बालबालिकालाई कोभिड १९ बाट जोगाऔं

✍️ रमेशप्रसाद गौतम   POSTED ON : आश्विन २०, २०७८ (६:१० AM)

बालबालिकालाई कोभिड १९ बाट जोगाऔं

हाम्रो देशमा राजनीतिक परिवर्तनसँगै नागरिक चेतनाको स्तर माथि उठ्न सकेन । इतिहासले युगन्तकारी परिवर्तन माने पनि व्यवहार यथास्थितिबाट माथि उठ्न सकेको छैन । सत्ता र शक्तिका भागबण्डामा नेताहरू झगडा गरिरहेका छन् । बाढीपहिरो तथा कोरोना पीडितलगायत यावत समस्याप्रति कुनै सरकार गम्भीर बनेन । स्थानीय सरकारको निहित स्वार्थमा डोजरको जथाभावी प्रयोगले हरियाली डाँडा पाखाहरू र त्यहाँका बस्ती पहिरो र बगरमा परिणत भएका छन् ।

बाली बिरुवामा मल र विषादीको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति कम हुनुका साथै माटाको शुद्धता र पानीका स्रोतहरू सुक्दैजान थालेका छन् । यस्ता यावत विषयमा नेताहरूमा समयमै सचेत गराई सबै किसिमका स्रोतसाधन र समयको सदुपयोग गर्न सक्ने क्षमतावान नेता तयार पार्न शिक्षाको ठूलो भूमिका हुन्छ ।

शायद हाम्रा अग्रज शिक्षकहरूले राम्रो पठनपाठन गराउन नसकेका कारण आज यस किसिमका गैरजिम्मेवार नेता तथा नागरिक निर्माण भएको दोषारोपण गर्न मिल्ने हो कि होइन ? आफ्नो पेशा अनुकूलका सबै क्षेत्रमा कार्य सम्पन्न नहुनु र सहयोग र सेवाको भावना हराउँदै जानुको दोष कसलाई दिने ? यसको अर्थ शिक्षाले नै पेशालाई ठग्ने, कर्तव्य र सिंगो समाजलाई ठग्ने काम त भएन भन्ने सवाल उठिरहन्छ । वर्तमान परिदृश्यमा हिजोको सिकाइ कौशलले गहिरो छाप छाडेको हुन्छ । 

आज हाम्रा कतिपय शिक्षकहरू सत्ता शक्ति र दलका आडमा समुदाय, विद्यालय विद्यार्थी आदिलाई ठगिरहेका त छैनन् त्यो विचारणीय छ । पाठ पढाउने नाउँमा कक्षा कोठामा लौरो बोकेर जाने आफूले चाहिँ मनपरी गर्ने केटाकेटीलाई गर्न हुँदैन भन्ने जस्तो कुकृत्यले पनि बालमनोविज्ञानमा प्रतिकूल प्रभाव पर्दै आएको अनुमान गर्न सकिन्छ ।

हामीमध्ये कतिपय शिक्षक अहिले कक्षा कोठामा प्रवेश गर्दै विद्यार्थीलाई कुन पाठ पढ्ने हो भनेर पुस्तक पल्टाउँदै पाठ खोज्ने काम गर्दैछौं यो ठीक होइन । विद्यार्थीलाई पढाउने पाठयोजना र शैक्षिक सामग्रीसहित कक्षा कोठामा प्रवेश गर्दै विद्यार्थीको ध्यान केन्द्रित गराई कक्षा कोठालाई मनोरम शैक्षिक वातावरणमा परिणत गर्ने खुवी शिक्षकमा हुनुपर्ने हो । विद्यार्थीलाई पढाउने सिकाउनेभन्दा अध्ययनप्रति जिज्ञासु बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । 

सानै उमेरदेखि असल बानीको विकास गराउन सके भोलिको असल नागरिक र असल नेता राष्ट्रले पाउने हो । यस किसिमको सीप ज्ञान र धारणा सिकाउने दायित्व शिक्षकको हो । यस अर्थमा शिक्षकमाथि देशको भविष्यसमेत अड्किरहेको हुने हुँदा अन्य पेशासित शिक्षण पेशालाई दाँज्न मिल्दैन । आज जसलाई कक्षा कोठाहरूमा शिक्षकहरूले सिकाइरहेका छन् भोलि यिनै, परिवार, समाज, समुदाय देश हाँक्ने हुन् । यतिमात्र होइन एउटा विद्यार्थी विद्यालयमा झण्डै दिनको सात घण्टा बिताउँछ । 

त्यहाँ विद्यार्थीमाथि शिक्षकको गहिरो छाप परेको हुन्छ । शिक्षकको बानी व्यहोरा, आचरण तथा जीवनशैलीको प्रभाव विद्यार्थीमा परेकै हुन्छ । त्यही गुण भोलि समग्र क्षेत्रमा असर परिरहने हुन्छ । आजका हाम्रो राजनीतिक नेतृत्वदेखि राष्ट्रका सबै क्षेत्रमा काम गर्न पदाधिकारीहरूमा हिजोका शिक्षकको सिकाइको असरको परिणाम हो जुन आज सर्वत्र आलोच्य बन्न पुगेको छ । 

हाम्रा नेताहरूले राजनीतिक परिवर्तनमा ठूल्ठूला योगदान दिएका छन् । फलस्वरूप देशले के पायो ? जनताले के सुविधा पाए ? यी प्रश्नमै सीमित छन् । आज देशले संघीयता पायो गणतन्त्र पायो तर छिमेकी भारतसँगै दाँजौं त्यहाँ जनसंख्या हाम्रोभन्दा सयौं गुणा बढी छ । त्यहाँको भूगोल हाम्रोभन्दा ठूलो छ । यति थोरै जनसंख्या र सानो भूगोल छ यस्तो देशमा सात–सात वटा प्रदेशमा बाँडिएको संघीयताका नाममा थुप्रै मन्त्रीहरू र कैयांै सांसद छन् जसका कारण राज्यले थेग्न नसक्ने गरी आर्थिक बोझ थपिँदै छ । 

जनतालाई छिटोछरितो सेवा प्रवाहका लागि संघीयता राम्रो भए तापनि अहिलेको भन्दा कम प्रदेश, कम सांसद र मन्त्रीहरूबाट पनि कार्य सहज तरिकाले गर्न सकिन्छ । संघीयताको मूलभूत उद्देश्य भनेको केन्द्र र अन्य संघीय एकाइहरूबीच राज्यको शक्ति बाँडफाँड हो । नेतृत्व वर्ग राम्रो नहुन्जेल संविधान र शासन व्यवस्थामात्र राम्रो भएर पनि हुँदैन । यसर्थ नेतृत्व निर्माण गर्ने र लोकतन्त्रको प्रयोगशाला शिक्षालय नै हुन् । त्यसको सुधारविना राष्ट्रको निर्माण सम्भव छैन । 

राजनीतिक दलहरू आआफ्ना पार्टीको घोषणापत्रमा अनेक सुधार र प्रगतिका कार्यक्रम र योजना समावेश गरेर जनतासँग भोट माग्न पुग्दछन् । चुनाव जितिसकेपछि आफ्ना बाचा वा घोषणा गरिएका कुरा बिर्सन्छन् । अहिले देशमा झण्डै छ लाखभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । तिनका लागि विद्यालयमा न्यूनतम पूर्वाधार पु¥याउन नसकिरहेको अवस्थामा राजनीतिक दलहरू आफ्नो राजनीतिक घोषणा वा चुनावी घोषणा पत्रमा हरेक सामुदायिक विद्यालयमा इन्टरनेटको व्यवस्था, साइकल किन्न अनुदान विपन्न विद्यार्थीलाई खान बस्न सुविधा, प्रत्येक महिनामा स्वास्थ्य परीक्षण र आधारभूत उपचारको व्यवस्था मिलाइदिने आदि फोस्रा आश्वासन बाँडेर जनतालाई अलमल्याएर चुनाव जितेर आउँछन् । 

निःशुल्क शिक्षाको घनिभूत नारा दिने काम सबै राजनीतिक दलहरूले गर्दै आएका छन् । यसका लागि शिक्षामा राज्यले आफ्नो कूल बजेटको २० प्रतिशतभन्दा बढी छुट्याउँदा पनि माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुन कठिन छ तर सरकारले कूल बजेटको झण्डै १० प्रतिशत छुट्याउन मुस्किल छ । यसरी आर्थिक अभावले माध्यामिक तहसम्मको निःशुल्क शिक्षा केवल घोषणामात्रै बन्दै आएको छ ।

आजको विश्वका विकसित देशहरूले शिक्षामा सुधार गरेर राज्यको प्राथमिकतामा जोड दिएर नै विकसित भएका हुन् । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, डेनमार्क, आदिले शिक्षामा ठूलो लगानी र प्रयत्नले आजको अवस्थामा आइपुगेको हुन् । शिक्षाले नै योग्य राजनीतिक नेता, दक्ष डक्टर, कुशल कर्मचारी, योग्य शिक्षक, डक्टर, इन्जिनियर, वकिल, लेखक, साहित्यकार, उद्योगपति आदिको उत्पादन गर्ने हो । पानीको मुहान सफा नपारी धाराको पानी सफा हुँदैन भने झँै शिक्षा व्यवस्थापनमा योग्य र दक्ष जनशक्तिको उचित व्यवस्था नहुन्जेलसम्म र आवश्यक शैक्षिक पूर्वाधार निर्माण नहुन्जेल शिक्षा सुधारका कुरा केवल कोरा नारा मात्र हुन् ।

अझ आज कोरोनाको पहिलो लहरको मारमा परेका विद्यालय र विद्यार्थीप्रति स्थानीय सरकारले के कस्ता सहयोग र उपचार विधि प्रदान गर्‍यो । त्यसबाट के कति लाभान्वित भए । विद्यालयलाई क्वारेन्टाइनमा परिणत गरेर त्यहाँ पढने बालबालिकाको पठनपाठनप्रतिको आफ्नो दायित्वलाई कसरी निहालिरहे । यो विचारणीय पक्ष छ । अहिले फेरि कोरोनाको दोस्रो लहरसँगै तेस्रो लहरको त्रासले सम्पूर्ण नेपाली समाज अताल्लिरहेको छ । देशभरका केजी कक्षादेखि उच्च शिक्षासम्मका विद्यार्थीले शिक्षालयहरूमा पढ्न सकिरहेका छैनन् । प्रायः सबै घरमै बसेर पढ्न बाध्य छन् ।

जसरी पनि विद्यार्थीले पढ्नुपर्छ । हरेक बालबालिकालाई ज्ञान, सीप र प्रविधिले अब्बल बनाउने हो तर अहिलेको जस्तो कोरोनाको विषम परिस्थितिमा कसरी कक्षा सञ्चालन गर्ने कसरी सिकाउने । नयाँ ज्ञान र सीपको विकाससँगै इन्टरनेटको विस्तार र स्मार्ट फोनको पहुँच हरेक विद्यार्थीसम्म पुर्‍याउन सकेमा विद्यालयकक्षामा पठनपाठन हुन नसके पनि अनलाइन कक्षाबाट पठनपाठन सम्भव हुन सक्दछ । 

यस किसिमको प्रविधिले संसारको जुनसुकै कुनामा भए पनि एउटै समयमा अन्तक्र्रिया छलफल संवाद विभिन्न तस्वीर भिडियोमार्फत सहजै नयाँनयाँ सीप र ज्ञान सिक्न सकिन्छ । ल्यापटप, कम्प्युटर स्मार्टफोन, ट्याबलेट जस्ता साधन प्रयोग गरी इन्टरनेटको माध्यमबाट घरमै बसेर बालबालिकाले सहजै पढ्न सक्ने हुँदा यस्ता पहुँच सबै बालबालिकासम्म राज्यले पु¥याउनु प¥यो ।

आज कोभिड १९ का कारण विश्वव्यापी रूपमा बढिरहेको महामारीले प्राय तमाम शिक्षणसमेत लकडाउनमा परेका छन् । बालबलिकाको पढ्लेख गर्ने अवस्था नराम्रोसँग प्रभावित बन्न पुगेको छ । आज बालबालिकाका लागि खेल मैदान, पुस्तकालयको प्रयोग र परियोजना विधि समस्या समाधान जस्ता अनेकन गतिविधिहरू शिक्षक र साथीहरूबीच रमाएर विद्यालयभित्र र बाहिर आनन्दले पढ्ने सिक्ने कुराबाट वञ्चित हुनुपरेको छ । यी कुरालाई अनलाइन कक्षाबाट सहजै रूपमा सिकाउन सकिँदैन । यसका लागि आमपरिस्थिति अनकूल बनाउन अभिभावक, शिक्षक सबैको सहयोग जरुरी छ ।

यसर्थ कोरोनाले आतंकित नभई आफ्नो जीवनशैलीमा परिवर्तन गरी नयाँ किसिमले बाँच्ने उपायको खोजी गर्न सिक्न परेको छ । कुनै किसिमको लापरबाही गर्न नहुने ज्ञान कोरोनाले सिकाएको छ । पुस्तक पढ्ने संगीतमा रमाउने र साथी भाइसँग टेलिफोन मोबाइलमा कुरा गर्ने कलाको विकास यो अवस्थामा हुन सक्दछ । यसले धैर्यता र चिन्तनशील बन्न बाध्य तुल्याएको छ । 

तर, बालबालिकाका लागि अनलाइन सिकाइबाट प्रभावकारिता आउँदैन जति तिनले कक्षा कोठामा विभिन्न समुदायबाट विचार बाँड्ने विभिन्न संस्कृतिबाट आएका साथीहरूबीच मिलेर बस्न सिक्ने र सामाजिक भन्ने र एकले अर्कालाई मद्धत गर्ने कुरा सिक्ने विद्यालय कक्षा कोठा नै भएकाले अब जति सक्यो चाँडो सबैमा कोभिड खोप लगाएर साविककै अवस्थामा पुर्‍याएर पठनपाठन प्रभावकारी तुल्याउन नै उपयुक्त हुन्छ । 

Top