लागेका छन् तिनलाई त्यही आरक्षणको व्यवस्था गर्न अहिले सामान्यतः सर्वत्र आबाज उठ्न लागेका छन् । यो प्रवृत्ति विकसित हुनुका पछि पनि राजनीतिक नेतृत्वकै निकम्मा र नालायकपना जिम्मेवार छ । देशको सत्ता सञ्चालन गर्नेले तेरो मेरो यो वर्गको र त्यो व्यवसायको नभनीकन आमनागरिकलाई समान अवसरको प्रत्याभूति प्रदान गर्ने नीतिनियम बनाए आरक्षणको आवश्यकता नै कसैले महसुस गर्दैन भन्ने कुरो यो देशका एकदुई प्रधानमन्त्रीले सोचेका थिए होला तर पनि कतिपय कारणले तिनले पूरा समय काम गर्न पाएनन् । 

बाँकी जति प्रधनमन्त्री भए तिनले आफू, आफन्त र निकम्मापनाको ब्याड बढाएको मात्रै देखियो । अबको युवा पुस्ताले पढेको छ । दुनियाँ देखेको छ अतः देशलाई जातीय या वर्गीय आरक्षण होइन, स्वस्थ प्रतिस्पर्धामा अघि बढाउने खालका नीतिनियम बनाउन बल पुर्‍याइनुपर्दछ । देशका नियम कानुनले नागरिकलाई विभाजन गर्ने होइन तिनलाई समेट्ने र देश र जनताको शक्तिसामथ्र्यका विकासमा लाउने प्रयत्न गरिनुपर्छ । 

आज देशसञ्चालकहरूले नै जातजाति, पहाड तराई, पेशाव्यवसायमा विभाजन गरेर वर्गीय द्वन्द्व सिर्जना गराएका छन् । एकथरी खाने र अर्कोथरी भोकभोकै बस्नुपर्ने अवस्था आयो भने मान्छे रमिता हेरेर बस्दैन । माग्नेले दान यो लिने र त्यो नलिने गर्नु राम्रो होइन भन्ने सामान्य औपचारिकता भुलेर आमा यो जारसँग लागे ठीक र ग्राहृय त्यो जारसँग लागे बेठीक र अग्राहृय भन्ने जस्ता नाराले देश गुञ्जायमान् गराइएको छ । यो कुन सभ्य समाजको चाल हो ? व्यक्तिले होइन दलले आर्थिक भ्रष्टाचार गर्ने नीतिनियम बनाइएको छ । अर्बाैं भ्रष्टाचार पचाउने सुरक्षित छन् भने दुई-चार सय अपचल नगर्ने सानानिमुखाको सातो लिइन्छ । 

घुस भनेको घुस हो त्यो चाहे ठूलाले, शक्तिवालले गरोस्, कानुनका नजरमा समान हुनुपर्छ । आज यो असमानताको खाल्डो पनि बढ्दो छ । राज्यले खडा गरेका निकायमा बस्ने मान्छे नाता, दल या ब्रिफकेस चढाएर पुर्‍याइएपछिका परिणाम हुन् यी । अबका नेपाली राजनीतिक दलका नेताकार्यकर्ता यी तमाम विकृतिलाई बढारेर फाल्न लाग्नुपर्ने अवस्था आएको छ । यो काम गर्न आजसम्म सत्ता र शक्तिमा पुगेका यी सोच नभएका, दृष्टि नभएका, समस्या चिन्न नसक्ने ग्रुप र गुटका भरमा राजनीति गर्नेलाई किनारा लाएर अघि बढ्न सक्नुपर्दछ । त्यसका निमित्त उच्च इच्छाशक्ति, कल्पनाशीलता र ‘देहं वापातयेयं कार्यं वा साधयेयं’ (डु एण्ड डाइ) गर्न सक्ने उच्च मनोबल भएका मान्छेको आवश्यक्ता पर्दछ । 

अब गुट होइन योग्यता, नैतिकता लज्जा र बोलेको कुरो पुर्‍याउने खालका व्यक्ति छानेर नेतृत्व सुम्पनुपर्छ । अहिलेसम्मको नेतृत्वलाई धुपदीप नैवेद चढाएरै भए पनि सम्मानका साथ अब बिदा गर्नै पर्छ । देशलाई विकसित र सभ्य मान्छेको देश बनाउने हो भने । यसका लागि युवा वर्गको अहं भूमिका हुन्छ । अतः जोश, बल, ज्ञान र संयम, चिन्तन भएको एकपटक भन्दा अर्को पटक लोभ नगर्ने र एक समयमा एक पदमा मात्र बस्छु भन्नेलाई अवसर दिने सोचौं ।


Top